पछिल्लो समय विदेशी कलाकारहरू नेपाल आउने क्रम बढ्दो छ । शुक्रबार मात्रै हलिउड अभिनेता तथा मार्सल आर्टिस्ट सिल्भियो सिम्याक नेपाल आएका छन् । उनले ज्याकी च्यान, ब्रुस लि, कियानु रिभ्स लगायत थुप्रै विश्वप्रसिद्ध सेलिब्रेटीसँग काम गरिसकेका छन् । अभिनेता भन्दा पनि मार्सल आर्टिस्टको रूपमा बढी चिनिने उनी महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि नेपाल आएका हुन् । जुन एक्सन फर नेसन्स (एएफएन)ले शनिबार (मार्च २६) मा आयोजना गरेको थियो ।
उनी एक्सन फर नेसन्सको सद्भावना दूत पनि हुन् । नेपाल आएका बेला एएफएनका नेपालका अध्यक्ष तथा गीतकार दयाराम पाण्डेले उनलाई आफ्नो नयाँ चलचित्रका लागि अफर पनि गरे । उक्त अफर स्वीकार्दै उनले यदि १५ दिनको मात्रै छायांकन भए अवश्य गर्ने बताए ।
क्रोएसियाको जाडरमा जन्मिएका सिल्भियो वर्ल्ड च्याम्पियन मार्सल आर्टिस्ट हुन् । उनले सन् २००१ मा ‘ल्याक्स’मार्फत चलचित्रको पर्दामा डेब्यू गरेका हुन् । उनै अभिनेता सिल्भियोसँग बाह्रखरीकर्मीद्वय वर्षा महर्जन र ममता घिमिरेले कुराकानी गरेका छन् । प्रस्तुत छ, सम्वादको सम्पादित अंश :
तपाईंको नेपाल बसाइ कस्तो भइरहेको छ ?
एक्दमै राम्रो अनि रमाइलो भइरहेको छ । म शुक्रबार मात्रै नेपाल आएको हुँ । म पहिलोपटक नेपाल आएको छु । अहिलेसम्म धेरै घुम्न पाएको छैन । नेपाल धेरै हेर्न आतुर छु ।
नेपालले तपाईंलाई कसरी स्वागत गर्यो ?
अहिलेसम्म मैले धेरै नेपालीहरूसँग भेट्ने मौका पाइसकेको छु । मैले नेपालीहरूबाट धेरै माया र न्यानो आतिथ्य पाएँ । मलाई तपाईंहरूको संस्कृति एकदमै मनपर्यो । हाम्रो युरोपमा भन्दा एकदमै फरक छ त्यसैले मलाई एकदमै मनपर्यो । न्यानो आतिथ्यका लागि धेरै धन्यवाद ।
मैले एसियाका थुप्रै देशहरू श्रीलंका, भारत, इन्डोनेसिया, चीन जस्ता देशका संस्कृतिहरू पनि नियाल्ने मौका पाइसको छु । तर नेपाल भने पहिलोपटक हो ।
तपाईं एक हलिउड कलाकारका साथै एक खेलाडी पनि हुनुहुन्छ । यी दुईमध्ये कुन क्षेत्रमा तपाईं धेरै रमाउनुहुन्छ ?
यी दुवै पेशामा मेरो उत्तिकै रुची छ । त्यसैले दुवै पेशामा म उत्तिकै समय दिइरहेको हुन्छु । एकमाथि अर्को छान्ने भन्ने नै हुँदैन ।
त्यसो भए दुईमध्ये कुन बढी चुनौतीपूर्ण लाग्छ ?
मेरो विचारमा अभिनय अलि बढी चुनौतीपूर्ण लाग्छ । किनभने यहाँ प्रतिस्पर्धा अलि बढि नै हुन्छ । यता फिटनेसतर्फ कुरा गर्नुपर्दा, यो भनेको आफूभित्रको मात्रै प्रतिस्पर्धा हो । मार्सल आर्टमा तपाईं हिजो भन्दा आज र आज भन्दा भोलि आफूमा राम्रो परिवर्तन ल्याउन खोज्नुहुन्छ । यसका साथै यसको (मार्सल आर्ट) फिलोसोफी शरीर र आत्माको मिलन जुन एकदमै शक्तिशाली हुन्छ ।
यता अभिनय र वास्तविक जीवनमा मैले देखेको एउटा समानता भनेको, अभिनय र जीवन दुवै एउटा भ्रम हो । तपाईंको भावना (इमोसन) बाहेक सबै कुरा भ्रम मात्रै हो ।
तपाईंको अभिनय यात्रा कसरी सुरु भयो ? अभिनेता बन्ने तपाईंको पहिलेदेखिकै सपना थियो वा अकस्मात यो क्षेत्रसँग जोडिनुभयो ?
म केही अभिनेताहरूबाट पहिलेदेखि नै प्रेरित थिएँ । जोनी डेप, रोबर्ट डे निरो, यता पहिलेदेखिकै रुची मार्सल आर्टतिर ब्रुस लीले मलाई एकदमै इन्स्पायर गर्नुभएको थियो । मिडिया र फिल्म भनेको एकदमै शक्तिशाली माध्यम हो । त्यसैले अभिनय र फिल्म भनेको मेरा लागि एउटा पेशा मात्रै होइन । मैले टीभी कमर्सियलहरूबाट यो क्षेत्रमा प्रवेश गरेको हुँ । म अभिनय भन्दा पहिला नै एकजना सफल खेलाडी थिएँ । त्यसैले मैले बेलायतमा थुप्रै टीभी कमर्सियल र वादविवाद टीभी सोहरू पहिलेदेखि नै गरिरहेको थिएँ ।
मार्सल आर्टिस्टको रूपमा ब्रुस लीको आध्यात्मबाट पनि एकदमै प्रेरित थिएँ । उहाँले जीवन कसरी बाँच्ने भन्ने मात्रै नभएर असफलता र निराशालाई कसरी सामना गर्ने भन्ने पनि सिकाउनुभएको छ । मार्सल आर्टमा सुरुसुरुमा आउँदा म यी आध्यात्मिक कुराहरू बुझदिन थिएँ । किनभने म सानै थिएँ, तर उमेर बढ्दै गएसँगै मैले उहाँको आध्यात्मिक साइट बुझन थालेँ र अरूलाई पनि बुझाउने प्रयासमा छु ।
मैले कतै पढेको थिएँ, तपाईंलाई पकाउनमा पनि उत्तिकै रुची छ । नेपाल आएर कुनै नेपाली परिकार चाख्नुभएको छ ?
मैले चाखेको छु, मलाई यहाँको आलुचना मनपर्यो । मैले ममको बारेमा पनि सुनेको छु । त्यसैले म यो पनि पक्कै चाख्ने छु । प्रायः अंग्रेजीहरू विदेशभ्रमणमा निस्कदा उहाँहरूले विदेशी परिकार नै चाखिरहेको देख्छु । तर मेरो विचारमा उहाँहरूले जुन देश जानुभएको हो त्यही देशका परिकार चाख्नुपर्छ । ताकि केही फरक स्वाद चाख्न सकियोस् । मैले सुनेको नेपाली परिकार भारतीय परिकारको स्वादसँग मिल्दोजुल्दो छ, केही पिरो हुन्छ । मलाई पिरो एकदमै मनपर्छ ।
म यो सँगको एउटा घटना तपाईंसँग सेयर गर्न चाहन्छु । एकपटक मैले धेरै खुर्सानी खाएका कारण म अस्पताल भर्नासमेत भएको छु । ११ वटा हरियो खोर्सानी र हट सस खाएर अस्पताल भर्ना भएको थिएँ ।
हामी चलचित्र छायांकनका लागि कतै नयाँ ठाँउ जाँदा प्रोडक्सन टिमले उत्कृष्ट अनि स्ट्यान्डर्ड होटलहरूमा राखिन्छ । तर मलाई ती स्ट्यान्डर्ड होटलमा भएर स्थानीय ठाँउ गएर त्यहाका स्थानीय परिकार चाख्न मन पर्छ । त्यहाँका मानिसहरूको जीवनशैली नजिकबाट नियाल्न मन पर्छ ।
तपाईंले ज्याकी च्यान, जेट लीलगायत थुप्रै विश्वप्रसिद्ध स्टारहरूसँग सहकार्य गरिसक्नुभएको छ । तपाईंको स्टारस्ट्रक्ट क्षण कुनै छ ?
चलचित्र क्षेत्रमा मैले भेटेको सबैभन्दा राम्रो व्यक्ति (अभिनेता), जो सँग मेरो एकदमै नजिकको सम्बन्ध भनेको अभिनेता कियानु रिभ्स हुन् । कियानु रिभ्सले आफ्ना जीवनमा एकदमै दुखद घटनाको अनुभव गर्नुपर्यो । उहाँले श्रीमती र सन्तानलाई गुमाउनु पर्यो । उहाँ सबै पाटोबाट साँच्चै एकदमै दयालु, इमान्दार अनि न्यानो व्यक्तित्व भएका व्यक्ति हो । मैले उहाँसँग काम गर्दा, कुरा गर्दा रमाइलो महसुस गरेँ । अनि उहाँको अर्को राम्रो पाटो भनेको, उहाँ पर्फेक्सनिस्ट हुन् । मात्र ५ सेकेन्ड दृश्यका लागि उहाँ ६ घण्टासम्म पनि काम गर्नुहुन्छ ।
मैले उहाँसँग अभिनय गरेको पहिलो चलचित्र उनको निर्देशन रहेको ‘म्यान अफ थाई ची’ हो । जहाँ हामीले चीनका मार्सल आर्टिस्टहरूसँग काम गर्ने मौका पाएका थियौँ ।
‘म्यान अफ थाई ची’ को छायांनका केही रमाइलो घटनाहरू छन् ?
हामीले चीनमा छायांकन गरेका थियौँ । तर समय फरक भएका कारण म चीनमा हुँदा राम्रोसँग निदाउन सकिन । यसका कारण एउटा दृश्यको छायांकनका क्रममा भुसुक्कै निदाएँछु । किनभने दृश्य छायांकन हुन एकदमै समय लाग्थ्यो लाइटहरू मिलाउँदै गर्दा म भुसुक्कै निदाएछु । म त पूरै घुरेको रहेछु । अनि मेरो छेउको एकजना भाई मलाई हेर्दै हाँसिरहेको रहेछ । उसैले मलाई उठायो । तर मैले निदाएको नभनेर मेरो घाँटीमा केही अड्केको जस्तो एक्टिङ गरेँ । एकदमै रमाइलो भयो ।
अर्को भनेको इरिक रोबर्टस, अनि जुलिया रोबर्टस पनि हो । इरिकले मलाई मार्सल आर्ट गर्न एकदमै प्रेरित गर्नुभएको थियो ।उहाँलाई मार्सल आर्ट सिकाउँदा उहाँसँग कामगर्न पाउँदा एकदमै खुसी लाग्यो । मेरो ‘स्टारस्ट्रक मोमेन्ट’ मोमेन्ट भनेको त्यही हो ।
तपाईंका आगामी योजनाहरू केके छन् ?
केही प्रोजेक्टहरू मेरो पाइपलाइनमा छन् । गत महिनामात्रै एउटा नयाँ चलचित्रको काम सकिएको छ । यसका साथै म जर्मनीका टिमसँग मिलेर कार्टुनको निर्माण पनि गर्न लागेको छु । किनभने बच्चाहरूसम्म पुग्न यही एउटा राम्रो माध्यम हो । त्यसैले मैले मार्सल आर्टका कुराहरू यसमार्फत बताउन कोसिस गरिरहेको छु ।
मेरो सात वर्षको सन्तान छ । र, बच्चाहरूलाई गल्ती गर्नु बेठिक होइन । सिकाइको क्रममा गल्ती हुन्छ भन्ने सन्देश दिन र उनीहरूमा आत्मविश्वास बढाउन मैले कार्टुनको निर्माण गर्न लागेको हुँ । यसमार्फत बच्चाहरूलाई सशक्तीकरण गर्न चाहन्छु ।
नेपाली चलचित्रमा अफर आयो भने गर्नुहुन्छ ?
पक्कै गर्ने छु । तर, छायांकन समय भने १५ दिनको मात्रै भयो भने गर्न सकिन्छ । योपटक नेपाल राम्रोसँग भ्रमण गर्न पनि पाइएन । त्यसैले अर्को पटक केही लामो समयका लागि आएर सगरमाथा भ्रमण पनि गर्ने इच्छा छ ।