
इन्जिनियर प्रदीप अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक हुन् । गएको माघ १७ गते सरकारले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
उनको नियुक्तिलगत्तै जुनियरलाई महानिर्देशक बनाइयो भनेर सरकारको आलोचना भएको थियो । प्राधिकरणमा आवद्ध भएको १४ वर्षको अवधिमै अधिकारी महानिर्देशक बनेका हुन् । बाह्रखरीसँगको कुराकानीमा उनले जुनियरलाई महानिर्देशक बनायो भन्नुमा कुनै तुक नभएको बताए । सिनियर र जुनियर काममा नहुने उनको विश्वास छ ।
उनले नेपालको उड्डयन क्षेत्रमा भएका चुनौती सामना गर्ने र सुधार गर्ने अठोट आफूमा रहेको बताए । प्राधिकरणमा आएदेखि नै संस्थाले दिएको जिम्मवारी सफलतापूर्वक सम्पन्न गरेको अनुभव आफूसँग रहेको भन्दै उनले त्यो अनुभवले पनि सरकारले दिएको जिम्मेवारी र प्राधिकरणमा गर्नुपर्ने सुधारका चुनौतीहरुको सामना गर्न सक्ने दृढता व्यक्त गरे । “अहिलेसम्म मलाई दिइएको जिम्मेवारीमा सफलता नपाएको ट्रयाक रेकर्ड छैन,” उनले भने ।
नेपालको हवाई उड्डयन इतिहासमा ७४ वर्ष पछाडि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पाउन लागेको भन्दै यो देशका लागि गर्वको कुरा भएको बताए । “पहिलो अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने पुस्ता अहिले छैन, नयाँ पुस्ता छ । यो नयाँ पुस्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नयाँ थपिन लागेका दुईवटा विमानस्थल पछि पनि निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउनुपर्ने छ,” उनले भने, “दुगर्म क्षेत्रका विमानस्थलको सुधार, हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने चुनौती छ ।”
यी चुनौतीहरुको सामना गर्न र काम गर्न महानिर्देशककारुपमा आएको उनले बताए ।
उनले काम गरेरै आफ्नो नियुक्तिको सान्र्दभिकता पुष्टि गर्ने बताए । “मेरो नियुक्तिको सान्दर्भिकता कामले देखाउने हो । मेरो बुद्धि, विवेक, क्षमताले भ्याएसम्म राम्रो काम गर्न कुनै कसर बाँकी राख्दिन । म जागिर खानको लागि मात्रै प्राधिकरणमा आएको होइन । म केही गर्छु, नयाँ गर्छु भनेर नै यहाँ आएको हो ।”
उनले आफ्नो कार्यकालमा विमानस्थलहरुको पूर्वाधारमा ध्यान दिने बताए । उनले हाल सञ्चालनमा रहेका सबै विमानस्थलहरुमा पूर्वाधारको कमी रहेको भन्दै सुधारका लागि रोबस्ट खालको प्रविधिको आवश्यकता रहेको औंल्याएका छन् ।
अरु संस्थान भन्दा प्राधिकरण ज्यादै संवेदनशील भएकाले निकै होसियापूर्वक काम गर्नुपर्ने पनि उनले बताए । “यहाँ भएको सामान्य त्रुटि पनि अन्तर्राष्ट्रियकरण हुन्छ । त्यसैले निकै संवेदनशील रुपमा काम गर्नुपर्ने हुन्छ,” उनले भने ।
आगामी पाँचवर्ष पूर्वाधारको क्षेत्रमा धेरै लगानी गर्ने उनले बताए । “तराईका विमानस्थलहरुको टर्मिनल भवन ७०–८० वर्ष पुरानो छ । एकपछि अर्को गर्दै सबैलाई रिप्लेस गर्दै जानुपर्ने छ । पहाडका विमानस्थलहरुको पनि टर्मिनल विल्डिङ धेरै पुराना भइसके, त्यहाँ पनि निर्माण गर्दै जानुपर्नेछ । काठमाडौं विमानस्थलको पनि अझै सुधार गर्नुपर्नेछ । त्यसैले हाम्रो लगानी पूर्वाधारको क्षेत्रमा रहनेछ ।”
उनले गुमिसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन योग्य बनेको बताए । “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति राम्रो नभएको भन्दै एसियाली विकास बैंकले हात झिक्ने निर्णय गरिसकेको थियो । एडीबीले सन् २०१७ मा थप लगानी गर्न नसक्ने र टर्मिनेट गर्नको लागि प्राधिकरणलाई पत्र नै पठाएको थियो । त्यो बेला म नै आयोजना प्रमुख थिए । होइन, यो विमानस्थल जसरी पनि बन्नुपर्छ भनेर निकै मेहेनत गरियो । यसको प्रगति २७ प्रतिशत मात्रै हुँदा १ अर्ब ८० करोड खर्च भइसकेको थियो । अर्को टेन्डर गर्दा लागत १२ अर्ब पुग्ने थियो । त्यस कारण पनि यो आयोजना टर्मिनेट गर्न हुँदैन भन्नेमा थियौं । त्यसपछि हाम्रो लगानीमा काम सुरु गर्यौं । काम सुरु गरेको ६ महिनामा यसको प्रगती ५१ प्रतिशत पुर्यायौं । र, पछि फेरि एडीबी पनि सहकार्य गर्न जोडियो । आज सबै काम सकाएर विमान उडान–अवतरण गर्ने अवस्थामा पुर्याएका छौं,” उनले भने ।
काम सुरु भएको मितिले ३ वर्षमा सम्पन्न गर्नुपर्ने थियो तर ४ वर्ष ढिला भएको छ । ७ वर्षमा यो विमानस्थल सञ्चालनमा आउन लागेको हो । “यो गर्वको विषय हो । ७४ वर्षपछि मोफसलबाट नेपाललाई विदेशसँग जोड्दैछौं,” उनले भने ।
उनले तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबा कति वटा विमान कम्पनी आउँछन् भन्नु भन्दा पनि यो विमानस्थल सञ्चालन हुनु नै ठुलो भएको बताउँछन् । “यो विमानस्थलबाट एकै दिनमा १० वटा उडान गर्छौँ भन्ने पनि होइन । भर्खर उडान हुन लागेको छ । अहिले एउटाबाट सुरु होला विस्तार थपिँदै जानेछन् । यात्रुहरु हुने वित्तिकै विमान कम्पनीहरु आइहाल्छन्,” उनले भने ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिए भन्दा अगाडि निर्माण सकिएर इतिहास बनाउने अवसरबाट चुकेको बताए ।
कोभिडले त्यो इतिहास बनाउने अवसरलाई प्रभावित पारेको उनले बताए । “कोभिडले असर नपारेको भए तोकिएको समयभन्दा ६ महिना अगाडि सम्पन्न हुने थियो । कोडिभले असर पार्यो । त्यो पनि अब तोकिएको समयमा निर्माण सम्पन्न हुन्छ । समयभन्दा अगाडि सकिएको राष्ट्रिय गौरवको आयोजना बन्ने थियो, इतिहास बनाउने थियो । तर, दुर्भाग्य कोभिडले असर पा¥यो,” उनले भने । उनले यो विमानस्थलको भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ ।
निजगढ बनाउन नदिन जागिर खाइरहेका छन्
महानिर्देशक अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अति महत्वपूर्ण र आवश्यक विमानस्थल भएको बताए । “निजगढ विमानस्थलको सन् १९९५ मा पूर्वसम्भाव्यता अध्ययन भएको रहेछ । आज २७ वर्ष भयो । अझै पनि यो विमानस्थल बनाउन पर्छ कि पर्दैन भनेर छलफल गरिरहेका छौं, यो दुर्भाग्य हो,” उनले भने ।
उनले यो विमानस्थल आवश्यक छ भन्ने बुझेकाहरुले नै विरोध गरिरहेको बताए । “बुझेको मान्छेलाई बुझाउन सकिँदैन । मैले प्राधिकरणमा जागिर खाएको छु । मैले निजगढ विमानस्थल बनाउँछु भनेर जागिर खाएको छु । यो बनाउन हुँदैन भनेर मान्छेले जागिर खाए भने तपाईं के गर्नुहुन्छ ? मान्छेले यो विमानस्थल बनाउन हुन्न, दिन्न भनेर जागिर खाएका छन् । त्यो को हो भन्दा बुझेको मान्छे हो । उसलाई के बुझाउनुहुन्छ ?,” उनले भने ।
तीन करोड जनतामध्ये ९९ प्रतिशतलाई निजगढ विमानस्थल आवश्यक छ भन्ने विषयमा बुझाउनै नपर्ने समेत उनले बताए । “उहाँहरुले सरकारले राम्रो काम गर्न लाग्यो । हामीले रोजगारी पाउने भयौं । यूरोप, अमेरिका जोडिने भयौं भनेर बुझ्नु भएको छ । यो बनाउनै हुँदैन भनेर जसले धेरै बुझेको छ, उसलाई तपाईंले बुझाउनुहुन्छ ?,” उनले प्रश्न गरे ।
उनले यो विमानस्थल बनाउँदा हुने वातावरण क्षति भरपाइ गर्ने विकल्प हुँदाहुँदै पनि विरोध गरिएको बताए । “विमानस्थल तीन प्रकारले बन्छ । एउटा समुन्द्र पुरेर । समुन्द्र हामीसँग छैन । समुद्रै पुरेर बनाउनुपर्ने विमानस्थल पनि डाँडा काटेरै माटो ल्याउनुपर्ला । डाँडामाथि रुख होलान्, त्यो पनि काट्नुपर्ला । समुद्र पुर्दा सामुद्रिक पर्यावरणलाई पनि असर गर्ला । वातावरणीय असर त त्यहाँ पनि छ । दोस्रो खेतीयोग्य जमिन नास गरेर । वर्षौदेखि बसेकालाई उठाएर कहाँ गरियो ? पोखरा, गौतमबुद्ध विमानस्थलमा निर्माण गरियो । त्यत्रो पैसा खर्च गरियो, जग्गा मुआब्जामा ।”
तपाईं भन्नुहोस्, पुरेको समुद्रलाई फेरि अर्को समुद्र बनाउन सकिन्छ ? जुन खेतीयोग्य जमिन हामीले गुमायौं, जो मान्छेलाई विवश बनाएर उठाइयो, थातथलो उठाएर । अब हामीले फेरि त्यो प्राप्त गर्न सकिन्छ ? खेतीयोग्य जमिन नाश गर्नु राम्रो हो ? त्यसमा वातावरणीय क्षति छैन ?
तेस्रो रुख काट्ने विषय । यसको मतलब रुख काट्नुपर्छ भनेको होइन । विमानस्थल चाहिँदैन, रुख काट्न परेन । विमानस्थल चाहिन्छ, रुख काट्नु पर्यो । एउटा रुख काट्दा १५ वटा लगाउँछु भनेकै छ । यो भन्दा १५ गुणा राम्रो वातावरण बनेर आउँछ । भनेपछि यसमा वातावरणीय क्षति के छ ? खेतीयोग्य जमिन मास्दा हुने, समुद्र पुर्दा हुने, जुन फेरि प्राप्त गर्न सकिँदैन । अहिले जे छ त्यो भन्दा १५ गुणा राम्रो दिन्छु भन्दा नहुने ? भर्खर १२ कक्षा पढ्ने बच्चाहरुलाई ल्याएर ‘नो निजगढ’ भनेर माइतीघरमा जुलुस निकाल्ने ? निगजढ विमानस्थलको विरोध गर्नेहरु यूरोप, अमेरिका जालान् अत्याधुनिक विमानस्थल प्रयोग गर्लान् तर के नेपालीका छोराछोरीलाई त्यस्तो विमानस्थल चाहिँदैन ? त्यही नारा लिएर बसिरहने ? त्यहीँ जागिर खाइरहने ? यो सोच्नुपर्दैन हामीले । यो त राष्ट्रघात हो । कहिलेसम्म अर्काको जागिर खाएर बस्ने ?
विमानस्थल बनाउनको लागि वातावरण क्षति रहर नभई आवश्यकता भएको उनले बताए ।
महानिर्देशक अधिकारीसँग उनको नियुक्ति, प्राधिकरणमा उनको योजना, विमानस्थलहरुको सुधार, निर्माणसहित नेपालको हवाई सुरक्षालगायतमा बाह्रखरीकर्मी हिमाल पौडेलले गरेको भिडियो कुराकानी :