चीनका विदेशमन्त्री वाङ यी यही चैत ११ गते नेपाल आउँदै छन् । केही वर्षदेखि नेपालकाे आन्तरिक राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीका नामबाट अलि बढी नै चासाे राख्न थालेकाे भए पनि अहिलेकाे विदेशमन्त्री वाङकाे भ्रमण ‘आकस्मिक’जस्तो देखिएकाे छ ।
चिनियाँ विदेशमन्त्रीकाे नेपाल भ्रमणकाे समय र संयाेग भने कताकता अनपेक्षित र अमिल्दो लाग्छ । नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमप्रति चीन खुसी हुने कारण पनि देखिँदैन ।
पहिलाे त, नेपालका कम्युनिस्टलाई एकीकृत गर्ने चिनियाँ प्रयत्न सफल भएन । नेपालकाे आन्तरिक राजनीतिमा सधैँ नै तटस्थ देखिँदै आएकाे चीन यस प्रकरणमा नराम्रोसँग फस्याे ।
दाेस्राे, अमेरिकी अनुदान सहयाेग एमसीसीका सम्बन्धमा पनि चीनले चाहेकाे जस्ताे भएन । यसैले हाेला उसकाे प्रतिक्रिया अनपेक्षित र अस्वाभाविक रह्याे । यसभन्दा पहिले चीनले नेपालकाे आन्तरिक मामिलामा यति तीताे टिप्पणी गरेकाे थाहा छैन ।
सामान्यतः पारस्परिक सम्बन्ध सुमधुर नरहेका बेला उच्चस्तरकाे कूटनीतिक भ्रमण हुने गर्दैन । तर, चीनले नेपालसँगकाे ‘सम्बन्ध’लाई भारतले जस्तै ‘विशेष’ ठानेकाे देखाउन खाेजेकाले पनि ‘प्रतिकूल परिस्थिति’मा भ्रमण कार्यक्रम बनाएकाे हाे कि !
खप्की सुन्नुपर्ने त हैन !
विदेशमन्त्री वाङ पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् । बाटामा पर्ने भारतकाे पनि भ्रमण गर्ने भनिएकाे छ । बाटाे मिलाएकाेमात्र हाे भने खासै आश्चर्य पनि मान्नु परेन ।
नेपालका कम्युनिस्टहरूकाे फुट र एमसीसी प्रकरणपछिकाे असन्तुष्टि मुखिन्जेल नै पाेख्न अथवा उनीहरूलाई धम्क्याउन त वाङ काठमाडौं आएका पक्कै नहाेलान् नि ? हाे भने चीनले अब ‘खप्की’काे कूटनीति अपनाएकाे देखियाे ।
विशेषगरी, नेपालका कम्युनिस्टलाई संगठित र प्रशिक्षित गर्न गरिएकाे चिनियाँ परिश्रम र लगानी खेर फालेकाेमा कम्युनिस्ट नेताहरूले वाङकाे खप्की सुन्नुपर्ने पनि हुनसक्छ । वा फेरि कम्युनिस्टलाई एक हुन प्रेरित गर्ने मन्त्र पाे सुनाउने हुन् कि ? देखिने सुनिने नै छ ।
चीनकाे हित
भन्छन्, चिनियाँहरू धेरै चतुरा हुन्छन् । यसैले सबैभन्दा प्राथमिकता आफ्नै हितलाई दिन्छन् । यहाँका कम्युनिस्टतिर बढी ढल्किँदा वा कसैकाे पक्षमा देखिँदा नेपाली जनताकाे सद्भाव बिथाेलिन सक्छ भन्ने बुझ्न चतुरा चिनियाँलाई पक्कै गाह्रो पराेइन ।
नेपालकाे आन्तरिक राजनीतिमा अलि अस्वाभाविक सक्रियता देखाएपछि चीनप्रति पनि नेपाली समाजमा विश्वास घटेकाे छ । नत्र, तिब्बतसँग निकट सम्बन्ध भएर पनि नेपाली जनता आश्चर्जनकरूपमा चीनप्रति अगाध शुभेच्छा राख्छन् ।
चिनियाँ आधिपत्यपछि स्वनिर्वासित तिब्बतीलाई शरण दिने र चीन सरकारकाे पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा पैरवी गर्ने काम नेपालले एकैसाथ कुशलतापूर्वक गरेकाे थियाे । र, दुवै काम इमानसाथ गरेकाे थियाे । तिब्बती शरणार्थीकाे हेरचाह राम्ररी गरेबापत नेपालले ‘नानसेन पदक’ पाएकै समयमा नेपालले चिनियाँ सहयाेग पनि पाएकाे थियाे ।
समयसँगै चीनकाे प्राथमिकता र रणनीति बदलिएकाे हाेला तर नेपालका हकमा धेरै फरक नपर्नु पर्ने हाे । नेपालकाे राजनीतिमा कसैलाई काखा र कसैलाई पाखा गर्दा चीनप्रति नेपालभित्र सद्भाव र विश्वास पक्कै बढ्ने छैन ।
यद्यपि, शान्त कूटनीतिकाे परम्परागत अभ्यास छाडेर चीनले पनि आक्रामक नीति अपनाउन थालेकाे भान पर्दै गएकाे छ । तर, नेपालजस्ताे मुलुकमा र नेपालका लाेकतन्त्रवादीका मनमा चिसाे पार्ने काम त चीनले कसरी गर्ला र ?
चिनियाँ अग्रसरतामा बनाइएकाे नेपालकाे कम्युनिस्ट पार्टीकाे शासनकालमा सम्भवतः नेपालमा चीन सबैभन्दा बढी विवादमा पर््याे । त्यसमाथि कम्युनिस्ट घटकलाई एक बनाउन नेपालका लागि चिनियाँ राजदूतकाे उत्ताउलाे सक्रियतालाई धेरैले मन पराएनन् ।
चीनले नेपालका राजनीतिक दलहरूमा खेल्न थालेपछि भारतकै अवस्थामा पुगेकाे छ । एमसीसी प्रकरणमा नेपाली समाज विभाजित भयाे । तर, बीआरआईका याेजनाहरूकाे खासै विराेध देखिएकाे थिएन । अब भने बीआरआई विवादमा पर्ने जाेखिम बढेकाे छ ।
चिनियाँहरू नेपालका कम्युनिस्ट पार्टीकाे राजनीतिमा जति मुछिन्छन् र लगानी गर्छन् उत्तिकै नेपाली समाजमा चीन बदनाम र अलाेकप्रिय हुँदै जान्छ । तर, यसरी चीनकाे साख गिर्नु नेपालकै पनि हितमा हुँदैन ।
अपेक्षित सन्देश
विदेशमन्त्री वाङले नेपालमा दुईवटा सन्देश दिनु चीनकाे पनि हितमा र मर्यादाअनुरूपकाे हुने देखिन्छ । नेपाली समाजमा चीनप्रति सन्देह र अविश्वास मेटाउन वाङकाे भ्रमण उत्तम अवसर हुनसक्छ ।
पहिलाे, नेपालकाे आन्तरिक राजनीतिमा चीनले फेरि ‘कम्युनिस्ट एकीकरण’ गर्न लगानी गर्ने मूर्खता गर्नेछैन । चीनका लागि नेपालका राजनीतिक दलहरू काेही ‘साख’ र काेही ‘कुसाख’ छैनन् ।
दाेस्राे, चीनप्रति नेपालमा कसैले ‘बाँदरभक्ति’ देखाउनु जरुरी छैन । आफ्नाे रक्षाका लागि चीन समर्थ छ । एमसीसीमा टिप्पणी गर्दा चीन चुकेकै हाे । चिनियाँ टिप्पणीले बीआरआई विवादमा पर्नसक्छ । यसैले विदेशमन्त्री वाङले नेपाली जनतालाई ‘अहस्तक्षेप’काे पुरानै नीति कायम रहनेमा आश्वस्त बनाउनुपर्छ ।
चीनले नेपालकाे आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने विश्वास दिलाउनमात्रै सके नेपाली जनताकाे सद्भाव र समर्थनका लागि ‘बाँदरभक्त’ उत्पादनमा लगानी गर्नै पर्नेछैन ।