
काठमाडौं । स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दलहरु जनताको घर दैलोमा पुग्ने चटारोमा छन् । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अहिले चुनावी दौडमा छन् । जिल्ला जिल्लामा हुने कार्यक्रममा प्रमुख नेताहरु सहभागी छन् ।
यी कार्यक्रम नै चुनाव लक्षित छन् ।
नेताहरु उमेदवार बन्ने आंकाक्षा व्यक्त गरिरहेका छन् र घोषणा पनि गरिहेका छन् ।
यसैक्रममा बजेटको हिसाबले समेत महत्वपूर्ण रहेको काठमाडौं महानगरका लागि पनि दौडधुप चलेको छ । महानगर हाँक्न पूर्वमन्त्रीदेखि बहालवाला मेयर तथा उपमेरसमेत लबिइङमा छन् ।
काठमाडौंको मेयरमा पूर्वमन्त्रीहरूको नजर ! रवीन्द्र मिश्रलाई पार्टीभित्रैबाट दबाब
राजनीतिक दलहरु महानगर आफ्नो पक्षमा पार्न अंकगणितमा व्यस्त छन् । २०७९ वैशाख ३० गते हुने निर्वाचन नजिकिँदै गर्दा हामीले अघिल्लो निर्वाचनको अवस्था प्रस्तुत गरेका छौं ।
यस्तो थियो निर्वाचनको अवस्था
२०७४ को स्थानीय निर्वाचनमा महानगर हाँक्ने जिम्मेवारी एमालेले पायो भने उपमेयरमा नेपाली कांग्रेस विजयी भएको थियो । एमालेका उमेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएका थिए । एमालेले कांग्रेसले भन्दा झन्डै २० हजार बढी मत ल्याएको थियो ।
कांग्रेसका उमेदवार राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । जुन शाक्यभन्दा १९ हजार ६४४ मत कम थियो ।
त्यस्तै उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत पाएकी थिइन् । उपमेयर दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजाराम श्रेष्ठले ३४ हजार ४५४ मत ल्याएका थिए ।
जनप्रतिनिधिले उमेदवार बन्न राजीनामा दिनुपर्ने (आचारसंहिताको पूर्णपाठ)
काठमाडौंमा एमाले¬–राप्रपा गठबन्धन भएको थियो । एमालेले मेयर जिते पनि राप्रपाबाट उपमेयर बनेका श्रेष्ठलाई धोका भएको चर्चा चलेको थियो । त्यस्तै माओवादी भने तेस्रो भएको थियो । माओवादीकी उमेदवार सुशीला कुमारी पौडेलले १० हजार ४४८ मत ल्याएकी थिइन् ।
उक्त निर्वाचनमा महानगरका ३२ वडामध्ये एमाले १८ र कांग्रेसले १४ वडा आफ्नो पक्षमा पारेको थियो ।
एमालेले जितेको १८ वडा
एमालेका तर्फबाट वडा नम्बर १ को अध्यक्षमा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा ध्रुवनारायण मानन्धर, १४ मा शोभा सापकोटा निर्वाचित भएका थिए ।
त्यसैगरी वडा नम्बर १५ मा ईश्वरराज डङ्गोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि बज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुली अध्यक्षमा निर्वाचित भएका थिए ।
कांग्रेसले जितेको वडा र अध्यक्षहरु
कांग्रेसका तर्फबाट वडा नम्बर ५ मा रमेश महर्जन, ६ मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डङ्गोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैगरी, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी भएका थिए ।
अरु दलको के थियो ?
महानगरको मेयरमा स्वतन्त्रसमेत गरी २८ जनाले उमेदवारी दिएका थिए । जसमा विवेकशील नेपाली दलकी रन्जु दर्शना न्यौपानेले २३ हजार ४३९ मतसहित तेस्रो भएकी थिइन् ।
त्यतिबेला युवा उमेदवार रन्जु दर्शनाको चर्चा निकै चलेको थियो । उनले राम्रै मत पाएकी थिइन् । त्यस्तै विवेकशील साझाका किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए । उनी चौथो भएका थिए ।
नेकपा माओवादी केन्द्र भने उक्त निर्वाचनमा कमजोर देखिएको थियो । माओवादीकातर्फबाट मेयरको उमेदवार बनेका सर्वोत्तम दास डंगोलले ७ हजार ९०६ मत मात्रै ल्याएका थिए । उनी पाँचौं भएका थिए ।
अहिलेको अवस्था कस्तो छ ?
२०७४ सालको निर्वाचनमा पनि एमाले प्रतिपक्षमा थियो । एमाले अहिले पनि प्रतिपक्षमा छ । हाल एमाले विभाजित छ । एमालेबाट विभाजित माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) चुनावी मैदानमा होमिने तयारीमा छ । उक्त दलले एमालेको भोट काट्ने देखिन्छ ।
त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको ५ दलीय गठबन्धन तालमेल गरेर जाने या नजाने भन्ने टुंगोमा भने पुगिसकेको छैन । तर, शीर्ष नेताहरु गठबन्धन गरेरै जानुपर्ने पक्षमा छन् ।
गठबन्धनसहित निर्वाचनमा गएमा झन्डै २० हजार मत ल्याएको एमालेलाई असहज हुने देखिन्छ । त्यसैले एमालेले पार्टीको उमेदवारका लागि उपयुक्त तथा लोकप्रिय पात्रको खोजी गरिरहेको छ ।
उता, ०७४ को निर्वाचनमा चर्चामा रहेर भोट पाएका नयाँ दलका दर्शना र थापा दुवैजना हाल पार्टीबाट अलग भइसकेका छन् ।
निर्वाचनपछि पार्टी एक भएर विवेकशील साझा बनेको छ । सोही पार्टीमा पनि संयोजक रवीन्द्र मिश्र र मिलन पाण्डे विभक्त छन् । पार्टीमा एकमत नहुँदा र त्यतिबेला चर्चामा रहेका उमेदवार पार्टी बाहिर रहेकाले सो मत कता जाने भन्ने निश्चित नभएको विश्लेषण पनि हुने गरेको छ ।
उनीहरुले पाएको मत तान्न सक्ने उमेदवारको खोजीमा एमाले र कांग्रेस दुवै रहेका देखिन्छन् ।
त्यसैगरी, अघिल्लो निर्वाचनमा दोस्रो मत पाएकाले तालमेल भएमा कांग्रेसले महानगर लिने तयारी छ । तर, एमालेले जितेकाले आफूले पाउनुपर्ने दाबी माधव नेपालले गरेको नेताहरु बताउँछन् । महत्वपूर्ण स्थानमा तालमेल गर्ने तयारी भइरहेको र त्यसबारेमा छलफल भइरहेको नेताहरुको भनाइ छ ।