
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलहरु चुनावी अभियान बोकेर गाउँ पस्ने तयारीमा छन् ।
दलहरुमा उमेदवार को को हुन्छन् भन्ने चर्चा पनि हुन थालेको छ ।
विभिन्न नेता तथा स्वतन्त्र व्यक्तिहरुले आकांक्षा र दाबेदारी पनि प्रस्तुत गरिरहेका छन् । सत्ता गठबन्धनका नेताहरु गठबन्धनमार्फत् नै निर्वाचनमा जाने बताइरहेका छन् । तथापी गठबन्धन नभए आफ्ना उमेदवार उठाउने तयारी पनि गरिरहेका छन् ।
चासोको साथ हेरिने काठमाडौं महानगर हाँक्नका लागि पनि विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले आकांक्षा देखाउन थालेका छन् । काठमाडौं महानगरको मेयरका आकांक्षीहरुमा पूर्वमन्त्रीले तयारी थालेका छन् भने विवेकशील साझा पार्टीका अध्यक्षसमेत रहेका नेता रवीन्द्र मिश्रलाई अघि बढ्न सो पार्टीका केही नेताले सुझाव दिएका छन् ।
एमालेका तीन आकांक्षी
प्रतिपक्षी दल नेकपा एमालेले अब पार्टी कमिटीका बैठकहरु राखेर उमेदवारहरुका विषयमा छलफल गर्ने भएको छ । यही चैत ७ गते पोलिट्ब्यूरो बैठक बस्ने र त्यसपछिका केन्द्रीय कमिटी बैठकमा चुनावको तयारी र उमेदवारका विषयमा छलफल गर्ने तयारी रहेको एक नेताले जानकारी दिए । एमालेमा पूर्व मेयर, पूर्वराज्यमन्त्री र बहालवाला मेयरले दाबेदारी प्रस्तुत गरिहेका छन् ।
विद्यासुन्दरप्रति पार्टी नेतृत्व नै असन्तुष्ट
काठमाडौं महानगरपालिकाका बाहालवाला मेयर विद्यासुन्दर शाक्यले पुनः मेयरका लागि दाबेदारी प्रस्तुत गरिसकेका छन् । तर, उनको सम्भावना कम रहेको एमाले वृत्तमा नै चर्चा भइरहेको छ । उनीप्रति पार्टी नेतृत्व नै सन्तुष्ट हुन नसेकेको एमालेका एक नेताले जिकिर गरे ।
“हालका मेयरको इकोनोमिक रिसोर्सेस बढाउनेतिर ध्यान देखिएन । भएको पैसा पनि फ्रिज गरेका छन् । फोहोर मैला, ट्राफिक जामको व्यवस्थापन समेत हुन सकेन । आफैंले भनेको कुरा पनि पूरा गर्न सकेनन् ,” ती नेता भन्छन्,“ यी यावत् कुराले मेयरसँग पार्टी नेतृत्व सन्तुष्ट छैन । जनता पनि खासै सन्तुष्ट देखिँदैनन् । त्यसैले उनी पुनः दोहोरिने सम्भावना कम छ । निर्णय त पार्टीले नै गर्ने हो ।”
रामवीर मानन्धर भन्छन् – मेरो दाबेदारी छ
एमालेबाट पूर्वराज्यमन्त्री समेत बनेका रामवीर मानन्धरले मेयरको दाबेदारी प्रस्तुत गरेका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले मेयरमा आफ्नो दाबेदारी रहने बताए ।
“मेयरमा मेरो दाबेदारी हो । म राज्यमन्त्री भएको बेलामा पनि मैले नयाँ सहरको कल्पना गरेको छु । काठमाडौंको ट्राफिक व्यवस्थापन, फोहोर मैला, पानीलगायतको व्यवस्थापन कसरी गर्ने ? यो नौलो कुरा होइन,” उनले भने “तर यसलाई व्यवस्थित गरौं भन्नेमा छु । मैले राज्यमन्त्री हुँदा नै टोखा छहरेको सुरुङमार्ग त्यसबाट ६० किलोमिटरको नयाँ सहरको कल्पना गरेको छु । काठमाडौंलाई हिमाली सहरसँग जोड्नुपर्छ भन्ने मेरो मान्यता छ ।”
मानन्धर दुईपटक वडा अध्यक्ष, दुई पटक प्रतिनिधि सभाको सांसद तथा सहरी विकास मन्त्री भइसकेका छन् ।
केशव स्थापितलाई ल्याउनुपर्ने बहस
मेयरमा पूर्वमेयर केशव स्थापितको चर्चा सुुरु भएको छ । एमालेका नेताहरु पुनः स्थापितलाई ल्याउनुपर्नेमा छन् । काठमाडौंको मेयरमा चर्चा पाइसकेका स्थापितको सम्भावना रहेको एक नेताको दाबी छ ।
“पार्टीका नेताहरुमा केशव स्थापितलाई ल्याउनुपर्छ कुराकानी चलिरहेको छ । उनको सम्भावना पनि देखिन्छ । उनी पनि लागिपरेका छन् । त्यस्तै अहिले एमालेबाहेकको गठबन्धन छ । उता, पहिले रन्जु दर्शनाहरुले ल्याएको भोट कता जान्छ भन्ने कुराको हिसाव किताब गर्नुपर्ने हु्न्छ । सबै आंकलन गरेपछि त्यसैअनुसारको उमेदवारको टुंगो लाग्छ,” ती नेताकाे भनाइ छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी, तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भएका थिए ।
स्थापितले मेयर हुँदा गरेको कामको चर्चा पनि हुँदै आएको छ ।
वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापितलाई २०७५ कात्तिक १६ गते तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट बर्खास्त गरेका थिए । उनको अभिव्यक्तिका कारण विवादमा तानिएपछि बर्खास्तमा परेका हुन् ।
कांग्रेसबाट दौडमा को-को छन् ?
विशेषगरेर महानगरको बागडोर सम्हाल्न सत्तारुढ दल नेपाली कांग्रेसबाट आकांक्षीको संख्या बढ्दो छ । महानगरपालिकामा पूर्वमेयर तिर्थमान डंगोल, वर्तमान ‘उपप्रमुख’ हरिप्रभा खड्गी कांग्रेसबाट मुख्य रुपमा देखिएकी छन् ।
यस्तै कांग्रेस काठमाडौं महानगर सभापति निलकाजी शाक्य, सभापतिका अर्का उमेदवार प्रगतिमान रञ्जित पनि मेयरको दौडमा छन् । महानगरको नेतृत्व गर्न अघिल्लो चुनावका मेयरका उमेदवार राजुराज जोशी पनि उमेदवारको दौडमा छन् । यस्तै १६ नम्बर वडाका वर्तमान वडा अध्यक्ष तथा क्षेत्र नम्बर ६ का कांग्रेस सभापति मुकुन्द रिजाल पनि मेयर पदका आकांक्षी हुन् ।
महानगरको मेयर भएर काम गरिसकेका तिर्थमान डंगोल सांसद भिमसेनदास प्रधान निकट मानिन्छन् । वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र राजुराज जोशी नेता प्रकाशमान सिंह निकट रहेर काम गरिरहेका छन् । सिंहकै जोडबलमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जोशी महानगर प्रमुख र खड्गी उपप्रमुख पदमा चुनाव लडेका थिए ।
मेयरका अर्का आकांक्षी निलकाजी शाक्य र मुकुन्द रिजाल पनि नेता प्रकाशमान सिंह निकट मानिन्छन् । निलकाजी शाक्य वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा प्रकाशमान सिंह सँगै कांग्रेस प्रजातान्त्रिकमा आवद्ध भएका थिए । सोही समयदेखि उनी केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् ।
यता, शेरबहादुर देउवा टिमबाट प्रगतिमान रञ्जितको पनि मेयरको दौडधुप बढेको छ । कुनै समय नेता सिंह निकट मानिने रञ्जित पार्टीको १४ औं महाधिवेशनबाट देउवा टिममा लागेका हुन् । उनी निलकाजी शाक्यसँग काठमाडौं महानगर सभापतिमा पराजित भएका थिए ।
“तिर्थमान डंगोललाई टिकट दिन सके कम्युनिष्टसँग भिडेर हामी जित्छौं भनेर मैले शेरबहादुर दाइ र कृष्णदाइलाई सुझाव दिइसकेको छु,” नेता भिमसेनदास प्रधानले बाह्रखरीसँग भने ।
महानगरपालिका वर्तमान उपप्रमुख हरिप्रभा खड्गी कांग्रेसबाट महानगर प्रमुखको स्वभाविक आकांक्षी हुन् । २०७४ सालमा भएको चुनावमा कांग्रेसले मेयर पद गुमाउँदा उनी भने विजयी बनेकी थिइन् । विशेषगरेर रानीपोखरी पूनर्निर्माणदेखि महानगरको हरेक गतिविधिमा उनको चर्चा हुने गरेको छ ।
“म स्वाभाविक उमेदवार हो । पार्टी र जनताको प्रतिनिधित्व गरेर मैले काम गरिरहेकी छु । सम्पदा पूर्ननिर्माणदेखि महानगरको हरेक गतिविधिमा मेयरसँग भिडेर काम गरिरहेकी छु । पार्टीले यसको मूल्यांकन त गर्नुपर्यो,” उनी भन्छिन् ।
मेयरकै आकांक्षी काठमाडौं महानगर कांग्रेस सभापति निलकाजी शाक्य पनि हुन् । २५ नम्बर वडाका अध्यक्षसमेत रहेका शाक्य आफू वडामा काम गरिरहेको र पार्टीको पनि महानगरपालिका सभापति भएर काम गरिरहेकाले पनि स्वाभाविक उमेदवारको रुपमा प्रस्तुत् गर्छन् ।
“म वडा अध्यक्ष, नगर सभापति, कलाकार तथा धार्मिक व्यक्ति पनि हुँ । म पार्टीको वफादार सिपाही भएर लामो समयदेखि काम गरिरहेको छु । वडाका साथीहरुले तपाईं जस्तो धार्मिक र लगनशील व्यक्तिले अब महानगरको नेतृत्व लिनुपर्छ भनेका छन् । म नेताहरुसँग पनि कुरा गरिरहेको छु,” उनी भन्छन् ।
यस्तै मेयरको दौडमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष तथा प्रतिनिधि सभा ७ नम्बर कांग्रेस क्षेत्रीय सभापति मुकुन्द रिजाल पनि छन् । रिजाल आफू जनतासँग भिजेर काम गरिरहेकाले पार्टीले यसलाई मूल्यांकन गर्नुपर्ने बताउँछन् ।
“सबैभन्दा धेरै मतदाता नै मेरो वडामा छन् । म वडा अध्यक्ष , पार्टीको क्षेत्रीय सभापति जिल्ला सदस्य पनि भएर काम गरिसकेको छु । जनताले रुचाएका छन् । पार्टीले न्याय गर्छ भन्ने विश्वास छ,” उनी भन्छन् ।
यता, अघिल्लो चुनावमा पराजित राजुराज जोशी पनि पार्टीले आवश्यक ठाने मेयर लड्ने बताउँछन् । उनी आफू प्रतिनिधि सभा लड्ने कि महानगर भन्ने दुविधा रहेको बताउँछन् । उनका भाइ तथा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद नविन्द्रराज जोशीको निधन भएपश्चात् त्यो ठाउँमा पार्टीबाट प्रतिनिधि सभा लड्नुपर्ने दबाब भएको जोशी बताउँछन् ।
“म अघिल्लो चोटी गैरनेवार समूदायबाट भोट नआएर हारेको हुँ । अहिले मेरो क्षेत्रका इकाइ सभापतिदेखि पार्टीका विभिन्न पदमा रहेका साथीहरुले मेयर लड्पर्छ भनिरहेका छन्,” जोशी भन्छन् ,“फेरि ८ नम्बर क्षेत्र खाली छ । यहाँबाट केन्द्रमा लड्नुनर्पे दबाव पनि उत्तिकै छ । पार्टीले आवश्यक ठाने म मेयर लड्छु ।”
अघिल्लो चुनावमा पनि मेयरका आकांक्षी रहेका प्रगतिमान रञ्जित पनि अहिले पनि तयारीमा छन् । सामाजिक कार्यमा सक्रिय उनी शेरबहादुर देउवा प्यानलबाट १४औं महाधिवशनमा काठमाडौं महानगरपालिका सभापतिमा चुनाव लडेका थिए । खुलामञ्च अतिक्रमणको विरोधदेखि कोभिडको समयमा भएको लकडाउनमा निशुल्क भोजन उनले आफ्नै पहलमा गरेको उनले बताए ।
“महानगरभित्रको बेथितिविरुद्ध आवाज उठाउनेदेखि सामाजिक कार्यमा समेत संलग्न छु । अघिल्लोपटक पनि मेयरमा लड्ने मेरो आकांक्षा थियो । म सबै उमेर समूहसँग उत्तिकै नजिक छु । निरन्तर पार्टीको कार्यमा पनि लागेको छु । पार्टीको संगठन विभागमा बसेर पनि काम गरेँ । त्यसैले महानगर सुधार्ने भिजन मसँग छ । पार्टीले मूल्यांकन गर्छ भन्ने लाग्छ,” रञ्जित भन्छन् ।
महानगरमा पार्टी महामन्त्री गगन थापाले चाहेको व्यक्ति नै अघि आउन सक्ने अर्का एक नेता बताउँछन् ।
उनी भन्छन्, “काठमाडौंको नेता, महामन्त्री नै गगन थापा भएको हुँदा यहाँबाट एउटा सन्देश दिन सकिन्छ भन्ने लागेर नै उहाँको चासो हुनु स्वाभाविक हो ।”
थापाले महानगरका सचिवसमेत रहेका सुशन वैद्यलाई अघि सार्ने तयारीमा रहेको एक नेता बताउँछन् । वैद्य इञ्जिनियर हुन् । टुँडीखेल, रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेका वैद्य थापा निकट मानिन्छन् ।
माओवादीमा उमेदवार छान्ने अधिकार प्रदेशलाई
सत्ता साझेदार नेकपा माओवादी केन्द्रमा भने नेताहरु मेयरका रुपमा खुलिसकेका छैनन् । गठबन्धनबाट नै निर्वाचनमा जानुपर्ने अवस्था रहेको नेताहरु बताउँछन् । उमेदवार को भन्ने तहमा छलफल नै नपुगेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल बताउँछन् ।
“त्यो तहमा हामी पुगेको नै छैनौं । हाल प्रदेशको प्रशिक्षण चलिरहेको छ । निर्वाचन केन्द्रीत कार्यक्रम बनाएर पठाएका छौं । उमेदवार स्थानीय निकायले सिफारिस गरेर पठाउँछ । त्यसपछि केन्द्रको परामर्शमा प्रदेशले उमेदवार टुंगो लगाउँछ,” उनले भने ।
त्यस्तै केन्द्रीय सदस्य कुमार पौडेल पनि गठबन्धनमा तालमेल भयो भने त्यहीअनुसार उमेदवार छनोट हुने बताउँछन् । पार्टीमा आकांक्षा राख्नेहरु हालसम्म देखिइनसकेको उनको भनाइ छ ।
एकीकृत समाजवादीमा आकांक्षी को ?
गठबन्धनमा आवद्ध रहेको दल एकीकृत समाजवादी पार्टीमा पनि उमेदवारको चर्चा सुरु हुन थालेको छ । गठबन्धनबाट निर्वाचनमा जाने भनिए पनि आफ्नो तयारी पनि थालिएको छ ।
एक नेताका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले आकांक्षा व्यक्त गरेका छन् । दुई पटक वडा अध्यक्ष भइसकेका डंगोल काठमाडौं महानगरपािलकाका प्रवक्ता पनि हुन् ।
एकीकृत समाजवादीका सचिव तथा संसदीय दलका नेता जीवनराम श्रेष्ठ भने उमेदवारको विषयमा छलफलकै क्रममा रहेको बताउँछन् ।
“अहिले हामी छलफलको तहमा नै छौं । कसलाई अघि बढाउने भन्ने तय भइसकेको छैन,” श्रेष्ठले बाह्रखरीसँग भने ।
राप्रपामा यस्तो छ तयारी
राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट पनि मेयर लड्नेको आकांक्षीहरू धेरै छन् । पूर्वएसएसपी समेत रहेका पार्टी नेता दिपक रञ्जितको चर्चा अहिले चलिरहेको छ ।
यस्तै काठमाडौं महानगर कमिटी अध्यक्ष केदार धमला पनि आकांक्षी छन् । राप्रपाका महामन्त्री भुवन पाठक आउँदो हप्ताभित्र उमेदवारको टुंगो लगाउने बताउँछन् ।
“नाम चलेका कलाकार, खेलाडी तथा समाजको प्रतिष्ठित व्यक्तिहरु दौडमा हुनुहुन्छ । हामी चाँडै सबैलाई राखेर फाइनल गर्छौँ,” उनले बाह्रखरीसँग भने ।
विवेकशील साझा छलफलमा
यता, विवेकशील साझा पार्टीले पनि मेयरको टुंगो लगाउन आवश्यक गृहकार्य गरिरहेको छ ।
सो पार्टीको यसअघि भएको छलफलमा केही नेताहरुले अध्यक्ष रवीन्द्र मिश्रनै काठमाडौं महानगरको मेयरमा उठ्नुपर्ने सुझाव दिएका थिए ।
तर, यसबारेमा पार्टीभित्र औपचारिक छलफल भएको छैन । सो पार्टीका प्रवक्ता शरदराज पाठक भन्छन्, “हामी उमेदवारको छलफलमा औपचारिक तहमा प्रवेश गरेका छैनौँ । तर विवेकशील साझाको उमेदवार सशक्त व्यक्तिलाई बनाउनेछौँ ।”
नेता प्रकाशचन्द्र परियार मेयर कसलाई बनाउने भन्ने विषयमा पार्टीभित्र निर्णय भइनसकेको बताउँछन् । चुनाव चिह्नमा समस्या भएका कारणले पनि चाँडो टुंगोमा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
स्वतन्त्र उमेदवारमा बालेन शाह
स्वतन्त्र उमेदवारको रुपमा र्यापरसमेत रहेका युवा बालेन शाहले काठमाडौं महानगरको मेयरमा उठ्ने घोषणा गरिसकेका छन् । उनले आफ्ना योजना प्रस्तुत गदै निर्वाचनमा उठ्ने बताइरहेका छन् ।
२०७४ को निर्वाचनमा कस्तो थियो अवस्था ?
२०७४ को निर्वाचनमा एमालेका शाक्यले कांग्रेसका राजुराज जोशीलाई करिब २० हजार मतान्तरले पराजित गरेका थिए । शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा जोशीले ४५ हजार २५९ मत ल्याएका थिए ।
तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २३ हजार ४६९ मत प्राप्त गरेकी थिइन् । १८ हजार ४९६ मतका साथ साझा पार्टीका किशोर थापा चौंथो भएका थिए । माओवादीबाट सर्वोत्तम डंगोल चुनावी प्रतिस्पर्धामा थिए ।