
माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात् कक्षा १० को बोर्ड परीक्षा २०७९ वैशाख ९—२० मा र कक्षा १२ को परीक्षा जेठ १६—२५ मा हुने तय भएको छ । कोभिड–१९ का कारण दुई वर्षदेखि कक्षा १० र १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट हुँदै आएका थिए । परीक्षा नजिकिँदै जाँदा राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय आन्तरिक तयारीमा जुटेका छन् । आगामी परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन बोर्डले के कस्तो तयारी गरिरहेको छ । यसबारे बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासँग बाह्रखरीकर्मी सुनिता लोहनीले कुराकानी गरेकी छन् ।
प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
कक्षा १० र १२ को परीक्षाको तयारी कता पुग्यो ?
परीक्षा लिने कार्य बोर्डको नियमित प्रक्रिया हो । विगतमा निर्धारित पाठ्यक्रम पूरा भएपछि यी दुवैको परीक्षा लिने परिपाटी थियो । यस वर्ष पनि हामी सोहीअनुरूप अघि बढेका छौँ । अहिले कक्षा १० को परीक्षाको तयारी भइरहेको छ । कोभिड–१९ लाई ध्यान दिई स्वास्थ्यमापदण्ड अपनाएर परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने काम भइरहेको छ ।
त्यसैगरी, कक्षा १२ को परीक्षा आगामी वर्षको २०७९ जेठ १६ बाट हुँदै छ । समयतालिका पनि सार्वजनिक भइसकेको छ । अहिले विद्यार्थीको आवेदन फाराम इन्ट्र्री गर्ने, रुजु गर्ने र जिल्लामा उत्तरपुस्तिका पठाउन सुरु भएको छ ।
परीक्षा मर्यादित र विश्वसनीय बनाउन शिक्षक, विद्यालय, विद्यार्थी र अभिभावकको कर्तव्य हो । म अभिभावक र विद्यार्थीलाई परीक्षा लिन अनुरोध गर्छु ।
प्रश्नपत्र कसरी पठाउँदै हुनुहुन्छ ?
कक्षा १० को प्रश्नपत्र छपाइ गरेर पठाएका छौँ । विद्यार्थी संख्या र परीक्षा केन्द्र धेरै भएकाले सबै विद्यालयमा इन्टरनेटको व्यवस्था छैन । जसका कारण एकैचोटि प्रविधिको प्रयोग गरेर पठाउन सक्ने अवस्था छैन । यसका लागि थप व्यवस्थित गर्न प्रदेश परीक्षा व्यवस्थापन समिति गठन भइसकेको छ ।
त्यसैगरी, परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेशअन्तर्गतका जिल्ला र स्थानीय तहसम्म समन्वय गरेर व्यवस्थापन समितिले आवश्यक व्यवस्था मिलाउने छ ।
कक्षा १२ को सन्दर्भमा हामीले गत वर्षझैँ अनलाइबाटै प्रश्नपत्र पठाउने व्यवस्था गर्नेछौँ । त्यहीअनुसार परीक्षा हुने छ । यी परीक्षाको सञ्चालन व्यवस्थापनपछि २०७९ को शैक्षिकसत्र नियमित रूपमा सञ्चालन गर्न र समयमै नतिजा प्रकाशित गर्ने योजनामा छौँ हामी ।
परीक्षा केन्द्र कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
विद्यार्थीलाई सकेसम्म अप्ठ्यारो नपर्ने गरी जिल्लाले परीक्षा केन्द्रको व्यवस्थापन गरेको छ । कक्षा १२ को सन्दर्भमा विद्यार्थी टाढा गएर बस्न नपर्ने गरी परीक्षा केन्द्रको व्यवस्थापन जिल्ला परीक्षा समन्वय समितिले गर्ने छ । यो विषयमा जिल्लाले बनाएको परीक्षा केन्द्रमा हामीले प्रश्नपत्र पठाउने र परीक्षा सञ्चालन हुने छ ।
स्वास्थ्य मापदण्ड पालनाका लागि के तयारी भइरहेको छ ?
जिल्लालाई परीक्षा केन्द्रमा थोरै विद्यार्थी राख्न अनुरोध गरिसकेका छौँ । धेरै परीक्षा केन्द्र तोकेका छौँ । जिल्ला र विद्यालयले पनि विद्यार्थीको स्वास्थ्यको ख्याल राखेका छन् । भौतिक दूरी कायम गरी परीक्षा दिने वातावरण केन्द्रले मिलाउने छ । स्वास्थ्य मापदण्ड पालना गराउने स्थानीय सरकारसँग समन्वय गरेर सम्पूर्ण केन्द्रले त्यसखालको व्यवस्था मिलाउँछ ।
त्यसका लागि कक्षा १० को हकमा जिल्लासँग प्रदेश परीक्षा व्यवस्थापन समितिले आवश्यक समन्वय गर्नेछ । कक्षा १२ का लागि प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने छ । बोर्डले आवश्यक नीतिगत निर्देशन दिने छ ।
परीक्षा केन्द्रको संख्या कति तोकिएको छ ?
कक्षा १० का लागि करिब दुुई हजारभन्दा बढी परीक्षाकेन्द्र तोकिएको छ । कक्षा १२ का लागि यति नै भनेर निश्चित छैन । जिल्लाले पठाएपछि संख्या थाहा हुनेछ ।
परीक्षा मर्यादित बनाउन के–उपाय अपनाउनुभएको छ ?
संसारमा विशेष परिस्थिति सिर्जना भएका कारण विद्यार्थीले आन्तरिक मूल्यांकनका आधारमा परीक्षा दिए । अब भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने योजनामा हामी छौँ । यसका लागि सबैभन्दा ठूलो जिम्मेवारी शिक्षको हो ।
केन्द्रबाट अनुगमन गरेर सबै स्थानमा नियन्त्रण गर्छौं भन्ने कुरा राष्ट्रिय परीक्षा बोर्डले मान्दैन । त्यसैले हरेक विद्यालयका शिक्षक र केन्द्राध्यक्ष जिम्मेवार बन्नुपर्छ भन्ने हामीले सोचेका छौँ । भोलि परीक्षाको क्रममा केही भयो भने सबैभन्दा बढी जिम्मेवारी हुने शिक्षक र केन्द्राध्यक्ष नै हो । साथै, थप अनुगमन गर्नुपरेमा प्रदेश परीक्षा व्यवस्थापन समितिले गर्ने छ ।
यस्तै, कक्षा १२ को परीक्षाको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई त्यसको संयोजन गर्न आवश्यक निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनका कारण परीक्षा सञ्चालन गर्न असर पर्दैन ?
कक्षा १२ को परीक्षा जेठको पहिलो हप्तामै गर्न सकिन्थ्यो । तर, वैशाखको अन्तिममा स्थानीय निकायको चुनाव घोषणा भएकाले परीक्षा गर्न असजिलो हुने हुँदा जेठ १६ बाट हुने तयारी भएको हो ।
अनलाइनबाटै कक्षा १० र १२ को प्रश्नपत्र पठाउने हो ?
कक्षा १० को सन्दर्भमा केही स्थानमा अनलाइन प्रश्नपत्र पठाउन सकिन्छ कि भन्ने थियो । तर, यसपटक सम्भव भएन । कक्षा १२ का लागि गत वर्षदेखि अनलाइन प्रश्नपत्र पठाउन थालेका थियौँ । यसपालि पनि त्यही गर्नेछौँ । आगामी वर्ष कक्षा १० लागि पनि केन्द्र र प्रदेशस्तरबाटै अनलाइनबाट व्यवस्थित रूपमा प्रश्नपत्र पठाउने योजना छ ।
अपाङ्गता भएका विद्यार्थीका लागि कस्तो व्यवस्था गर्नुभएको छ ?
एसईईको सूचना सार्वजनिक गर्दा नै अपाङ्गता भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएका छौँ । केन्द्राध्यक्षले पनि विद्यालयको प्रधानाध्यापक र विद्यालयसँग समन्वय गरेर आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छौँ ।
यसपालि अरू विद्यार्थीले जस्तो प्रश्नपत्र पाउँछन्, अपाङ्गता भएका विद्यार्थीले पनि सोही किसिमको प्रश्नपत्र पाउने छन् । परीक्षा दिँदा चाहिने लेखन सहयोगी राख्न पाउनेछन् । तर, आगामी वर्षबाट ब्रेल लिपि तथा वैज्ञानिक भाषालाई प्रयोग गर्ने हाम्रो योजना छ ।
परीक्षा प्रणाली कस्तो छ ?
कक्षा १० लागि एक १०० पूर्णांकमा २५ अंकको आन्तरिक मूल्यांकन र ७५ अंकको बाह्य परीक्षा हुनेछ । आन्तरिक र बाह्य मूल्यांकनमा छुट्टाछुट्टै ग्रेड प्राप्त गर्नुपर्ने हुन्छ । विगतमा आन्तरिकमा पूर्ण अंक ल्याउँदा बाह्यमा नल्याए पनि जोडेर ग्रेड दिने गरिन्थ्यो । अब त्यस्तो हुँदैन ।
यसैगरी, कक्षा १२ को सन्दर्भमा आन्तरिक र बाह्य मूल्यांकन गरेर छुट्टाछुट्टै ग्रेड दिने व्यवस्था गरिएको छ । यस्तै, आगामी शैक्षिकसत्र कक्षा ११ को भर्ना अगावै एसईईको नतिजा प्रकाशित गर्नेछौँ ।
जनशक्ति परिचालनको तयारी कस्तो छ ?
स्थानीय तहको चुनावका कारण परीक्षामा कुनै बाधा हुने छैन । कक्षा १० को परीक्षा लगभग १७ गते सकिने छ । बाँकी तीनदिन प्राविधिक विषयको परीक्षा हुने भएकाले विद्यार्थी संख्या थोरै हुन्छ । जसले धेरै असर पार्दैन ।
१३ दिनपछि चुनाव हुनेछ । त्यसपछि शिक्षक मतदाता केन्द्रमा परिचालन हुनेछन् । त्यो सकेपछि कापी जाँच्न र कक्षा १२ को परीक्षामा शिक्षक सहभागी हुनेछन् । हाम्रो व्यवस्थापनले कतै असर पारेको छैन ।
परीक्षाको व्यवस्थापन प्रदेशलाई दिइएको हुँदा परीक्षामा कति जनशक्ति परिचालन गर्ने भन्ने कुरा प्रदेश परीक्षा व्यवस्थापन समितिले आफ्नो प्रदेशअनुसार आंकलन गरी निर्णय गर्ने छ ।
विगत दुई वर्षमा एसईईका लागि छापेका ५१ लाख सेट प्रश्नपत्रको अब के हुन्छ ?
बाहिर सार्वजनिक नगरेका हरेक प्रश्नपत्र प्रश्नपत्रको बैंक हो । प्रश्नपत्रको बैंकलाई राष्ट्रिय परीक्षा बोर्डले जुनसुकैबेला प्रयोग गर्न सक्छ । यसबारेमा थप कुरा भन्न आवश्यक ठान्दिनँ ।