site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानीकर्ताको डाटा कति सुरक्षित ? : सोमबार रोकिएको कारोबारको जिम्मा लिन कोही छैनन् तयार !
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को डाटा सेन्टरमा समस्या भएको भन्दै सोमबार  सेयर बजार कारोबार सुरु भएको दुई घन्टा नबित्दै बन्द भयो । 

सोमबार १२ बजेर ५३ मिनेटमा नेप्सेले वेबसाइटमा सूचना राख्दै केही समयका लागि भन्दै कारोबार बन्द गरायो । तर, कारोबार पुनः भएन ।
  
नेप्सेले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको तीन वर्षभन्दा बढी भइसकेको छ । 

२०७५ कात्तिक २० गतेबाट ‘अनलाइन ट्रेडिङ’ सिस्टम सुरु गरे पनि लगानीकर्ताले अहिलेसम्म विनाअवरोध सेयर कारोबार गर्न पाएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार साढे १२ बजेभन्दा अगाडि नै  सञ्चालनमा रहेका ५० मध्ये ३२ कम्पनीमध्ये केही ब्रोकरबाट कारोबार गर्न मिल्ने र केहीबाट कारोबार गर्न नमिल्ने भएपछि नेप्सेले कारोबार बन्द गर्‍यो ।  

नेप्से अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको यो पहिलो पटक होइन ।

Global Ime bank

समस्या आएर बन्द भएको बजार पुनः सुचारु नहुनु गम्भीर विषय हो । 

तर, यसमा बजार सञ्चालक नेप्से र सेवा प्रदायक धितोपत्र दलाल व्यवसायीले त्यसको जिम्मा लिनुको साटो एक÷अर्कालाई दोषारोपण गरिरहेका छन् ।  


नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की डाटा सेन्टरको व्यवस्थापन गर्ने काम ब्रोकरको भएको बताउँछन् ।

“हामीले अनलाइन ट्रेडिङ सिस्टम (नट्स) सञ्चालन गर्ने हो । त्यसमा समस्या भयो भने नेप्से जवाफदेही हुन्छ । हामीले म्याचिङ इन्जिन दिने हो । सोमबारको समस्या डाटा सेन्टरमा भएकाले ब्रोकर नै जवाफदेही हुनुपर्छ,” उनले भने । 

यता, धितोपत्र दलाल व्यवसायी प्राविधिक रूपमा ब्रोकर जवाफदेही हुनुपर्ने अवस्था रहे पनि व्यावहारिक रूपमा त्यसो हुन नसकेको बताउँछन् । 

“सम्पूर्ण ब्रोकरको डाटा स्टोरेजको जिम्मा वाइकोले लिएको छ ।  वाइकोले डाटा हबमार्फत् स्टोरेजको कार्य गरिहरेको छ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बाह्रखरीसँग भने, “वाइकोले नै नेप्सेको अनलाइन सफ्टवेयर तयार गरेर त्यसको मेन्टेनेन्स कन्ट्र्याक्ट गरिरहेको छ । ब्रोकरको डाटा सेन्टरको जिम्मा पनि उसैलाई दिएको हो । हिजोको समस्या ५० वटा ब्रोकरको डाटा दुईवटा स्टोरेजमा राखिएको र दुईवटामध्ये एउटा स्टोरेजमा समस्या आएकाले त्यसलाई अर्को स्टोरेजमा सार्नुपर्र्ने अवस्थाका कारण आएको हो ।” 

समस्या ब्रोकरको डाटा स्टोरेजमा आएको बताइए पनि ब्रोकर र नेप्सेले जवाफ दिएका छैनन् । 

वाइकोमार्फत् डाटा हबमा ब्रोकरले डाटा स्टोरेज गर्नुपर्ने बाध्यता रहेको एक धितोपत्र दलाल व्यवसायीले बाह्रखरीलाई बताए । 
“जतिबेला अनलाइन ट्रेडिङ सिस्टम आयो, हाम्रो पहिलो रोजाइ डाटा हब थिएन, अरू नै कम्पनीसँग सम्झौता गरेका थियौँ । तर, परीक्षण गर्ने क्रममा अरूमा सफल हुन सकेन,” ती दलाल व्यवसायीले बाह्रखरीसँग भने, “अरूमा परीक्षण गर्दा सफल हुन नसकेको र वाइकोभन्दा बाहिर गएर डाटा सेन्टरको काम हुन नसक्ने परिस्थिति बुझेपछि हामीले वाइकोलाई नै  जिम्मा  लिइदिन आग्रह गर्यौँ । वाइकोमार्फत् डाटा हबलाई जिम्मा दिँदा परीक्षण सफल हुने, तर सिधै डाटा हब अथवा अन्य कुनै ठाउँमा डाटा स्टोरेज गर्दा नहुने भएपछि हामीले वाइकोलाई जिम्मा दिएका हौँ ।”


आफूले चाहेको ठाउँमा डाटा स्टोरेज सम्भव नभएपछि बाध्य भएर वाइकोलाई जिम्मा दिएको ती व्यवसायीले भने ।  “त्यसको प्राविधिक पक्ष नेप्से अथवा वाइकोलाई जानकारी होला,” ती दलाल व्यवसायीले भने ।  

ब्रोकरले पाउनुपर्ने स्वायत्तता नपाउँदा समस्या देखिएको दलाल व्यवसायीको दाबी छ ।

“हामीले भनेअनुसारको टीएमएस बनाउन पाउने र उनीहरूले चाहेको ठाउँबाट डाटा होस्टिङ गर्न पाउने हो भने समस्या हुँदैन,” उनले भने, “नेप्सेमा भन्दा तपाइँले चाहेको ठाउँमा डाटा स्टोरेज गर्नूस् र होस्टिङ गर्नूस् भन्ने कुरा आउँछ । तर, व्यावहारिक रूपमा सुरुमा नै भोगिसकेको कुरा हो । अहिले पनि हामी डाटा हबसँग डाटा स्टोरेजको लागि छुट्टै सम्झौता गर्छौँ भन्दा उसले आँट गर्न सक्दैन, तर, वाइकोमार्फत् अहिले पनि गरिरहेको छ ।”


अहिले ब्रोकरको मागबमोजिम ‘एपीआई’ पोलिसी आउने र ब्रोकरको आवश्यकताअनुसार अथवा सामूहिक टीएमएस र सोहीअनुसार डाटा सेन्टरको काम पनि गर्नसक्ने  दलाल व्यवसायी बताउँछन् ।  

भेन्डर कम्पनीले वाइको नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम ल्याएको हो । 

सोही कम्पनी आईएमई ग्रुपको संयुक्त लगानी वाइको सोलुसन स्थापना गरेर हाल वाइकोको स्वामित्व वाइको सोलुुसन्ससँग छ । 
यसअनुसार ‘टीएमएस’ र ‘नट्स’ को मेन्टेनेन्स वाइको सोलुसनले गरिरहेको छ । 

धितोपत्र बजारमा नागरिकको डाटा कति सुरक्षित ? 
अहिले धितोपत्र दलाल व्यवसायीले वाइको  कम्पनीमार्फत तेस्रो पार्टीलाई डाटा स्टोरेजको सहमति दिएका छन् । 
वाइको कम्पनीले कसलाई कसरी डाटा स्टोरेज गराउन सहमति गराएको छ भन्ने आफूहरूलाई जानकारी नहुने दलाल व्यवसायीले बताए । 

यति मात्रै नभएर कसरी कहाँबाट डाटा होस्टिङ हुन्छ भन्नेमा पनि ब्रोकरको पहुँच नरहेको उनले बताए । यसले सेयर कारोबार गर्ने आमनागरिकको डाटा कति सुरक्षित रहेको छ ? भन्ने कुराको यथार्थ देखाउँछ । 

ब्रोकरले वाइकोमार्फत् तेस्रो पक्षलाई स्टोरेज गर्न दिएको डाटाको गलत प्रयोग भएको छैन भन्ने विश्वास गर्ने आधारसमेत यसले दिन नसकेको व्यवसायी बताउँछन् । 
अर्कोतर्फ सामान्यतया डाटाको स्टोरेज  कम्पनीमा पनि दुई फरक–फरक स्थानमा हुनुपर्ने मान्यता छ । जसले गर्दा कुनै विपद्बाट  एउटा  ठाउँमा रहेको डाटा नासिएमा अर्को डाउँबाट होस्टिङ गरेर चलाउन सकियोस् भनेर पनि डाटा स्टोरेज दुई ठाउँमा गर्नुपर्ने हुन्छ । 
तर, सोमबारको घटनाले कारणवस डाटा क्र्यास भएमा तुरुन्तै अर्को ठाउँबाट होस्टिङ गर्ने तयारी नभएको व्यवसायी बताउँछन् । 

यता, स्टक ब्रोकर एसोसीएसनका अध्यक्ष सन्तोष मैनाली ब्रोकरले वाइकोसँग सम्झौता भएकाले वाइकोले पनि त्यसमा ख्याल गरेको छ भन्ने विश्वास रहेको बताउँछन् । 

ब्रोकरले  वाइकोलाई जिम्मा दिएको र वाइकोले पनि डाटा हबसँग सोहीअनुसारको जिम्मेवार बनाएको  होला भन्ने विश्वास गर्नुपर्ने उनले बताए ।  


अहिले  ब्रोकरले डाटा सेन्टर र टीएमएसको मर्मतसम्भार सम्झौताका लागि मासिक तीन लाख देखि सात लाख रुपैयाँसम्म बुझाउँछन् । 


“हामीलाई एपीआई नदिने अनि ब्रोकरलाई छुट्टै डाटा सेन्टर राख् भन्ने अहिलेको टिएमएसमा होस्टिङ गर्न सम्भव नै छैन,” अर्का एक दलाल व्यवसायीले भने, “नेप्सेले पैसा तिरेको सिस्टमलाई हामीले मासिक रूपमा  अर्को पैसा तिर्न परेको छ । नेप्सेले २५ करोड खर्च गरेको सफ्टवेयर वाइकोमार्फत कसरी ब्रोकरलाई भाडामा लगाउन सक्छ ?” 


कसको टीएमएस ल्याउने प्रतिस्पर्धा 
हाल नट्स र टीएमएस अपरेटिङ गरिरहेको वाइको सोलुसनले नट्स सफ्वेयर अपग्रेट गरिरहेको छ । 

अर्कोतर्फ सोही कम्पनी मातहत रहनेगरी अर्को कम्पनी स्थापना गरेर सीडीएस एन्ड क्लियरिङ लिमिटडका पूर्वप्रमुख कार्यकारी अधिकृत  देवप्रकाश गुप्ता कार्यकारी प्रमुख रहेको कम्पनीले नयाँ टीएमएस सिस्टम डेभलमेन्ट गरिरहेको छ । 

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको पालामा उक्त टीएमएसको डेमो प्रिजेन्टेसनसमेत भइसकेको स्रोतको दाबी छ ।  

अहिले उक्त सिस्टम परीक्षण फेजमा रहेको र त्यसको परीक्षणका लागि डाटा माइग्रेसन हुँदा अहिलेको समस्या आएको धितोपत्र दलाल व्यवसायीहरूको आरोप छ । 

तर, नेप्से यो कुरा स्वीकार्न तयार छैन ।  नेप्सेका एक अधिकारीले आफ्नो जानकारीमा उक्त कार्य नभएको  बताए । 


नेप्सेका एक अधिकारी भने ब्रोकरले पनि नयाँ टीएमएस सिस्टम तयार गरिरहेको र एकले अर्कोलाई आरोप÷प्रत्यारोप गरिरहेको भए पनि त्यस्तो कार्य नभएको बताउँछन्  । 

यदि वाइको सोलुसनले त्यस्तो कार्य गरेको भए ठूलो अपराध हुने ती अधिकारीको भनाइ छ ।  नेप्सेले ब्रोकरका लागि एपीआई दिन पोलीसी स्वीकृतका लागि बोर्डमा पठाएको नेप्सेका सीईओ कार्की बताउँछन् । 

उक्त एपीआई पोलीसी स्वीकृत भएपछि सबै ब्रोकरले मिलेर आफ्नै नयाँ टीएमएस ल्याउन तयारीसमेत गरेका छन् । 
सिटी एक्सप्रेस ग्रुपका चन्द्र टण्डन र ब्रोकरको लगानीमा क्यापटेकनामक कम्पनीले टीएमएस सिस्टम तयार गरिरहेको छ । 

धितोपत्र बोर्डले एपीआई पोलीसी स्वीकृत गरेर ब्रोकरले एपीआई प्राप्त गरेको तीन महिनामा उक्त कम्पनीले डाटा माइग्रेसनको काम गरेर सञ्चालनमा ल्याउने सक्ने ब्रोकर बताउँछन् ।  

अहिले वाइको सोलुसनसँग डाटामा पहुँच भएकाले उनीहरूले डाटा माइग्रेसन गरेको हुनसक्ने भए पनि ब्रोकरहरूसँग डाटा सेन्टरको पहुँच नभएकाले क्यापटेकले त्यसको दुरुपयोग गर्ने अवस्था नरहेको उनीहरूको तर्क छ । 


अहिले पनि वाइको सोलुसनले ब्रोकरबाट मासिक दुई करोड ५० लाखसम्म मेन्टेनेन्स शुल्क लिइरहको र नयाँ टिएमएस ब्रोकरले ल्याउँदा डाटा सेन्टरको पहुँच बाहिरिने र आम्दानी पनि गुम्ने भएकाले पनि वाइको सोलुसनबाट नै गडबड गर्ने प्रयास भएको ब्रोकरहरूको आरोप छ । 

क्यापटेकको टीएमएस ल्याउन नदिन वाइको सोलुसन लागेको  ब्रोकरहरू बताउँछन् । 
नट्स अपग्रेडिङ गरेर ब्रोकरको नयाँ टिएमएस केही महिनापछि धकेल्न सके वाइको सोलुसनलाई ठूलो लाभ हुने भएकाले यसमा उसको स्वार्थ रहेको धितोपत्र दलाल व्यवसायीको आरोप रहेको छ । 

यो अवस्थाको सम्पूर्ण जिम्मेवार नेप्से रहेको उनीहरूले बताए । आफूले खरिद गरेको सफ्वेयर अर्को कम्पनीलाई चलाउने दिएर ब्रोकरबाट पैसा उठाउँदासमेत धितोपत्र बोर्ड मूकदर्शक बनेको एक धितोपत्र दलाल व्यवसायीले बताए । 


अहिलेको समस्याको जिम्मा नेप्सेले लिनुपर्ने ब्रोकर बताउँछन् । “बजारको कारोबार सञ्चालन गर्ने जिम्मा नेप्सेको हो । बजार किन बन्द भयो जवाफ दिने पनि नेप्सेले हो । यसको पूर्ण जिम्मेवार नेप्से हो,” ती दलाल व्यवसायीले बाह्रखरीसँग भने, “कि नेप्सेले यो ब्रोकरले कमजोर पूर्वाधार राखेको अथवा हामीले राख् भनेको पूर्वाधार ब्रोकरले नराख्दा समस्या भयो भनेर नेप्सेले भन्नुप¥यो । अन्यथा यसको विकल्प नभएको र जसरी पनि यही सिस्टम चलाउनुपर्दा  वाइकोसँग अर्को विकल्प नभएको र उसले जस्तो चलाउँला त्यस्तै चलाउनु पर्दा यो समस्या आयो भन्नुपर्‍यो ।”

ब्रोकर जिम्मेवार भए पनि के कारणले भनेर नेप्सेले नै दखाउनुपर्ने र वाइको जिम्मेवार भए पनि नेप्सेले नै देखाउनुपर्ने उनको तर्क छ । 

यद्यपि ब्रोकरको प्राविधिक कुराको सम्झौता वाइको सोलुसनसँग रहेकाले ब्रोकरले नेप्सेको कारण नै समस्या आयो भन्न प्राविधिक रूपमा नमिल्ने पनि उनले बताए । 

नेप्से डाटा सेन्टर  ब्रोकरको मातहत रहेको र त्यसमा समस्या आउँदा बन्द भयो भनेर नेप्से उम्किन नमिल्ने  उनले बताए ।  

वाइकोले पोलीसी मात्रै लगेको भन्दै त्यो पोलिसी प्राइभेट कम्पनीलाई दिने नेप्से नै सबैभन्दा ठूलो जिम्मेवार रहेको उनको तर्क छ । 

धितोपत्र बोर्डले डाटा स्टक एक्चेन्जको  मातहतमा हुनुपर्ने र कुनै  प्राइभेट  कम्पनीले स्टक एक्स्चेञ्जको डाटा प्रयोग गर्न नपाउने गरी निर्देशन दिने हो भने सबै समस्या समाधान हुने बजारका जानकारहरू बताउँछन् । 

तर, यसमा बोर्ड झनै ठूलो मूकदर्शक रहेको उनीहरूको आरोप छ । बोर्ड प्रवक्ता निरज गिरी भने सोमबार देखिएको समस्याको विषयमा छलफल गर्ने तयारी भएको बताउँछन् । 

डाटा सेन्टरको  व्यवस्थापन कसले गर्ने भन्ने प्रश्नमा गिरीले पनि प्रस्ट जवाफ दिएनन् । 

“अहिलेको टीएमएस नेप्सेको हो । डाटा सेन्टर कहाँ र कसरी राख्ने भन्ने विषयमा नेप्से र ब्रोकरबीच सम्झौता भएको होला,” उनले बाह्रखरीसँग भने, “टीएमएस नेप्सेको भएपछि डाटा सेन्टर पनि नेप्सेसँग नै हुनुपर्छ भन्ने लाग्छ । तर, टीएमएस ब्रोकरले प्रयोग गरेपछि डाटा सेन्टर नेप्सेको भन्ने मात्रै पनि हुँदैन उनीहरू दुवैको उत्तरदायीत्व हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !