
काठमाडौं । चुनाव घोषणाभन्दा धेरै अघि कांग्रेसमा सुरू भएको बहस थियो अब गठबन्धनको नाममा अन्य पार्टीलाई भोट हालिन्न । कांग्रेसको वर्तमान नेतृत्वलाई तात्कालीकरूपमा कमजोर पार्न अघि सारिएको यो बहस कांग्रेस वृत्तमा भने अझ लोकप्रिय हुँदैछ । गठबन्धनको विपक्षमा सबैभन्दा अघि सरेर बोल्ने रामचन्द्र पौडेल अहिले फरक बुझाइमा छन् । तर, उनीसँगै गठबन्धनको विपक्षमा बोलेकाहरू भने कार्यकर्तामा अझ निकट हुँदै गएका छन् । त्यसैले कांग्रेसको कार्यकर्ता तहमा केन्द्रबाट गठबन्धन गर्नेभन्दा नगर्ने पक्षमा मत बलियो बन्दै गएको छ ।
शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत नेताहरू गठबन्धन गरेर भन्दा कार्यकर्तालाई न्याय र अविश्वास हटाएर एक्लै चुनावी मैदानमा जाँदा बलियो हुने तर्क गरिरहेका छन् । त्यसबाट करिब ‘कन्भिन्स’ भएका कार्यकर्तालाई स्वयम् सभापति शेरबहादुर देउवा भने ‘त्रास’ बाँड्ने गरी अघि बढेको एक नेताको टिप्पणी छ ।
उनले विगत चुनावमा एक्लै जाँदा पार्टीको हालत के भएको थियो ? भन्दै कार्यकर्तालाई गठबन्धनको विकल्प खोजे सर्मनाक हार हुने चेतावनी दिन थालेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार वीरगन्ज पुगे । नेपाली कांग्रेस पर्सा जिल्लाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्न उनी वीरगन्ज पुगेका हुन् । त्यहाँ प्रधानमन्त्री देउवाले करिव ७ मिनेट कार्यक्रमलाई सम्बोधन गरे । सम्बोधनको अधिकांश समय देउवाले चुनावी गठबन्धनको नाममा सत्ता गठबन्धनमा आवद्ध दलहरूको मनमा चिसो पार्ने काम बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
सम्बोधनको क्रममा देउवाले गठबन्धनबिना कांग्रेसलाई चुनावी मैदानमा एक्लै भिड्न कठिन हुने बताए । उनले २०७४ सालमा भएको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्दा अवस्था नाजुक बनेको स्मरण समेत गरे ।
“तपाईंहरुलाई थाहा छ, हामी एक्लै चुनाव लड्दा अवस्था कस्तो थियो । हामी हारेका थियौं । अहिले गठबन्धनको सरकार भएको कारणले मिलेर चुनाव लडे स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन हामी सक्छौँ,” देउवाले भने ।
सम्बोधनको अधिकांस समय सत्ता गठबन्धनको पक्षमा भाषण गरेका देउवाले आफू प्रधानमन्त्री हुन नचाहे पनि गठबन्धनका दलहरूको विश्वासका कारण सरकारको नेतृत्व गरेको भन्दै गठबन्धनभित्र चिसो पस्ने गरि व्यवहार नगर्न पनि निर्देशन दिए ।
“साथीहरुले बोली व्यवहारबाट गठबन्धनका साथीहरुलाई कुनै पनि किसिमको चिसो पर्ने देखि लिएर वेवास्ता गर्ने कुरा छैन । हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,” उनले भने, “वास्तवमा म प्रधानमन्त्री हुन चाहेकै थिइन यसपाली । सबै गठबन्धनका साथीहरू माओवादी भयो, हाम्रो नेपालजी भए मधेसका पार्टीहरू सबैले चाहिँ सहयोग गरेर म प्रधामन्त्री भएको हुँ ।”
देउवाले गठबन्धनमा समस्या आउने खालका कुनै पनि गतिविधि र भाषण नगर्न पार्टीका नेताहरूलाई यसअघि पनि निर्देशन नदिएका हैनन् । उनले मंगलबार पार्टी अफिसमा पदाधिकारी र उपलव्ध केन्द्रीय सदस्यहरूलाई गठबन्धनलाई समस्या पर्ने कुनै पनि भाषण र गतिविधि नगर्न निर्देशन दिएका थिए । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन भएसँगै देउवा गठबन्धनका दलहरू नचिढ्याउने अवस्थामा पुगेका छन् । जबकि गठबन्धनले परियोजना अनुमोदनमा साथ नदिने अवस्थामा भने उनीहरूलाई सरकारबाट निकाल्ने धम्की नै दिएका थिए ।
आउँदो वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आउन दुइ महिना बाँकी रहँदा कांग्रेस चुनावी अभियानमा जुटेको छ । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लिएर पार्टी ७७ जिल्लाको ६ हजार ७४३ वडामा पुग्दैछ । फागुन २९ गतेबाट सुरु हुने अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्लातर्फ लागिसकेका छन् । ‘एक अभियान आठ उद्देश्य’ कांग्रेसले अख्तियार गरेको छ । जसमा ‘हरेक काधलाई भारी हरेक काधलाई जिम्मेवारी’ कार्यविभाजन गरेर अभियान सञ्चालन गर्ने पार्टीले पत्रकार सम्मेलन गरेर बुधबार घोषणा गरिसकेको छ । आफ्नो नेतृत्वको सरकारको समयमा गरेको उपलव्धि तथा केपी शर्मा ओली सरकारको तीनवर्षको समयमा भएका जनविरोधी कामको व्यापक भण्डाफोर गर्ने तयारी कांग्रेसको छ । यो बीचमा कांग्रेसभित्र चुनावी गठबन्धनको पक्ष र विपक्ष दुबैमा बलियो मत बन्दै गएको छ ।
देउवाले २०७४ को चुनावमा एक्लै जादा हार बेर्होनु परेको भने पनि त्यसबखत राप्रपा, नयाँ शक्ति लगायतका विभिन्न दलहरुसँग कांग्रेसले चुनावी गठबन्धन गरेको थियो । दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट निर्मित माहोल चिर्न देउवाले एकोहोरो ‘कम्युनिष्टले जिते भने हास्न पाइँदैन, ढुक्कसँग रून पनि पाइँदैन’ भन्ने बाहेकको एजेन्डा प्रस्तुत गर्न नसक्दा कांग्रेसप्रति विकर्षण र कम्युनिष्टहरूप्रति जनतामा आकर्षण बढेको थियो । अहिले परिस्थिति ठिक उल्टो छ । कम्युनिष्ट पार्टीहरुले जनताले दिएको भोटको पटक पटक अपमान गरेका कारणले पनि गठबन्धन गर्न नहुने विपक्षमा रहेका नेताहरुको मत छ ।
उनीहरुका अनुसार जनतामा बाँडेका प्रतिवद्धता पूरा गरेका छैनन् । जनताका अगाडि एउटै कम्युनिष्ट शक्ति बनाउने कसम खाएकाहरू एक भएर पनि छिन्न भिन्न अवस्थामा छन् । यस्तो अवस्थामा महाधिवेशनपछि कांग्रेस र समर्थकहरूमा बढेको उत्साहलाई देउवाले भने गठबन्धनको वातावरण निर्माणकै लागि चिसो पानी खन्याइरहेका छन् ।
महामन्त्री गगन थापा पार्टीमा राम्रो व्यवस्थापन हुन सके अरूसँग गठबन्धन गर्दा भन्दा बढी सिट जित्ने दाबी गर्छन् ।
“कम्युनिष्टहरूप्रति जनता निराश छन् । उनीहरूले जिते भने रामराज्य बनाउँछन् भन्ने झुठा सपनाबाट जनता बाहिर निस्केका छन् । कांग्रेसबिना कुनै पनि समस्या पार लाग्दैन भन्ने तथ्यहरूबाट स्पष्ट भएको छ । यस्तो बेला कांग्रेस एक्लै चुनावमा जाँदा कांग्रेसमा र जनतामा उत्साह आउँछ जुन नेपालको लोकतन्त्र र कांग्रेसका लागि दीर्घकालीन उपलव्धिको कारण बन्न सक्छ,” थापा भन्छन्,“गठबन्धनमा चुनावमा गए अरूलाई भोट हाल्नुपर्ने क्षेत्रका कांग्रेस नेता कार्यकर्ताहरू निराश हुन्छन् । कांग्रेसप्रति आकर्षित ‘स्विङ’ भोट विकसित हुन्छ । नयाँ मतदाताहरू कांग्रेसमा सधाका लागि भोट नहाल्ने बाटोमा लाग्न सक्छन् । जुन् कांग्रेसका लागि अनपेक्षित बन्न सक्छ ।”
गगन थापाकै शैलीमा कांग्रेस गठबन्धनका लागि तयार नहुने तर्क नेकपा(एकिकृत समाजवादी) नेता झलनाथ खनालको पनि छ ।
उनी त कांग्रेसभित्रको ठूलो मत गठबन्धन नगर्ने पक्षमा देखिएको भन्दै गठबन्धनका लागि कांग्रेससँग भर पर्न नहुने बताउँछन् ।
बुधबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनले आगामी चुनावमा कांग्रेससँगको गठबन्धनका विषयमा टुंगो लागिनसकेको बताउँदै अहिले कांग्रेसभित्र दुई धार रहेको बताए ।
“कांग्रेसमा गगन थापा, शेखर कोइरालाहरु गठबन्धन गरेर जानुहुँदैन, गठबन्धन गरेर गयौँ भने हामीले ७० सिटमात्रै जित्छौँ एक्लै गयौँ भने १५५ सिट जित्ने आकलन गरेका रहेछन् । तर, शेरबहादुर देउवा अहिले पनि गठबन्धन गरेरै जानुपर्ने अडानमा हुनुहुन्छ,” गठबन्धनको विषयमा खनालको टिप्पणी थियो ।
चुनावको सम्मुखमा गठबन्धनमा आवद्ध दलहरू चिढिए भने पुनः कम्युनिष्ट एकता हुन सक्ने भय देउवामा हाबी भएको पनि हुन सक्छ । जसको संकेत नेकपा(माओवादी केन्द्र)का अध्यक्षले पनि गरिसकेका छन् । उनले बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै २३ सिटको कांग्रेसलाई सिंहासनमा पुर्याएको भन्दै आफूहरूलाई अपमानित गरे कांग्रेसलाई रछ्यानमा पुर्याउने तागत भएको भन्दै आक्रोश पोखेका थिए ।
त्यसैले देउवा अहिले गठबन्धन नचिढ्याउने पक्षमा देखिन्छन् । उनले वीरगन्ज पुगेर माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) तथा मधेस केन्द्रित दलको सहयोगले मात्र प्रधानमन्त्री बन्न सफल भएको भन्दै तारिफनै गरे ।
देउवाले गठबन्धन टुटाए त्यसको लाभ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले लिन सक्ने भय पनि छ । ओलीले नेतृत्व गरेको एमाले कमजोर आकलन गर्न नहुने निष्कर्षमा देउवा छन् ।
“विपक्षमा रहेको एमाले ओलीको पार्टी छ । त्यो सिद्धिसक्यो भन्ने नठानौं, त्यो सशक्त छ । उनीहरुमा एकता छ, हाम्रो पार्टीमा एकता हुँदैन । त्यसकारण हाम्रो पार्टीले गठबन्धन गर्नुपर्छ,” देउवाको निष्कर्ष छ ।
देउवा निकटहरू नेताहरू पनि तत्काल गठबन्धनको विपक्षमा बोल्न नहुने निष्कर्षमै छन् । उनीहरू देउवाको मतलाई बलियो बनाउने तर, कार्यकतामा अलोकप्रिय पनि नहुने मध्यमार्गी बाटोमा छन् । उपसभापति पूर्णबहादुर खड्का गठबन्धन गर्ने नगर्ने निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमिति बैठकलाई भएको तर्कमा छन् ।
“पार्टीको केन्द्रीय कार्यसम्पादन र कार्यसमिति बैठकबाट निर्णय हुन्छ । हामी समय आएपछि निर्णय गर्छौँ । अहिले गठबन्धनका विषयमा पार्टीका नेताहरूले राखेको धारणाको कुनै अर्थ छैन । हामी परिस्थितिको अध्ययन गरेर मात्र निर्णय गर्छौँ,” खड्काको प्रतिक्रिया छ ।