site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पसलहरूको युग सकिँदैन, तर दैनिकी ई–कमर्स बनिसक्यो

आँचल कुँवर दराज नेपालकी प्रबन्ध निर्देशक हुन् । अमेरिकामा अमेजनमा काम गरेको अनुभव हासिल गरेकी उनलाई दराजले प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ । 

प्रस्तुत छ– लामो समय ई–कमर्समा काम गरेकी कुँवरसँग समग्र ई–कमर्स व्यवसाय, नेपालमा यसको अवसर, चुनौती र दराज नेपालको आगामी योजनामा केन्द्रित रहेर बाह्रखरीकर्मी हिमाल पौडेलले गरेको कुराकानी :

विश्व ई–कमर्समा प्रवेश गरेको छ । ई–कमर्सको अभिवृद्धि कुन गतिमा अघि बढिरहेको छ ? यसमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?

समग्रमा ई–कमर्स वृद्धि भइरहेको उद्योग हो । म पहिला अमेजनमा काम गर्थेँ । अमेरिकामा अमेजनबाट सामान अर्डर गर्ने कार्य दैनिकी भइसक्यो । अमेरिकासहित विश्व बजारमा ई–कमर्स ग्रो भइरहेको छ । नेपालमा पनि ई–कमर्सबाट सामान लिने क्रम बढेको छ । 

विशेषगरी, कोरोना महामारीको बेलामा नेपालमा मात्रै नभई अन्यत्र पनि ई–कमर्सको प्रयोग बढेको थियो । 

लकडाउनमा बाहिर जाँदा जोखिम हुने भएकाले सामान अर्डर गर्ने क्रम बढ्यो । अहिले अपेक्षा गरेभन्दा बढी नै ई–कमर्सको ग्रो भइरहेको छ । 
म कामना गर्छु यो महामारी पुनः नदोहोरियोस् । तर, महामारीले ई–कमर्स ग्रो गर्‍यो ।

नेपाली किन ई–कमर्समा आकर्षित भएका हुन् ? 

कोभिड महामारीमा कारोबार सजिलो हुने भएकाले नेपाली ई–कमर्समा आकर्षित भएका हुन् । नेपाली पनि व्यस्त हुन  थालेका छन् । शनिबार एकदिन बिदा हुन्छ । सुविधाको हिसाबले पनि अनलाइन अर्डर धेरै सजिलो छ । 

युवा पुस्ताले ई–मकर्सलाई ग्रहण गरे पनि पुरानो पुस्ता ई–कमर्सबाट कारोबार गर्न हिचकिचाइरहेको थियो । तर, कोरोना महामारीका कारण उहाँहरूले पनि ई–कमर्सबाटै कारोबार सुरु गर्नुभएको छ । 

जस्तो, मेरो बुबाआमा पनि पछिल्लो समय ई–कमर्सबाटै कारोबार गर्नुहुन्छ । 

दराजले ई–कमर्स विकासका लागि के गर्दैछ ? प्रबन्ध निर्देशक भएपछि तपाईंले कस्ता कार्यक्रम अगाडि सार्नुभएको छ ?
नेपालको सन्दर्भमा कुरा गर्दा हामी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघमा दर्ता भएका कम्पनी हौँ । देशमा साना, मझौला व्यवसायलाई कसरी सहयोग गर्न सक्छौँ भनेर काम गरिरहेका छौँ । 

समस्या समाधानका लागि एकलभन्दा समूह बनाएर सरकारसँग जाँदा प्रभावकारी हुन्छ । 

हामी ‘इभान’ ई–कमर्ससँग सम्बन्धित व्यावसायिक संस्थामा आबद्ध भएका छौँ । जसमा पठाओलगायत कम्पनी  छन् । हामीले यसरी देशमा ई–कमर्सको वृद्धि÷प्रवद्र्धन गर्नका लागि काम गरिरहेका छौँ । 

कम्पनीको कुरा गर्दा हामीले विभिन्न पक्षमा काम गरिरहेका छौँ । ई–कमर्समा जति प्रविधिको प्रयोग गरे पनि बजार तयार छैन भने त्यसले काम गर्दैन । 

त्यसैले हामी बिक्रेता शिक्षा, ग्राहक शिक्षामा केन्द्रित हुन्छौँ । ई–कमर्समा कस्ता वस्तु र सूचना राख्यो भने ग्राहकलाई सजिलो हुन्छ भन्ने विषयमा पनि काम गरिरहेका छौँ । 

जस्तो रातो ज्याकेट किन्ने र अनलाइन हेरेर किन्दा फरक हुन सक्छ । त्यसैले कस्तो खालको सूचना राख्दा त्यो सान्दर्भिक हुन्छ भन्ने कुरा छ । 

केही क्याटेगोरीमा समस्या छैन । तर, अन्यमा साँच्चै इस्यू छ । त्यस्ता कुरामा पनि काम गरिरहेका छौँ । 

बजार विस्तारको सन्दर्भमा पनि काम गरिरहेका छौँ । अहिले हामी ४७ वटा सहरमा छौँ । अर्को वर्ष ८० वटा सहरमा पुग्ने योजना छ । हाम्रो ग्राहक र बिक्रेता अनुभवमा केन्द्रित छौँ । अहिले नै अनलाइनमा कमेन्ट हेर्ने हो भने मैले रातो ज्याकेट अर्डर गरेको थिए । तर, पहेँलो आयो भनेर ग्राहकको गुनासो आउँछ । 

हामी त्यो किन भयो, कहाँ ब्रेकिङ पोइन्ट छ, त्यसलाई हेरेर सम्बोधन गर्न लागिरहेका छौँ । हामी डेलिभरी समय, ग्राहकसँगको सम्पर्क, बिक्रेतासँगको सम्पर्कलगायत क्षेत्रमा पनि काम गरिरहेका छौँ । 

नेपालमा ई–कमर्समा देखिएको समस्या के–के हुन् । ती समस्या समाधानका लागि कसले के गर्नुपर्छ ? 

कसले के गर्नेभन्दा पनि उद्योग वाणिज्य महासंघ व्यवसायीको छाता संस्था हो । हामीले महासंघसँग साना, मझौला व्यवसायलाई ई–कमर्स गर्नका लागि कसरी सहयोग गर्न सकिन्छ भनेर एमओयू गरिसकेका छौँ । 

साना, मझौला व्यवसायलाई ई–कमर्समा ल्याउन सहयोग गर्न पहिलो तीन महिनासम्म कमिसन नलिने भनेका छौँ । उहाँहरूलाई सामानको फोटो खिच्नेदेखि क्याटलग लिस्टिङलगायत सहयोग गर्ने र यसलाई बढाउने गरेका छौँ । त्यसमा इफोर्ट लगाउनुपर्‍यो । हामीलाई महासंघले विभिन्न कम्पनीसँग पहुँच स्थापित गरिदिनुपर्‍यो । 

जहाँसम्म सरकारसँगको कुरा छ । हामी सरकारलाई नेपालमा प्रविधिको क्षेत्रमा कसरी आकर्षित गराउन सकिन्छ भन्ने विषयमा प्रस्तुत गर्न खोजिरहेका छौँ । 

धेरै युवा विदेशमा हुनुहुन्छ । उहाँहरूलाई स्वदेशमा फर्काउनका लागि ‘जब मार्केट’ बलियो हुनुपर्‍यो । 

हामीले युवालाई ग्रो गरिरहेका छौँ । म आफैँ पनि स्वदेशमै केही गर्नुपर्छ भनेर अमेरिकाबाट फर्किएँ ।  हामी सरकारसँग यस क्षेत्रमा कसरी काम गर्ने भनेर छलफल गर्न खोजिरहेका छौँ । जसले युवालाई स्वदेशमै रहन र विदेशमा भएकाहरूलाई पनि स्वदेशमा फर्काउन मद्दत गर्छ भन्ने लागेको छ । 

समग्रमा हाम्रो उद्देश्य यस माध्यमबाट देशको अर्थतन्त्र कसरी विकास गर्ने, ‘टेक स्पेस’ र अझै बलियो बनाउने भन्ने हो ।

छिमेकी देश भारतमा प्रविधिको धेरै विकास भइसक्यो । हामी त्यो तहमा किन जान सकेनौँ ? के कारणले रोकिरहेको छ ? जस्ता विषय हेरिरहेका छौँ । 


ई–कमर्स काठमाडौंकेन्द्रित भयो । मोफसलमा जान सकेको छैन भन्ने सुनिन्छ । अवस्था त्यस्तै हो ? 

मलाई त्यस्तो लाग्दैन । यस्तो सोचिएको हो मात्रै हो । 

हाम्रो बजार ५० प्रतिशत मात्रै काठमाडौं उपत्यका हो भने बाँकी ५० प्रतिशत उपत्यका बाहिर छ ।  अहिले हामी ४७ सहरमा छौँ । आगामी वर्ष ८० सहरमा पुग्ने तयारी गरिरहेका छौँ । 

ई–कमर्समा मुख्य प्रतिस्पर्धा कस्ता वस्तुमा छ ?

अहिले पहिलो नम्बरमा कारोबारमा पर्ने वस्तु विद्युतीय सामग्री हुन् । यस्ता सामान अनलाइनबाट किन्न सजिलो पनि छ । 

उपभोक्ता यस्तै सामग्री अनलाइनमा किन्न रुचाउनुहुन्छ । फेसनका वस्तुमा भने अलि बढी चुनौती छ । यस्ता सामग्री अनलाइनबाट भन्दा पनि ‘फिल’ गरेर किन्न रुचाउनुहुन्छ । 

ई–कमर्सको मुख्य चुनौती के हो ?  

बिक्रेतालाई नै ई–कमर्स भनेको के हो ? कसरी पोस्ट गर्नेलगायत विषयबारे राम्रोसँग थाहा छैन । 

त्यसैगरी, ग्राहक पनि कसरी अर्डर गर्ने, कति दिनमा आउँछ, फिर्ता कसरी गर्ने र  कति दिनमा पैसा आउँछ भन्ने कुरामा स्पष्ट छैनन् । 

मलाई लाग्छ हामीले यस्ता विषयमा काम गर्नुपर्नेछ । ई–कमर्स नयाँ भएकाले पनि चुनौती देखिएको हो । 

तर, नेपाली छिटो ग्रहण गर्न सक्छन् । नेपालीले प्रायः फोन–पे चलाउँछन् । फोन–पे अहिले भुक्तानीको प्रमुख माध्यम भइसक्यो । ई–कमर्स पनि यही हिसाबले अगाडि बढ्छ जस्तो लाग्छ । 

ग्राहकलाई चाहिने सबै सूचना दिने, उपभोक्ताको गुनासो समाधान गर्ने, उपभोक्ताले प्रश्न गर्नुभयो भने बिक्रेतालाई तत्काल उत्तर दिन कसरी लगाउने भन्ने विषयमा दराजले काम गरिरहेको छ । 

ड्रोनबाट डेलिभरीको युग सुरु भइसक्यो भन्ने छ । नेपालमा पनि त्यसैगरी डेलिभरी गर्न सम्भव छ ?

सम्भव त छ । तर, हामी धेरै टाढा छौँ जस्तो लाग्छ । अमेरिका पनि ड्रोनबाट सामान डेलिभरी गर्ने तहमा पुगिसकेको छैन । तर, यो प्रविधि नेपालका दुर्गम क्षेत्रका लागि विकल्प हुन सक्छ । 

हामी नेपालमा नपाइने सामान विदेशबाट कसरी ल्याउने, पेमेन्ट इन्टिग्रेसन कसरी गर्नेजस्ता सामान्य विषयमा केन्द्रित छौँ । त्यसैले ड्रोन अलि टाढाको कुरा हो । 

यसको अर्थ हुनै सक्दैन भन्ने होइन । अलि समय लाग्छ भन्ने हो । 

तपाईं नेपालमा अन्तर्राष्ट्रिय ठूला ई–कमर्स कम्पनी र नेपाली ई–कमर्स कम्पनीबीच प्रतिस्पर्धा हुने सम्भावना कति देख्नुहुन्छ ?

ई–कमर्समा मात्रै नभएर रिटेललाई पनि प्रतिस्पर्धाको रूपमा लिन मिल्छ । 

प्रतिस्पर्धाको विषयमा धेरै सोच्नेभन्दा आफ्नो व्यवसाय कसरी राम्रो बनाउने, ग्राहक र बिक्रेतालाई कसरी खुसी बनाउने, सुविधा कसरी बढाउने र कसरी बढीभन्दा बढीलाई सेवा पुर्‍याउनेजस्ता विषयमा हामी केन्द्रित भइरहेका छौँ । 

नेपालमा ठूला विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बनिसकेको छैन ।  सबैभन्दा ठूलो ई–कमर्स भनेको अमेजन भन्नुपर्ला । अमेजन नेपाल आउने योजनामा छ जस्तो लाग्दैन । 

अमेजनले केही समयअगाडि मात्रै स्वीडेन र पोल्याण्डमा लन्च गरेको छ । 

अन्य ठूला कम्पनी नेपाल आउनु प्रतिस्पर्धाको हिसाबले राम्रो हो । उहाँहरूलाई हामीले प्रतिस्पर्धाकै हिसाबले हेर्नुपर्छ । अहिले नेपालमा अनलाइन प्लेटफर्म र प्रतिस्पर्धा दुवै छ । 

नेपालमा ई–कमर्सका लागि मानवस्रोतको उपलब्धता कस्तो छ ?

म अमेजनबाट दराजमा आएको हुँ । नेपालमा ई–कमर्सका लागि मानवस्रोत एकदमै ट्यालेन्ट भएको अनुभव गरेकी छु । 

कडा परिश्रम, बलियो स्वामित्वलगायत कुरा हेर्दा काम गर्ने कल्चरको हिसाबले खासै फरक पाइनँ । 

हामीले जनशक्ति प्रत्येक वर्ष वृद्धि गरिरहेका छौँ । तर, ई–कमर्सको ब्याग्राउन्ड भएका मान्छे पाउन गाह्रो छ । किनेभने यो नयाँ क्षेत्र हो । 

तर, दराजको पर्याप्त टिम भइसक्यो । सन् २०१८ मा १५० जना हुनुहुन्थ्यो । अहिले ७०० जना हुनुहुन्छ । पिक क्याम्पेन समयमा एक हजार ५०० जनाजति नै हुन्छ । ११.११, दसैंलगायत क्याम्पेनमा एक हजार ५०० जनाजति हुन्छौँ ।

हामीले स्मार्ट मान्छेलाई लिएर ई–कमर्समा तालिम दिने काम गरिरहेका छौँ । कुन भूमिकाका लागि हायर गरिएको छ, त्यही कामका लागि तालिम दिन्छौँ । ३० देखि ९० दिनको सिक्ने अवधि हुन्छ । त्यसपछि हामीसँगै जोडिएर काम गर्न थाल्नुहुन्छ । हाम्रो छनोट नै कडाखालको हुन्छ । त्यसैले छनोटमा परिसकेपछि हामीसँगै जोडिनु हुन्छ । तालिम लिएपछि हामीसँग नजोडिनुभएको संख्या ज्यादै न्यून छ । 


दराजमा कतिजनाले रोजगारी पाएका छन् । खरोजगारीको संख्या कति पुर्‍याउने योजनामा हुनुहुन्छ ? 
अहिले ७०० जना हुनुहुन्छ । पिक क्याम्पेनको समयमा एक हजार ५०० जना जति नै हुन्छौँ । ११.११, दसैँलगायत क्याम्पेनमा एक हजार ५०० जना जति नै हुन्छौँ  । प्रत्येक वर्ष बढाउँदै लैजान्छौँ । 


विश्वबाटै पसल युग अन्त्य भएर अनलाइन सपिङमात्र सञ्चालन हुने सम्भावना कति छ ? 
ई–कमर्सका कारण पसलको युग नै समाप्त हुन्छ जस्तो लाग्दैन । अमेरिकालाई नै हेर्दा पनि अमेजन अनलाइन सपिङदेखि सुरु भएको कम्पनीको भिजिकल स्टोर पनि छ । 

यद्यपि, भिजिकल स्टोर परिवर्तन भएका छन् । जस्तो ‘अमेजन गो’ भन्ने स्टोर सुरु भएको थियो । 

त्यो भनेको आफ्नो एपबाट साइन इन गरेर भित्र जाने, जे–जे चाहिएको छ । ती सामान उठाउने गरिन्छ । त्यसमा क्रेडिट भइहाल्छ, कारोबारमा केही अवरोध हुँदैन । अमेजनकै अर्को फोर स्टार र धेरै बिक्री हुने वस्तुको एउटा स्टोर छ । त्यसमा उपभोक्ता गएर टच गरेर फिल गरेर किन्न मिल्छ । 

सबै वस्तु अनलाइनबाट मात्रै किन्छु भन्न पनि मिल्दैन । अझ नेपालको सन्दर्भमा त्यस्तो हुन्छ जस्तो लाग्दैन । 
त्यसैले पनि भिजिकल स्टोरलाई ई–कमर्सले विस्थापित नै गर्छ । सबै अनलाइनबाटै सामान खरिद हुन्छ जस्तो लाग्दैन । 

अमेजनमा काम गर्नुभयो । नेपालको ठूलो अनलाइन कम्पनी दराजमा अबद्ध हुनुभएको छ । कस्तो अनुभव भइरहेको छ ? 

एउटा ठूलो जिम्मेवारी लिएको अनुभव भइरहेको छ । देशकै लागि केही गर्छु भनेर अमेरिकाबाट फर्किएकी हुँ । अमेरिकामा लिएको अनुभव नेपालमा प्रयोग गर्न पाउँदा खुसी छु । 

सबैजनाले बाहिर गएर काम गर्ने एक्सपोजर पाउँदैनन् । अमेजनमा यसरी काम हुन्छ भनेर सिकाउँदा धेरै खुसी लाग्छ । 

ठूलो जिम्मेवारीसँगै चुनौती पनि होला नि, होइन र ?

चुनौती पनि देखेको छु । तर, चुनौती भएन पनि ‘फन’ पनि हुँदैन । 

सबै कुरा सजिलो भयो भने त ‘बोर’ भइहाल्छ नि । चुनौती र समस्या छन् । तर, मैले सक्नेजति गरिरहेको छु । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro