
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गर्दैछ ।
‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेस ६ हजार ७४३ वडामा पुग्ने तयारीमा रहेको सहमहामन्त्री भीष्मराज आङ्दम्बे बताउँछन् ।
फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन २० गतेबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर, अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन पार्टी नेतृत्व व्यस्त भएपछि अभियान सञ्चालन हुन सकेन । यस्तै १६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्न नसक्दा अभियान प्रभावित भएको थियो ।
मंगलबार बिहान पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवाले अभियान सञ्चालन गर्न निर्देशन दिएपछि पार्टीले एक महिने अभियान सुरु गर्ने निर्णय गरेको सहमहामन्त्री आङ्दम्बे बताउँछन् । कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म अभियान सञ्चालन गर्न लागेको हो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल जिल्ला जाने प्रतिनिधिहरुलाई अभिमुखीकरण गराउने काम भइरहको बताउँछन् ।
“आज बेलुकासम्म जिल्ला जानेहरुलाई हामी चिठी थमाउँछौँ । अहिले पार्टी अफिसमा अभिमुखिकरण गर्ने काम भइरहेको छ,” उनले भने । अभियानका लागि खटिने प्रतिनिधिहरु २६ गतेभित्र जिल्ला पुगिसक्नुपर्ने गरि पार्टीले तयारी गरिरहको छ ।
एक अभियानको आठ उद्देश्य
एक महिनासम्म चल्ने अभियानले आठवटा उद्देश्य लिएको छ । जसको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ ।
यस्तै अभियानकै दौरान पार्टीले ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन गराउने नीति लिएको छ । वडा तहसम्म पुगेर कांग्रेसले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारको तीन वर्षे कार्यकालमा भएका जनविरोधि गतिविधि, असंवैधानिक कदम र भष्टाचार प्रकरण जनतासमक्ष चुनावी एजेन्डा बनाएर लैजाने तयारी गरेको छ । यस्तै वर्तमान कांग्रेस नेतृत्वको सरकारले कोभिडको विरुद्ध ७० प्रतिशत नागरिकलाई खोप लगाएको भन्दै चुनावी एजेन्डा बनाइने भएको छ ।
पार्टीले संसदबाट अनुमोदन भएको एमसीसी परियोजनाका विषयमा जनस्तरमा छरिएका भ्रम र पार्टीप्रति उत्पन्न शंका निवारणका लागि बुँदागत रुपमा अभियानबाट भ्रम चिर्ने तयारी पनि गरेको छ ।
पार्टीले अभियान अन्तर्गत प्रदेश कार्यसमितिलाई केन्द्रको कार्यक्रममा असर नपर्ने गरि आफ्नो प्रदेश भित्र ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ थप गरेर सञ्चालन गर्ने अधिकार पनि दिएको छ ।
यस्तै स्थानीय तहमा पार्टीको उमेदवार चयनका लागि पूर्व अध्ययन गरि प्रदेश कार्यसमितिलाई प्रतिवेदन बुझाउन प्रत्येक स्थानीय तहमा अभियानको अन्तिम सातामा प्रदेश प्रतिनिधि खटाउने निर्णय पनि कांग्रेसले गरेको छ । यस्तै प्रदेशले आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नुपर्ने जिम्मेवारी पनि केन्द्रले दिएको छ ।
यता, जिल्ला कर्यसमितिले अभियान सुरु हुनुभन्दा दुई दिनअघि कार्यसमितिको बैठक बसेर जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि तथा प्रतिनिधि टोली तय गर्नेगरि जिल्ला समितिलाइई निर्देशन दिएको छ । यस्तै अभियान सञ्चालनका लागि भ्रातृ तथा शुभेच्छुक संस्था पनि खटिनुपर्ने गरि कांग्रेसले कार्यक्रम तय गरेको छ ।
कांग्रेसले सञ्चालन गर्ने अभियान र त्यससँग सम्बन्धित हरेक गतिविधि सामाजिक संजाल र स्थानीय सञ्चारमाध्यममार्फत् प्रचार गर्ने तयारी गरेको छ र त्यसका लागि छुट्टै प्रचार टिम बनाउने निर्णय पनि गरेको छ ।
पार्टीले फागुन २९ गते दिउँसो १ बजे ७७ जिल्लामा एकसाथ अभियानको उद्घाटन गर्दैछ । अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गर्ने र समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनुपर्ने कांग्रेसको निर्णय छ ।