आफूलाई नै केन्द्रमा राख्न र देख्न रुचाउनेहरू सङ्कटका कारक र केन्द्र पनि बन्छन् । अहिले सत्तारुढ गठबन्धनका ‘आर्किटेक्ट’ र ‘किङपिन’ भएकाे आत्मरतिमा रमाउँदै आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पनि सङ्कटकाे भुमरीमा परेका देखिन्छन् ।
आफ्नाेसमेत सहमति र सहभागितामा संसद्ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमाेदन गरे पनि सत्ता साझेदार कम्युनिस्टहरूले त्यसलाई सहजरूपमा स्वीकार्न सकेका छैनन् । अमेरिकी अनुदान राष्ट्रकाे हितमा रहेकाले अनुमाेदन गरिएकाे सामान्य यथार्थ स्वीकार गर्नुकाे सट्टा उनीहरू त आकाशपाताल देखाएर भ्रम थप्न पाे प्रवृत्त देखिएका छन् ।
भ्रमकाे खेती
व्यक्ति सामान्यतः विश्वासमा बाँच्न खाेज्छ । तर, काेही भ्रममै बाँच्न चाहन्छ भने अरूले केही गर्न सक्तैन । माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीकाे बैठकमा बाेलेका भनेर सार्वजनिक गरिएका अभिव्यक्ति हेर्दा उनकाे मानसिक संशय देशकै लागि सङ्कट बन्ने जाेखिम देखिन्छ ।
दाहालले सभामुख र नेकपा (एकीकृत) समाजवादीका सांसदकाे पद जाेगाउन, सभामुखलाई कैद गर्ने षड्यन्त्र विफल पार्न एमसीसी अनुमाेदन गर्नुपरेकाे बताएकाे सार्वजनिक भएकाे छ । सञ्चार माध्यममा आएका यस भनाइकाे अहिलेसम्म खण्डन पनि गरिएकाे छैन ।
अध्यक्ष दाहालकाे कथन सत्य हाे भने प्रधानमन्त्री शेरबहादुर देउवा नै त्यस षड्यन्त्रका मुख्य नाइके हुनुपर्यो । किनभने उनकाे संलग्नाविना त दाहालले भनेजस्ताे षड्यन्त्र सफल हुनै सक्तैन । त्यस्ताे षड्यन्त्रमा सामेल भइसकेका हुन् भने देउवालाई समर्थन गरिरहनु देश र जनता अझ आफ्ना कार्यकर्तालाई त धाेका दिनु हाे ।
अवचेतनकाे निर्देश
सत्य के हुनसक्छ भने दाहालले कार्यकर्तालाई थामथुम पार्न फैलाएकाे याे अर्काे अफवाह हाे । यसैले उनी ढुक्कसँग ‘षड्यन्त्रकारी’ ‘ब्ल्याकमेलर’ देउवासँग चुनाव पनि मिलेरै लड्ने नेहाेरा गर्दैछन् । याे दाहालकाे चाहना त पक्कै हाेइन हाेला । सायद, अस्तित्व जाेगाउने बाध्यता हो कि ?
दाहालकाे भाषा र भाष्यकाे दुवै भ्रमले नेपाली कांग्रेसलाई धाेकेवाज बनाउने बताउने प्रयत्न गरेकाे देखिन्छ । सायद, २०७४ मा आफूले दिएकाे धाेकाकाे ग्लानि मेट्न दाहाललाई उनकाे अवचेतनले दिएकाे निर्देश हाे याे प्रयत्न । हाेइन भने त्यस प्रकारकाे अनर्गल आराेप लगाउनेसँग सहकार्य गर्नु देउवाकाे पनि सत्ता लाेलुपताकाे पराकाष्टा हाे ।
माले, मण्डले, मसालेकाे एउटै भाष्य
त्यसाे त माओवादी केन्द्रका अध्यक्ष दाहालकाे याे भाषा र भाष्य दुवै नेपाली कांग्रेसलाई ‘अराष्ट्रिय तत्त्व” भनेर प्रचारवाजी गर्ने महेन्द्रीय ‘राष्ट्रवाद’ बाट प्रेरित प्रभावित देखिन्छ । अचम्मसँग एमसीसी प्रकरणमा पनि ‘माले, मण्डले र मसाले’ एक हुन पुगेका छन् ।
त्यसाे त, माओवादी कार्यकर्ता र एमसीसी विराेधीहरूसामु देउवालाई खलनायक बनाएर साखुल्ले हुने दाहालकाे प्रयासले उनलाई नायक हैन विदूषक बनाएकाे छ । एमसीसी राष्ट्रघात थियाे भने सत्ता वा सभामुख, सांसदकाे पद जाेगाउन भनेर पनि त समर्थन गर्नु हुँदैनथियाे । थिएन भने किन गरियाे यत्राे वितण्डा ? नेपाली जनताले उत्तर माग्न वा दिन पर्दैन ?
सामाजिक सञ्जाल र सञ्चार माध्यम हेर्दा बुझिन्छ एमसीसी पास हुँदा माले मसाले मण्डले जमातलाई उखर्माउलाे भएकाे छ । यिनलाई धर्म निरपेक्षता, संघीयता र गणतन्त्र लागु हुँदा पनि यस्तै उखर्माउलाे भएकाे थियाे र देश त सिद्धिइहाल्याे भनेका थिए । भूकम्प, दुवै छिमेकीकाे घाेषित अघाेषित नाकाबन्दी र काेभिड-१९ काे प्रकाेपपछि पनि नेपालकाे संविधान घाेषणा भएपछि देश ओरालाे नै लागेकाे त देखिएकाे छैन । उल्टै सामाजिक विकाससमेतका दृष्टिले मुलुक विकासाेन्मुख देशतर्फ उन्मुख छ ।
दाहालले कार्यकर्तालाई भनेजस्ताे प्रधानमन्त्री देउवाले एमसीसी पास नगरे एमालेसँग मिलेर सभामुखलाई हटाउने र माधव नेपालहरूकाे पद सिध्याउने भनेर ‘ब्ल्याकमेल’ गरेकै हुन् त ? हाे भने पनि र हाेइन भने पनि यति भइसकेपछि, यत्राे ‘खुलासा’पछि गठबन्धनमा कसरी सँगै बस्ने? लाज लाग्दैन ?
असंलग्नताकाे सही अर्थ
युक्रेनमा नेपालले रुसकाे पक्ष लिएकाे वा माैन समर्थन गरेकाे भए सायद दाहाललगायत नेपालका अरू कम्युनिस्टलाई नाक जाेगाउने माैका हुन्थ्याे हाेला । विश्वका अधिकांश सार्वभाैम मुलुकहरूसँगै नेपाल पनि युक्रेनकाे स्वतन्त्रताकाे पक्ष र युद्धकाे विपक्षमा उभिँदा अधिनायकवादीहरूलाई उखर्माउलाे छटपटी भएकाे हुनुपर्छ । दाहाल त बाेलेका छैनन् क्यारे तर कम्युनिस्ट धङधङी त झलनाथ खनालले विराटनगरमा देखाइसके ।
नेपालले यसपटक मात्र हाेइन धेरैपटक चीन र भारत वा अमेरिकाभन्दा पृथक अडान राख्दै आएकाे छ । यत्ति हाे, चिनियाँ कम्युनिस्ट पार्टीकाे भातृ संस्थाका कार्यकर्तासरह अभिमुखीकरण कक्षा लिने झलनाथहरूले वास्तविक असंलग्नताकाे परम्परा र मर्म बुझ्न सक्तैनन् । यिनीहरू कुनै मुलुकका दास हुनसक्छन् तर स्वतन्त्र र स्वाभिमानी हुनसक्तैनन् । कांग्रेस लाेकतन्त्र, मानव अधिकार र स्वतन्त्रता र सार्वभाैम सत्ताका पक्षमा हुन्छ । फरक यही हाे ।
र, अन्त्यमा
राष्ट्रिय सभाका रिक्त २० पदमा १९ जना चुनिएर आइसकेका छन् । राष्ट्रपतिबाट मनाेनीत गर्ने सदस्यमा सरकारले राष्ट्रले गर्व गर्न सक्ने, लाेकतन्त्रप्रति प्रतिबद्ध व्यक्ति सिफारिस गराेस् । रामनारायण बिडारी वा वामदेव गौतमजस्ता राजनीतिमै लागेकाहरू त पार्टीका आआफ्ना काेटाबाट चुनिए भइहाल्याे नि । कहिले काहीँ त सदनकै सम्मान हुने व्यक्तित्व पनि छाने हुने नि ! केदार माथेमा वा डा. देवेन्द्रराज पाण्डेजस्ता व्यक्तिहरू राष्ट्रिय सभामा जान वा लानै नहुने त हाेइन हाेला नि ?