काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिएका हुन् ।
सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ ।
आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताएका हुन् ।
उनले महासंघको बैठक बसेर फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिए ।
पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।