site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको रणनीति : एमालेसँग मिलेर सरकार बनाउने, एमसीसी टेबल गर्ने !
फाइल तस्बिर

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी परियोजना संसद्मा टेबल गर्ने र पास गराउने निर्णयमा पुगेका छन् । 

कांग्रेस उच्च स्रोतका अनुसार अब देउवा गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई साथै लिएर एमसीसी परियोजना पास गराउने गृहकार्यबाट पछि हट्न थालेका छन् । उनले रणनीति परिवर्तन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग मिलेर परियोजना पास गराउने तयारी गरेको स्रोतले बताएको छ । 

प्रधानमन्त्री देउवाले बुधबारको संसद् बैठकमै एमसीसी टेबल गर्ने तयारी गरेका थिए । यो विषयमा गठबन्धनमा रहेका मुख्य दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि सहमति जुटेको थियो । सहमति बमोजिम देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सहमत भएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, बुधबारको बैठकमा एमसीसी टेबल गरे गठबन्धन तोड्ने र सरकार छोड्ने माओवादी केन्द्रको संसदीय दलले निर्णय गरेपछि संसद् बैठकमा एमसीसी टेबल हुन सकेन । बुधबार संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र माओवादी  केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुबाटारमा बैठक भयो र गठबन्धनमा आवद्ध सबै दलहरूबीच अन्तिम तथा निर्णायक छलफल गर्ने सहमति भयो । जसका कारण देउवाको चाहना अनुरुप एमसीसी टेबल हुन सकेन । 

“आफूलाई सत्ता दिलाएको प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराउनु हाम्रो रहर थिएन । उनीहरु (प्रचण्ड र नेपाल) को कारण हामीले त्यो निर्णय पनि गर्‍यौँ । अन्तिममा हामीलाई धोका भयो,” पार्टी केन्द्रीय सदस्यसमेत रहेका एक सांसदले बाह्रखरीसँग भने । 

ती सांसदका अनुसार अब प्रधानमन्त्री देउवा गठबन्धनको भारी बिसाएर नयाँ गठबन्धन बनाउने मनसायमा पुगेका छन् ।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा आफूहरूले काम गर्न नदिने गठबन्धन गरेर पार्टीलाई फाइदा नहुँने भएकाले अघि बढाउनुको औचित्य नभएको सल्लाह देउवालाई दिएको उनले जानकारी दिए । 

जवाफमा देउवाले के भने त भन्ने बाह्रखरीको प्रश्नमा उनले सभापति गठबन्धनको भारी बिसाउने तरखरमा रहेको आफूहरुले पाएको उनको दाबी छ । 

“सभापतिले केही दिन पर्खन्छु भन्नुभयो, हामीले चाडोँ निर्णय गर्नुपर्छ भन्यौँ,” उनले भने । 

त्यसो भए अब एमालेसँग गठबन्धन भएर सरकार बन्छ त भन्ने प्रश्नमा ती सांसदले अन्य विकल्प लगभग समाप्त भएको तर्क गरे । 
यता, पार्टीका एक पदाधिकारीले पनि एमसीसी पास गराउन कांग्रेसले जुनसुकै उपाय अबलम्वन गर्ने बताए । 

“अब सधैं गठबन्धन भनेर बस्न जरुरी छैन, संसदबाट जसरी पनि एमसीसी अघि बढ्छ । विकल्पहरूमा सभापतिको ध्यान गएको छ,” ति पदाधिकारीले भने ।

ति पदाधिकारीका अनुसार अब एमालेसँग मिलेर एमसीसी अघि बढाउने निर्णयमा कांग्रेस पुगेको छ । 

“आज कांग्रेस र एमाले मात्र सडकमा थिएन । बाँकी सबै विरोध गर्दै सडकमा निस्किए । यसको अर्थ अब गठबन्धन कता जान्छ अनुमान गर्न गाह्रो छैन,” उनले भने । 

माओवादी संसदीय दलको बैठकले गठबन्धन छाड्ने चेतावनी दिएपछि २ दिन पर्ख र हेरको अवस्थामा देउवा पुगेका छन् ।

फागुन ६ गते बस्ने संसद् बैठकमा जुनसुकै हालतमा एमसीसी टेबल गर्ने कानुनमन्त्री दिलेन्द्र बडूले जानकारी दिएका छन् । 

बाधक सभामुख, बिहीबार अन्तिम अवसर !

यता, एमसीसीको विषयमा छलफल गर्न बिहीबार गठबन्धन दलहरुको बैठक बस्दैछ । तर, त्यो बैठकले पनि नतिजा नदिने कांग्रेसको बुझाइ छ । 

“भोलिको बैठकमा हामीले एमसीसीको विषयमा बुझाउन सक्छौँ भन्ने हामीलाई छैन, त्यो बैठकको औचित्य पनि छैन,” ति पदाधिकारीले भने,“अब गठबन्धन भनेर कुर्ने समय छैन । यो गठबन्धन मात्र सबै कुरा होइन । त्यसकारण ढुक्क हुनुहोस् एमसीसी टेबल हुन्छ । सरकारमा पनि रहने र सडकमा पनि निस्कन मिल्दैन ।”

कांग्रेसका अर्का सांसद माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनमा बस्ने कि छाडेर जाने भन्ने अन्तिम निर्णय गर्ने अवसरस्वरुप बिहीबारलाई गठबन्धनको बैठक डाकिएको बताउँछन् । सो समयसीमा पनि दाहाल र नेपालले मागेको उनी बताउँछन् । 

तर,कांग्रेसले यसलाई अल्मल्याउने नीतिको रुपमा मात्र हेरेको छ । ति नेता एकदिन समय माग्दा दुर्घटना टर्छ भने किन नदिँने भनेर समय उपलव्ध गराइएको बताउँछन् । 

कांग्रेसको बुझाइमा एमसीसी परियोजनाको बाधक सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जर्नादन शर्मा हुन् । 

“प्रचण्डले सोमबारको बैठकमा पास गराउने संकेत दिनुभएको थियो । तर, उहाँकै पार्टीबाट सभामुख बनेका अग्नि सापकोटा र अर्थमन्त्री जर्नादन शर्मा बाधक बन्नुभयो,” उनले भने, “सभामुख आज बिहानबाट अकस्मात युटर्न हुनुभयो र कार्यव्यवस्था समितिमा सर्वसम्मत नभएकाले पेश गर्न नसकिने भन्नुभयो । यो कार्यव्यवस्थामा राख्ने विषय होइन सरकारले ल्यायो सभामुखले संसद्मा बाधक बन्न नहुने विषय हो । उहाँले बहानामा कार्यव्यवस्था समितिलाई रोज्नुभयो ।”

अब कांग्रेसले के गर्छ त भन्ने बाह्रखरीको प्रश्नमा उनले एक दिन विकल्पको बारेमा सोच्न उनीहरूलाई समय दिइएको बताए । 

उनले एमसीसीका पक्षधरहरूबीच अनौपचारिक संवादहरू अघि बढिसकेको पनि बताए । 

“भोलिको गठबन्धनले के नतिजा दिन्छ हेरौँ । हामीलाई आश त छैन,” उनले भने,“गठबन्धनमा कुरा मिलेन भने प्रतिपक्षी दलसँग भोलि नै कुरा मिल्न सक्छ ।”

बालुबाटार निकट ती सांसदका अनुसार प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा कुरा राखिसकेका छन् । 

“एमालेले गठबन्धनभित्र कुरा मिले मिलाएर, नमिले पनि त्यसै अनुरुप आउनुहोस् । अनि सहकार्यको विषयमा छलफल गरौँला भनेको छ,” उनले भने । 

अहिलेको बाधक भनेको परियोजना टेबल गर्न नचाहने अर्थमन्त्री र टेबल गर्न नदिने सभामुख भएकाले विकल्प खोज्न ढिला भइसकेको कांग्रेसभित्र बुझाई छ । 

“सरकारले भनेको मन्त्रीले नटेर्ने र सभामुखले नमान्ने भन्ने हुन्छ र ! नैतिकताको आधारमा भए उहाँले राजीनामा गर्नुपर्छ । तर, उहाँहरू सत्ता नछोड्ने विरोध पनि गर्न नछोड्ने अवस्थामा हुनुहुन्छ । त्यसकारण अब विकल्पको खोजी हुन्छ,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro