site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिस्चियन धर्म प्रचारको उद्देश्य राखेर आएका प्रोजेक्ट रोकिदिएकी छु 

नेपाली कांग्रेसकी नेत्री उमा रेग्मी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छिन् । पद्मकन्या क्याम्पसको स्ववियू सभापति हुँदै राजनीतिमा सक्रिय रहेकी उनी २०४८ सालमा पर्वत–२ बाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । संविधासनभा सदस्य हुँदै अहिले प्रतिनिधिसभा सदस्य र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छिन् ।

महिलाअधिकारबारे वकालत गर्दै आएकी रेग्मी महिलालाई ३३ प्रतिशत आरक्षणका लागि संविधानसभाको निर्वाचनपछि अन्तरपार्टी महिला सञ्जालको नेतृत्व गर्दै आन्दोलनमा उत्रिएकी थिइन् । कांग्रेसको भगिनी संस्था महिला संघको दोस्रोपटक नेतृत्व सम्हालेकी रेग्मी अधिकांश समय महिला अधिकारको लडाइमा व्यतीत गर्ने बताउँछिन् । 

प्रस्तुत छ, मन्त्री रेग्मीसँग तीन महिनामा गरेका काम, भावी योजना र उनीमाथि लागेका आरोपबारे बाह्रखरीका रमेश वाग्ले रोमन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले मन्त्रालय सम्हालेको तीन महिना पुगेको छ । अबचाहिँ कामको गति बढाउँछु भन्ने चरणमा पुग्नुभएको हो ?
मैले मन्त्रालय सम्हालेपछि संयन्त्रको पुनःसंरचना गर्न जरुरी थियो । संयन्त्रलाई अलि तिखारेर अगाडि बढ्दै छु । यो पर्याप्त साधन–स्रोत  नभएको, हेपिएको मन्त्रालय हो । यस मन्त्रालयमा नीतिगत काम गर्नुपर्ने हुन्छ । म साधन–स्रोतमा भन्दा पनि पोलिसीमा काम गर्न खोजिरहेकी छु ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा हामीले ९० वर्षमाथिका नागरिक, ह्विलचियरमा बस्न नसक्ने नागरिक र ओछ्यानमै रहेका ज्येष्ठ नागरिकलाई हातमै सामाजिक सुरक्षा भत्ता पुर्‍याउन बैंकसँग समन्वय गरेका छौँ । संघीय मामिला मन्त्रालयबाट त्यो पत्राचार भइरहेको छ । त्यसमा बाँकी काम स्थानीय सरकारले गर्नेछन् ।

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट कार्यान्वयनका लागि यातायातमन्त्रीसँग परामर्श गरेका छौँ ।

हाम्रा कानुन राम्रा भए पनि कार्यान्वयन गर्न चुनौती छ । कानुनको अभाव देखिएको छ । अवश्यक कानुन बनाउनका लागि मैले ध्यान दिएकी छु । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्दा कतिपय कानुन अड्किएका छन् । अध्यादेशबाट सधैँ देश चलाउने कुरा पनि भएन ।

संसद् अवरोध हुँदा काम गर्न बाधा परेको छ । साढे तीन वर्ष प्रतिपक्षमा बस्दा कांग्रेसले सधैँ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको थियो । त्यसैले म प्रतिपक्ष दललाई जिम्मेवार बन्न आग्रह गर्छु ।

महिलाअधिकारका लागि के गरिरहनुभएको छ ?
सम्माननीय प्रधानमन्त्री मलाई अर्कै मन्त्रालय दिने तयारीमा हुनुहुन्थ्यो । तर, म रोजेरै यो मन्त्रालयमा आएकी हुँ । आफ्नो जीवनभर महिलाको इस्युमा सडकमा रहेँ । म दुईचोटि महिला संघको अध्यक्ष भएँ ।

अन्तरपार्टी महिला सञ्जालमार्फत आन्दोलन गरेर महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था हामीले गरेका हौँ । सडकदेखि संसद्सम्म महिलाको इस्यु उठाएकी मैले महिला अधिकार सुनिश्चितताका लागि यही मन्त्रालय रोजेँ । तर, मन्त्रालयको संयन्त्र सोचेअनुरूपको रहेनछ । त्यसैलाई तिखार्नमै मेरो समय व्यतीत भइरहेको छ ।

हाम्रो मन्त्रालयले गर्ने धेरै काम गृहलगायत मन्त्रालयसँग जुधेका छन् । त्यसैले हामीले काम गर्दा सबै मन्त्रालयसँग समन्वय गरेर गर्नुपर्छ ।

म प्रक्रियाबाट अघि बढ्ने प्रयासमा छु । म मन्त्री हुनेबित्तिकै चाडपर्व आए । पार्टीको महाधिवेशन आयो । अझै जिल्ला अधिवेशन बाँकी नै छ । केही समय मन्त्रालयको संयन्त्र मिलाउन लागि परेँ । अब काम गर्न उत्साहित छु ।

आमाको नामबाट नागरिकता लिने विधेयक ‘हाउस’मा अड्किएको छ । त्यो विधेयक पास हुनेबित्तिकै धेरै कुरा सल्टिन्छन् ।

विगतमा अन्तरपार्टी सञ्जालको संयोजक, महिलाअधिकार र संसद्मा सबै पार्टीका महिलालाई एकीकृत गरेर अघि बढ्नुभएको थियो । आगामी दिनमा सबै महिला सांसद एकत्रितका लागि के छन् योजना ?
अन्तर्राष्ट्रिय महिला दिवस नजिकिँदै छ । दिवसमा सबै पार्टीका भगिनी संगठनका अध्यक्षलाई विज्ञ कमिटीमा राख्न लगाएकी छु ।

त्यस्तै, मन्त्रालयको विज्ञ समूह छ । त्यस समूहमा पनि सबै पार्टीका सक्षम महिला सहभागी गराएर पोलिसीमा कसरी काम गर्न सकिन्छ भनेर लागिरहेकी छु । म एकपक्षीय बनेर काम गर्न चाहन्नँ । अन्तरपार्टी सञ्जालमा १९ वर्ष काम गरेँ । हालसम्म महिलाहरूको सवालमा काम गरिरहेकी छु । त्यसकारण म अन्य पार्टीका सबै विज्ञ महिला साथीलाई बोलाएर सल्लाह गर्छु ।

महिला आरक्षणका लागि पार्टीको ‘ह्वीप’ तोडेर सबै पार्टीका महिला एक ठाउँमा उभिनुभएको थियो । आगामी दिनमा त्यो माहोल दोहोरिने सम्भावना कति छ ?
अहिले म आफैँ कार्यान्वयन गर्ने ठाउँमा छु । मन्त्री पनि भएकाले समन्वय गर्दै कानुन बनाउने जिम्मेवारी मेरो हो ।

कानुन निर्माणका लागि कानुन मन्त्रालय, प्रधानमन्त्री र सरोकारवाला मन्त्रालयका मन्त्रीहरूसँग समन्वय गरेर कानुन निर्माण प्रक्रिया अगाडि बढाउने मेरो ध्येय छ । तर, संसद् नै नचल्दा काम गर्न सकिएको छैन ।

एउटै कानुनमा महिलाका अधिकार र इस्यु समेट्न सकिन्न ?
त्यो गाह्रो छ । जस्तो : हिंसाविरुद्धको कानुन बनायो, लागु गर्न त गृहले सहयोग गर्नुप¥यो नि ! कानुन मन्त्रालय सधैँ साथमा हुनुपर्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ७५ प्रतिशत जनसंख्याको व्यवस्थापन गर्ने ठाउँ हो ।

मन्त्रालयले महिलाअधिकार पृष्ठभूमि भएको मन्त्री पाएको छ । अब महिला आन्दोलनले नयाँ उपलब्धि के पाउँछ ?
उपलब्धि भइनसक्दै मलाई अगाडि बोल्न अप्ठ्यारो लाग्छ । नहुने कुरा बोल्न पनि मन पर्दैन । म काम गर्ने उद्देश्यका साथ यहाँ आएकी हुँ । तर, कानुन पास नहुँदा काम गर्न गाह्रो भइरहेको छ ।

तपाईं महिला आन्दोलनबाट आउनुभएको, साधन–स्रोत पनि छैन, कार्यान्वयन गर्ने अधिकार पनि छैन भन्नुहुन्छ, मन्त्री भएपछि पनि आन्दोलनकारीकै भूमिकामा रहने ?
यो मन्त्रालयलाई साह्रै हेपेर बोलियो । म बनाउन खोजिरहेकी छु । यो बीचमा अर्थमन्त्रीसँग कुरा गरेँ । केही दिनभित्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बोलाएर मन्त्रालय इन्पावरमेन्टका लागि काम गर्छु । यो मन्त्रालयलाई शक्तिशाली बनाउनु पहिलो आवश्यकता हो । आईएनजीओले ल्याएको प्रोजेक्ट स्वीकृत गर्नुपर्छ ।

मन्त्रालयको बजेट ८० करोड मात्रै छ । ४५ करोड त प्रशासनिक खर्चमै सकिन्छ । काम गर्नका लागि ३५ करोड बजेट बाँकी रहन्छ । त्यसले के काम गर्ने ? यो मन्त्रालयको बजेट पशुपति क्षेत्र विकास कोषको जति नै छ ।

बजेट बनाइसकेपछि म आएँ । अर्को बजेट बनाउने बेला भएको छैन । फेरि, यो मन्त्रालयमा म कति समय बस्छु थाहा छैन । बजेट बनाउने बेलासम्म मन्त्रालयमा बसेँ भने मन्त्रालयको स्रोत–साधन वृद्धिका लागि काम काम गर्नेछु ।

तपाईंमाथि छोरा/बुहारी भर्ती गरेको आरोप लागेको छ नि ?
यो पूर्वाग्रहपूर्ण आरोप हो । यहाँ मैले बालबालिकासम्बन्धी नियमावली संशोधन गरेर ल्याउन लागेकी थिएँ । बालबालिकाको क्षेत्र अत्यन्तै संवेदनशील छ । त्यसमा सुधार गर्न खोज्दा ममाथि आक्रमण भयो ।

बुहारीको नियुक्ति त गरेकै देखियो नि !
यो त क्याबिनेटबाट भएको निर्णय हो । व्यक्तिगत रूपमा मैले कसरी गर्न सक्छु र ? गठबन्धनमा सहमति भएर निर्णय भएको हो । समाजकल्याण चलाउन अंग्रेजी, कम्प्युटर जानेको र अलिकति भिजन भएको मान्छे चाहियो होला नि !

कार्यकर्ता भर्ती गरेर मात्र हुँदैन । क्षमतावान् पनि हुनुपर्छ । सदस्यसचिव पनि धेरै आईएनजीओहरूमा काम गरेर आएको परिपक्व मान्छे हुनुहुन्छ । मुनिका पनि यो सेक्टरमा काम गरेकी र भिजन भएकै मान्छे हो ।

बालबालिकासम्बन्धी ऐन संशोधन गरेर बालकल्याण समितिमा छोरो ल्याउन खोजेको भन्ने आरोपमा कत्तिको सत्यता छ ?
कहाँबाट हुनु । त्यो त भोलि परिणाममा देखिने कुरा हो । कहाँ के भनूँ भनेर आरोप मात्रै लगाएका हुन् । मेरो छोरा व्यापार गर्ने मान्छे हो । उसलाई राजनीति गर्नु छैन । उसलाई नियुक्तिमा रुचि छैन ।

बीस वर्षपछि यो मन्त्रालय र समाजकल्याण परिषद्मा कांग्रेसको प्रवेश भएको हो । केही गर्न लाग्दा यहाँ एमालेका समितिले आक्रमण गर्छन् । त्यसकारण एमालेका मान्छेले यो सबै प्रोपगान्डा मच्चाएका छन् । यो सबै बेकार हो । 

तपाईंहरूनिकट लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले नै विरोध गरेको देखियो नि ?
व्यक्तिगत स्वार्थका कारण पनि यस्तो हुन्छ । जस–जसले विरोध गरिरहेका छन्, उनीहरूमध्ये केही सो पदमा आउन चाहेका थिए । आफूले नपाएपछि विरोध गरेका हुन् । अब म कुनै पनि व्यक्तिगत स्वार्थ रहने गरी यो परिषद् चल्न दिन्नँ ।

प्रोजेक्ट आएर मन्त्रालयमा ६ महिना, वर्ष दिन रोकिएर रहन दिन्नँ । म आउनेबित्तिकै लाइन लागेर राजदूतहरू आउनुभयो । म देशको इज्जत नै बिग्रिने गरी काम गर्न सक्दिनँ । तर पनि अझै ममाथि नै आक्रमण हुन्छ ।

अब चाँडोभन्दा चाँडो मन्त्रालयको कामलाई डिजिटलाइजेसन गरिँदै छ । यसलाई पारदर्शी बनाउने काम हुन्छ । मैले आउनेबित्तिकै ५० वटा फाइल स्वीकृत गरेँ ।

मेरो टिमले अध्ययन गरेर मात्र फाइनल स्वीकृत गर्छ । मैले यहाँ केही प्रोजेक्ट रोकेर राख्नुपरेको छ । उद्देश्य राम्रो नदेखेर कतिपय फिर्ता गरेँ । कतिपय रोकेर राखेकी छु ।

तपाईं आएपछि प्रोजेक्ट किन रोकिए त ?
रोक्नुपर्ने बाध्यता देखियो नि ! यतिसम्म कि खुलेआम इसाई धर्मको प्रचार गर्ने उद्देश्य राखेर प्रोजेक्ट ल्याइएका छन् । धर्म प्रचार गर्ने उद्देश्य देख्दा–देख्दै कसरी स्वीकृत गर्नु ? सचिवबाट तोक लागेर आएका छन् । घरघरमा बाइबल पढाएर हिँड्ने प्रोजेक्ट स्वीकृत गर्न कसरी सकिन्छ ?

खुलेआम धर्म प्रचारकै उद्देश्य राखेर प्रोजेक्ट आउँदा रहेछन् ?
हो । खुलेआम क्रिस्चियन धर्म प्रचारको उद्देश्य राखेर प्रोजेक्ट आउँदा रहेछन् । पहिला पनि उनीहरूले त्यसरी स्वीकृति लिएर काम गरिरहेका रहेछन् । यही मन्त्रालयबाट स्वीकृत दिएर काम भएको भेटियो । तर, अरूले स्वीकृत गरेको भनेर मैले पनि गर्नु त भएन नि ! त्यसकारण छिटो पारदर्शी बनाउनु छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro