site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र, १२ लाख असुल गर्न काठमाडौंमा हारगुहार 

काठमाडौं । भिजिट भिसामा दुबई पुर्‍याएर चारजनालाई अलपत्र पारेको पाइएको छ । तीन/तीन लाख रुपैयाँका दरले १२ लाख असुलेर दुबईबाट काम गर्न माल्टा पठाइदिने भन्दै चारजनालाई दुबईमै अलपत्र पारिएको हो ।

अलपत्र पर्नेमा मोरङको गछियाका फणिन्द्रमणि घिमिरे, सोही ठाउँका प्रेम चौधरी, मोरङकै बेलबारीका ज्ञानेन्द्र चौधरी र सोही ठाउँका गजानन्द चौधरी रहेका छन् ।

प्रेम, ज्ञानेन्द्र र गजानन्दले भिसाका लागि प्रविन बस्नेतको आईएमई खातामा ५०/५० हजार रुपैयाँ बुझाएका थिए । फणिन्द्रले भने तीन लाख रुपैयाँ काठमाडौंमा बस्दै आएका आर्यन नामले चिनिने रामकृष्ण मानन्धरलाई एकमुस्ट बुझाए । तीनजनाले नेपालबाट दुबई उड्ने बेलामा बाँकी दुई लाख ५० हजारका दरले सात लाख ५० हजार रुपैयाँ रामकृष्णलाई बुझाएका थिए ।

हाल दुबई बस्दै आएका मोरङको मधुमल्लाका राजन कार्कीको ‘सेटिङ’मा दुबई पुर्‍याइएको उनीहरूको दाबी छ ।

उनीहरू सबै प्रक्रिया पूरा गरेर आठ/नौ महिना दुबई बस्ने र त्यसपछि माल्टामा काम गर्ने सहमतिसहित सन् २०२१ नोभेम्बर १२ तारिखमा दुबई उडेका थिए । फणिन्द्र घिमिरेले दुबईमा पनि काम नलगाइएको र माल्टा पनि नपठाइएको बताए ।

‘‘दुबईमा आठ/नौ महिना काम लगाएर माल्टा पठाउने भनिएको थियो । तर, हामीलाई त्यहाँ अलपत्र पारियो । घरमा भाडा तिर्ने गरी हामीलाई दुबईमा राखिएको थियो । काम लगाइदिनु भन्दै राजन कार्कीलाई पटक–पटक फोन गरिरह्यौँ । तर, काम लगाइएन,” उनले भने ।

घिमिरेका अनुसार दुबई पुगेको ३८ दिनपछि राजन कार्कीसँग उनीहरूको भेट भएको थियो । कार्कीले सिल्भर लाइन फ्यासिलिटी म्यानेजमेन्टमार्फत काम लगाइदिने भनेका थिए । तर, काम लगाएनन् ।

काम लगाइदिन राजनलाई पटक–पटक फोन गर्दा टार्ने मात्रै गरेको प्रेम चौधरीको गुनासो छ । ‘‘दुबईमा ८० दिनसम्म काम नपाउँदा कामको लागि हारगुहार गर्‍यौँ । काम लगाइदिने आश्वासन मात्रै दिइयो । राजनले नेपालमा कसलाई रुपैयाँ दिएको उसैलाई भन्नु भनेर टार्न थाले,” उनले भने । उनका अनुसार दुबईमा बस्ने राजनले काम लगाइदिने भन्दै रामकृष्णलाई रकम बुझाइएको थियो ।

धेरैपटक राजनलाई सम्पर्क गर्दा ज्यान मार्नेसम्मको धम्की दिएको ज्ञानेन्द्र चौधरी बताउँछन् । ‘‘राजनलाई पटक–पटक काम लगाइदिन हारगुहार माग्यौँ । तर, कसलाई रुपैयाँ बुझाएको उसैलाई भन्नु भनेर राजनले टारिरहे । हामीले नेपाल गएर तपाईंको बुवाआमाबाट सबै रुपैयाँ असुल गर्ने जवाफ फर्कायौँ । त्यसपछि हामीलाई जहाँ भेटे त्यही मार्ने धम्की आयो,” ज्ञानेन्द्रले भने ।

दुबई बसाइको ८० दिनपछि आफन्त, साथीभाइसँग रकम सापटी मागेर चारजना नेपाल फर्किए । कार्की दुबईमै छन् ।

उनीहरूका अनुसार १२ लाख रुपैयाँ लिने रामकृष्ण काठमाडौंको गोंगबुमा बस्छन् । उनी यतिखेर सम्पर्कविहीन छन् । पीडित चारजना १२ लाख रुपैयाँ असुल गर्न काठमाडौंमा हारगुहार गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro