
काठमाडौं । १२औँ महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्री बनेका कृष्णप्रसाद सिटौला र १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी भएका गगन थापा मिलेर १३औँ महाधिवेशनमा तेस्रो धार निर्माण भएको थियो । कांग्रेसभित्र ‘थर्ड पोल’ भनेर चिनिने यो समूहले १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई नै सहयोग गरेर सभापति बनाएको थियो ।
भ्रातृसंगठनका महाधिवेशनसम्म सहकार्य गरेको यो समूहले स्थानीय तहदेखि सुरु भएको निर्वाचनको परिणामपछि भने देउवाको खुलेर विरोध थाल्यो । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेपछि त यही समूहबाट सभापति देउवाको राजीनामा माग भएको थियो ।
अझ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सभापति देउवा मौन बस्दा देउवाको विरुद्धमा यही समूह आक्रोशित बनेको थियो । कांग्रेसको संस्थापनको प्रभावमा संसद् विघटनविरुद्धको आन्दोलन निर्वाचन क्षेत्रमै गरेर आन्दोलनका नाममा निर्वाचन तयारी अघि बढाउँदा सिटौला समूहले रत्नपार्कमा सभा गरेर सभापति देउवाको धज्जी उडाएको थियो ।
तर, १४औँ महाधिवेशनमा कांग्रेसको थर्ड पोल भताभुंग भयो । टिम निर्माणमा अगुवाइ गरेका गगन थापा संस्थापनइतर समूहलाई एकठाउँमा उभ्याउने प्रयासमा अन्तिमसम्म लागिरहे । उनी शेखर कोइरालाको टिमबाट लडेर महामन्त्री निर्वाचित भए । देउवाविरुद्ध कडा रूपमा प्रस्तुत हुने सिटौला करिब चार महिनाअघिदेखि नै देउवा नजिक रहेर काम गर्न थाले । उनले क्रियाशील सदस्यता विवाददेखि विभिन्न जिल्लामा देखिएका विवादमा देउवालाई सहयोग पुग्ने काम गर्दै अन्तिममा देउवाकै टिमसँग एलाइन्स गरे । तर, यो समूह महाधिवेशनमा निर्णयक भने बन्न सकेन ।
पहिलो चरणमा देउवा सभापति निर्वाचित हुन सकेनन् । त्यससँगै ‘म जहाँ रहन्छु त्यहीँ कांग्रेस रहन्छ’ भन्ने सिटौलाको उक्ति अर्थहीन बन्यो । उनी नभएर देउवालाई सभापति बनाउन प्रकाशमान सिंह र विमलेन्द्र निधि नै निर्णायक भए । दोस्रो चरणमा देउवा सभापति भएपछि सिटौला टिमको भविष्यबारे प्रश्न उठ्न थाल्यो । समूहका नेता सिटौला नै देउवाको मनोनीत केन्द्रीय सदस्य हुन गएपछि समूहको अस्तित्वमा प्रश्न उठेको हो ।
देउवा टिममा विलय भएकै हो सिटौला समूह ?
१३औँ महाधिवेशनबाट उदाएको थर्ड पोल १४औँ महाधिवेशनमा पुग्दासम्म सुस्ताइसकेको थियो । १४औँ महाधिवेशनपछि यो टिमका गतिविधि शून्य देखिन्छन् । समूहका नेताहरू पनि पार्टीभित्र सिटौला समूह भनेर अहिले गतिविधि गर्ने कुनै तयारी नभएको बताउँछन् ।
समहका नेता शिव हुमागाईं नयाँ शिराबाट कसरी अघि बढ्ने भन्ने विषयमा छलफल नै नभएको बताउँछन् । त्यसो भए सिटौला समूह संस्थापन समूहमा विलय भएको हो त ? भन्ने प्रश्नमा हुमागाईं बहस नै त्यसरी गर्नु नहुने जिकिर गर्छन् । विलय भएको भनेर बहस गर्नुभन्दा १४औँ अधिवेशनले दिएको ‘म्यान्डेट’लाई आत्मसात् गरेको भनेर बुझ्नुपर्ने उनको तर्क छ ।
“समूह कसरी अघि बढाउने भन्ने विषयमा अहिले केही छलफल भएको छैन,” हुमागाईंले बाह्रखरीसँग भने, “अधिवेशनले दिएको म्यान्डेटअनुसार हामी अघि बढ्छौँ ।”
१३औँ महाधिवेशनबाट सिटौला समूह अस्तित्वमा आएसँगै देउवालाई सभापति बनाउन निर्णायक बनेको थियो । निर्णायक मत दिएर पनि अस्तित्वमा रहेको यो समूह पार्टी नेतृत्वको मुख्य प्रतिपक्षीजस्तो देखिएको थियो । ०७४ सालमा सम्पन्न तीन तहका निर्वाचनमा पार्टी पराजित भएपश्चात् पार्टी नेतृत्वबाट देउवाको राजीनामा पनि कृष्ण सिटौला र गगन थापाले निरन्तर मागेका थिए ।
१३औँ महाधिवेशनमा उदाएको यो समूहले १४औँ महाधिवेशनलक्षित हुँदासम्म आफ्नो शक्ति पनि विस्तारित गरेको थियो । नेतृत्व परिवर्तनको बहसलाई अघि बढाएको यो समूहका मुख्य नेता सिटौला महाधिवेशन नजिकिँदै जाँदा विस्तारै उनै देउवासँग निकट देखिएपछि नेता गगन थापा विकल्पको खोजीमा लागे ।
सिटौलासँगै रहेकाहरूले सिटौलालाई देउवाको उत्तराधिकारी बनाउने तर्क गर्दै देउवासँग मिसिन प्रोत्साहन गरे । नेता भीमसेनदान प्रधानले देउवासँग सहकार्यका लागि आफैँलाई कमजोर पर्ने कदम स्वीकार गरे । वाग्मती प्रदेशमा देउवा समूहले आफूलाई समर्थन गर्ने बताउँदै आएका प्रधान वाग्मती सभापतिमा कमजोर मतसहित तेस्रो हुन पुगे । तर, सिटौलालाई संसथापनमा मिलाउने लक्ष्यसहित उनले देउवानिकट इन्द्र बानियाँलाई समर्थन गरे । आफू भने रित्तो हात भए ।
उनै भीमसेदानसले देउवाको भरपर्दो उत्तराधिकारी नभएको भन्दै सिटौलालाई प्रस्तुत गरेका छन् ।
के सिटौला देउवाका उत्तराधिकारी बन्लान् ?
समूहका अर्का एक नेता प्रदीप पौडेल सिटौला कांग्रेसभित्रका रणनीतिक नेता भएको बताउँछन् । नेतृत्वले उनको क्षमतालाई उपयोग गर्नुपर्र्ने उनको भनाइ छ ।
“सिटौला एउटा स्ट्राटेजिक नेता हुनुहुन्छ । यो कुरा शेरबहादुर दाइले बुझ्नुभएको छ । तर, उहाँको उत्तराधिकारी बनाउने कुरा उहाँको हातमा मात्र सीमित छैन,” पौडेलले भने, “हामी एक्लै लड्ने अवस्था नभएपछि महाधिवेशनमा गठबन्धन भएको हो । यसको अर्थ समूह विलयको रूपमा बुझ्न हुँदैन ।”
उनी समूहलाई वैकल्पिक शक्तिका रूपमा विकास गरेर अघि बढ्ने बताउँछन् । “पार्टी नेतृत्वले गरेको सकारात्मक कदमलाई स्वागत र सहयोग गर्छौँ, गलत बाटोमा हिँडे आलोचना र खबरदारी गर्छौँ,” पौडेलले भने, “कृष्ण सिटौला सक्रिय राजनीतिमा रहुन्जेल यो समूह रहन्छ । उहाँको पार्टी राजनीति सकिएको पनि हैन, हामी शेरबहादुर देउवासँग विलय भएको पनि हैन ।”
पार्टीको चुनावमा देउवासँगै सहकार्य गरेकाले स्वाभाविक निकटता उनीसँगै हुने पौडेल बताउँछन् ।
यसरी बनेको थियो सिटौला टिम
१२औँ महाधिवेशनमा सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेललाई बनाए भने महामन्त्रीमा कृष्ण सिटौलालाई नियुक्त गरेका थिए । निर्वाचित महामन्त्री प्रकाशमान सिंह भए पनि प्राविधिक ज्ञान र कार्यकर्तासँग नियमित सम्पर्कमा रहने स्वभावका कारण सिटौला हावी भए ।
१३औँ महाधिवेशनमा रामचन्द्र पौडेलले आफ्नो दाबी प्रस्तुत गरे । गिरिजाप्रसाद कोइराला हुँदादेखि सुशील कोइरालाको महामन्त्रीसम्म बन्दा सिटौला पौडेलका प्रतिस्पर्धीजस्तै बनेर काम गरेका थिए । १३औँ महाधिवेशनमा पौडेललाई उमेदवार बन्नबाटै रोक्न लागिपरेका सिटौला त्यसमा असफल भए ।
सभापतिको उमेदवारी घोषणा गरेर सम्पर्क कार्यालय बनाएर काम गरिरहेका सिटौलालाई खासै सहयोग गर्नेहरू देखिएका थिएनन् । विद्यार्थी राजनीतिबाट उदाएका गगन थापा १२औँ महाधिवेशनमा एक नम्बर मतसहित केन्द्रीय समितिमा प्रवेश गरेका थिए । उनले १३औँ महाधिवेशनमा पौडेल समूहमा पदाधिकारी दाबी गरेका थिए । पौडेल पक्षमा उनलाई कोषाध्यक्ष बनाउने समझदारी करिब टुंगिएको थियो । तर, गैरराजनीतिक व्यक्तिबाट गगनको हैसियतमा प्रश्न उठाउँदै ‘ह्युमिलिएट’ गरिएपछि गगनमा आफूलाई परीक्षण गर्ने थप जोस पलाएको थियो । उनले महामन्त्रीमा उमेदवारी घोषणा गरे । यत्तिकैमा सिटौला र थापाबीच कुराकानी भयो । सिटौलाले सभापति र गगनले महामन्त्रीमा चुनाव लडे ।
काठमाडौं जिल्लाका तत्कालीन सभापति भीमसेनदास प्रधान र काभ्रेका तत्कालीन सभापति शिव हुमागाईंले पनि साथ दिए । सिटौलाको गृहजिल्ला झापाका तत्कालीन सभापति उद्धव थापा र बाराका नेता उमाकान्त चौधरी सिटौलाका सहयोगी बन्न थपिए ।
सभापति लडेका सिटौला र महामन्त्री लडेका थापा दुवै पराजित भए । यो समूहले दोस्रो चरणमा देउवालाई सहयोग ग¥यो । तत्कालीन संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिमा पराजित भए र १३औँ महाधिवेशनबाट देउवा कांग्रेस सभपाति बन्न सफल भए । पदाधिकारीमा अरू सबै पौडेल समूहका निर्वाचित भएका थिए ।
सिटौला समूहमा १३औँ महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वाचित प्रदीप पौडेल पनि जोडिन पुगे । भ्रातृसंगठनमा देउवासँग मिलेर आफ्ना निकटहरूलाई जिताएपछि टिमको प्रभाव देखिन थाल्यो । त्यसपपछि कांग्रेसभित्र वैकल्पिक धारका रूपमा सिटौला समूहलाई हेर्न थालियो ।
तर, १४औँ महाधिवेशनमा भने समूह एकीकृत भएर रहन सकेन । समूहका निर्माणकर्ता गगन थापा नै समूहमा रहेनन् । गगन शेखर टिममा लागेपछि सिटौला समूह नै त्यतै लाग्ने अनुमान गरिएको थियो । तर, सिटौलाले ‘मलाई धोका दिनेहरू कसरी चुनाव जित्दा रहेछन् देखिन्छ नि त’ भनेर गगनलाई धम्क्याउने काम गरेको एक नेताको टिप्पणी छ । महाधिवेशनको उद्घाटनसत्रमै आफ्नो उत्तराधिकारी प्रदीप पौडेल भएको बताएका सिटौलाले ‘युवाहरू केका लागि राजनीतिमा हुनुहुन्छ ? औचित्य स्थापित गर्नुहोला’ भन्दै गगनलाई नै अप्रत्यक्ष प्रश्न गरेका थिए ।
तर सिटौला आफैँ कमजोर देखिए । उनले दिलोज्यानले देउवालाई सहयोग गरे । तर, देउवा टिमले उमेदवार बनाएका प्रदीप पौडेललाई भोट हालेन । केन्द्रीय समितिमा उमेदवारी दिएका धना खतिवडासहितलाई प्यालनबाटै आउट गरियो । उनको टिमबाट लडेर चुनाव जित्ने उमाकान्त चौधरी एक्ला पदाधिकारी बने ।
किन कमजोर भयो सिटौला टिम ?
सिटौला टिमको बुझाइमा गगनले छोड्नु नै टिम कमजोर हुनुको मुख्य कारण हो । गगन सिटौलाले देउवासँग समूह मिलाउने देखेपछि आफू बाहिरिएको बताउँछन् ।
“पाँच वर्षसम्म नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति राख्दै विरोध गरेका देउवासँग मिल्न जानु अनैतिक मात्र हुँदैनथ्यो, त्यो आफूले उठाएका सैद्धान्तिक विषय छोडेर आत्मसमर्पण पनि गर्नु ठहर्थ्यो,” थापाले सिटौला समूह छोड्नुको कारणबारे भनेका थिए, “सिटौला पनि अनैतिक नेता हुनु हुन्न, उहाँ देउवासँग फरक भएर उभिनुहुन्छ भन्ने विश्वास छ ।” तर, थापाको त्यो विश्वास सिटौलाले कमजोर पारिदिएका थिए ।
सिटौला समूहका नेताहरू भने गगनले छलफल नै नगरी निर्णय लिएका कारण देउवासँग मिल्ने परिस्थिति निर्माण भएको बताउँछन् ।
“गगनजी छलफल नै नगरी सुटुक्क जानुभयो । अन्तिमसम्म बसेको भए सिटौला मात्र नभएर अरू नेताहरूको निर्णय हावी हुनसक्थ्यो । त्यस्तो अवस्थामा शेखरसँगै सहकार्यको सम्भावना बलियो हुन्थ्यो,” ती नेताले भने, “या त शेखरले चाहेनन् या त गगनले दिएनन् । शेखर टिमसँग सिटौला टिमको वार्ता समेत हुन सकेन ।”
उनी त्यसरी सहकार्य भएको भए गगन र प्रदीप महामन्त्री बन्ने मात्र होइन, शेखरको सभापति जित्ने सम्भावना पनि बलियो हुने जिकिर गर्छन् । “किनभने, गगनजी र प्रदीपजी महामन्त्री बन्ने अवस्था आउँदा सिटौला शेखर टिमसँग मिल्न बाध्य हुनुहुन्थ्यो,” ती नेताले बाह्रखरीसँग भने ।
देउवाकै टिममा रहेर महामन्त्रीमा पराजित भएका प्रदीप पौडेल भने महाधिवेशनका विषयमा अल्झिएर बस्ने समय सकिएको र अब पार्टीलाई अघि बढाउने विषयमा काम गर्नुपर्ने बताउँछन् ।
“१४औँ महाधिवेशनमा बनेका एलाइन्स इमानदार हुन सके/सकेनन् जगजाहेर छ । तर, महाधिवेशनमै अल्झिएर बसेर समय बर्बाद गर्नु उपयुक्त हुँदैन,” पौडेलले भने, “१४औँ महाधिवेशनले केही महत्त्वपूर्ण जिम्मेवारी छोडेको छ । नीतिविना नै नेतृत्व चयन भएर एउटा गलत परम्परा अभ्यास भएको छ । अब कांग्रेसले लिने बाटो तय गर्दै अघि बढ्नुपर्छ ।”
उनले नेतृत्वले विधिसम्मत काम गरे गुटको आवश्यकता र औचित्य नै समाप्त हुने तर्क गरे ।