
नेपाल क्रिकेट संघ (क्यान)ले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो । त्यसअघि नै सुरु भएको खेलाडी र क्यानबीचको विवादले अझ चर्को रुप लियो । तर, अहिले तत्कालका लागि ती सबै विवाद समाधान भइसकेका छन् । क्यानले ओमानमा १७ फेब्रुअरीबाट हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटका लागि माघ ६ गते सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली राष्ट्रिय टोलीले पुस १९ गतेबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ । तथापि, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका कारण बीचमा प्रशिक्षण अवरुद्ध भएको थियो । अब शनिबारबाट पुनः प्रशिक्षण सुरु हुनेछ । कप्तान सन्दीप शुक्रबार साँझ १० बजे नेपाल आइपुगेका छन् । उनले अब पीसीआर परीक्षणपछि आइतबारबाट प्रशिक्षण थाल्ने सम्भावना छ । उनै सन्दीप लामिछानेसँग त्रिभुवन विमानस्थलमा गरिएको कुराकानीको संक्षिप्त अंश :
अष्ट्रेलियन बिगबास लिग खेल्दाखेल्दै बीचमै छाडेर नेपाल फर्किनुको कारण के थियो ?
राष्ट्रिय टोलीको जिम्मेवारी मेरो प्रमुख प्राथमिकता हो । देशभन्दा ठूलो केही हुँदैन । टिमसँग सामेल भएर आगामी दिनका योजनाहरु बनाउन पनि हो । अहिलेको टोलीमा युवा खेलाडीका साथै पहिलेदेखी खेल्दै आएका सिनियर दाइहरु पनि हुनुहुन्छ । सबैजना एकठाँउमा उभिएर मिलेर अगाडि बढ्ने योजना बनाउनुका साथै सन्तुलित टिम बनाउने योजनाबारे ‘वर्क आउट’ गर्नुपर्ने थियो । त्यसका लागि पनि म चाँडै फर्किएको हुँ ।
यसबीचमा नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच विवाद भयो । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
यो सबै हुँदा म अष्ट्रेलियामा थिएँ । धेरै कुरामा उतारचढाव भए । म यहाँ नहुनु पनि केही दुर्भाग्यपूर्ण रह्यो । तर, विस्तारै ती सबै कुरा समाधान भएका छन् । परिवारभित्रको कुरा परिवार भित्र नै समाधान भयो । जुन राम्रो हो । अब सबै कुरा मिलिसकेको छ । सबै जना खुसी हुनुहुन्छ । बाहिरी कुरा गर्ने हो भने त छुट्टै कुरा हो । सबै जना खुसी पनि हुँदैन । मलाई लाग्छ, हामी एक टिम हौं । एक परिवार हौं । हामी सबैजना एउटा परिवारलाई नेतृत्व गर्दैछौं । र, यो देशको प्रतिनित्व गर्नेछौं । नेपालको झण्डाभन्दा ठूलो अरु केही पनि छैन ।
अष्ट्रेलिया जाँदा राष्ट्रिय टोलीको सदस्य हुनुहुन्थ्यो । नेपाल फर्किंदा कप्तान हुनुभएको छ । कस्तो अनुभव भइरहेको छ ?
खासै केही फरक छैन । मेरो करिअरमा यहाँसम्मको यात्रामा मैले ‘इन्जोए’ गरिरहेको थिएँ । आजको यात्रामा पनि नेपाल आइपुग्दासम्म मैले धेरै कुरा सोचिरहेको थिएँ । सबैजना मिलेर कसरी अगाडि बढ्ने । टिमलाई एकत्रित गरेर एकै ठाँउमा उभिएर आगामी प्रतियोगिताहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा योजनाहरु बनाइरहेको थिएँ ।
अहिलेको मुख्य प्रशिक्षक पुबुदु दायानायकले नै तपाईंलाई चितवनबाट राष्ट्रिय टोलीसम्म ल्याउनु भयो । अन्तर्राष्ट्रिय करिअरसम्म पुर्याउनु भयो । उहाँकै प्रशिक्षण कालमा तपाईं कप्तान बन्नु भएको छ । यो संयोगलाई कसरी हेर्नु भएको छ ?
मेरा लागि राम्रो अवसर हो । उहाँले नै मलाई पहिलो पटक ‘पिक’ गरेर यहाँसम्म ल्याइदिनु भयो । त्यो पनि एउटा राम्रो अवसर थियो । त्यसकारण पनि हामीलाई अगाडिको यात्रामा सजिलो हुने विश्वास लिएको छु । हामीबीच ‘कम्युनिकेसन ग्याप’हरु पनि खासै हुँदैनन् । त्यसले गर्दा टिममा योजना बनाउँदा होस् अथवा अन्य विषयमा कुरा गर्दा होस्, हामी एकआपसमा खुलेर कुरा गर्न सक्छौं ।
नयाँ र युवा कप्तान । टिममा पनि युवाकै वर्चश्व छ । ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटलाई कसरी हेर्नुभएको छ ?
पक्कै पनि हामी विश्वकपको विषयमा सचेत छौं । म आज र भोलि आराम गर्नेछु । त्यसपछि टिममा सामेल हुनेछु । हामीले अझै धेरै कुराहरु सुधार्नु पर्नेछ । क्याम्पमा पनि यस विषयमा कुरा हुनेनै छ । सुधार्नुपर्ने कुरामा हामी वर्कआउट गर्नेछौं ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितापछि छनोट भएको टोलीमा लोकेश बम र विवेक यादव जस्ता खेलाडी टिममा थपिएका छन् । यसलाई तपाईंले कसरी लिनु भएको छ ?
यो उहाँहरुका लागि राम्रो अवसर हो । जो कसैलाई पनि देशको प्रतिनिधित्व गर्न पाउनु गौरवको कुरा हो । उहाँहरु दुबै टोलीमा पर्नु भएको छ । पक्कै पनि यसले हाम्रो टोलीलाई बलियो बनाउन नै मद्दत गर्नेछ । उहाँहरुले यस प्रतियोगिता र आगामी दिनमा पनि राम्रो गर्नुहुनेछ । एउटा बेन्चमार्कको सरुआत गर्न हामी सबैका लागि यो राम्रो सुरुआत हो ।
यसबीचमा मुख्य प्रशिक्षक पुबुदु दासानायकसँग तपाईं कत्तिको सम्पर्कमा हुनुहुन्थ्यो ?
निरन्तर संवाद भइरहेको छ । मैले प्रधानमन्त्री कपलाई पनि नजिकबाट नियालिरहेको थिएँ । आफ्नो खेल भएको दिन हेर्न नपाए पनि मैले ‘हाइलाइट्स’हरु हेरिरहेको थिएँ ।
अहिलेको टिममा सिनियर खेलाडीहरु पनि हुनुहुन्छ । जसको कप्तानीले तपाईंले खेल्नु भएको थियो । उहाँहरुलाई ह्याण्डल गर्न तपाईंलाई कत्तिको दबाब वा सहज होला ?
मलाई विश्सास छ, यसमा कुनै कठिनाई हुँदैन । यस विषयमा धेरै कुरा उठिरहेको हुन्छ । तर, मलाई लाग्छ, यसमा हामी सबैबीच राम्रो ‘अन्डरस्ट्यान्डिङ’ हुनेछ । किनभने हामी पहिला पारस दाइको कप्तानीमा खेल्थियौं । फेरी ज्ञानु दाई (ज्ञानेन्द्र मल्ल)को कप्तानीमा खेल्यौं । हामी एकअर्कासँग बाँधिएका छौं । सबैजना एकै पटक कप्तान हुन मिल्दैन । तर, आफ्नोतर्फबाट सबै सिनियर दाइहरुलाई सम्मान गर्दै युवा खेलाडीहरुलाई कसरी प्रेरित गर्ने भन्ने हो । हामीले पनि सिनियर खेलाडीसँग धेरै सिक्न बाँकी छ । यो सबै कुराको मिश्रणले राम्रो हुने विश्वासमा छु ।
आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछौं । चुनौती कत्तिको छ ?
हरेक प्रतियोगिता खेल्दा ठूलो चुनौती हुनेगर्छ । प्रत्येक प्रतियोगितामा कुनै न कुनै प्रकारका चुनौती भइराखेको हुन्छन् । चुनौतीभन्दा पनि यसलाई हामीले सकरात्मक रुपमा लिएर अगाडि बढ्नुपर्छ । अवसरको रुपमा हेर्नुपर्छ । नेपालले विश्वकप नखेलेको सात वर्ष भइसकेछ । हाम्रो लक्ष्य यही हुनेछ की हामी फिल्डमा सतप्रतिशत दिने हो । सकरात्मक मानसिकताका साथ अगाडि बढ्ने हो । आशा छ पक्कै पनि हामी राम्रो नतिजा निकाल्न सफल हुनेछौं ।