काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बिहीबार संघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
उनले कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालन गरिएको भन्दै परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाउन अनुरोध गरेका छन् ।
विद्यार्थीको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुनुको सट्टा उनीहरूमाथि धरपकड र दमन गरिएकोप्रति पनि संघले विरोध जनाएको छ ।
विज्ञप्तिको पूर्णपाठ पढ्नोस्–
परीक्षा सञ्चालनमा स्वास्थ्य सावधानी र वैकल्पिक उपाय अपनाइयोस्
कोरोनाभाइरसको सङ्क्रमण उच्च रूपले बढी रहेको र स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालनमा ल्याएको र उल्टो विद्यार्थीहरू माथि गरिएको धरपकड र दमन प्रति नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
विद्यार्थीहरूको स्वास्थ्यमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ परीक्षार्थीको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई अपिल गर्दछु ।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एल.एल.बी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा ने.वि. सङ्घ चक्रवर्ती ल कलेज इकाइ अध्यक्ष अभिनव सिंह राठौर, सचिव सुरज रेग्मी र नेताहरू अभिषेक गिरि, प्रभात ठाकुर,जित यादव लगायत ११ जनालाई नियन्त्रणमा लिइएको र केही विद्यार्थी घाइते भएको घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको र हिजो नै हिरासतमा राखिएका विद्यार्थीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगी ने.वि. सङ्घको तर्फबाट यो आन्दोलन र माग प्रति पूर्ण ऐक्यबद्धता प्रकट गरेको छु ।
कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनका क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्ननसक्ने हुँदा हाल चलिरहेको त्रिभुवन विश्वविद्याल, पूर्वाञ्चल विश्वविद्यालयलगायत सबै विश्वविद्यालय सबै संकाय र कार्यक्रमअन्तर्गत सञ्चालित परीक्षा तथा सीटीईभीटी शिक्षालय, विद्यालय एवम् सम्पूर्ण तह र विषयका परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्न माग गर्दछु ।
जय नेपाल !
बलदेव तिमल्सिना
महामन्त्री
नेपाल विद्यार्थी सङ्घ,केन्द्रीय समिति