
नेपाली रंगमञ्चको कुरा गर्दा सम्भवतः धेरैले सम्झिने नाम हो, गुरुकुल । एक दशकयता बन्द रहेको गुरुकुल गएको पुस ३० गतेदेखि पुनः थापागाउँमा सञ्चालनमा आएको छ । त्यति बेला पुरानो बानेश्वरस्थित जग्गा भाडामा लिएर गुरुकुल सञ्चालनमा थियो । तर, त्यो स्थान छाड्नुपरेपछि बाध्यताले बन्द भयो । गुरुकुलको पुनः सञ्चालन, सरकारले प्रदान गर्ने भनेको सरकारी जग्गा, यसबीचका आरोह–अवरोहलगायत विषयमा केन्द्रित रहेर गुरुकुलका संस्थापक एवं रंगकर्मी सुनील पोखरेलसँग बाह्रखरीका वर्षा महर्जनले गरेको कुराकानीको सम्पादित अंश :
गुरुकुलको एक दशकपछिको पुनरागमनको पहिलो दिन कस्तो रह्यो ?
कोरोनाको व्यापक प्रकोप छँदै छ, त्योबीचमा पनि दर्शकको उपस्थिति राम्रो थियो ।
पुरानै नाटक ‘पुतलीको घर’बाट कमब्याक गर्नुको कारण ?
अस्ति हामीले नाचघरमा यही नाटक प्रदर्शन गरेका थियौँ । र, यता पनि यही नाटक मञ्चन गर्दा छुट्टै तयारी गर्नु नपर्ने भएकाले सजिलोको लागि यही नाटक रोजेका हौँ ।
नयाँ नाटक लिएर आउन केले रोक्यो ?
योजनामा केही नयाँ नाटकहरू पनि छन् । अहिले नेपालमा नाटक पाउन साह्रै गाह्रो छ । मैले धेरै दाजु (नाटक लेखक)हरूलाई नाटक लेखिदिनुस् न भनिरहेको छु, तर हातमा परिसकेको छैन । पुरानै देखाउनुको कारण, अहिलेको पुस्ताले पुरानो गुरुकुलको नाटक हेरेको छैन । त्यसैले त्यो पनि देखाऊँ न त भन्ने लोभ पनि हो ।
गुरुकुलका पुराना दर्शकका लागि अन्याय भएन ?
होइन, हिजो संयोगले मैले पोखराबाट आउनुभएका एकजना गुरुकुलका पुरानो दर्शक भेटेँ । उहाँ सुरुको गुरुकुलमा ‘डल्स हाउस’ देखाउँदा आउनुभएको रहेछ । हिजो फेरि त्यही नाटक हेर्न आउनुभएको थियो । यति लामो समयपछि मञ्चन हुँदा कस्तो भयो होला भनेर हेर्न आउनुभएको रे ! पुरानैलाई पनि धेरैपछि भएर रिफ्रेसजस्तो हुन्छ कि !
त्यसका लागि त एक–दुई विशेष शो मात्रै राख्दा पनि हुने थियो होला नि !
अहिले हतारमा नयाँ टिमसहित नयाँ नाटक रिहर्सल गर्नलाई समय धेरै लाग्छ । तर, पुरानै नाटक अनि पुरानै टिम भएपछि रिहर्सलमा कम समय खर्चिए पुग्छ भन्ने भएर हो । तर, लिस्टमा भनिएअनुसार ताराबाजी लै लै र अग्निको कथाबाहेक सबै पुराना नाटक देखाउँदैनौँ ।
नाटकको अभाव छ भन्नुभयो, यो अभाव पारिश्रमिकमा गएर ठोकिन्छ कि ?
नाटक साहित्यको अलि फरक विधा हो । त्यो लेख्न अलिकति विशेष तयारी गर्नुपर्ने भएर पनि होला । दोस्रो भनेको नाटक धेरै प्रकाशित हुँदैन । प्रकाशकहरूले नाटक प्रकाशनमा त्यति रुचि राख्नु हुँदैन । त्यसैले पछिल्लो समय हामी कथालाई नाटकमा रूपान्तरण गरेर नाटक गरिरहेका छौँ ।
यसैकारण विदेशी नाटकहरू धेरै मञ्चन भएका हुन् ?
हो, एउटा कारण यो पनि हो । दोस्रोचाहिँ फरक–फरक नाट्यशिल्प, अभिनयशिल्प सिक्नका लागि विदेशी नाटक पनि गर्नु आवश्यक छ ।
हरेक कलाकारमा लोकप्रियताको लोभ हुन्छ भनिन्छ । तपाईंमा यसको भोक छैन ?
कलाकार स्वाभाविक रूपमा लोकप्रियता र ठूलो ठाउँ खोज्छन् । त्यो ठिक पनि हो । एक समय त्यो भोक मभित्र पनि थियो । तर, अब आएर मभित्र त्यो भोक छैन । यदि, भएको भए म चलचित्र खेल्न जान्थेँ होला । तर, अहिले म यसलाई जीवनसँग जोडिएर जीवनको अर्थ खोज्नतिर हेर्छु । अरू भोकहरू खासै छैन ।
रंगमञ्चमै रमाउनुको कारण ?
मलाई यसैमा मजा लाग्छ । मजा नआउने काम के गर्नु जस्तो लाग्छ । आफू रमाउन नसक्ने काम किन गरिराख्नु जस्तो लाग्छ मलाई । जीवनमा सुख–दुःख दुवै भोगियो । आर्थिक हिसाबले दुःखका समय पनि आए र अहिले पनि आउँछ । तर, मैले कसोकसो थिएटरबाटै सर्भाइभ गरेँ ।
गुरुकुललाई यसअघिको छापले राम्रै मद्दत पुग्ला ?
होइन, मलाई त्यस्तो लाग्दैन । मलाई के लाग्छ भने हामी फेरि शून्यबाटै सुरु गर्दै छौँ । नयाँ भाइबहिनी, साथीहरू र केही पुराना साथीहरू पनि भ्याएसम्म हुनुहुन्छ । त्यही भएर चुनौती ठूलो छ र पुरानै गुरुकुलको नामले अहिले हामी बाँच्छौँ जस्तो मलाई लाग्दैन । त्यो एउटा समय थियो, जुन पार भइसकेको छ । त्यो नामले पुरानो दर्शकलाई तान्न केही मद्दतचाहिँ होला, तर हामीले फेरि प्रमाणित गर्नुपर्छ ।
नेपाली रंगमञ्च गुरुकुल र सुनील पोखरेलबिना अपुरो छ भन्न सकिन्छ ?
नेपाली नाटकमा गुरुकुल र सुनील पोखरेलको केही योगदान छ भन्ने कुरा म स्वीकार्छु । तर, तपाईंले भन्नुभएको कुरा म मान्दिनँ । सुनील पोखरेल भन्दा पनि अझ बढी गुरुकुलको योगदान छ ।
गुरुकुल फर्किन किन यति लामो समय लाग्यो ? तपाईंको बेवास्ता हो ?
कोसिस गरिरहेकै हो । अलिकलि म धेरै नतातिएको पनि हुनसक्छ । लकडाउनअघि केही तातेकै हौँ । तर, महामारीले रोक्यो । अर्को भनेको पहिला निजी जग्गा लिजमा लिएर बस्दा संरचना बनायौँ, पछि भत्काउनुपर्यो । पछि के सोच्यौँ भने सरकारी जग्गा लिजमा पायौँ भने अलि लामो समयसम्मका लागि पाइन्छ र स्थायी संरचनाहरू बनाउन सकिन्छ भन्नेतर्फ लाग्यौँ । त्यसले पनि रोकेको हो ।
सरकारको तर्फबाट कुनै आश्वासन पाउनुभयो ?
धेरै । प्रायः सबै प्रधानमन्त्रीहरूले हामीलाई हुन्छ नै भन्नुभएको हो । हुँदैन कसैले भन्नु भएन । हामीले कोसिस गरेको हो । दिनैपिच्छे धाउनचाहिँ सकेनौँ ।
सरकारकै मुख ताक्नुपर्ने अवस्था हो ?
हजुर हो । सुरु गर्न केही सपोर्ट चाहिँदो रहेछ । एकैपटक आँट नआउँदो रहेछ । एउटा समूह बनाएर रंगमञ्च सुरु गर्न गाह्रो छैन । तर, एउटा संरचना बनाएर व्यावसायिक रूपमा जानका लागि, सुरु गर्नका लागि समस्या छ । यसपालि मेयर विद्यासुन्दर शाक्यजीले हामी (काठमाडौं महानगरपालिका) सपोर्ट गछौँ भन्नुभएपछि हामी तातिएका हौँ ।
अहिले थुप्रै नाटकघरहरू खुलिसकेका छन् । गुरुकुल बन्द हुनाले हो ?
होइन । गुरुकुल बन्द हुनाले अरू खुलेको जस्तो लाग्दैन । तर, गुरुकुलले यसरी पनि चल्न सक्छ है भनेर आफ्नो समयमा सावित गरेकोले कतै न कतै प्रेरणा दिएको हुनुपर्छ ।
त्यति बेलै गुरुकुललाई निरन्तरता दिने प्रयास गर्नु भएन ?
केही समय आलोकनगरमा एउटा अफिस लिएर बस्यौँ । त्यसको केही समयपछि मात्रै हामीले सबै सामान विराटनगरको गुरुकुलमा पठायौँ । के हुँदो रहेछ भने, काम गर्नका लागि आफ्नै स्पेस चाहिँदो रहेछ । हामी बिहानदेखि बेलुकीसम्मै रिहर्सल गरिरहेका हुन्छौँ । हाम्रो निश्चित समय नै हुँदैन । त्यसैले एक–दुई दिन भाडामा लिएर गर्छु भन्न नसकिँदो रहेछ । अनि, भविष्यको योजना बुन्न पनि चाहिन्छ ।
गुरुकुलको गुणस्तर कायम राख्न कत्तिको चुनौतीपूर्ण छ ?
गुणस्तर कायम राख्न गाह्रो देख्छु म । यदि, गुणस्तर पुगेन भने बरु पाँचवटाको ठाउँमा दुईवटा मात्रै देखाउने तर गुणस्तर कायम राख्नुपर्छ भन्ने मैले सोचिरहेको छु ।
गुरुकुल स्कुल अफ थिएटर पनि सुरु गर्दै हुनुहुन्छ नि !
हामीले यसलाई निःशुल्क रेजिडेन्सियल कोर्सको रूपमा लग्ने भन्ने सोचेका थियौँ । यहाँ विद्यार्थीहरूले अभिनय मात्रै नभएर प्राविधिक, व्यवस्थापनदेखि हरेक पाटोको ज्ञान दिने अर्थात् सामाजिक चेतना दिने भन्ने सोच थियो । तर, त्यो दुई वर्षको कोर्सको शैक्षिक मान्यता थिएन । त्यसैले हामी एकेडेमिक ब्याचलर लेभलको कलेज सुरु गर्ने योजनामा छौँ । यसका लागि सिलेबस बनाउनेदेखि लिएर अन्तर्राष्ट्रिय व्यावसायिक रूपमा सञ्चालनमा आइरहेका कलेजहरूसँग पनि कुराकानी भइरहेको छ ।
तपाईं मुडि, इगोइस्टिक हुनुहुन्छ त्यही भएर आफ्नो स्थान मेन्टेन गर्न चुक्नुभयो भन्ने सुनिन्छ नि ?
अलि–अलि मुडि छु कि ! तर, बाहिर हल्ला भएजतिको छैन । हो, बीचमा म झन्डैझन्डै अल्कोहोलिक नै भएको हुँ । एकदम तनाव भयो भने म कहिलेकाहीँ बिहानदेखि बेलुकासम्मै पिउथेँ । तर, त्यो फेज पार गरेर आइसकेँ । तर, इगोइस्टिक छैन । म हरेक बिहान आफूलाई रिफलेक्ट गर्छु र हिजो मैले कसैलाई नराम्रो गरेको छु भने बिहान फोन गरेर सरी भनिहाल्छु । एक समय अलि सन्की थिएँ ।
गुरुकुल बन्द हुँदा कत्तिको गाह्रो भयो ?
त्यो सबै कलाकारहरूलाई एकदमै गाह्रो समय थियो । विस्तारै उनीहरूले आफ्नो ठाउँ बनाउँदै गए । तर, म भने एक–दुई वर्ष घरबाटै निस्किनँ । हतपत नाटक नछोड्ने म नाटक हेर्न पनि गइनँ । झन्डै–झन्डै डिप्रेसनमा पुगेको थिएँ । तर, दबाइ खाइनँ । आफैँलाई करेक्सन गरेँ । त्यो समय एकदमै गाह्रो थियो ।
रंगमञ्चमा नआउनुभएको भए सुनील पोखरेललाई हामीले कुन क्षेत्रमा देख्थ्यौँ होला ?
म मनोविज्ञानको क्षेत्रमा हुन्थे होला । किनभने, मेरो कलेजमा विषय मनोविज्ञान थियो । यो अहिले पनि मेरो मनपर्ने विषय हो र म अहिले पनि यसका पुस्तकहरू पढ्छु । मलाई शिक्षक हुन पनि मनपर्छ र छु पनि ।
सुनील पोखरेलका लागि रंगमञ्च के हो ?
मेरो लागि रंगमञ्च जीवनको अर्थ खोज्ने तरिका हो । म यो संसारमा किन छु भनेर त्यसको सार्थकता खोज्ने काममध्येको एउटा काम हो मेरो लागि । यसले तपाईंलाई परिपक्व बनाउँछ । फरक–फरक परिवेशको र पात्रमा आफूलाई ढाल्ने र निर्देशन गर्दा परिपक्व बनाउँछ । कुराहरू स्वीकार गर्न सिकाउँछ ।
गुरुकुल भन्नेबित्तिकै सुनील पोखरेललाई के याद आउँछ ?
मैतीदेवीको पुलपारिको बानेश्वरको हाइट र समहलको अगाडि दुईवटा धूपीको रुख, गेटकै दायाँबायाँ बालकृष्ण समज्यूको घरको मूलढोकामा भएको त्यो लाइन अनि एउटा गोलो घर जहाँ दर्शक र हामीहरू पनि बसेर चिया खान्थ्यौँ । छ्वालीले छाएको बाँसले बनाएको एउटा गोलो घर थियो, बाहिरपट्टि ।
एक वर्षको मात्रै सम्झौतासहित फर्किनुभएको छ, त्यसपछि फेरि गुरुकुल सुस्ताउँदैन नि ?
सुस्ताउँदै अबचाहिँ । किनभने, हामी हामफालिसकेका छौँ ।