site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा ८ देखि स्नातकसम्म आमाछोरी सँगसँगै : कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित जावेदाले यसरी रचिन् इतिहास

काठमाडौं ।  पहिचानमा कट्टर मानिन्छ मुस्लिम समुदायलाई । नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कुल जनसङ्ख्याको ४.४ प्रतिशत मुस्लिम समुदायको उपस्थिति छ । अर्थात् नेपालको ७७ जिल्लामै ११ लाख ६४ हजार २५५ मुस्लिम समुदायका मानिसहरु रहेका छन् । 

मुस्लिम समुदायभित्र थुप्रै त्यस्ता संस्कारहरु छन् जहाँ महिलाले बुर्का निकाल्नु ईश्वरको आदेशको खिलाफ मानिन्छ । तर नेपालमा त्यस्तो पाइँदैन । 

सोही समुदायबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गरेकी छन् जावेदा खातुन । जसले सन्तान हुर्काइसकेर आठ कक्षामा भर्ना हुँदै सुरु गरेको स्वतन्त्रता अभ्यासले नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा पहिलो केन्द्रीय सदस्यको इतिहास रचेको छ ।

जावेदा खातुन त्यस्ती महिला हुन् जसले नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीमा पहिलो मुस्लिम महिला केन्द्रीय सदस्य बनेर इतिहास रचेकी छिन् । 

जावेदा खातुन जागा उर्फ जुवेदा खातुन । उमेरले उनी ३८ वर्षकी भइन् । आफ्नो वास्तविक नाम जुवेदा खातुन भएको बताउने उनी नागरिकता बनाउँदा जावेदा लेखिएकाले सोही नामले आधिकारिकता पाएको बताउछिन् ।

उनको घर बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाँसगढी नगरपालिका वडा नम्बर ८ मा पर्दछ । तर, उनको जन्मघर भने सोही जिल्लाको बारबर्दिया नगरपालिकामा वडा नम्बर ५ मा पर्दछ । उनी २०४० सालमा परिवारमा जेष्ठ सन्ताको रुपमा जन्म लिइन । तर, नागरिकतामा भने २०३८ साल लेखियो । 

“मेरो नाम जुवेदा खातुन हो, तर नागरिकता बनाउँदा जावेदा लेखियो । मेरो परिवारमा म जेठो हो । मेरो ३ भाइ १ बहिनी छन्,” उनी भन्छिन् । 

छोरीसँगै एसइइ पास 

२०५६ सालमा उनले कक्षा सातसम्मको पढाई पूरा गरेकी थिइन् । जनशक्ति आधारभुत विद्यालयबाट कक्षा ७ मा पढ्दै गर्दा उनको विहे भयो । सोही वर्ष उनले विहे गर्नुप¥यो । उनले सोही जिल्ला निवासी फरमान अलिसँग विवाह गरिन् । 

तर, विवाह गरे पनि उनलाई शिक्षासँगको लगावले कहिल्यै छाडेन । जति व्यवहारिक बन्दै गइन त्यतिनै उनलाई पढाईको मोह र आवश्यकता बढ्दै गयो । 

समुदाय पनि धार्मिक बन्धनभित्र जकडिएको भएर पनि हुन सक्छ, त्यसमाथि छोरा र छोरीमाथिको विभेदको गहिरो खाडलले पनि हुन सक्छ जावेदाको मनमा उच्च शिक्षाको हुटहुटी बढ्दै गयो । तर, तत्काल उनले पढ्न पाइनन् । 

उनको पहिलो सन्तानको रूपमा पनि छोरीको जन्म भयो । उनी पाँच सन्तानकी आमा भइन् । 

उनको पहिलो सन्तान हिना जब कक्षा ७ पास गरेर ८ कक्षामा पुगिन् अनी जावेदा पनि छोरीसँगै विद्यालय जान थालिन् । २०७२ सालमा उनले एसईई पास गरिन् । पहिलोपटक परीक्षा दिँदा गणित बाँकी रह्यो अनि पुनः मौका परीक्षा दिइन् र उत्तीर्ण भइन् । 

उनको पढाई यतिमा मात्र रोकिएन । अहिले उनी छोरीसँगै शिक्षाशास्त्रबाट स्नातक गरिरहेकी छिन् । 

अहिले उनी बर्दिया बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत छन् भने छोरी हिना द्वितीय वर्षमा अध्ययनरत छन् । 

“७ कक्षामा पढ्दा पढ्दै विवाह भयो, बुबा आमालाई पनि समूदायले विहे गरेर जाने छोरीको जातलाई पढाउनु हुँदैन भनेर दबाब आयो । अनि मेरो बिहे भयो । विवाह गरेको करिव १५ वर्षपछि मैले छोरीसँगै पढ्न थालेँ । २०७२ सालमा एसएलसी पनि पास गरेँ,” उनी भन्छिन् । 

अनि पहिलो मुस्लिम केन्द्रीय सदस्य 

जावेदाले राजनीतिमा आउँछु र समुदायमा उदाहरण बन्छु भन्ने सोँचेकी  थिइनन् । तर, समाजका लागि उदाहरणीय बन्छु भन्ने चाहिँ विहे गर्दै सोचेको बताउँछिन् । तर, उनले राजनीतिमा इतिहासनै रचिन् । नेपालको सबैभन्दा पूरानो दल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने मुस्लिम समूदायबाट निर्वाचित पहिलो महिला बन्ने सौभाग्य उनलाई जुर्‍यो । 

उनी विद्यार्थी राजनीतिबाट उदाएकी पनि होइनन् । उनको बुबा पनि सक्रिय राजनीतिमा लागेका हैनन् । कांग्रेसको आदर्श सिद्धान्त बुझेर पनि उनको परिवार कांग्रेसको भएको होइन । कांग्रेसप्रति आस्थावान् एक सामान्य कार्यकर्ता उनको बुबा बने । 

संयोग चाहिँ के रहेछ भने जावेदाको माइती मात्र होइन उनले विवाह गेर आएको कर्म घर तर्फ पनि सबै कांग्रेस रहेछन् । 

उनले २०६६ सालमा कांग्रेसको कृयाशील सदस्यता प्राप्त गरिन् । उनीसँगै उनका श्रीमान् पनि क्रियाशील सदस्य बने । पशु चौपाय व्यवसायी श्रीमानले राजनीतिमा आफूभन्दा श्रीमतीलाई अघि बढाउने निर्णय गरे । अनि खातुन अझ सक्रिय राजनीतिमा लागिन् । 

“म त गर्व देखिनै कांग्रेस हो, मेरो माइती घर र कर्म घर सबैजना कांग्रेस हुन् तर क्रियाशील लिएको भने २०६६ सालमा हो,” उनी भन्छिन् ।

जावेदा आफू राजनीतिमा आउनुको श्रेय श्रीमान् र ससुरालाई दिन्छिन् । उनका ससुरा अमिन जागाले उनलाई शिक्षा र राजनीतिकरुपमा अघि बढ्नका लागि आर्थिक पाटोमा ठूलो सहयोग गरे । 

कट्टरपन्थी समुदायबाट बुहारीलाई राजनीतिमा अघि बढाउन ससुराको योगदान गाउँ समाजमा अझै पनि तारिफ हुने गरेको उनको टिप्पणी छ । 

“धेरैले मेरो श्रीमानलाई सम्मान गर्नुहुन्छ मलाई पढ्न दिएकोमा । महिलालाई बाहिर निस्कन नदिने समूदायमा तपाईंंले आफ्नो श्रीमतीलाई पढाउनुभयो, सामाजिक राजनीतिक क्षेत्रमा अगाडि सार्नुभयो भन्दै २०६८ सालमा हामी दुबै जनालाई काठमाडौंमा सम्मान पनि गरियो । श्रीमानले निडर लिडर बन भनेर अगाडि बढाउनुभएको हो । ससुराले पनि आर्थिक क्षेत्रमा राम्रो सहयोग गर्नुभयो । मेरो उपलब्धी देखेर धेरै खुसी हुनुहुन्थ्यो,” भावुक हुँदै उनी भन्छिन् । 

उनका श्रीमान् पनि श्रीमतीको प्रगतिमा दङ्ग छन् । भन्छन् –“एकदमै खुसी लागेको छ, मन हर्षित छ । समग्र जातजातीलाई मिसाएर पार्टीले सबैलाई समान पहुँच दिएको छ । यसप्रति धेरै खुसी लागेको छ।” 

दोस्रो जनआन्दोलन पश्चात् देशमा समावेशीताको बहस छेडिएर दलित, जनजाती, आदीवासी मुस्लिम पिछडिएका मधेसी समुदायको विषयमा उनी पनि राजनीतिमा आकर्षित हुन थालिन् । 

स्थानीय तथा जिल्लाका नेताहरुले पनि मुस्लिम समुदायबाट नेताको रुपमा उनको पहिचान गरे । 

“मुस्लिम समुदायबाट नेतृत्व गर्ने सक्षम महिला नेतृत्व पाउन मुस्किल नै छ । मलाई सम्मान गर्नुभयो, अगाडि बढाउनुभयो,” खातुन भन्छिन् । 

उनी बाह्रौं महाधिवेशनबाट आफू कांग्रेसको पार्टी राजनीतिमा सक्रिय भएको बताउँछिन् । त्यो बेला मुस्लिम, पछाडि पारिएको क्षेत्र, मधेशीलगायतका समूहबाट एकजना महाधिवेशन प्रतिनिधि बन्न पाउने पार्टीको विधान भएको उनको भनाइ छ । 

त्यसबेला आफूलाई पुनः पढाइमा उत्प्रेरणा जगाउने देवकी नन्द त्रिपाठी सरलाई महाधिवेशन प्रतिनिधि पद छाड्नुपर्‍यो । 

खातुन १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिन् । त्यसबेला जिल्लाबाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि भिडेकी थिइन् । यस्तै १४औं महाधिवेशनमा खुला महिलाबाट महाधिवेशन प्रतिनिधि जितेर उनी केन्द्रको राजनीतिमा होमिइन् । 

उनलाई संस्थापन पक्ष अर्थात् देउवा समूहले टिममा राख्यो । उनको क्षेत्रमा देउवा टिमबाट खुलामा लडेका ४ अन्य तीन महिलाले सफलता हासिल गर्न सकेनन् । उनीमात्र सफल भइन् । महाधिवेशन प्रतिनिधि खुला महिलाबाट बनिन् । 

उनी महासमिति सदस्यमा पनि निर्वाचित भइन् । केन्द्रीय सदस्य भने मुस्लिम महिला कोटाबाट शेरबहादुर देउवाको टिमबाट निर्वाचित भइन् । १९०० मत ल्याउँदै पहिलो मुस्लिम महिला केन्द्रीय सदस्य निर्वाचित भएर उनले इतिहास रचेकी हुन् ।

खातुन विगत १४ वर्षदेखि महिला तथा बालबालिकाको अधिकार क्षेत्रमा सक्रिय भएर विभिन्न संघ संस्थामा सक्रिय छन् । 

वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य भइसकेकी छन् । पिछडिएका समुदायहरुसँग सम्बन्धित संस्थाको अध्यक्षलगायतका संस्थामा सक्रिय छन् । 

“म पढाईसँगै विभिन्न संघ संस्थामा आवद्ध भएपपछि स्थानीय र जिल्लाका नेताहरुले पनि मुस्लिम समूदायबाट यतिको पढेलेखेको विभिन्न संघसंस्थामा आवद्ध त्यसमाथि महिला भनेर राजनीतिमा लाग्ने हौसला दिनुभयो,” उनले बाह्रखसरीसँगको कुराकानीमा भनिन् । 

समुदायका महिलाहरुका हकका लागि लड्ने हुटहुटी

वैधानिक वाध्यतालाई टेकेर मात्र खातुनजस्ता पछाडि परेको समुदायलाई  अघि ल्याएर मात्र हुँदैन । 

समावेशीताको अर्थ निर्णय गर्ने ठाउँ र नीति बनाउने स्थानमा पुर्‍याएर अधिकार प्रयोग गर्न दिनु पनि हो । संविधानले समावेशीताको अवधारणा अंगिकार गरेको छ । 

नीति बनाउने तहमा उत्पीडनमा परेको समुदायको पहुँच कम भएको भन्दै उनी मुस्लिम समुदायका महिलाहरुका लागि निर्णायक कदमहरु चाल्न आवश्यक रहेको तथ्यलाई स्वीकार गर्छिन् । 

छोरा सरह आत्मसम्मान र शिक्षा समुदायका महिलाहरुलाई दिन आवश्यक भन्दै उनी आफ्नो धर्म र संस्कारको मर्यादामा रहेर समाज परिवर्तन र अधिकारका लागि लडाईं लड्ने बताउँछिन् । 

“एउटा समुदाय पछि पर्छ भने देश नै पछि पर्छ । हाम्रो पनि देश र समाज परिवर्तनमा भूमिका छ,” उनी भन्छिन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro