site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कथाकारमा नयाँ प्रयोग गरिरहेको छु भन्ने भ्रम छ 
Ghorahi CementGhorahi Cement

(अन्तर्वार्ता लिन भनेर राजव दाइसँग बसेकै होइन । दुई साताभित्रै अमेरिका फर्किने भनेपछि दाजुभाइ सँगै बसेर कफीसँगै गफिऊँ भन्ने कुरो मात्रै थियो । त्यसैले अनौपचारिक गफगाफबाटै सुरु भयो कुराकानी । तर, कुरा गर्दै जाँदा समकालीन कथा लेखनका बारेमा लामो चर्चा भयो । आख्यानकार राजव करिब पाँच दशकदेखि कथा, उपन्यास र कविता लेखनका क्षेत्रमा सक्रिय छन् । ०२८ सालदेखि कथा लेख्न थालेका उनको पहिलो कथाकृति ‘समय पीडा’ २०४५ सालमा मात्रै प्रकाशित भयो । त्यसयता उनका ‘कंगन खित्का’, ‘इतर जिल्लावासी’, ‘कमरेड ड्राइभर’, ‘क्यापिटल हिल’लगायत कृति प्रकाशित छन् । राजव दाइसँग कथाको कुरो यसरी सुरु भयो :

आजको कथा लेखनलाई कसरी हेरिरहनुभएको छ ?
पछिल्लो समय म कथाहरू त पढिरहेको छु, तर धेरै अपडेट भने छैन । तर, मैले जति पढेको छु त्यो देख्दा लाग्छ, नयाँ लेखकहरूले कथामा परिवर्तनको प्रयास गरे पनि अपेक्षित रूपमा परम्पराबाट अलिकता हटेर, अलिकता नयाँ निर्माण गरिहालेको देख्दिनँ । उही परम्परालाई धान्ने मात्रै काम भएको छ । शैलीमा उस्तो क्रान्तिकारी परिवर्तन भएको, नयाँ ल्याएको त्यस्तो मैले पाएको छैन । म टाढा भएको कारण, कथाकृति उपलब्धताका कारणले पनि त्यस्तो हुनसक्छ । मेरा केही सीमितताहरूले मलाई त्यस्तो लागेको पनि हुनसक्छ । स्पष्ट भन्नुपर्दा कोसिस राम्रो छ, तर सन्तुष्टिजनक भने छैन । मूलतः भाषा र शैलीमा, कथ्यलाई हेर्ने दृष्टिकोणमा निकै कमजोरी देखिन्छ । मेरो विचारमा कथाको शैली र दृष्टिकोण नयाँ हुनुपर्छ, जुन अहिलेका कथामा देखिँँदैन ।

देखिनुपर्ने मूल परिवर्तन के हो त ?
मूल परिवर्तन भनेकै अहिलेको समयलाई हेर्ने दृष्टिकोण हो । र, त्यो दृष्टिकोणलाई प्रस्तुत गर्ने आफ्नो कथ्य र शैली । कथा लेखनमा यी दुईवटा कुरा महत्त्वपूर्ण हुन्छ । यो दुवैमा म अझै पनि कमी देख्छु । अहिलेका कथाकारमा कथा लेख्ने कोसिस छ, उत्साह छ । कथा लेखिरहेका पनि छन् । तर, यथावत् स्थितिमा मात्र छ तिनको लेखन । आफूभन्दा अग्रजलाई तिनले उछिन्न सकिरहेका छैनन् । जबकि, उछिन्न सक्नुपर्छ । त्यसमा निकै कमी–कमजोरी छ । अर्को कुरो के भने, आज हाम्रो कथा परम्परालाई पढेर लेख्नेहरू पनि कम छन् । तिनले बुझेका छैनन् । भइसकेका प्रयोगलाई ‘मैले नयाँ प्रयोग गरिरहेको छु’ भन्ने भ्रम छ, उनीहरूमा । चेन्ज त ल्याउनुपर्यो नि लेखनमा । लिकबाट त अलिकति न अलिकति हटेको हुनुपर्यो नि !

Agni Group

मैनालीका कथापछि बीपीका कथा, भिक्षु र गोठालेका कथा, धुु्रवचन्द्र गौतमका कथाहरूले केही नवीनता दिएजस्तै ?
हो । कथा लेखनमा मोडहरू आउनुपर्छ । अझै एक–एक दशकका हिसाबमा मोडहरू देखा पर्नुपर्छ । हामीले दशक छुट्ट्याएर हेर्यौँ भने अहिलेका कथाहरूले त्यति फड्को मारेको देखिँदैन ।

कारण के होला ?
अध्ययनकै कमी हो । अनि, अध्ययनको कमीसँगै हतारो पनि । लेख्यो र छाप्यो । अर्थात्, छाप्ने हतारो धेरै छ आजका कथाकारमा । छिट्टै प्रकाशमा आउने हतारो ।

Global Ime bank

त्यसले लेखनलाई त खत्तम बनाउँला नि !
पक्कै । लेखनलाई त बिगार्छ नै कथा परम्परालाई पनि बिगार्छ । र, लेखक स्वयंको विकासलाई पनि बिगार्छ । मैले अघि नै भनेँ, मुख्य कुरा भनेको नयाँ लेखकहरूमा कथा परम्पराको अध्ययन अत्यन्तै कम छ । पढ्दै पढ्दैनन् !

पुरानो कुरा किन पढ्ने भन्ने होला नि ?
त्यो सोच्ने हो भने त त्योभन्दा खराब अरू केही हुँदैन । त्यसरी सोच्ने हो भने कथाकार अन्धकूपमा बसेजस्तै हुन्छ । अगाडि के भएको छ, के लेखिएको छ भन्नेतिर अध्ययन नगर्ने हो भने लेखक त भ्रममा हुन्छ हुन्छ, उसले पाठकलाई पनि भ्रममा राखिरहेको हुन्छ । त्यसैले परिवर्तनका लागि परम्परा पढ्नु जरुरी छ ।

भनेपछि नौलो केही गर्न सकेका छैनन् ?
मैले के गर्न सक्छु योभन्दा पृथक भन्ने सोच्न सक्नुपर्छ एउटा कथाकारले । परम्पराको प्रभाव पर्ला, किनभने त्यसबाटै सिक्ने हो । तर, त्यसमा परिवर्तन ल्याउन त सक्नुपर्छ नि । खासमा त्योभन्दा केही पृथक र नौलो दिन सक्नुपर्छ लेखकले । त्यो कोसिस देखिनुपर्छ, कथामा । तर, त्यो अहिलेको लेखनमा एकदमै कम छ । अर्को कुरो, कुनै पनि कथाकारले अहिलेको समयलाई टिप्न सक्नुपर्छ । तर, त्यसलाई टिप्न सक्ने पावर आजका लेखकहरूमा देखिँदैन । अहिले एक दशकभित्र लेखिरहेका लेखकहरूमा म त्यो क्षमता देख्दिनँ ।

भाषाशैलीमा त केही परिवर्तन भएको होला !
भाषाशैलीमा हल्का चेन्ज देखिन्छ । मुख्य शैली हो । भाषा त्यहीअनुसार निर्माण हुन्छ । तर के हो भने, शैली नै नयाँपनमा जान सकिरहेको छैन ।

भाषा र शैलीले मात्रै पनि त कथा बन्दैन होला ?
बिलकुलै बन्दैन । कथाकारले समय र कथ्यललाई कुन दृष्टिकोणबाट हेरिरहेको छ भन्ने महत्त्वपूर्ण हो । लेखकले कसरी कथ्यलाई समातिरहेको छ, कसरी अनुभूत गरिरहेको छ भन्ने नै मुख्य हो । त्यो नै लेखकको सबैभन्दा ठूलो शक्ति हो । त्यो जानीसकेपछि शैली र भाषाले लेखकलाई आफैँ डोर्याउँछ । यो मेरो अनुभव हो । राम्रो कथा लेख्ने हो भने वर्षमा एउटै कथा मात्रै लेखे पनि पुग्छ ।

तर। हतारो अहिले सबैको कमजोरी भएको छ भन्ने मलाई लाग्छ । के नयाँ के पुराना, सबै हतारोमा छन् । हामी सबै हतारमा छौँ । तर, हतारो कथामा देखिनु हुन्न ।

तपाईं कति बैठानमा सिद्ध्याउनुहुन्छ कथा ?
मलाई बढी समय लाग्छ । कहिलेकाहीँ त चार/पाँच सिटिङ पनि लाग्छ । कहिले आधा कथा सिद्धिन्छ र रोकिन्छ । अनि, महिना दुई महिनापछि मात्रै त्यसमा काम गर्छु । कुनै–कुनै कथा एक दिनमै लेखिए पनि त्यसलाई मिलाउन समय लाग्छ । एक/दुई महिना त त्यसमा काम गर्छु नै ।

वर्ष दिन लागेका कथा पनि छन् ?
लागेको छ । केही कथा छन् लामो समय लिएको । अहिले पनि यो महामारीमाथि लेखिएको कथा सवा वर्ष भयो, सकिएको छैन । ८० प्रतिशत मात्रै सिद्धिएको छ । वास्तवमा कथा लेखन मेरा लागि रुटिन वर्क हुन्छ । कथा लेख्दा म पूरा ध्यान दिएर लेख्छु । कथ्यलाई छिटो समाते पनि लेखनले भने समय लिन्छ नै ।

आजका कथाकारले ‘राजव दाइलाई आफूले लेखेको कथामा विश्वास छैन, त्यसैले मिलाउनै लामो समय लिन्छन्’ भनिदिए भने के हुन्छ ? 
त्यो भन्नु अलग कुरा हो । मलाई लाग्छ, त्यो विश्वास नहुनु राम्रो हो । त्यसले परिमार्जन गरिरहन मद्दत पुर्याउँछ । पटक–पटकको परिमार्जनले नै पाठकले राम्रो कथा पाउँछ नि ।

अधिक विश्वासले गर्दा नै अहिलेका कथाकारहरूको कथा कमजोर भएको हो त ?
हुनसक्छ । एउटा बुँदा यो पनि हो भन्न सकिन्छ । वास्तवमा, अहिले प्लेटफर्म धेरै छ आफ्ना रचना प्रकाशमा ल्याउनका लागि । लेखेका कुरा छिटो छापिहाल्ने । अनि, प्रतिक्रिया लिइहाल्ने । यसैले सबैलाई हतारो गराएको छ । तर, कथाकारमा संयम चाहिन्छ । धैर्य हुनुपर्छ कथामा कलम चलाउनेहरूमा ।

अधीर छन् अचेलका कथाकार ?
त्यस्तै देखिन्छ । जहाँसम्म मेरो कुरा गर्नुहुन्छ, जबसम्म कथा लेखेर त्यसलाई परिमार्जन गरेर सन्तुष्ट हुन्नँ, तबसम्म मैले कथा प्रकाशनका लागि दिन्नँ । जतिखेर पूर्णतः कथाबाट सन्तुष्ट हुन्छु, त्यसपछि मात्रै प्रकाशन गर्ने विषयमा सोच्छु । राम्रो कथा आउनका लागि त पर्खनैपर्छ । हतारोमा केही पनि लेख्न सकिँदैन ।

अहिले प्रयोगका नाममा कथाको संरचनालाई भत्काइने काम भएको छ पनि भनिन्छ । तपाईं के भन्नुहुन्छ ?
हैन । परम्परा र संरचनालाई भत्काउन सकिन्छ । तर, त्यो भत्काइ सिर्जनात्मक हुनुपर्छ । कलात्मक र प्रभावशाली हुनुपर्छ । ‘यो मैले भत्काएको हुँ’ नभनीकनै पाठकले भत्काइएको बुझ्ने हुनुपर्छ । त्यही त कमी छ अहिलेको कथामा । धमास दिन संरचना भत्काइने हैन नि ! भत्काइ पनि कलात्मक र प्रभावशाली हुनुपर्छ । बीपी कोइरालाले भत्काएकै हुन् । विजय मल्लले भत्काएकै हुन् ।

तर, आज त्यस्तो भत्काइ छैन । संरचना भत्काउनुको अर्थ समूल नष्ट पार्ने वा खरानी बनाउने हैन । भत्काउँदा पनि यो सिर्जना गरेको हो भन्ने विश्वास दिलाउन सक्नुपर्छ, एउटा लेखकले । मुखले भनेर मात्रै केही हुँदैन । परम्परालाई भत्काउनुपर्छ परम्परालाई बुझेर, मैले भन्न खोजेको नै त्यही हो । जीवनभर लेखेको लेखकले पनि आफैँलाई भत्काउने कोसिस गरिरहेको हुन्छ । एउटा लेखकले आफैँले लेखेको कुरा पनि भत्काउन सक्नुपर्छ । उसको लेखन अघिल्लोभन्दा मौलिक र सिर्जनात्मक हुनुपर्छ । त्यसपछि मात्रै उसलाई पाठकले पढ्छन् ।

यो त आफैँमा गाह्रो काम हो नि !
गाह्रो त हुन्छ नै । हो, लेखनमा केही पुनरावृत्ति हुन्छ । किनभने, यही समाज, यही धरती, यही हावापानीमा हामी बाँचिरहेका छौँ । त्यसैले कतिपय कुरा दोहोरिएलान् । तर, त्यहीबीचमा पनि नयाँ खोज्न, नयाँ गर्न त सक्नुपर्छ । यो भनेको लेखकले आफैँलाई कलमी बनाउन खोज्नु हो । लेखकमा त्यो हुनुपर्छ । अलिअलि पुनरावृत्ति त मेरो पनि हुन्छ । तर, दृष्टिकोण र कथ्य नयाँ हुनैपर्छ । त्यसपछि नै त पाठकले पढ्छन् ।

अर्को कुरो, अहिलेको आख्यानको भाषा तरल छ । गद्यमा कथा र आख्यानको भाषाले ठोस स्वरूप खोज्छ । ठोस भाषा खोज्छ । अहिलेको फेसनले कथाको भाषालाई तरल बनाउन खोजिरहेको मलाई लाग्छ । हेर्नुस्, गद्यको आफ्नै लय हुन्छ । त्यो लयलाई हामीले यथावत् राख्नैपर्छ । तर, लेखन अलि बढी तरल हुन खोज्नु कथाको लागि घाटा हो ।

त्यो प्रयोगका लागि होला नि !
जबरजस्ती प्रयोग गरेर हुन्न । मैले प्रयोग गरेको है भनिन्छ । यो मैले नयाँ गरेको, यो मैले आफैँलाई तोडेको भन्छन् कथाकार पनि । तर, लेखकको काम त्यो होइन । तपाईंले प्रयोग गर्नुभएको हो कि होइन त्यो भनिरहनु जरुरी छैन । लेखकले पाठकलाई स्वतन्त्र छोडिदिने हो । तपाईंले के गर्नुभएको हो भन्ने पाठकले तपाईंको सिर्जना पढेर बुझोस् न ! मैले भनेँ नि, अहिलेका लेखकहरूको कमजोरी नै त्यही हो, सुरुमै ‘मैले यसो गरेको’ भन्छन् । त्यो होइन । के लेखिएको हो त्यो पाठकले मूल्यांकन गर्छन्, आफैँले बुझेर । यहाँ त पाठकलाई बुझाउन सुरुमै भन्छन्, ‘मैले यसो लेखेको हो है ।’ लेखक स्वयं आतंकित छन् ।

अचेल त लेखनमा डिजाइनका कुरा पनि आइरहेका छन् ?
लेखक दर्जी हो र डिजाइन गर्नलाई ! लेखक दर्जी होइन । यदि, दर्जी डिजाइनर हुन्थ्यो भने सबै टेलर मास्टरहरू महान् फेसन डिजाइनर हुन्थे । शब्दको क्षेत्रमा, कुचीको क्षेत्रमा यस्ता डिजाइन केही काम लाग्दैन । म कुनै पनि डिजाइनमा विश्वास गर्दिनँ । म सिर्जनामा मात्रै विश्वास गर्छु । एउटा लेखक कति सिर्जनात्मक हुनसक्छ त्यो नै महत्त्वपूर्ण हो । कथाकारको सिर्जनाले पाठकको मन छेड्न सक्नुपर्छ ।

जहासम्म मेरो कु्रा छ, म कथाले पहिले मेरो आफ्नै मुटु छेड्छु र त्यसपछि मात्रै पाठकको मुटु छेड्छु । यही मेरो कोसिस रहन्छ । मेरा जति पनि कथाहरू पढ्नुहुन्छ, त्यो मैले आफ्नै मुटुमा छेडेर लेखेको हुँ । हरेक लेखकले त्यो कोसिस गर्नुपर्छ । ‘ए पाठकजी, मैले यो लेखेको हो है’ भनेर हुँदैन । त्यसैले लेखकको काम दर्जीको काम हो भन्ने मलाई लाग्दैन ।

समयानुसारको परिवर्तन भन्न खोजिएको हो कि !
म पनि यही समयमा बाँचिरहेको छु । लेखिरहेको छु । तमाम विश्वका लेखकहरूलाई पढिरहेको छु । कसैले त्यसो गरेको मलाई थाहा छैन । वास्तवमा, परम्परा भत्काउने, परम्परा तोड्ने भनेको सिर्जनाले नै हो । र, सिर्जनाले तपस्या माग्छ । साधना माग्छ । विवाद ल्याउने भनेको त हल्लाले हो । त्यसैले जे गर्ने हो, सिर्जनाले नै गर्ने हो । साधनाले गर्ने हो । एउटा लेखकले गर्ने भनेकै राम्रो लेख्ने हो । म पाठकलाई नठगेर लेख्छु भनेरै लेखकले लेख्ने हो । 

(राजव दाइसँग कुरा त्यति मात्रै भएनन् । विश्व साहित्य, अनुवाद साहित्यसँगै पुरानापुराना कुरा पनि भए । बैंकको सिंहदरबार शाखामा काम गर्दाका केही कुरा भए । बैंकका साथीहरू सम्झिँदै केही शब्द खर्च भए । केही शब्द साहित्यकर्ममा जोडिएका साथीहरूका विषयमा खर्च भए । र, उठ्दाउठ्दै दाइले भने ‘कुनै पनि लेखकले पाठकलाई भ्रममा राख्नु हुँदैन, राजेश । कथा लेख्ने हो भने कथा नै लेख्नु पर्यो, नकि अरू केही ।)

प्रस्तुति : राजेश खनाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC