1641981268.jpg)
काठमाडौं । नेपालकै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका भ्रातृसंस्था नेतृत्व र वैधानिकताविहीन अवस्थामा पुगेका छन् ।
कुनै एउटा मात्र होइन पार्टीका एक दर्जन बढी भ्रातृसंस्था वैधानिकता गुमाएर बसेका छन् । पार्टीको पाँचवटा भ्रातृ संस्था त नेतृत्वविहीन नै भएका छन् । तर, पार्टी नेतृत्वबाट महाधिवेशनको ताकेता भएको छैन ।
नेपाल विद्यार्थी संघ, तरुण दलसहितकका भ्रातृसंस्थामा एक पटक ६ महिनाका लागि म्याद थप्ने वैधानिक व्यवस्थाको पटक–पटक छ महिनाका दरले थप्दै लगेर पार्टीले नै खिल्ली उडाइदिएको छ ।
भ्रातृ संस्थालाई विधानसम्मत गतिविधि गर्न रेफ्रीको भूमिका खेल्नुपर्ने मातृ पार्टीले नै गलत व्याख्या गर्दै केन्द्रीय कार्यसमिति लगातारजसो विधान विपरीत छ महिनाका दरले म्याद थपेको थप्यै छ ।
पार्टीको विधानको धारा ४२ मा भ्रातृ संस्थाको मान्यता दिने सम्बन्धी व्यहोरा उल्लेख छ । सोही धाराको १० (च) भ्रातृसंस्था स्वतः विघटन गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा विधानमा उल्लेखित समयमा केन्द्रीय अधिवेशन हुन नसके स्वतः भ्रातृ संस्थाका विद्यमान केन्द्रीय कार्यसमिति विघटन हुने उल्लेख छ ।
२०७६ माघ १६ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति घोषणा गर्यो ।
छ महिनाभित्र अधिवेशन गर्ने म्यान्डेटसहित उमेरले तत्कालीन समयमा पाँच दशक टेक्न लागेका राजीव ढुंगानालाई अध्यक्ष बनाइएको थियो ।
नेविसंघको ११औं महाविधेशनबाट नैनसिंह महरको नेतृत्वमा बनेको कार्यसमितिले अन्तिम पटकका लागि तीन महिनाको समय माग्दा अधिवेशन गर्न नसकेको भन्दै अध्यक्षको राजीनामा मागेर तदर्थ समिति बनाइएको थियो ।
तर, तदर्थ समितिले अधिवेशन गराउन सकेन । पार्टीको बेलाबखत बस्ने केन्द्रीय कार्यसमिति बैठकले तदर्थ समितिको म्याद छ महिनाको दरले थप्दै गयो । यसबीचमा पार्टीले केन्द्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । सोही तदर्थ समितिका अध्यक्ष ढुंगाना पनि पार्टीको केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । तर, नेविसंघ महाधिवेशन अझै अनिश्चित छ ।
महामन्त्री वलदेव तिमल्सिना महाधिवेशन गर्ने तयारी गर्दागर्दै कोभिडका कारण देशमा लकडाउन भएका कारण अधिवेशन सम्भव नभएको बताउँछन् ।
लकडाउन खुुलेपछि महाधिवेशन गर्ने तयारी गरिए पनि पार्टीको महाधिवेशनका कारण सम्भव नभएको उनको तर्क छ ।
“कोभिड कम भएपछि अधिवेशन गर्ने तयारी गर्दा पार्टी महाधिवेशनमा असर पुग्छ भनेर पार्टीकै महाधिवेशन केन्द्रित हुन नेतृत्वले निर्देशन गर्यो र हामीले त्यसलाई स्थगन गर्नुपर्यो,” बाह्रखरीसँग तिमिल्सिनाले भने ।
पार्टीको अधिवेशन सम्पन्न भएसँगै यतिबेला संगठनको अधिवेशन माग गर्दै विद्यार्थी नेताहरु दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णयमा पुगेका छन् । विद्यार्थी नेता ताराबहादुर थापा अधिवेशनको माग गर्दै पार्टीलाई ज्ञापनपत्र बुझाउने तयारीमा आफूहरू रहेको बताउँछन् ।
“तदर्थ समिति पनि पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्वविहीन वन्यो, अहिले संगठन मृत्युशैयामा छ । अब पनि अधिवेशन गरेर प्राण नभरे कहिले भर्ने,” थापा भन्छन्, “हामी दबाब दिन्छौं, ज्ञापन पत्र बुझाउनेदेखि रिले अनसनहुँदै आमरण अनसन बस्न पनि हामी तयारीमा छौं ।”
१४औं महाधिवेशनबाट ५ भ्रातृ संस्था नेतृत्वविहीन
पार्टीमा नेपाल विद्यार्थी संघ र तरुण दलको चर्चा जति हुन्छ अन्य भ्रातृ संस्थाहरुको चर्चा कमै हुने गरेको छ । कांग्रेस पार्टीको १३ वटा भ्रातृ संस्था छन् । उनीहरुमध्ये कसैको समयमै अधिवेशन हुन सकेको छैन ।
कतिपय भ्रातृ संस्थाहरुको त एक दशक भन्दा बढी समय भइसक्यो महाधिवेशनको अत्तोपत्तो छैन ।
पार्टीको मंसिर २४ बाट सुरु भएर गएको पुस पहिलो साता सम्पन्न महाविधेशनबाट ५ भ्रातृसंस्था नेतृत्वविहीन भएका छन् ।
जसमा नेपाल विद्यार्थी संघ, नेपाल तरुढ दल, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल मुस्लिम संघ रहेका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, तरुण दल अध्यक्ष जितजंग बस्नेत, मुस्लिम संघका अध्यक्ष अव्दुल सतार महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका छन् ।
नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी र दलित संघका अध्यक्ष मीन विश्वकर्मा पनि मनोनीत केन्द्रीय सदस्य बनेका छन् । तर, उनीहरुले केन्द्रीय सदस्य बनेपछि पनि भ्रातृ संस्थाको नेतृत्वबाट राजीनामा दिएका छैनन् ।
तर, पार्टी विधानको धारा ४२ ले भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त हुने व्यवस्था छ ।
अर्थात् स्वतः उनीहरुले पद गएको छ र उनीहरुले नेतृत्व गरिरहेको भ्रातृ संगठन नेतृत्वविहीन भएको छ ।
पार्टीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट भ्रातृ संस्थाका सम्बन्धमा अधिवेशन सम्बन्धी निर्णय केही हुन्छ भन्ने आश गरिएको थियो । तर, पार्टीको दुईवटा कार्यसमिति बैठक सम्पन्न भइसक्दा भ्रातृ संस्थाको विषयमा कहिँ कतै केही कुरा उल्लेख भएको छैन । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा अब बस्ने पार्टी केन्द्रीय कार्यसमितिको तेस्रो बैठकमा महत्वका साथ एजेन्डा बनाइने बताउँछन् ।
“भ्रातृ संस्थाहरुको महाधिवेशनका विषयमा अब हामी महामन्त्रीबीच छलफल गर्छौँ र आगामी केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा बनाउँछौं,” महामन्त्री शर्माले बाह्रखरीसँग भने ।
भद्रगोल बन्नमा दोष कसको ?
विद्यार्थीहरुलाई संगठित गर्दै पार्टी राजनीतिलाई जीवन्त बनाउने संस्था नेपाल विद्यार्थी संघ हो । तर, नर्सरी संस्था नेपाल विद्यार्थी संघको कार्यकाल सकिएको २ वर्ष समय बितिसक्दा समेत अधिवेशन हुन सकेको छैन ।
११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले नियमित दुईवर्ष र थप गरिएको ६ महिनामा पनि महाधिवेशन गराउन सकेनन् ।
अन्त्यमा उनले राजीनामा दिनुपर्यो । अनि बनेको तदर्थ समितिको पनि ताल उस्तै छ । पार्टीको १४औं महाधिवेशन पछि त नेविसंघ नै नेतृत्वविहीन अवस्थामा पुगेको छ ।
नेपाल तरुण दलको पनि म्याद सकिएको २ वर्ष पुगिसक्यो । म्याद रहँदा पनि तरुण दलको केन्द्रीय समिति चार जनामा सीमित थियो । अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङबाहेक अरुले तरुण दलको राजनीतिमा सहभागिता जनाउने र भविष्य निर्माण गर्न पाएनन् ।
वैधानिक म्याद र थपिएको म्यादसमेत सकिँदा भ्रातृ संस्थाहरु स्वतः विघटन हुनुपर्ने हो । तर, ६०–४० भागवण्डा स्थापित भएको पार्टीमा त्यो अभ्यास हुन सकेको छैन ।
१३औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा समूह र रामचन्द्र पौडेल समूहबीच ६०–४० को ‘भागशान्ति जय नेपाल’ हुँदा भ्रातृ संगठनहरु कोमामा पुगेको एक नेताको टिप्पणी छ ।
उनीहरुको गतिविधिशून्य मात्र भएका छैनन्, विद्यार्थी संघले विद्यार्थीका र तरुण दलले युवाका मुद्दा बोक्ने हैसियत गुमाएका छन् । भ्रातृ संस्था आफ्नो पञ्जाबाट फुत्किने भयले पनि पार्टी नेतृत्व महाधिवेशन भन्दा खल्तीको नेतृत्व छान्ने तयारीमा देखिन्छ ।
नेपाल तरुण दलका पूर्वमहामन्त्री तथा कर्णाली प्रदेश समिति सदस्य भुपेन्द्रजंग शाही चाँडोभन्दा चाँडो पार्टीले सबै भ्रातृ संस्थाको महाधिवेशन गर्न अयोजक समिति बनाएर अधिवेशन गर्नुपर्ने तर्क गर्छन् ।
नेपाल महिला संघकी पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौला नेतृत्वको इच्छाशक्तिका कारण समस्या सिर्जना भएको बताउँछिन् ।
हिजो पार्टीको महाधिवेशन र कोरोनालाई कारण देखाएर महाधिवेशन रोकिए पनि अब त्यस्तो छुट कसैलाई नभएको उनको बुझाइ छ ।
“नेतृत्व र वर्तमान केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्ने संकल्प गर्नुपर्छ,” संग्रौलाले बाह्रखरीसँग भनिन्, “पार्टीको महाधिवेशन सकियो, अब आउने चुनावका लागि पनि संगठन बलियो बनाउन अधिवेशन आवश्यक छ ।”
महाधिवेशन नभएर दशक नाघेका भ्रातृ संस्था
नेपाली कांग्रेस जुन जगबाट उठेको हो, त्यही जगसँग जोडिएको भ्रातृ संस्था सबैभन्दा अपहेलित छ । नेपाल किसान संघको अधिवेशन नभएको १५ वर्ष नाघेको छ । २०६२ सालमा किसान संघको अध्ध्यक्ष बनेका भानु सिग्देलले सभापतिमा निरन्तर छन् ।
यस्तै कांग्रेसको सशस्त्र युद्धमा नेतृत्वपंक्तिमा लडेकाहरुबाट बनाइएको प्रजातन्त्र सेनानी संघ पनि अधिवेशन गर्न नसक्नेहरुको संस्था बनेको छ ।
संघको अधिवेशन नभएको १४ वर्ष पुगिसकेको छ । संघको २०६९ सालमा नवलपरासी महाधिवेशन गर्ने निर्णय भए पनि अन्तिम समयमा स्थगन भएको थियो ।
१४ वर्ष अघि वीरगञ्ज अधिवेशनबाट टंकप्रसाद शर्मा कँडेल संघमा सभापति बनेका थिए । आजपर्यन्त संघको नेतृत्व फेरिन सकेको छैन ।
कांग्रेसको भातृ संसथा नेपाल आदिवासी जनजाती संघको अवस्था पनि उस्तै छ । संघमा ०६४ साल देखि नेतृत्वमा रहेका इन्द्रबहादुर (आइबी) गुरुङ आजपर्यन्त सभापति छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पनि स्थापना कालदेखि आफ्नो महाधिवेशन गर्न सकेको छैन । २०६६ सालमा कांग्रेसको भ्रातृ संस्थाको मान्यता पाएको अपांग संघले स्थापना कालमा भोजराज श्रेष्ठको नेतृत्वमा पाँच पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति घोषणा गरेका थियो । श्रेष्ठको कार्यसमितिले १२ वर्ष बितिसक्दा समेत महाधिवेशन गराउन सकेको छैन ।
संघका केन्द्रीय सदस्य विकास थापा तदर्थ समिति नबनाए अधिवेशन नै हुने अवस्था नरहेको बताउँछन् । थापाका अनुसार संघको बैठक चार वर्ष पश्चात् पार्टीको १४ औं महाधिवेशन अघि महाधिवेशन प्रतिनिधि पठाउने प्रयोजनका लागि बसेको थियो ।
“जिल्ला जिल्लाबाट साथीहरु प्रेसर दिनुहुन्छ तर, नेतृत्वमा पद सोच र संगठन हाक्ने जाँगर दुबै देखिँदैन,” थापाले भने, “सबै पदाधिकारीहरु खाली छन्, हाम्रो बैठकसम्म पनि बस्न सक्दैन ।”
यता, पार्टीको १२औँ महाधिवेशनबाट भ्रातृ संस्थाका रूपमा मान्यता पाएको ठाकुर समाजको पनि अहिलेसम्म महाधिवेशन भएको छैन । समाजले भ्रातृ संस्थाको मान्यता पाएकै वर्ष महाधिवेशन भएको थियो । तर, हालसम्म अध्यक्ष अनिरुद्रप्रसाद ठाकुरले महाधिवेशन गरेर नेतृत्व हस्तानान्तरण गरेका छैनन् ।
बेहाल छन् अन्य भ्रातृ संस्था
२०६९ सालमा चौथो महाधिवेशनको गरेको नेपाल दलित संघले त्यसयता महाधिवेशन गर्न सकेको छैन । सोही महाधिवेशनबाट अध्यक्ष बनेका मीन विश्वकर्मा त्यसयता मात्र दुई कार्यकाल पार्टीको केन्द्रीय सदस्य भइसकेका छन् । गएको वैशाखमा अधिवेशन गर्ने भनिए पनि कोभिडलाई कारण हुन नसकेको संघका पदाधिकारीको भनाई छ ।
नेपाल राष्ट्रिय मगर संघको वर्तमान कार्यसमितिको अझै ६ महिना समय बाँकी छ । निर्वतमान उपाध्यक्ष दिनेश मगर साउन भित्र महाधिवेशन गर्नैपर्ने बताउँछन् ।
यता तामाङ संघको वर्तमान कार्यसमितिको पनि म्याद सम्पन्न भइसकेको छ । दोस्रो महाधिवेशनबाट अध्यक्ष बनेका कवेलबहादुर तामाङ नेतृत्वको समिति तेस्रो महाधिवेशनको तयारीमा जुटेको छ ।
संघका महासचिव वर्मा लामा नयाँ संरचना अनुरुप विधान बनाएर पार्टीलाई प्रस्तुत गरिसकेको बताउँछन् । पार्टीले विधानलाई स्वीकृत गर्न बाँकी भएकाले समस्या सृजना भएको उनको तर्क छ ।
कांग्रेस दोलखाको सभापति भइसकेका लामाले भने, “हामीले नयाँ संरचनाअनुसार विधान पार्टीलाई बुझाएका छौं, पार्टीले त्यसलाई हुन्छ भनेपछि तेस्रो महाधिवेशन गर्छौ ।”
महिला संघको कार्यकाल गत सालको भदौ मै सकिएको हो । संघले पनि डेढ वर्ष पुग्न लाग्दा समेत आफ्नो अधिवेशन गर्न सकेको छैन । केन्द्रीय सदस्य लता घिमिरे पार्टीबाट संशोधन भएको विधान स्वीकृत गरिदिए पनि पार्टी महाधिवशेनले गर्दा अधिवेशन गर्न नसकिएको बताउँछिन् ।
“पार्टीको अधिवेशनले गर्दा रोकिएको हो, अब चाँडै हामी अधिवेशन गर्छाैँ र नेतृत्व हस्तानान्तरण हुन्छ,” घिमिरेले भनिन् ।