site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
देउवाको महँगो पेलाइ

सत्ताका लागि जे गर्न पनि नहिचकिचाउने प्रवृत्ति सायद अहिलेका ठूला पार्टीका शीर्ष नेताका साझा विशेषता हाे । यसैले नेपाली कांग्रेसकाे सभापति जित्न आफूले अपनाएकाे साम, दान, दण्ड, भेदकाे अभ्यासमा शेरबहादुर देउवालाई सही लाग्नु स्वाभाविकै हाे । 

सभापति निर्वाचित भइसकेपछि अहिलेकाे विधानअनुसार अन्तिम कार्यकाल भएकाले देउवाका सामु दुईवटा विकल्प थिए - पहिलाे उदारता अपनाएर सबैलाई समेट्ने । अर्काे, अहिले गरेजस्तै चुनावमा आफ्नाे विराेध गर्नेहरूलाई सिध्याउने खेलमा लाग्ने ।

पहिलाे बाटाे राेजेकाे भए सायद पार्टीका साथै देशकाे पनि हित हुन्थ्याे र सबैभन्दा बढी लाभ देउवालाई नै हुन्थ्यो । उनी अहिले पार्टीका एकछत्र नेता त हुन् तर निर्विवाद हाेइनन् । सबैलाई समेटेर र उचित महत्त्व दिएकाे भए देउवा निर्विवाद नेता पनि बन्न सक्थे ।  

KFC Island Ad
NIC Asia

पार्टीभित्रै विवादमा परेकाे नेता जति शक्तिशाली भए पनि देशमा लामाे समय टिक्न सक्तैन । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली यसका उदाहरण हुन् । उनले सरकार र नयाँ पार्टीमात्र हाेइन पुरानै पार्टी पनि जाेगाउन सकेनन् । 

दाेस्रो विकल्प राेजेका देउवा आफ्नाे विपक्षमा खसेकाे ४० प्रतिशतभन्दा बढी मतकाे उपेक्षा गर्ने  बाटोमा लागे । यसले उनी र उनका ताबेदारहरूलाई तत्काल त फाइदै हाेला । शेखर कोइराला समूहलाई दिनुपर्ने भाग पनि आफैँलाई खप्ट्याउन र रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलालगायतलाई बिलो दिन पुग्ला । तर, चुनावका मुखमा पार्टीकाे ठूलाे समूहले असुरक्षित र अपमानित महसुस गर्दा लाभ हाेला कि हानि ?

Royal Enfield Island Ad

चुनाव जित्ने सबैले पदकाे ओज धान्न सक्दारहेनछन् भन्ने दृष्टान्त बन्ने नै भए त सभापति शेरबहादुर देउवा ? शेखर समूहलाई पेल्ने तर माओवादीसँग मिल्ने देउवा नीतिले कांग्रेसकाे मात्र हाेइन देशकै पनि भलाे हुनेछैन ।

गुरुकाे सिकाे

राष्ट्रिय सभाकाे उमेदवार देउवा र पाैडेलले ताेके । विधानकाे व्यवस्थामात्र हाेइन जिल्ला र प्रदेश समितिका सिफारिस पनि रद्दीकाे टोकरीमा फालिदिए । किसुन जी र गिरिजाबाबु पनि कुरा मिलेका बेला यसै गर्थे । 

देउवा र पौडेललाई पनि लाग्दाे हाे गणेशमानजी, किसुनजी र गिरिजाबाबुले, पछि किसुनजी र गिरिजाबाबुले र अझ पछि गिरिजाबाबुले एक्लै कांग्रेसमा मनलागी निर्णय गर्न हुने हामीले किन नहुने ?

एउटा कथा छ -

कुनै गुरु एक दिन चेलाहरू लिएर कतै जाँदै रहेछन् । बाटामा चेलाहरूलाई अगाडि पठाएर गुरुले अभक्ष्य भाेजन गरेछन् । चेलाहरूले चियाे गरेका रहेछन् । थाहा पाइहाले ।

गुरु गएपछि चेलाहरू पनि त्यहीँ गएर त्यही भाेजनकाे स्वाद लिएछन् ।

गुरुले आफूले अगाडि पठाएका चेलाहरू पछिपछि आइरहेकाे देखेपछि शङ्का गरे र साेधे । चेलाहरूले अभक्ष्य भाेजन गरेकाे सकारे । गुरुले हप्काउँदा जवाफ फर्काए- गुरुका लागि भक्ष्य भाेजन चेलाका लागि कसरी अभक्ष्य ?

कथाकाे नाटकीय बिन्दु - किनभने भन्दै गुरुले आफूले खाएकाे भाेजन ओकलिदिए र चेलाहरूलाई त्यसै गर्न भने । चेलाहरूले सकेनन् । अनि गुरुले शिष्यहरूलाई जाति च्युत हुने श्राप दिएछन् ।

कांग्रेसभित्र दुईधार

सत्तारुढ गठबन्धनसँग चुनावमा पनि मिलेर जाने कि नजाने भन्ने विषयमा नेपाली कांग्रेसभित्र स्ष्ट दुई धार देखियाे । देउवा पक्षका नेता रामचन्द्र पौडेललगायतले गठबन्धनसँग चुनावमा पनि तालमेल गर्नुपर्ने धारणा व्यक्त गरेका छन् भने शेखर समूहका महामन्त्री गगन थापाले स्पष्ट शब्दमा एक्लै जाने उद्घोष गरेका छन् ।

यद्यपि, नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताकाे राय भने सम्भवतः दुवै पक्षले लिएका छैनन् । यस्तै पार्टीकाे समग्र चुनावी रणनीति बनाउने सम्बन्धमा पनि खासै चासाे कसैले लिएकाे देखिएन । देउवा समूहले पेलेरै जान खाेज्दा पार्टीका ४० प्रतिशत कार्यकर्ता निष्क्रिय भए भने के हाेला ?

समानुपातिक प्रतिनिधित्व र दलीय निरङ्कुशताका कारण सामान्य अवस्थामा कांग्रेस वा नेकपा (एमाले)कुनै दलकाे पनि संसद्मा बहुमत पुग्ने देखिँदैन । त्यसैले चुनावपछि त गठबन्धन नगरी सुखै छैन । तर, चुनावपूर्व (प्रिपोल) गठबन्धन कति सम्भव र उपयाेगी हाेला भनेर कांग्रेसभित्र छलफल भएजस्ताे देखिएन ।

अप्रत्यक्ष निर्वाचनमा गठबन्धन लाभदायी भए पनि प्रत्यक्षमा कम्युनिस्ट र कांग्रेसबीचकाे गठबन्धन फलदायी हुँदैन । दुवैथरी मतदाताले एक अर्कालाई भन्दा निकटका अरू उमेदवार राेज्छन् । यसैले मतदाताकाे मानसिकता नबुझी गरिने गठबन्धन प्रत्युत्पादक हुन्छ ।

नेपाली कांग्रेसका लागि त्रिपक्षीय भिडन्त लाभदायक हुनसक्छ । कम्युनिस्ट मत विभाजित भएमात्र कांग्रेसले चुनाव जित्न सक्छ । शेखर समूहलाई पेलेर जान खाेजे चुनावमा पार्टीकाे ठूलाे कार्यकर्ता पङ्क्ति बिच्किन सक्छ । 

त्यस अवस्थामा शेखर, गगन कसैले चाहेर पनि पहिरो थाम्न सक्नेछैनन् । सभापति कृष्णप्रसाद भट्टराईले पनि २०५१ सालमा विद्रोह राेक्न सकेनन् । यद्यपि, धेरै विद्राेही उनकै निकटका कार्यकर्ता थिए । 

कार्यकर्ताकै अवस्था त्यस्ताे हुन्छ भने सामान्य मतदाताले कम्युनिस्टलाई मत देलान् भन्ने कल्पनै नगरे हुन्छ । कांग्रेसका मतदाताले पाएसम्म रूखमा मत दिन्छन् । रुख चिह्न मैदानमा नभए पहिलाे त कांग्रेसका अपेक्षाकृत अल्छी मतदाता भाेट दिनै नजान सक्छन् । गईहाले भने पनि कम्युनिस्टलाई मत दिन सितिमिति हात जाँदैन । 

यही मानसिकता माओवादी वा एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकमा पनि पाइन्छ । का‌ंग्रेसलाई भाेट दिनुपर्ने भयाे भने उनीहरूमध्ये धेरैले एमालेका उमेदवारलाई मत दिनेछन् । त्यस अवस्थामा धेरै मत ल्याउने विजयी हुने प्रणालीमा एमाले उमेदवारले सजिलै जित्छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त ज्याेतिषीकाे भविष्यवाणी पूरा हुने विश्वास दिलाए जस्ताेसुकै सम्झौता गर्न पनि तयार भइदिन्छन् । उनले सभापति जित्न साम, दान, दण्ड, भेद सबै अपनाएकाे पार्टी चलाउन नभएर चुनावपछि प्रधानमन्त्री हुन न हाे ।

देउवाका लागि त दुवै पद अब लगभग अन्तिम हाेला तर पूर्ण खड्का, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाणहरूका लागि त नेपाली कांग्रेस सग्लो र सक्रिय रहिरहे नै काम लाभदायी हाेला नि ! शेखर र गगन भारण्ड नहाेलान् तर सबै कार्यकर्ता उनीहरूजस्तै सहन तयार हाेलान् र ? 

र, अन्त्यमा

जनबरी ६, २०२१ मा अमेरिकामा चुनाव परिणाम उल्ट्याउन डाेनाल्ड ट्रम्प समर्थकहरूले संसद् भवनमा गरेकाे आक्रमणकाे वार्षिकीमा अमेरिकाका ३९ औं राष्ट्रपति जिमी कार्टरले ‘द न्यु याेर्क टाइम्स’मा ‘आई फिएर फर आवर डेमाेक्रेसी’शीर्षकमा एउटा लेख लेखेका छन् । 

उनकाे निष्कर्ष छ - अमेरिका गहिराे खाडलकाे डिलमा धर्मराई रहेकाे छ र नागरिक विद्रोह तथा लाेकतन्त्रकाे समाप्तिकाे जाेखिममा छ । उनले लेखेका छन्  - स्थापित भइसकेका (सुदृढ)लाेकतन्त्र पनि सैनिक वा अरू अधिनायकका हातमा पुग्न सक्छ । हामी यहाँ (अमेरिकामा) त्यसाे हुन दिन सक्तैनाै । 

जिमी कार्टरकाे याे लेख नेपालका सन्दर्भमा पनि मननीय छ । के नेपाली कांगेसका नेताहरूले कार्टरका धारणामा गाैर गर्लान् ? हुनत, अधिनायकवादकाे जाेखिम सबैकाे चिन्ताकाे विषय हाे तर कम्युनिस्टहरूलाई सिद्धान्ततः अधिनायकत्वमा खासै आपत्ति हुँदैन । अरू दलले अहिलेसम्म राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने हैसियत बनाएका जाे छैनन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro