काठमाडौं । सोलुखुम्बुका सुमन कुलुङ र निरकला कुलुङले पाँचपोखरी ट्रेल रेसको उपाधि जितेका छन् । सिन्धपाल्चोकको पर्यटकीय स्थल पाँचपोखरीमा सोमबार सम्पन्न रेसमा पुरुषतर्फ सुमन र महिलातर्फ निरकलाले उपाधि जितेकी हुन् ।
पाँचपोखरीबाट सुरु भएको २४ किलोमिटरको दुरी सुमनले २ घण्टा १७ मिनेटमा पुरा गर्दै उपाधि चुमे । यसै बर्ष विश्वको सबैभन्दा अग्लो स्थानमा हुने एभरेस्ट म्याराथनको उपाधि जितेका सुमनले दामोदर बुढामगरलाई ९ मिनेटले पछि पारे । दामोदरले २ घण्टा २६ मिनेटमा दौड पुरा गरे । तेस्रो भएका रुपलाल बुढामगरले २ घण्टा २९ मिनेटमा दौड पुरा गरे । नवराज थापा चौथो र जय राम थापा पाँचौ भए ।
महिलातर्फको उपाधि जित्ने क्रममा निरकलाले निर्धारित दुरी ३ घण्टा ३ मिनेटमा पुरा गरे । निरकलाले सोलुखुम्बुकै पुर्णिमा राईलाई पछि परिन । दोस्रो भएकी पुर्णिमाले ३ घण्टा ९ मिनेटमा दौड पुरा गरिन् । तेस्रो भएकी रशिला तामाङले ३ घण्टा १६ मिनेटमा दौड पुरा गरिन् ।
पुरुष र महिला दुबैतर्फको विजेताले २५ हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १५ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै, चौथो र पाँचौ हुनले क्रमशः १० हजार र ५ हजार नगद प्राप्त गरेका छन् । विजेताहरुलाई पर्वतारोही तथा पहिलो तामाङ महिला आरोही कान्छीमाया तामाङ लगायतले पुरस्कृत गरेका थिए ।
विश्व समावेशी साहशी संस्था र डुखाङ पाँचपोखरी मानम् युवा क्लबको संयुक्त आयोजनामा भएको ट्रेल रेस पाँचपोखरी देखि सुरु भई नोस्यामपाटी, टाँकुखर्क, भोताङ हुदै थाङपाल रैथाने आएर सकिएको थियो । ट्रेल रेसमा १४ महिलासहित ८५ जना खेलाडीले सहभागिता जनाएका थिए ।