
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सातजनाको नमुना डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको खुलेको छ । जसमा एकजना भारतीय नागरिक र अरू सबै नेपाली रहेको बताइएको छ ।
कञ्चनपुर प्रहरीले घटना अनुसन्धानका क्रममा भारतको पिलभित घर भएका २४ वर्षीय अली हसनलाई पक्राउ गरेको छ । तर, यसबारे आधिकारिक रूपमा केही बताइएको छैन । अलीको परिवारले लामो समयदेखि कञ्चनपुरमा तरकारी खेती गर्दै आएको थियो ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “अनुसन्धानकै क्रममा पाँच÷सातजना शंकास्पदको डीएनए परीक्षणका लागि पठाएका छौँ । यो प्रारम्भिक अनुसन्धानकै कुरा हो । थप त्यस्तो केही छैन ।”
सातजनाको डीएनए परीक्षणका लागि पठाइए पनि प्रहरी अधिकारीहरू नतिजा सकारात्मक आउनेमा आशावादी भने देखिँदैनन् । निर्मला हत्या प्रकरणमा प्रहरीले हालसम्म १२० जनाभन्दा बढी व्यक्तिको डीएनए परीक्षण गरिसकेको छ । तर, सफलता प्राप्त हुन सकेको छैन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको ०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् ।
घटनाको सुरुवाती समयदेखि नै सीआईबीले डीएसपीको कमान्डमा टोली कञ्चनपुरमा खटाएको छ । पर्याप्त प्रमाण र ‘क्लु’को अभावमा प्रहरी अनुसन्धानले गति लिन सकेको छैन ।
प्रहरी अधिकारीहरूले ‘म्यानुअल’ रूपमै अनुसन्धान गर्नुपर्ने भएकाले कठिनाइ भएको बताउँदै आएका छन् । हालसम्म प्रहरीले एक हजारभन्दा बढी व्यक्तिको बयान, सयौँ परिवारका सदस्यको लगत संकलनलगायत काम गरिसकेको छ ।
सुरुवाती समयमा प्रहरीले घटनास्थलका प्रमाणको सुरक्षा गर्न नसक्दा अनुसन्धान जटिल बन्दै गएको पनि प्रहरीकै अधिकारीहरू बताउँछन् ।
तीन वर्ष बितिसक्दा पनि अनुसन्धानले सफलता नपाउँदा प्रहरीले निरन्तर आलोचना समेत खेप्नुपरेको छ ।