विराटनगर । प्रदेश नम्बर १ को पूर्वीनाका काकडभिट्टामा होल्डिङ सेन्टर तयार भएको छ । पुस महिनाभित्रै सञ्चालन गर्ने तयारीका साथ निर्माणलाई गति दिइएको हो । संघीय सरकारको कूल २२ करोड रुपैयाँको लागतमा निर्माण भएको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी हनुमान कन्ट्रक्सन्सले जनाएको छ ।
कोरोना संक्रमणका बेला पूर्वी नाका काकडभिट्टा भएर नेपाल प्रवेश गर्ने सम्भावित संक्रमितलाई राख्ने उद्देश्यसाथ २२ वटा ब्लकमध्ये २० क्वारेन्टाइन, २ प्रशासन, १२ डायनिङ हल, २ प्रशासनिक किचन र एक सेन्ट्रल किचन रहेका छन् । २२ ब्लकलाई ट्वाइलेटसमेत निर्माण भएका छन् । हनुमान कन्सट्रक्सन ललतितपुरका प्रतिनिधि सबिन भट्टराईले बताए । सेन्टरमा एकै पटक एक हजार जनालाई होल्ड गरेर राख्न सकिन्छ ।
पुस मसान्तसम्म सक्ने गरी थालिएको निर्माण कार्यमध्ये प्यानल लगाउने, १२ वटा ब्लकमा झ्यालढोका जडान, फल्स सिलिङ र पन्ध्रवटा किचन निर्माणको कार्य पुरा भएको छ । भट्टराईले भने,“नेपाली सेनाको रेखदेखमा निर्माण भइरहेको कामलाई पुसभित्रै पुरा गर्ने लक्ष्य छ ।”
मेचीनगर नगरपालिका वडा नम्बर १४ को दुआगढी नजिकैको हडिया खोलाको उकास जमिनमा निर्माण भएको संरचनालाई तेस्रो लहर आए पूर्ण रुपमा प्रयोग गर्न सकिने नगरपालिकाकी उपमेयर मीना उप्रेतीले बताइन । उनले भनिन्, “तेस्रो लहरको जोखिमबीच निर्माण भएको संरचनाले हामीलाई पनि निकै हौसला मिलेको छ । भारतबाट आउने संभावित संक्रमितलाई स्थानीय पालिकामा पठाउनु अघि राख्न र कोरोना परीक्षण गर्न सहज हुनेछ ।”
होल्डिङ सेन्टरमा चिकित्सकसमेतको टोली राख्ने प्रदेश सरकारको तयारी छ । निर्माण हुँदै गरेको संरचनाको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निरीक्षण गरेका छन् ।
कार्कीले भने, “कोरोना पूर्ण रूपमा नसकिएको अवस्था छ । फेरि नयाँ भेरियन्टको जोखिम देखिएको छ । यो संरचना तयार भइसक्दा हामीलाई कोरोना नियन्त्रण अनि रोकथाममा थप सहज हुने सरकारको अपेक्षा छ ।”
हडिया खोलमा १२ बिघा उकासमध्ये ४ बिघा क्षेत्र होल्डिङ सेन्टरको लागि उपलब्ध गराइएको हो ।