महाधिवेशनबाट थप शक्ति आर्जन गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामु चुनाैती भने घटेकाे छैन । पार्टीमा पाएकाे बहुमतले उनकाे लोकप्रियता र जनसमर्थन बढेकाे छैन भने चुनावमा ‘बदनाम’ गठबन्धनकाे गरुङ्गो गठरी बोकेर जानुछ ।
पार्टीका सबै ‘ठालु’ नेताहरू आफ्नाे पक्षमा आइसके पनि केही ‘जुनियर’हरूले चुनाैती दिन छाडेका छैनन् । तिनलाई ‘ठेगानमा राख्न’ पार्टीमा पूरै कब्जा नगरी हुँदैन ।
कांग्रेस कब्जा गर्न प्रतिस्पर्धा समाप्त बनाउनुपर्छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह वा अरू कसैमा देउवालाई चुनाैती दिने आँट देखिएन । तर, शेखर कोइराला भने तह लागेनन् । बरू, समूह बनाएरै उभिए ।
यसैले अब कांग्रेसका सबै ‘ठालु’हरू शेखर कोइरालाकाे भूमिका समाप्त पार्न एकजुट हुनसक्छन् । शेखरलाई लोभ्याउने, धम्क्याउने र केही नभए उपेक्षा गर्ने देउवाकाे रणनीति हुनसक्छ । वरीयता निर्धारणमा प्रचलनविपरीतकाे उपेक्षा यही रणनीतिकाे थालनी हो कि ?
महामन्त्री विश्वप्रकाश शर्मा मूलतः देउवासँगै हुन्छन् । उनलाई संस्थापनमा नै सहज हुन्छ । अर्का महामन्त्री गगन थापा देउवाका मुखर आलोचक हुन् । शेखर समूहमा एकता कायम रह्याे र गगनलाई अगाडि बढाइयो भने देउवाकाे पार्टी कब्जा अभियानमा उनी बाधक बन्न सक्छन् ।
यसैले शेखरसँगै गगनकाे पनि तेजाेबधकाे नियोजित प्रयास हुनसक्छ । परिवर्तनकाे बृहत्तर लक्ष्य राखेका शेखर र गगनले मर्यादाक्रम वा यस्तै सानातिनामा विषयमा ‘इगो’ राखेर बाटाे त पक्कै नबिराउलान् नि ! मानमर्दनकाे यस्ता प्रयास त पाइला पाइलामा हुनेछन् ।
गुटगत मतदानले स्पष्ट देखायाे निधि र सिंहले पहिले वा पछि जे भने पनि मूलतः तिनका समर्थक देउवा समूहमै रहेछन् । षड्यन्त्रकाे सिद्धान्तअनुसार त पहिले नै देउवालाई समर्थन गर्ने निधाे भइसकेकाे रहेछ भने पनि हुन्छ ।
नत्र समूहगत मत स्वतन्त्र विद्यार्थी युनियनकाे जस्ताे त नआउनु पर्ने नि ! कि त निधि र सिंह समूहका कार्यकर्ता भविष्य द्रष्टा रहेछन् भन्ने मान्नुपर्ने भयाे । यद्यपि, रामचन्द्र पौडेल र शशाङ्कले मात्रै शल्यकाे भूमिका नखेलेका भए शेखर समूहकाे स्थितिमा केही अन्तर पक्कै हुनेथियो ।
नयाँ पुस्तामा देखिएकाे उत्साह धेरै नटिक्ने त स्पष्टै छ । पहिलाे बैठकमै छनक आइसक्याे । शेखर र गगन स्थानीय निर्वाचनमा कांग्रेसका उमेदवार चयनदेखि नै चनाखाे नभए फेरि भरतपुर दाेहोरिन सक्छ । कांग्रेसहरूलाई अरू चिह्नमा भोट दिन भन्दाभन्दै रुखै बिर्सने दिन आउला नि !
गणेशमान सिंहले कुनै सभामा भनेका एउटा लोककथाकाे सम्झना हुन्छ । माटाकाे भाँडाकाे भार बाेकेर कुमालेहरू उकालाे लागेछन् । पहिलो कुमालले केही हिँड्नेबित्तिकै भाँडा फुटाएछ ।
बाटाकाे बीचतिर पुगेपछि दोस्रोकाे भार पनि फुटेछ । गाउँमा पुग्नै लाग्दा तेस्रोले पनि भाँडा फुटाएछ । गणेशमानजीका अनुसार कांग्रेस तेस्रो कुमालेजस्ताे हाे । शेखर समूहले डाँडामा भाँडा सग्लै पुर्याउन सकेन ।
सरकारका हकमा भने देउवा तेस्राे कुमाले बन्ने लक्षण धेरै छ । यसै पनि देउवाले अहिलेसम्म सत्ता सधैँ अरूलाई नै बुझाएकाे इतिहास छ । कांग्रेसहरू भने आउने चुनावहरू देउवाले जिताइदेलान् भनेर बसेका छन् ।
गल्ती दाेहाेर्याउने बानी
कांग्रेसहरूमात्र हैनन् गठबन्धनमा अरू दुई दल माओवादी र एकीकृतका पनि चुनावकाे वैतरणी तार्ने सम्बल देउवा नै बनेका छन् । यसैले होला पुष्पकमल दाहाल र माधवकुमार नेपाल दिनहु कम्तीमा एकपटक गठबन्धन चुनावसम्म टुट्दैन भनिरहेका छन् ।
भन्नत देउवाले पनि त्यसै भनेकाे सुनिन्छ । फरक के छ भने देउवा चुनावसम्म गठबन्धन सरकार रहन्छ भन्छन् । यसैले कांग्रेसका भरमा चुनावकाे वैतरणी पार गर्ने कम्युनिस्ट नेताहरूकाे सपना बिपना नहुने सम्भावना नै बढी छ ।
कांग्रेसका नेताहरूलाई बारम्बार एउटै गल्ती दोहोर्याउन मन पर्दोरहेछ । यसैले त अन्तरिमकाल (२०६३/६४) मा गिरिजाप्रसाद कोइरालाले गरेकै गल्ती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोहोर्याउन लागेका होलान् नि !
यही बुझेर हाेला एमाले अध्यक्ष ओलीले गठबन्धन हाेइन कांग्रेससँग कुरा गर्न चाहेकाे बताइसकेका छन् । त्यसाे हाे भने प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी नेतासँग कुरा किन नगर्ने? त्यसका लागि अर्काे लाैराे किन टेक्नु ?
देउवाले चुनावभन्दा पहिले गठबन्धन नटुटाउलान् तर चुनाव हुने बेलासम्ममा कम्युनिस्टहरूमा फेरि एक हुने रहर जाग्नेछ । नेपथ्यका सूत्रधारहरू सलबलाउनेछन् । जरा राक्षसीले जरासन्धलाई फेरि बौराउन सबै प्रयास गर्नेछ ।
र अन्त्यमा,
सत्ताका लागि सम्झौता गरेर देशलाई टाट पल्टिन दिने कि कठोर कदम चालेर पनि अर्थतन्त्र बचाउने? प्रधानमन्त्री देउवाले छिटै गर्नुपर्ने निर्णय हाे यो । संयुक्त भए पनि नेतृत्वमा कांग्रेस सभापति छन् । त्यसैले सरकारकाे जसअपजस मूलतः नेपाली कांग्रेसमाथि जान्छ ।
देशलाई टाट पल्टाएर चुनावमा जाँदा फाइदा हाेला कि अर्थतन्त्रलाई सङ्कट मुक्त गराएर जाँदा जनताले मत देलान् ? यति त कांग्रेसका अरू पदाधिकारीले पनि बुझ्नुपर्ने हो ।