site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपामा भागबन्डाको लडाईँ– महन्थ ठाकुर र राजेन्द्र महतोबीच तीव्र विवाद 

काठमाडौं । पार्टी बनेको चार महिना पूरा नहुँदै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भित्र विवाद सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको विवाद सतहमा देखिएको हो ।

पार्टी बनेको चार महिना बितिसक्दा पनि लोसपाले केन्द्रीय कार्य समिति बनाउन सकेको छैन । तीन तहको निर्वाचन सुरु हुन केही महिना बाँकी रहँदा केन्द्रीय कार्यकारिणी समितिको विस्तार र विधानसम्मत राजनीतिक समिति बनाउने विषयमा पनि पार्टीभित्र विवाद देखिएको छ । प्रदेश २ बाहेकका प्रदेश र ६५ जिल्लामा संगठन विस्तार गर्ने विषयमा पार्टीभित्र विवाद छ ।  

लोसपाको विधानले ४०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने आधार दिएको छ । यस्तै १५१ सदस्यीय राजनीतिक समिति र ९९ सदस्यीय प्रदेश समिति विधानसम्मत गठन गर्नुपर्ने हुन्छ । यस्तै जिल्लामा ५१ सदस्यीय कार्यसमिति हुन्छ । जसमा १५ जना कार्यसम्पादन समिति रहन्छन् । तर, पार्टीले ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समितिबाहेक अन्य समितिहरु गठन गर्न सकेको छैन । समिति पनि निर्वाचन आयोगबाट मान्यता पाउन तयार पारिएको हो । त्यो कार्यकारिणी समितिको बैठक पनि चार महिनामा दोस्रोपटक बस्न सकेको छैन । कार्यकारिणी समितिको संख्या बढाउने भनिए पनि कति पुर्‍याउने भन्ने टुंगो लगाउन सकिएको छैन । 

जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद हुँदा समितिहरुले पूर्णता पाउन नसकेको हो । आफू निकटहरुलाई च्याप्ने र पार्टीमा आफ्नो गुट बलियो बनाउने लहडमा कार्यकारिणी समितिका ३० जना सदस्यहरुले पनि जिम्मेवारी पाउन सकेका छैनन् । अध्यक्षपछिको पद बाँडफाँट हुन सकेको छैन । 

विवादको विन्दु 

नेतृत्वको विषयलाई टुंगोमा पुर्‍याउन भन्दै मंसिर महिनाभित्र तीनपटक चार नेताबीच संवाद भएको छ । जसमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा संवादमा बसे । संवादको मुख्य विषय तदर्थ समिति घोषणा गर्नु थियो । मुख्य चाहिँ जिल्ला कार्यसमिति र प्रदेश तहको नेतृत्व घोषणा गर्नु थियो ।

संवादपछि पार्टीले १२ जिल्लामा जिल्ला अध्यक्ष तथा प्रदेश २ मा प्रदेश अध्यक्ष तोक्यो । जिल्ला र प्रदेश तहको अध्यक्ष तोक्न नपाउँदै विवाद सुरु भएको हो । राजेन्द्र महतो पक्षले अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले आफू निकटहरुलाई अवसर दिएको भन्दै विरोध सुरु गरेको हो । जसमा  नेता अनिल झाले पनि साथ दिएका छन् । 

“भदौमा तीन चरणमा संवाद गर्दा सम्भावित नामबारे छलफल भएको हो, तर नाम तोकिँदा छलफल विपरीत आयो,” महतो निकट एक नेता भन्छन्–“राजेन्द्रजी र अनिलजीले गरेको सहमतिअनुसार नाम आएन, महन्थ ठाकुरको कोटको खल्तीबाट नाम झिकेर अध्यक्ष बनाउने काम भयो ।”

अर्का नेता शरतसिंह भण्डारीले भने जिल्ला तहमा नेतृत्व सुझावका आधारमा तोकिए पनि प्रदेशमा भने अध्यक्ष ठाकुरले एकलौटी गरेको प्रतिकृया दिने गरेका छन् । अहिले पार्टीमा महन्थ ठाकुरनिकट भएर भण्डारी बसेको स्रोतको दाबी छ । राजेन्द्र महतो र अनिल झाले छुट्टै मोर्चाबन्दी कसेका छन् । उनीहरु महन्थ ठाकुरबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । राजेन्द्र महतो पार्टी अध्यक्ष बन्ने आकांक्षामा छन् ।   

तर, ठाकुर पक्षीय नेताहरु भने सबै तहका अध्यक्षहरु सहमतिमै तोकिएको दाबी गर्छन् । बरु राजपामा हुँदा जस्तो भागबण्डा नपाएर राजेन्द्र महतो र अनिल झा समूहले बखेडा झिकेकोे आरोप ठाकुर पक्षीय नेताहरुको छ । 

“खोजेजति भाग नपाएपछि बोलेका हुन्, पार्टीमा कुनै विवाद छैन,” ठाकुर पक्षीय एक नेता भन्छन्,“हिजो राजपामा ६ अध्यक्षमण्डल हुँदा जस्तै भाग खोजेर बसेका छन्, अध्यक्षले केही भाग दिनुभएको छ, सबै उनीहरुलाई दिने भन्ने हुँदैन ।”

झापा, मोरङ, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा र दाङ जिल्लामा अध्यक्ष ठाकुर निकट जिल्ला अध्यक्ष बनेका छन् । 

यता, सप्तरीमा भने महतो निकट सुनिल झा जिल्ला अध्यक्ष बनेका छन् । यस्तै सिराहमा भण्डारी निकट रामदयाल यादव र कपिलवस्तुमा भण्डारी निकट कैलाश अग्रहरी तदर्थ समिति अन्तर्गत जिल्ला अध्यक्ष बनेका छन् । रौतहटमा झा निकट लिलाप्रसाद साह अध्यक्ष बनेका छन् । प्रदेश २ को अध्यक्ष पनि ठाकुर निकट जितेन्द्रप्रसाद सोनल बनेपछि विवाद गहिरो बनेको हो । 

“८ जिल्लामा महन्थ निकट जिल्ला अध्यक्ष छन् । शरतजी ले २ जिल्लामा अध्यक्ष पाउनुभएको छ । अनिलजीले र हामीले मात्र एक एक जिल्ला पाएका छौं,” महतो निकट एक नेता भन्छन्,“प्रदेश २ पनि उहाँहरुले नै राख्नुभयो । यसरी भर्खर बनेको पार्टी कसरी सवल हुन्छ र !” 

तर, महतो पक्ष भने यसलाई मान्न तयार छैन । १२ जिल्ला मध्ये अधिंकाश जिल्लामा पूर्व सद्भावना पार्टी निकट नेताहरु नेतृत्वमा पुगेको दाबी उनीहरुको छ ।

“सबै आरोपहरु सत्य होइन, अधिंकाश जिल्लाहरुमा हिजोको सद्भावना पार्टी निकट नेताहरु अध्यक्ष हुनुहुन्छ,” ठाकुर निकट एक नेता भन्छन् । 

विद्रोहको तयारी 

पार्टीमा भागवण्डा राजनीतिले विद्रोह निम्त्याएको छ । नेतृत्वले तल्ला तहका नेताहरुलाई जिम्मेवारी दिन नसक्दा गुटबन्दी बढेको छ । पदाधिकारीसहितको जिम्मेवारी तोक्ने पक्षबाट अध्यक्ष ठाकुर पछि हटेका छन् । पार्टीमा विवाद बढ्दै गएपछि ठाकुर पर्ख र हेरको अवस्थामा रहेको जसपा स्रोत बताउँछ । 

यता,पार्टीमा विवाद बढ्दै जाँदा नेताहरु भने संघर्षमा उत्रिएका छन् । समानुपातिक तबरबाट जिल्ला नेतृत्व नबन्ने र प्रदेश २ मा अध्यक्ष परिवर्तन नभए केन्द्रीय कार्यालय घेर्नेसम्मको तयारी अहिले पार्टीभित्र छ । यस्तै प्रदेश २ का सांसदहरु रमेश पटेल, बाबुलाल साह र उपेन्द्र महतोले पनि भएका निर्णयहरु नसच्याइए गम्भीर कदम चालिने चेतावनी नेतृत्वलाई दिइसकेका छन् ।  

“९ गतेसम्म सबै विवाद नमिले धनुषाका साथीहरु १० गतेबाट धर्ना बस्न केन्द्रीय कार्यालय आउने भन्नुभएको छ,”स्रोतले बाह्रखरीसँग भन्यो,“जसरी जसपाबाट हामी पाखा लागेर नयाँ दल खोल्न आइपुग्यौं, अहिले यहाँ पनि पक्ष विपक्षमा पाखा लगाउने काम भइरहेको छ, यसले पार्टीलाई एक ढिक्का बनाएर राख्न मद्धत गर्दैन ।”

ठाकुर समूह भने पेलेरै अघि बढ्ने रणनीतिमा देखिन्छ । भएका निर्णयहरु फिर्ता गर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुर छैनन् । 

“सहमतिमा भएको निर्णयहरु हुन् अहिले उहाँहरुले के गर्न खोज्नुभएको हो हामीलाई थाहा छैन,” निकट स्रोत भन्छ । 

राजेन्द्र महतो समूहले पार्टी कार्यालयमा धर्ना बस्ने तयारी गरेको छ नि भन्ने बाह्रखरीको प्रश्नमा भने ठाकुर समूह यसलाई सामान्य लिनुपर्ने तर्क गर्छ ।

“यो लोकतान्त्रिक दलभित्र हुने सामान्य विषय हो, सबै मिल्दै जान्छ । यसरी बुझ्नुहोस् कि पार्टीभित्र गम्भीर विवाद छैन । विवाद छ भनेर मात्र देखाउन खोजिएको छ,” निकट नेता भन्छन् ।

भागवण्डामा जिल्ला प्रदेश हुँदै केन्द्रीय शक्ति बाँडफाँट हुन नसक्दा ६५ जिल्ला र ६ प्रदेशमा तदर्थ समिति बन्न सकेको छैन ।

विवाद तीव्र बन्दै जाँदा समिति बनाउने कार्य स्थगन गरिएको छ । यस्तै अन्य भ्रातृ तथा शुभेच्छुक समितिहरु बनाउने विषय नेतृत्वको चासोमा परेको छैन । 
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro