
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा पुग्ने दौडमा नेता फरमुल्लाहा मन्सुर पनि छन् । उनले पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री (मुस्लिम) पदमा उमेदवारी दिएका छन् । उनी कांग्रेसको नेतृत्वमा पुन: देउवा दोहोरिने दाबी गर्छन् । बाहिर चर्चा भएजस्तो दोस्रो चरणबाट सभापति छान्न नपर्ने उनको भनाइ छ । प्रस्तुत छ, उनै मन्सुरसँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानी :
अहिले मतदान स्थलमा रहेर मत मागिरहनुभएको छ, माहोल तपाईंहरूको पक्षमा कस्तो छ ?
पहिलो चरणबाटै शेरबहादुर देउवालाई जिताउने भनेर महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन् । माहोल यही छ, सभापतिमा देउवाले पहिलो चरणमै जित्नु हुन्छ ।
तर अरू समूह त सभापतिबाट देउवालाई विदा गर्छौं भन्छन् नि ?
भन्दै थिए । तर अहिले भन्न छाडे । पहिलेबाटै हामी एक भएनौ भने देउवालाई पार्टी बुझाए हुन्छ भन्थे । तपाईंहरूकै मिडियाबाट धेरैपटक भनेको मैले पढेको छुँ । मैले पहिलेदेखि नै भनेको हो, महाधिवेशनमा देउवासँग एक्लै चुनाव लड्ने हैसियत कसैको छैन ।
उहाँहरूको एजेन्डा हेर्नु न सबै मिले शेरबहादुर हराउन सकिन्थ्यो कि भन्ने छ । योजना मुताविक उहाँहरू मिल्न पनि सक्नु भएन । उहाँहरूको हारको मनस्थितिमा हुनुहुन्छ । त्यहीकारण यो महाधिवेशनमा देउवालाई पहिलोपटकमै निर्वाचित गर्छ भन्ने रुझान देशभरबाट देखिएको छ । गतिविधिले पनि त्यही प्रमाणित गर्छ ।
तपाईं आफैँ चाहिँ सहमहामन्त्री जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
मैले संविधान बन्दा बर्सौंदेखि मधेशी, दलित, जनजाति, थारू पिछडीएको क्षेत्र मुस्लिम समुदायको आवाजहरू उठाएँ । नेपाली कांग्रेसको विधान मस्यौदा समिति बसेर वडा कार्य समितिदेखि ८ वटै तहमा नेपाली कांग्रेसको मुस्लिमहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरेको छु । ०६४ सालको गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा गएर मुस्लिमहरूको धार्मीक पहिचान दिलाउँदै म मन्त्री भएको बेलामा मुस्लिमहरूको इद र बकर इदमा सार्वजनिक विदा दिने प्रचलन बसाएर मुस्लिमहरूको पहिचान दिलाएको छु । शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा म हुँदा मोहम्मद डेको विदा दिलाउने काम गरेको छुँ ।
देशका तमाम नेपाली जनताहरूलाई मालिक बनाउने काममा मैले २०२८ सालदेखि पाँचपटक जेल जीवन बिताएँ । तीन वर्ष पटकपटक निर्वासित भएँ । मैले जीवन नै नेपाली कांग्रेसका लागि समर्पण गरेको छुँ । देशभरिको नेपाली कांग्रेसका कार्यकर्ताले मलाई चिनेका छन् । २०४८ सालको उपचुनावमा चुनावी कमान्डर भएर काम गरेँ । २०४३ सालमा गोर्खामा मुस्लिमहरूको संगठन गर्न मैले काम गरेको छुँ । मैले पार्टीको गतिशीलता र संगठन गर्न मैले काम गरेको छु । मेरो पहिचान छ, कार्यकर्ताले सम्मान गर्छन् । म यो महाधिवेशनबाट आफूले जित्नेमा ढुक्क छु ।