site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
शेखर कोइरालाको नेतृत्वमा आम चुनावमा रामचन्द्र पौडेललाई शीरमा राखेर मतदाताकहाँ पुग्छौँ 

नेपाली कांग्रेसमा खरो स्वाभावका नेता मानिन्छन्– डा. मिनेन्द्र रिजाल । पार्टीभित्रका मुद्दामा होस् वा राष्ट्रिय मुद्दा । खरो उत्रिन सक्ने नेताको पहिचान उनले बताएका छन् ।

पार्टीभित्र पनि समीकरण मिलाउने क्षमता राख्ने रिजाल यसपल्ट शेखर कोइराला समूहबाट महामन्त्रीका उमेदवार बनेका छन् ।
प्रस्तुत छ, चुनावी दौडमा रहेका रिजालसँग बाह्रखरीले गरेको कुराकानी :

कांग्रेसमा १४औं महाधिवेशनको मुखमा गुटहरु अदलबदल तीव्र भएका छन् । यसबाट के अनुमान गर्न सकिन्छ ? 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसको राजनीतिमा योपटक महाधिवेशनको दुईचार दिन अगाडिको राजनीति गहिरोसँग हेर्ने हो भने महाधिवेशनमा उमेदवारी दर्ता गर्ने बेलासम्म आएका पराकम्पनहरु पार्टीको राजनीतिका सबैले देखेको छ । म प्रतिस्पर्धामा भएको मानिसले त्यस विषयमा धेरै कुरा गर्दिन । तर एकपल्ट मैले यति चाहिँ भन्नुपर्छ – महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक परीक्षण गर्न  अभिप्रेरित गरेको छ । 

हरेक महाधिवेशन प्रतिनिधिले गुट बिर्सेर आफ्नो विवेकले मतदान गर्नुहुन्छ । त्यसकारण  मतपरिणाम हाम्रो टिमको पक्षमा, शेखर कोइराला नेतृत्वको टिमको पक्षमा आउनेमा म विश्वस्त छु । पहिलो राउण्डमा नै निर्वाचन सकिन्छ, शेखर कोइराला सभापतिमा निर्वाचित हुनुहुन्छ ।

त्यसोभए १४औँ महाधिवेशनले शेरबहादुर देउवालाई बिदा गर्छ ? 

म शेखर कोइरालालाई सभापति बनाउने त्यो टिमको महामन्त्रीको रुपमा जिम्मेवारी प्राप्त गरौँ भनेर हिँडेको छु ।

सँगसँगै देशको रक्षामन्त्री हुँ, प्रधानमन्त्री शेरबहादुर देउवा मातहतको सरकारको रक्षामन्त्री हुँ । महाधिवेशनबाट जुनसुकै परिणाम आओस्, मुलुकलाई निर्वाचनमा लिएर जाने प्रधानमन्त्री अहिलेका सभापति शेरबहादुर देउवा नै हुनुहुनेछ ।

देउवा नेतृत्वको सरकारले मुलुकलाई निर्वाचनमा लिएर जानेछ । हामीले उहाँले गरेको काम,  अहिलेसम्म नेपाली कांग्रेसमा गरेको योगदानको लागि धन्यवाद आभार व्यक्त गर्दै यो महाधिवेशन सम्पन्न गर्नेछौँ  र शेखर कोइरालालाई सभापति बनाउने छौँ । 

थप यति भन्छु– निर्वाचन शेरबहादुर देउवाले नै प्रधानमन्त्री भएर गराउनुहुन्छ । महाधिवेशनले शेखर कोइरालालाई सभापति बनाउनेछ र निर्वाचनमा रामचन्द्र पौडेललाई शीरमा राखेर हामी जनतासँग भोट माग्न जानेछौँ । 

रामचन्द्रलाई शीरमा राख्ने ! मतलव उहाँलाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? 

हामीले बहुमतको सरकार बनाउँछौँ, त्यसका लागि यो महायज्ञले कांग्रेसलाई पुनर्जागरण गर्नेछ । कांग्रेसलाई साँचो अर्थमा बीपी, गणेशमान, सुवर्णशमसेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको पार्टीका रुपमा पुनःस्थापित गर्नेछ । 

नेपाली जनताको प्रिय पार्टीको रुपमा पुनःस्थापित गर्नेछ । अनि नेपालको समृद्धिको यात्रा, बीपीले २००६ सालमा राणाशाशनलाई फालौँ, संविधानसभाबाट संविधान बनाऔँ भन्ने जुन सपना देख्नुभएको थियो, त्यो सपनासँगै समृद्धिको सपना पूरा गर्नेछौँ ।

त्यसो भए तपाईंहरुले आगामी कांग्रेसको नेतृत्व गर्नुहुने छ ? 

अरु कुनै नारा भन्दिनँ, मैले यति नै भनेँ, पुस्ता र उमेरको कुरा गरिनँ । कांग्रेसलाई कांग्रेसजस्तो बनाउने सक्षम ऊर्जावान टिमले नेतृत्व गर्छ । त्यो टिमको महामन्त्रीको रुपमा मैले काम गर्नेछु ।

गुटगत संरचनाले त त्यसो भन्दैन ? 

यो पालीको मत विवेकको मत हुनेछ । महाधिवेशन प्रतिनिधिले गुट बिर्सेर विवेकले मत दिनुहुनेछ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्