site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापतिका आकांक्षी– प्रदेशमा कस्तो रह्यो उपस्थिति ?

काठमाडौं । नेपाली कांग्रेसको ६१ जिल्ला तथा ६ प्रदेशको कार्यसमितिले पूर्णता पाउँदा कुन समूह कति बलियो बन्यो भन्ने चर्चा छ । संस्थापन पक्षको रुपमा सभापति शेरबहादुर देउवाको टिम छ भने यो टिमबाट उपसभापति विमलेन्द्र निधि बाहिरिएका छन् । 

पार्टीमा संस्थापनइतर समूहका नेता रामचन्द्र पौडेल नेतृत्वको टिम छ । जहाँ महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिँह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, शेखर कोइरालालगायतका नेताहरु रहेका छन् । 

यस्तै पार्टीमा तेस्रो समूहका रुपमा नेता कृष्णप्रसाद सिटौलाको समूह रहेको छ । यो समूहले पार्टीको १४औँ महाधिवेशनमा हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवासँग सहकार्य गरिरहेको छ । 

६ प्रदेशको नतिजा आइसक्दा ३ प्रदेशमा देउवा समूह, २ मा पौडेल र १ प्रदेशको नेतृत्व सिटौला समूहसँग गएको छ । 

सभापति देउवाको प्रभाव 

१४औं महाधिवेशनबाट सभापतिमा पुनः कार्यकाल दोहोर्‍याउने प्रयासमा रहेका सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो सुदूरपश्चिम । देउवाले आफ्नो गृह प्रदेशमा आफ्नै समूहका नेतालाई प्रदेश सभापति बनाउन सफल भएका छन् । 

उनले आफ्ना विश्वासपात्र, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य वीरबहादुर वलायरलाई प्रदेश सभापति बनाउन सफल भए । बलायरले संस्थापन इतरका नारायणदत्त मिश्रलाई पराजित गरे । 

देउवा पक्षले सभापति मात्र जितेन । सिङ्गो कार्यसमितिमा प्यानलले नै कब्जा गर्न सफल भयो । कुल खसेको १ हजार ३ मतमध्ये बलायरले ६६८ मत प्राप्त गरे । 

मिश्रले भने २८० मतमा चित्त बुझाउनु पर्‍यो । यस्तै, उपसभापतिमा देउवा पक्षकै बलायर प्यानलबाट जनकराज चौधरी र लोकराज अवस्थी विजयी भए । महामन्त्रीमा मेघराज खड्का र नरनारायण शाह मनु विजयी भए । 

सहमहामन्त्रीमा चिन्तामणी भट्ट, गोपाल दत्त भट्ट र महिला सहमहामन्त्रीमा अम्बिका कुमारी चलाउने विजयी भए । 

यस्तै सभापति देउवाले सुदूरपश्चिम प्रदेशमात्र होइन कर्णाली प्रदेशमा पनि आफ्नो प्रभाव छाड्न सफल भए । 

कर्णालीमा देउवा निकट ललितजंग शाही विजयी भए । उनले पौडेल समूहका भुपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन् ।

ललितले ४२२ मत ल्याउँदा भुपेन्द्रले ३१७ मत ल्याए । सभापतिमा विजयी शाही संविधानसभा सदस्य समेत हुन् । 

गृह प्रदेश पौडेलको जित

यता, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गृह प्रदेश गण्डकीमा आफू निकटलाई सभापति जिताउन सफल भएका छन् ।

गण्डकी महामन्त्री शशांक कोइरालाको पनि गृह प्रदेश हो । पौडेल–कोइराला समर्थनमा गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भए । 

नवनिर्वाचित सभापति शर्माले ६१२ मत ल्याएर जितेका हुन् । उनले अर्जुन जोशीलाई पराजित गरे । जोशी पार्टीको केन्द्रीय कार्यसमिति सदस्य हुन् भने पूर्वमन्त्री पनि हुन् । जोशी १२औं महाधिवेशनसम्म पौडेल समूहमै थिए । जोशीले ५२८ मत ल्याए । 
यस्तै अन्य पदहरुमा उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ निर्वाचित भएका छन् । 

महामन्त्रीमा पनि पौडेल पक्षका किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी भए । महिला सहमहामन्त्रीमा कोपिला रानाभाट विजयी भइन् ।

यस्तै पौडेल समूहबाट लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित हुँदै सभापति बन्न सफल भएका छन् । उनले ८५२ मत ल्याउँदा देउवा समूहबाट उमेदवार भरतकुमार शाह पराजित भएका छन् । शाहले ७६७ मत ल्याए । शाह प्रतिनिधि सभा सांसदसमेत हुन् । 

यस्तै प्रदेशको अन्य पदहरुमा पनि धेरै पौडेल समूहले जित्न सफल भएको छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र राजु खनालले चुनाव जित्न सफल भए । खनाल देउवा निकट मानिन्छन् । 

महामन्त्री र सहमहामन्त्री पदमा भने पौडेल समूहको वर्चस्व रह्यो । समूहबाट विक्रम खनाल  र सुरेन्द्रराज आचार्य महामन्त्री बन्न सफल भए । यस्तै निमा गिरी, बिष्णु खनाल मुस्कान र खगराज पाण्डे सहमहामन्त्री बन्न सफल भए । 

वाग्मतीमा प्रकाशमानको हार 

गृह प्रदेशमा वाग्मतीमा भने प्रकाशमान सिंह समूह पराजित भएको छ । सिंह संस्थापनइतर समूहबाट १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी हुन् । सिंहले समर्थन गरेका उमेदवार जगदिश्वरनरसिंह केसी पराजित भए । यहाँ संस्थापन पक्ष अर्थात् देउवा टिमले कब्जा जमाउन सफल भयो । 

पहिलो चरणमा सभापति पदमा त्रिपक्षीय भिडन्त भएको थियो । जसमा देउवा समूहबाट इन्द्र बानियाँ, पौडेल समूहबाट जगदीश्वनर सिंह केसी र सिटौला समूहबाट भिमसेनदास प्रधान सभापतिमा भिडेका थिए । तर, पहिलो चरणमा ५१ प्रतिशत स्पष्ट नहुँदा दोस्रो चरणमा मतदान पुगेको थियो । 

दोस्रो चरणमा प्रधानले बानियाँलाई सहयोग गरे । अर्थात् देउवा सिटौला सहकार्य भयो । जसमा केसीलाई १५८ मत अन्तरले हराउँदै बानियाँ सभापति बन्न सफल भए । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो । जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाए । 

आफैँले मतदान नगर्दा शेखरको गुम्यो गृह प्रदेश 

प्रदेश १ मा भने नेता कृष्ण सिटौलाले प्रदेशको नेतृत्वमा आफ्नो समूह पुर्‍याउन सफल भएका छन् । सिटौला निकट नेता उद्धव थापा सभापति बन्न सफल भएका छन् । थापा जिताउन सिटौला देउवा सहकार्य भएको थियो । सिटौला पनि १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । 

प्रदेश १ सभापतिका अर्का आंकाक्षी शेखर कोइरालाको पनि गृह प्रदेश हो । कोइराला पनि १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । 

तर उनै कोइरालाले मतदान नगर्दा आफैँले उठाएका सभापति उमेदवार गुरु घिमिरले २ मतले पराजय भोगे । कोइरालासँगै केन्द्रीय सदस्यहरु महेश आचार्य, सुजाता कोइराला र बलबहहादुर केसीले मतदान गरेनन् । यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि मतदान प्रकृयामा भाग लिन गृह प्रदेश गएनन् । 

यो प्रदेशमा थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत प्राप्त गरे । 

रोकियो प्रदेश २ को अधिवेशन 

सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधिको गृह प्रदेश अर्थात् प्रदेश २ को अधिवेशन स्थगन भएको छ । प्रदेश २ मा ८ जिल्ला छन् । ती मध्ये सबै जिल्लाको निर्वाचन क्षेत्रीय अधिवेशन मात्र सम्पन्न हुने भएको छ । 

लामो समय क्रियाशील र पार्टी समायोजन विवाद हुँदा प्रदेश २ का जिल्लाहरुमा ढिला गरि अधिवेशन प्रकृया सुरु भएको थियो ।

यहाँ केन्द्रीय महाधिवेशन अघि नै अधिवेशन गर्न असम्भव देखिएपछि केन्द्रीय निर्वाचन समितिले जिल्ला र प्रदेश महाधिवेशन पछाडि धकेलेको हो । 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro