काठमाडौं । विवादित बनेको प्रदेश नम्बर–२ को प्रदेश अधिवेशन स्थगित भएको छ । केन्द्रीय महाधिवेशनपछि प्रदेश अधिवेशन गर्ने सहमति पार्टीका तीनवटै पक्षबीच भए पनि महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय अधिवेशन नै नभएका जिल्लालाई महाधिवेशनमा सहभागी गराउने अथवा नगराउने विषयमा अझै कुनै निर्णय भएको छैन । अहिलेसम्म सर्लाहीका ४ र महोत्तरीको क्षेत्र नम्बर–३ मा अधिवेशन भएको छैन ।
“सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्भव नभएपछि प्रदेश अधिवेशन स्थगित गर्नुपरेको हो,” कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले भने, “प्रदेशकै नेताहरुले आपसी समझदारीमा केही निर्णय गर्नु होला ।” उनले महोत्तरीमा अधिवेशन हुँदै गरेको जानकारी आएकोभन्दै सर्लाहीका निर्वाचन क्षेत्रहरुमा भने अधिवेशन सुरु भइनसकेको जानकारी दिए ।
केसीले त्यसो भन्दै गर्दा प्रदेश–२ का नेताहरु बिमलेन्द्र निधिको विश्वासमा देउवा, पौडेल–कोइराला र निधिपक्षबीचको समझदारीमा प्रदेश अधिवेशन स्थगित गरी महाधिवेशन पछि गर्ने निर्णय भइसकेको छ ।
प्रदेश महाधिवेशन स्थगित भएपछि क्षेत्रीय अधिवेशन नै नभएका स्थानबाट महाधिवेशनमा कसले भाग लिने भन्ने विषयमा कुनै निर्णय भएको छैन । यसले अधिवेशन हुन्छ÷हुँदैन अन्योल खडा भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले सम्भव भएसम्म अधिवेशन गर्ने भन्ने समझदारी रहेको जानकारी दिए । “बाँकी रहेका निर्वाचन क्षेत्रमा निरन्तर गर्दै जाने भन्ने छ,” श्रेष्ठले भने ।
गत महाधिवेशनमा विवादकै कारण देखाएर धनुषा–५ लाई महाधिवेशनबाटै बञ्चित गरिएको थियो । त्यहाँको विवाद कायम रहेका कारण अहिले पनि धनुषाका नेता डा. चन्द्रमोहन यादवले आमरण अनसन सुरु गरेपछि त्यहाँको विवाद समाधान गरिएको छ । तर, प्रदेश नम्बर–२ का जिल्लामा अधिवेशन नै अन्तिममा मात्र सुरु गरियो भने संस्थापन र संस्थापनइतर पक्षबीच क्रियाशील सदस्यता विवाद जारी रहँदा अझै सर्लाहीको अधिवेशन हुन सकेको छैन । त्यहाँ प्रदेशसभा निर्वाचन क्षेत्रमै अधिवेशन सम्भव नहुँदा प्रदेश अधिवेशन नै प्रभावित भएको छ । तर, केन्द्रीय नेताहरु विवाद समाधान गर्नेभन्दा विवाद बढाएर लाभ लिने बाटोमा लाग्दा अधिवेशन हुने/नहुने नै अनिश्चित छ ।
सर्लाही क्षेत्र नम्बर–४का निर्वाचित सांसद अम्रेसकुमार सिंह बाँकी रहेको अवधिमा क्षेत्रीय अधिवेशन हुने दाबी गर्छन् । “महाधिवेशनबाट कुनै जिल्लालाई बञ्चित गर्ने भन्ने हुनै सक्दैन,” सिंहले बाह्रखरीसँग भने, “अब निरन्तर अधिवेशन हुन्छ र सर्लाहीसहित सबै जिल्लाले महाधिवेशनमा भाग लिन पाउनुपर्छ ।” उनले अबका केही दिनमा महाधिवेशन हुने विश्वाससमेत व्यक्त गरे ।