नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले नेतृत्व चयन गरेकाे छ । एमालेमा अध्यक्ष खड्गप्रसाद ओली नै ठूलो मतान्तरबाट चुनिएका छन् । राप्रपामा भने तीव्र प्रतिस्पर्धाबाट राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष चुनिएका छन् ।
नेपाली कांग्रेसकाे प्रदेश तहकाे अधिवेशन भएकाे छ । प्रदेश नम्बर २ बाहेक अन्यत्र निर्वाचन भइसकेकाे वा भइरहेकाे छ । यी पङ्क्तिहरू लेख्दासम्म कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा निर्वाचन परिणाम घोषणा भइसकेकाे छ । गण्डकीमा दुई समूहबाट मात्र उमेदवार थिए । ‘त्रिपक्षीय भिडन्त’ भएकाे वाग्मतीमा भने पुनः मतदान हुनेछ ।
तल्ला तहका संगठनहरूमा एमाले र राप्रपामा खासै प्रतिस्पर्धा भएन । नेकपा (माओवादी केन्द्र)ले पनि राष्ट्रिय अधिवेशन यही मंसिरमा गर्दैछ । नेपाली कांग्रेसकाे वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीकाे संरचना छ । यति धेरै संरचना हुँदा पनि लगभग सबै पदमा चुनाव भएकाे देखियो । यसलाई लोकतान्त्रिक राजनीतिप्रति आकर्षण बढेकाे ठान्न सकिएला ।
त्यतिमात्र हाेइन यसपटक नेपाली कांग्रेसका तल्ला तहमा थुप्रै नवयुवा विजयी भएका छन् । तीमध्ये कतिले त चुनाव लड्दा पनि सबैभन्दा धेरै मत ल्याएका छन् । बाबुले चुनाव हारेका तर छोराछोरीले जितेका थुप्रै उदाहरण सार्वजनिक भएका छन् । अर्थात्, बूढापाकाकाे पार्टी कहलिएकाे कांग्रेसमा तरुण पुस्ता यसपल्ट बढी नै आकर्षित भएकाे देखियो ।
अरू पार्टीका तुलनामा कांग्रेस महाधिवेशनकाे बढी चर्चा भएकाे कारण जनतामा कांग्रेस वा यसका नेताप्रति आकर्षण भएकाे अर्थ भने लगाउन मिल्दैन । यस्तै कांग्रेकाे विभिन्न पदमा बढेकाे तरुण सहभागिता पनि पार्टीकाे अहिलेकाे साख वा नेताकाे छविका कारणले पक्कै होइन । अहिले नेपाली कांग्रेसकाे क्रियाशील सदस्यता लिने वा विभिन्न तहमा प्रतिनिधित्व गर्न तम्सिने तरूणहरू मध्ये अधिकांश गर्भे कांग्रेस छन् । तीमध्ये धेरै त तीन पुस्ते कांग्रेस हुनुपर्छ ।
यिनलाई पार्टीमा क्रियाशील गराइराख्न सजिलो हुनेछैन । कतिपयले व्यक्तिगत कारणले नै सक्रिय राजनीति छाड्नेछन् । कति पार्टीभित्रको बेथिति भोगेपछि पन्छनेछन् । नवकुबेरका सन्तानबाहेक अरूलाई राजनीतिमा टिक्न सजिलो छैन । यस्तै, अहिलेका युवा भनिने अधबैंसे नेताहरूले जसरी विकृति र बेथिति सहन नसक्नेहरू पनि पार्टी छाडेर बाटो लाग्नेछन् । यत्ति हो, कांग्रेसका यी तीन पुस्ते कार्यकर्ता पार्टी फुटाउन तम्सनेछैनन् र चुनावमा मतदान गर्न गए भने रूखमै भोट हाल्नेछन् ।
अहिले देखिएकाे उत्साहलाई पार्टी र त्यसभन्दा पनि देशका हितमा काम गर्ने ऊर्जा बनाउने हो भने नेपाली कांग्रेस अहिले देखिएकाे ‘भुइँफुट्टा’ वर्गकाे संस्कारबाट मुक्त हुनुपर्छ । नेताहरूकाे विलासी जीवन शैली बदल्नुपर्छ । नेताहरूले जीवन शैली बदल्न नसक्ने हो भने पार्टीले नेता बदल्नुपर्छ ।
कांग्रेस सबै वर्गकाे प्रतिनिधित्व गर्ने उदार लोकतान्त्रिक पार्टी थियो । बिस्तारै यसका नेताहरूमा ‘सम्भ्रान्त’ देखिन चाहने रोग लाग्यो । उनीहरू व्यवहारमा सामन्त भए । सम्भ्रान्त देखिन उनीहरूले जीवन शैलीलाई विलासी बनाएका छन् । यसले कांग्रेसलाई जनताबाट टाढा बनाएकाे छ । धनाढ्यका खोपीमा रमाउन थालेका नेताहरूले गरिबका त भाषासमेत बिर्सिदिएका छन् ।
राजनीतिमा उत्साहपूर्वक लागेका तरुणहरूले भने समाज परिवर्तनकाे सपना दखेकाे हुनुपर्छ । उनीहरूकाे सपनाकाे परिवर्तन पक्कै पनि बढी लोकतान्त्रिक, उदार र सम्पन्न तथा समानतामूलक होला । नेताहरूकाे आचरण भने ठीक उल्टो देखे, भोगेपछि ऊर्जाशील तरूण मनमा जन्मने त विद्रोह र विरक्ति नै हो । कांग्रेसको विकृति देखेर विद्रोह गर्ने तरुणहरू राजनीतीमै नअडिने दृष्टान्त धेरै छन् । विरक्त युवा त झन् यसै पलायन हुने नै हुन् ।
यसैले कांग्रेस नेताहरू अहिले पार्टीमा सक्रिय भएका तरूणहरू कांग्रेस नेता विश्वप्रकाश शर्माका शब्दमा ‘किशाेर सदस्य’लाई पार्टीमा अड्याउने हो भने नेतामात्र हैन नेताहरूकाे संस्कारमा पनि परिवर्तन आवश्यक छ । नवकुबेरका सन्तानबाहेक अरूकाे पनि पार्टीमा भविष्य छ भन्ने देखाउनुपर्छ ।
यसका लागि नेपाली कांग्रेसभित्र राजनीतिक संस्कृतिको पुनर्जागरण हुनुपर्ने उपयुक्त समय भएकाे छ अहिले । अरूले नयाँ संस्कार र संस्कृति बसाउनुपर्छ । कांग्रेसले पुरानो संस्कार सम्झे पुग्छ ।
नवकुबेरका सन्तान वा भुइँफुट्टाहरू राजनीतिमा जम्ने र संघर्षशील कार्यकर्ता पलायन हुने स्थिति अन्त्य नभए गर्भे कांग्रेसहरू पनि पार्टीमा बस्नेछैनन् । विडम्वना, राजनीतिक संस्कृतिकाे पुनर्जागरण भने कांग्रेस नेताकाे प्राथमिकता सूचीमा पर्ने देखिँदैन ।