site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९ वर्ष ‘रजगज’ गरेका कमल थापा कमजोर बन्दैछन् ? लिङ्देनलाई पूर्वराजाको पनि साथ ! 

काठमाडौं । “राजेन्द्र भाइले मलाई दिएको बचन तोड्नुभो । हामी पाथीभरा गएको बेला त्यहाँ आँखाभरी आँसु झार्दै तपाईंले कुनै अपराध नगरीकन धेरै ठूलो आरोप लाग्ने गरेको छ, यो भाइ कसम खान्छ, म तपाईंको पक्षमा छु, सक्रिय राजनीतिक गरुन्जेल म साथ दिन्छु भनेका थिए, तर उनी कसको उक्साहटमा लागे । जसले उनलाई उक्साए उनीहरुलाई माता भगवतीले हेर्नेछिन्,” कमल थापाले सोमबार पार्टीको आसन्न महाधिवेशनका लागि अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै भावुक भएर दिएका अभिव्यक्ति हुन् यी ।

भाषणमा सधैँ ‘शेर’झैँ प्रस्तुत हुने अध्यक्ष थापाले सोमबार दिएको अभिव्यक्ति निरीह देखिन्थ्यो । बुधबारदेखि हुन लागेको एकता महाधिवेशनमा उमेदवारी घोषणा गरिरहँदा उनले दिएका अभिव्यक्तिले उनी इतिहासमै यति धेरै कमजोर देखिएको उनीसँगै लामो संगत गरेका एक नेताको टिप्पणी थियो ।

यसो हुनुमा उनका विश्वास पात्र मानिएका राजेन्द्र लिङ्देनले उनकैविरुद्ध पार्टी अध्यक्षमा उमेदवारी दिनु र एकतामा आएको राप्रपा प्रजातान्त्रिक र राप्रपा(राष्ट्रवादी) का अध्यक्षहरु पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको समेत साथ नपाउनु प्रमुख कारण हुन् । 

हुन त थापालाई लामो समय साथ दिएका निकटस्थमध्येका मोहन श्रेष्ठ, रवीन चाम्लिङसहितका नेताहरु ६ महिना अघिदेखि नै नेतृत्व पुस्तानान्तरण अभियान चलाउँदै हिँडेका थिए । 

पार्टीमा १९ वर्ष एकल शासन गरेका थापाले यति कमजोर र गलेको अभिव्यक्तिहरुको शृङ्खला यतिमा मात्र सीमित छैन । 

आफूसँग उमेर र युवाको कुरा गर्नेहरुलाई टुँडीखेलमा दौडिन निम्ता बाँड्दै हिँड्न थालेका छन् । 

दौडमा आफू पराजय भोगे अध्यक्षको उमेदवारी छोड्ने उनको भनाइ थियो ।  “यो नै थापाको पराजित मानसिकता हो,” राप्रपाका एक नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।

पाँचपटक फुट्ने र उत्तिकै पटक जुट्ने इतिहास बनाएको यो पार्टीले २०७६ साल फागुनमा राप्रपा र राप्रपा(संयुक्त) पार्टी एकता गरेर राप्रपा बनेपछि पहिलो पटक एकता महाधिवेशन गर्दैछ । 

तर, एकता महाधिवेशनबाट पुनः अध्यक्ष बन्छु भन्ने थापालाई आफैँले २०५९ सालमा पार्टी विभाजन गरेर केन्द्रीय सदस्य र पछि महामन्त्री बनाइएका राजेन्द्र लिङ्देलनले चुनौती दिएपछि आफूले राप्रपाबाट शक्ति गुमाउने भय बढेको छ । 

तीनपटक केन्द्रीय सदस्य र तीनपटक अध्यक्षमा निर्वाचित हुँदा कहिल्यै भोट माग्नु नपरेको भन्दै उनी यतिबेला ‘आफु कमजोर अवस्थामा पुगेको’ महसुस गरेको ती नेताको टिप्पणी थियो ।

“म भावुक महसुस गरिरहेको छु । मैले राष्ट्रिय प्रजातन्त्र पार्टी २०४७ मा स्थापना भएयता तीनपटक केन्द्रीय सदस्य र तीन पटक पार्टीको अध्यक्ष भएर काम गर्ने मौका पाएँ, यी छ पटक कहिले पनि उमेदवारी घोषणा गरिन । छ पटक नै भोट पनि मागिन,” उनी भन्छन् । 

आखिर १९ वर्षे लामो पार्टीमा एकलौटी रजगज गरेका थापा किन यति कमजोर हुनुपर्‍यो त ? 

नेता गणेशलाल श्रेष्ठ पार्टीमा तानाशाह र हैकमवादको दियो निभ्न लागेपछि अभिव्यक्तिहरु आउनु स्वाभाविक भएको टिप्पणी गर्छन् । “उहाँ कोही माथि आएको देख्न चाहनुहुन्न, पार्टीमा हैकमवाद कायम गरेर आफ्नो वरिपरि अरुलाई नचाउन चाहनुहुन्छ जुन सम्भव छैन,” उनी भन्छन् । 

पार्टीको एजेन्डा भजाएर पटक पटक अवसरको राजनीति र त्यसबाट फाइदा लिएका थापालाई पार्टीभित्र मन नपराउने जमात ठूलो रहेको उनको टिप्पणी छ । 

धर्म निरपेक्षता हटाएर हिन्दु राज्य बनाउनुपर्ने, संवैधानिक राजसंस्थाको वकालत गर्ने पार्टीमा थापाकै कारण पार्टीको एजेन्डा कमजोर भएको इतरसमूहको बुझाइ छ । 

दोस्रो संविधान सभामा २५ सिट हासिल गरेको पार्टी २०७४ सालको तीन तहबाट राष्ट्रिय दलको मान्यता पाउन पनि सकेन । 

नेता श्रेष्ठ पार्टीको हरिविजोग हुनुमा सिङ्गो दोष कमल थापामा थोपर्छन् । 

राप्रपाभित्र थापाले एजेन्डाको व्यापार व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्र गरेको संगिन आरोप छ । 

थापाले पहिलोपटक २०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा उपप्रधानसहित परारष्ट्र मन्त्रीको जिम्मेवारी पाएका थिए । सोही अवधिमा जेनेभा पुगेर थापाले नेपालको संविधान विश्वको उत्कृष्ट संविधान भनेका थिए । सोही समयदेखि पार्टीमा थापाको शाख ओरालो लागेको श्रेष्ठको दाबी छ । 

“संविधान निर्माता बाबुराम भट्टराई, मधेश केन्द्रित दलका नेताहरु संविधान अपूर्ण छ यसको विकल्प दिनुपर्छ भनिरहेका छन् । तर उहाँ भने यही संविधानलाई विश्वसको उत्कृष्ट संविधान भन्दै हिँडेपछि कसरी उहाँले पार्टीको सिद्धान्त र एजेन्डालाई बोक्न  सक्नुभयो र?,” उनी भन्छन्,“पार्टीले त संवैधानिक राजसंस्थाको वकालत गर्दै आएको छ ।” 

राजेन्द्रलाई पार्टी सुम्पने गृहकार्य 

थापा एकपछि अर्को अवसरमा पुलकित हुँदै गएपछि राप्रपाभित्र नेतृत्व परिवर्तनको बहस भएको हो । थापाले पार्टीभित्र सरसल्लाह नै नगरी अवसर उपभोग गर्ने क्रम बढेपछि विकल्प खोज्नुपर्ने आवाज उठेको हो । 

पछिल्लो समय अर्थात् केपी शर्मा ओलीको सत्ता ढल्ने बेलामा पनि थापा मन्त्री बन्न कम्मर कसेको स्रोतको दाबी छ । उनले आफू मन्त्री बन्न नसक्दा दीपक बोहोरालाई अगाडि सारेका थिए । तर, पार्टीबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निषेध गर्ने नीति उनले लिएको स्रोतले बाह्रखरीसँग दाबी गर्‍यो । 

“६ महिना भए नि मन्त्री खान तम्सिनुभएको थियो, राजेन्द्रजीलाई सो विषय मन परेन,” स्रोतले भन्यो, “उहाँ पद र शक्तिको पूजारी हो, पद पाउन जुनसुकै हदमा तल झर्न सक्नुहुन्छ । पद पाउने भए आफ्ना विश्वासपात्रलाई लात मार्नु उहाँका लागि कुनै नौलो विषय होइन ।”

दोस्रो संविधान सभाको चुनाव पश्चात् पनि थापाले आफू निकटलाई पद बाँडेका थिए । सो बेला थापाको नाम समानुपातिक सांसदको एक नम्बरमा थियो । 

दोस्रोमा दिलविकास राजभण्डारीको नाम थियो । थापाले दिलविकासको नाम काटेर अरुलाई नै त्यो सिट दिएका थिए । त्यसपश्चात् दिलविकासले विस्तारै थापाविरुद्ध मोर्चावन्दी कस्न थालेका हुन् । 

उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको हैसियतमा विदेश पुगेर संविधान उत्कृष्ट भनेपछि थापाविरुद्ध राजेन्द्रहरु निराश भएका हुन् । 

२०७४ को चुनावमा पार्टी ३ टुक्रा भयो र चुनावमा उनको पार्टी राष्ट्रिय दल पनि बन्न सकेन । पार्टी एकता भएपश्चात् नेपालगञ्जमा भएको कार्यक्रममा धवलशमशेर विरुद्ध पनि थापा आक्रोशित भएका थिए । 

राप्रपाका एक नेता डेढ वर्ष अघिदेखिनै राजेन्द्रलाई अध्यक्ष बनाउन दिलविकास, धवल, गणेशलाल लगायतका नेताहरुले तयारी थालेका हुन् । 

अहिले पार्टी अध्यक्षत्रयमध्ये डा. प्रकाशचन्द्र लोहनी पनि लिङ्देनको पक्षमा उभिएका छन् । नयाँ पुस्तालाई काम गर्न दिन सके पार्टी सवल र सुदृढ बन्ने ठान्छन् ।

“संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिवद्ध भएकाले पार्टीका कार्यकर्ताहरु देशभक्त र सबै नेपालीको समृद्धिको लागि प्रतिवद्ध छन् । यो प्रतिवद्धतालाई मूल आदर्शको रुपमा लिएर अगाडि वढ्न नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिनुपर्छ,” उनी भन्छन् । 

निर्मल निवासको पनि साथ 

अध्यक्षमा उमेदवारी दिएका स्वयम् राजेन्द्र लिङ्देन र महामन्त्रीका उमेदवार धवलशमशेर जबरा अध्यक्षत्रयको हातमा पार्टी गए इतिहासमा सीमित हुने बुझाइमा छन् । उनीहरुलाई अवसरवादी नेतृत्वले पार्टी सखाफ पार्ने भय छ । पार्टी एकता भएपश्चात् जागेको आशा पनि निराशामा बदलिन पुगेको बुझाइ छ । 

बाह्रखरीसँगको संवादमा अध्यक्षका उमेदवार लिङ्देन यसरीनै अघि बढे पार्टी गोरखा परिषद वा प्रजा परिषदको बाटोमा अघि बढ्ने बताउँछन् । एकता पश्चात् पार्टी जनताको आशा भरोसाको केन्द्र बन्छ भन्ने आश गरिएपनि नेताहरु परिवर्तन नभएको उनको बुझाइ छ । 

“नेताहरु परिवर्तन होलान्, विगतको गल्ती कमी कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुहोला भनेर हामीले ठानेका थियौं । तर दुईवर्ष अघिदेखि हाम्रो पार्टी उहाँहरु तीनजनाको बीचमा बन्धक अवस्थामा छ । त्यसैले हामीले यो महाधिवेशनबाट नेतृत्व परिवर्तन कुरा उठाएको हो,” उनी भन्छन् । 

राजेन्द्र निकट नेताहरु आफूहरुलाई निर्मल निवासको पनि साथ सहयोग भएको बताउँछन् । बाटामा राजा र हिन्दुधर्मको बहस र आन्दोलन तातिरहेको अवस्थामा त्यसको नेतृत्व गर्न पनि पूर्वराजाले सहयोग गर्ने प्रतिवद्धता जनाएको दाबी निकट स्रोतको छ । यसका लागि चरणबद्ध संवाद भएको छ । 

“हिजो साँझ पनि संवाद भयो, हामीलाई अघि बढ्नू भन्ने निर्देशन आयो,” उनले भने ।  पूर्वराजा त कमल थापासँग निकट होलान् नि भन्ने प्रश्नमा स्रोत ठाडै अस्विकार गर्छ । 

“उनै थापा गृहमन्त्री हुँदा राजसंस्था गयो, उनै थापा राजाको नाम बेचेर आफू शक्तिशाली बनिरहेका छन् । भजन राजाको गाउँछन् अनि राष्ट्रपतिको समर्थक बस्छन्, कसरी राजाले उनलाई पत्याउनु ?,” स्रोत भन्छ । 

तस्बिर ः रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro