जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाहीमा वडा अधिवेशन पुनः स्थगित भएको छ । केन्द्रीय कार्यालय सानेपामा भएको सहमति विपरित काम गर्दा आज (शुक्रबार)को लागि तय भएको अधिवेशन स्थगित भएको हो ।
संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पूर्व सभापति लक्ष्मण राय समूहबीच क्रियाशील सदस्यताको विषयमा पुनः विवाद सिर्जना भएको हो । क्रियाशिल सदस्यता विवादका कारण चार पटक तय भएको अधिवेशन स्थगित भइसकेको छ ।
केन्द्रीय नेता कृष्णप्रसाद सिटौला र रमेश लेखकको हस्ताक्षर भएको क्रियाशील सदस्यहरुलाई मात्र मान्यता दिने दुबै पक्षबीच सहमति भएको थियो । तर, अहिले संस्थापन निकटका सभापति नागेन्द्र कुमार रायले बिना नम्बर र बिना हस्ताक्षरको क्रियाशील सदस्यहरु थप गरिएको संस्थापन इतरको आरोप छ । संस्थापन इतरका नेता लक्ष्मण रायले फर्जी सदस्यता पाइएको बताए । फर्जी सदस्यता पाए पनि अधिवेशन स्थगित गर्न निर्वाचन अधिकृतलाई ध्यानाकषर्ण गराएको उनले जानकारी दिए । गोला प्रथाबाट वडामा मतदान अधिकृत खटाउने निर्णय गरेर आए पनि जिल्ला सभापति लक्ष्मणले आफ्नो हिसाबले मतदान अधिकृतहरुको सूची तयार पारेको उनको भनाइ छ ।
यता, जिल्ला सभापति नागेन्द्र कुमार रायले पराजय हुने डरले अर्को पक्षले बखेडा गरेको बताए । सहमति भइसकेको अवस्थामा पुनः बिना कारण अधिवेशन हुन नदिने षड्यन्त्र गरिएको उनको तर्क छ । सहमति विपरित क्रियाशील सदस्यता नथपिएको उनले स्पष्ट गरे । निर्वाचन अधिकृत भरत राउतले शनिबार वडा अधिवेशन गराउन दुवै पक्षबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए । स्थगितभन्दा पनि आवश्यक तयारी नहुँदा आज स्थगित गरिएको उनले बताए ।
यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादका कारण राजीनामा दिएर गएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि मंसिर २ गते हातपात भएको थियो । त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरुलाई काठमाडौं बोलाएर सहमति गराई मंगलवार मात्रै जिल्ला पठाइएको भए पनि पुनः बिहीबारबाट विवाद सुरु भएको छ । नेताहरुले सहमति गरे पनि कार्यान्वयन नगर्दा विवाद उत्पन्न भएको हो । दुबै पक्षका नेताहरु आफ्नो आफ्नो अडानका कारण अधिवेशन हुन दिएको छैन ।