
काठमाडौं । ०७६ फागुन २८ गते राति कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा (संयुक्त)बीच एकीकरण सम्झौतापत्रमा हस्ताक्षर भयो । सोही हस्ताक्षर भएको करिब दुई वर्ष पुग्न लाग्दा राप्रपाले एकता महाधिवेशन गर्दैछ ।
राप्रपाले यही मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन गर्दैछ । हाल तीनजना अध्यक्ष रहेको राप्रपाले अधिवेशनबाट कसलाई नेतृत्वका रूपमा पाउँछ भन्ने आम चासोको विषय बनेको छ ।
राप्रपाले नेपाल हिन्दु राष्ट्र घोषणा हुनुपर्ने, संवैधानिक राजतन्त्र संविधानको प्रस्तावनामा लेखिनुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका एजेन्डा बोकेको छ ।
२०४७ जेठ १५ गते एकैदिन दुईवटा पार्टी भएर जन्म लिएको राप्रपाले अझै पनि ‘पञ्चहरूको पार्टी’ भन्ने ट्याग मेट्न सकेको छैन ।
राप्रपा स्थापनाकालका नेताहरू जबरा, डा. लोहनी र स्थापनाको केही वर्षपछि उदाएका थापाको छत्रछायामा छ । अर्कोतिर ३१ वर्षको इतिहासमा पाँच फुट र पाँचपटक पार्टी एकीकरण भएको तितो अनुभव राप्रपासँग छ ।
पछिल्लोपटक दुई वर्षअघि पार्टी एकता भएपनि राप्रपा चलायमान हुन सकेको छैन । सडकमा ‘राजा आऊ, देश बचाऊ, धर्म निरपेक्षताको खारेजी’ नारा लिएर हजारौँ नागरिक सडकमा उत्रिए । तर, त्यसको नेतृत्व राप्रपाले लिन सकेन ।
सँगै पार्टी विस्तारै कार्यकर्ताबाट बहिस्कृत हुँदै गएको राप्रपाकै नेताहरु बताउँछन् ।
“अलिकति महाधिवेशन गर्न ढिला गरेको भए त हामी डुब्ने रहेछौँ । गाउँमा गाउँमा हाम्रा नेता कार्यकर्ता कांग्रेस र कम्युनिस्ट पार्टीमा प्रवेश गरिसकेका छन् । यहाँभन्दा ठूलो घाटा हामीलाई के लाग्छ र ?,” पार्टीका एक जिम्मेवार नेताले भने ।
यही कारण मंसिर १५ देखि १७ सम्म हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई नीति र नेतृत्वको बहसका कारण चासोका साथ हेरिएको छ ।
अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूले विवेक पुर्याउन सके पार्टी जोगिने, नभए पार्टीको अस्तित्व इतिहासमा सीमित हुन्छ कि भन्ने चिन्ता अहिले राप्रपाका दोस्रो पुस्ताका नेताहरूमा छ ।
“हामीसँग नेपाली माटो सुहाउँदो देश चलाउने एजेन्डा छ । तर, हामीले राप्रपालाई राष्ट्रिय पार्टी नै बनाउन सकेनौँ,” पार्टीका पूर्वमहामन्त्री धवलशमशेर राणा भन्छन्, “यहाँभन्दा तल जाने ठाउँ छैन । कि त हामी अब सिद्धिनुपर्छ कि त पार्टी जोगाउनु पर्छ, हामीसँग विकल्पनै छैन ।”
पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देन अध्यक्षत्रयले पार्टीलाई बन्धक बनाउनबाहेक दुई वर्षभित्र पार्टीले माखो मार्न नसकेको बताउँछन् । तीन प्रतिशत थ्रेस होल्डसमेत कटाउन नसक्नु जति लज्जाबोध पार्टीका लागि अर्को नहुने उनको तर्क छ । बरु पार्टी गोर्खा परिषद्, प्रजापरिषद्को हालतमा पुगेको उनले बताए ।
“यतिसम्म कि कांग्रेस र कम्युनिस्टको साख स्खलित भइरहेको अवस्थामा हामीले त्यसको लाभ लिन सकेनौँ,” उनी भन्छन्, “अध्यक्षत्रयले पार्टीलाई बन्धक बनाउनबाहेक अर्को काम गर्न सकेनन् ।”
नेतृत्वको आकांक्षी
एकता महाधिवेशनबाट राप्रपाले कस्तो नेतृत्व चयन गर्छ भन्ने आम चासो हो । नीति, एजेन्डाबाट चिप्लिएर पाएको अवसरमा लिप्त राप्रपाको नेतृत्वले फेरि पनि पार्टीको बागडोर सम्हाल्छन् या महाधिवेशनबाट बिदा हुन्छन् भन्ने चासो छ ।
पार्टीको आसन्न महाधिवेशनमा पुराना नेता तथा वर्तमान अध्यक्ष जबराले अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । उनी आफू निकट नेताहरूसँग अन्तिमपटक आफू पार्टीको नेतृत्व गर्ने भन्दै ‘सेन्टिमेन्ट क्यास’ गर्ने ध्येयमा छन् ।
उनी निकट नेता किशोर कार्कीकाअनुसार पार्टी अध्यक्ष उठ्ने जबराको तयारी अन्तिम चरणमा पुगेको छ । “उमेदवार बन्छु भनेर उहाँले हामीसँग भन्नुभएको छ,” बाह्रखरीसँग उनले भने ।
यता, पार्टीका अर्का अध्यक्ष कमल थापा पनि अध्यक्ष बन्ने तयारीमा छन् । थापाले पत्रकार सम्मेलन गरेरै पार्टी अध्यक्षको घोषणा गर्ने निकट स्रोत बताउँछ । उनको टिमबाट महामन्त्री लड्ने तयारीमा रहेका नेता भुवन पाठक थापाले टिम बनाएरै चुनाव लड्ने बताए ।
अर्का अध्यक्ष डा. लोहनीले भने अहिलेसम्म मुख खोलेका छैनन् । उनी नेतृत्व पुस्तानान्तरणको पक्षमा रहे पनि दुई अध्यक्षले उमेदवारी दिए आफू पनि लड्ने तयारीमा छन् ।
राजेन्द्र र धवलमा टिकेको आश
राप्रपालाई ‘पुस्तानान्तरण गर्छु’ भन्दै पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देन पनि पार्टी अध्यक्षमा उमेदवारी दिने घोषणा नै गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेरै पार्टी अध्यक्षमा उठ्ने घोषणा गरेका उनले अब पनि राप्रपा अध्यक्षत्रयको हातमा गए प्रजापरिषद् बन्ने बताए ।
लिङ्देनलाई पार्टीका पूर्वमहामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले साथ दिएका छन् । राणाको प्रस्तावमा लिङ्देन पार्टी अध्यक्षमा उठ्ने पक्का भएको छ । यस्तै, राणा आफूले भने महामन्त्रीमा लड्ने बताएका छन् ।
अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै नेता लिङ्देनले पार्टीले एजेन्डा भुलेर स्वार्थलिप्त हुँदा जनताले आफूहरूलाई विश्वास नगरेको बताए ।
समयले खोजेको नेतृत्वको परिवर्तनले मात्र पार्टीमा ऊर्जा आउने उनको बुझाइ छ । राप्रपा अध्यक्षत्रयको कब्जाले दुब्लो भएकाले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न नसक्नुले पनि अब नेतृत्व परिवर्तन हुन जरुरी रहेको उनको तर्क छ ।
राप्रपाका संस्थापक नेता केशरबहादुर विष्ट पार्टीमा राजेन्द्र र धवलले नेतृत्व परिवर्तनका लागि गरेको विद्रोहको सम्मान गर्छन् ।
तर, उनीहरू नयाँ पुस्ताको इमान्दार र प्रभावशाली नेता भएपनि पार्टीको एजेन्डा स्थापित गर्न यी दुईलाई सहज भने नभएको उनको टिप्पणी छ ।
“एजेन्डा सफल गराउने हो भने उहाँहरूले यो संविधान च्यात्न सक्नुपर्छ । तर, उहाँहरू यही संविधान मान्छु भनेर हिँड्नुभएको छ । यो संविधान च्यात्न त कसरी सक्नुहुन्छ र ?,” उनको भनाइ थियो ।
गणतान्त्रिक व्यवस्थाको जगमा बनेको पार्टी राप्रपाले ‘राजा ल्याउँछु र धर्म निरपेक्ष खारेज गर्छु’ भन्नु उडन्ते कुरा भएको बिष्ट बताउँछन् । “यही संविधान मानेपछि कानुनप्रति इमान्दार हुनुपर्छ त्यसकारण उहाँहरूले दायाँबायाँ गर्नुको तुक छैन,” बिष्टले भने ।
तर, महामन्त्रीका उम्मेदवार राणा भने राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्रको ब्युँत्याउँदै विश्वको एकमात्र हिन्दुराज्य बनाउने अभियान र संघीयता खारेजी लगायतका महत्वपूर्ण एजेन्डालाई स्थापित गरेरै छाड्ने बताउँछन् ।
हजारौँ संख्यामा युवाहरू सडकमा राजा र हिन्दुराज्यको पक्षमा उभिएको भन्दै उनी त्यसको नेतृत्व आफूहरूले गर्नुपर्ने तर्क गर्छन् ।
“परिवर्तन भोटको माध्यमबाट मात्र गर्न सक्छौँ । हामीसँग अर्को उपाय छैन, नेतृत्व परिवर्तन गर्ने समय यही हो । पछि कराएर सम्भव पनि छैन । त्यसकारण देश र पार्टी बचाउने हो भने अब नेतृत्व परिवर्तन नगरी सुख छैन,” उनी भन्छन् ।
राप्रपा परित्याग गरेका एक नेता राजेन्द्र र धवललाई पूर्वराजा ज्ञानेन्द्र शाहको बलियो साथ भएकाले पनि उनीहरूले जित्नसक्ने आकलन गर्छन् । पूर्वराजा अध्यक्षत्रयबाट आजित भएकाले पनि त्यसको फाइदा यी दुइलाई पुग्ने उनको विश्लेषण छ । अब पार्टी जोगिन्छ भने नेतृत्व पुस्तानान्तरणले मात्र सम्भव भएको ती नेताको बुझाइ छ ।
“निर्मलनिवासको बलियो साथ उनीहरूलाई छ । किन पनि भने कमल थापाले राजाको विश्वासमा पटक पटक धोका दिएका छन्,” ती नेताले भने,“अब यी दुई पार्टीमा नआउने हो भने हेर्नुहोला राप्रपा अहिलेको भन्दा खत्तम अवस्थामा पुग्छ ।”