site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महामन्त्रीका आकांक्षी : तयारी छ गुटको टुंगो लागेको छैन !

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि अब १७ दिनमात्रै बाँकी छ । सभापतिको तयारीमा रहेका नेताहरुले समेत अहिलेसम्म टिम तयार गर्न सकेका छैनन् भने बाँकी पदका लागि तयारी गरेका आकांक्षीहरुको पनि समूह खुल्न सकेको छैन ।

संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।  समूहबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि सभापतिको तयारीमा रहेको बताए पनि उनले अन्तिम समयमा सम्झौता गर्ने कतिपय नेताहरुको टिप्पणी छ । 

यता, संस्थापनइतर समूहबाट पाँचजना सभापतिका आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिको दौडमा छन् । यस्तै, केन्द्रीय सदस्य कल्याण गुरुङले पनि आफूलाई सभापतिकै उमेदवारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

सभापतिका आकांक्षीहरुले टिमको घोषणा गर्न नसके पनि केही केन्द्रीय नेताहरुले भने विभिन्न पदमा उमेदवारी घोषणा गरिहेका छन् ।

त्यसरी गरेको उमेदवारी घोषणा हेर्दा पार्टी सभापतिपछि महामन्त्रीका पदको आकांक्षी देखिएका छन् ।

अहिलेसम्म धेरैजनाले महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् । तर, त्यसरी उमेदवारी घोषणा गर्नेहरु कुन समूहबाट महाधिवेशन लड्छन् भन्ने अझै टुंगो लागेको छैन । 

घोषणा गरेका महामन्त्रीहरु को कता ? 

पार्टी विधान संशोधनपछि पहिलोपटक कांग्रेसमा महामन्त्रीका दुवै पदमा निर्वाचन हुँदैछ । निर्वाचित महामन्त्री बन्न नेताहरुको दौडधुप पनि चलिरहेकै छ । 

उमेदवारी घोषणा गर्नेहरुमध्ये अग्र पङ्तिमा केन्द्रीय सदस्य गगन थापा छन् । थापाले १३ औं महाधिवेशनमा पनि महामन्त्री लडेर सम्मानजनक मत ल्याएका थिए । थापाले भदौ तेस्रो साता आफ्नै निर्वाचन क्षेत्रबाट आफू १४ औं महाधिवेशनमा महामन्त्रीकै उमेदवार हुने घोषणा गरेका थिए ।

१३औं महाधिवेशनमा नेता कृष्ण सिटौलाको समूहबाट महामन्त्री लडेका थापाले सिटौला समूह भने छाडिसकेका छन् ।  सिटौला समूहका नेताहरु थापालाई साथ लिएर अघि बढ्ने पक्षमा पनि देखिएका छैनन् । १४औं महाधिवेशनका लागि महामन्त्रीमा उमेदवारी घोषणा गरेको भोलिपल्टै थापा पौडेल–कोइराला समूहको भेलामा उपस्थित भएका थिए । 

तर, पौडेल–कोइराला समूहमा पनि चार जना सभापतिमा उमेदवार छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिको दौडमा छन् ।

तीमध्ये थापा कसको महामन्त्रीमा पर्छन् भन्ने चासो आम कांग्रेसजनमा देखिन्छ । 

थापाले पनि आफू को निकट भनेर खुलाएका छैनन् । तर, पार्टीका गतिविधि र वैचारिक निकटता हेर्दा थापा शेखर कोइरालासँग नजिक रहेको नेताहरु बताउँछन् ।

महामन्त्रीमा उमेदवारी घोषणा गर्नुअघि र घोषणापछि पनि शेखरसँग थापाले चरणबद्ध छलफल गरेको स्रोतको दाबी छ । 

चर्चामा रहेको अर्को नाम हो महामन्त्रीमा उमेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माको । 

उनले पनि महामन्त्रीमा उमेदवारी दिने औपचारिक घोषणा गरिसकेका छन् । वीपी जयन्तीका अवसरमा भदौ २४ मा सुन्दरीजल पुगेर महामन्त्रीको उमेदवारी घोषणा गरेका शर्माले पार्टीलाई अघि बढाउने अवधारणापत्र समेत सार्वजनिक गरिसकेका छन् । तर, उनले अहिलेसम्म आफू कुन समूहबाट लड्ने भन्ने खुलाइसकेका छैनन् । 

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छोडेर देउवा समूहमा गएर केन्द्रीय सदस्य लडेका शर्मा त्यसयता देउवा समूहमै आवद्ध छन् । पार्टी प्रवक्तासम्मको भूमिका त्यही समूहबाट पाएका शर्मा देउवा समूहबाटै महामन्त्री बन्न लागि रहेका छन् । 
तर देउवा टिमले भने उनलाई विश्वास नगरेको नेताहरु बताउँछन् ।

गुटको बैठकमा छुटाउनेदेखि आफू्खुसी उमेदवारी घोषणा गरेका विषयमा उनको आलोचना हुने गरेको छ । 

उनलाई निधिसँग टिम बनाउन लागेको आरोप छ । तर यस विषयमा शर्मा अहिलेसम्म खुलिसकेका छैनन् ।

देउवा निकट एक केन्द्रीय सदस्य निधि र शर्मालाई आफूहरुको समूहमा अब कुनै भूमिका नभएको दाबी गर्छन् ।

महामन्त्रीमा उमेदवारी घोषणा गरेको भोलिपल्टै निधिको निवासमा कर्वाचौधको पूजामा सहभागी हुन पुगेका शर्मालाई निधिको टिमबाटै उमेदवारी दिन सक्ने आकलन कांग्रेस नेताहरुले गरेका छन् ।

त्यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि महामन्त्रीमा उमेदवारी सार्वजनिक गरेका छन् । अनौपचारिक रुपमा उमेदवारीको घोषणा गरेका उनले औपचारिक घोषणा भने सभापति शेरबहादुर देउवासँगै हुने बताएका छन् । सभापति देउवा पनि सहमहामन्त्री महतलाई महामन्त्रीको उमेदवार बनाउन सकारात्मक रहेको निकट स्रोतको दावी छ । 

“राजनीतिमा अन्य घटनाक्रम के हुन्छ थाहा हुँदैन तर अहिलेसम्म हाम्रो समूहबाट बलियो उमेदवार महामन्त्रीमा प्रकाश दाइ नै हो,” एक केन्द्रीय सदस्यले भने । 

यता, सिटौला समूहमा रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि महामन्त्री लड्ने घोषणा गरिसकेका छन् । पौडेल यो पटक पनि सिटौला समूहमै रहेर महाधिवेशनमा पदाधिकारी लड्ने निकट नेताहरुसँग बताउँछन् ।

महामन्त्रीमा आकांक्षा राख्नेहरुको तालिका लामै छ । संस्थापन पक्षबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण अर्का सशक्त उमेदवार हुन् ।

सभापति देउवाको विश्वासपात्र खाँण देउवाकै सहजताका लागि निर्णय गर्ने अवस्थामा रहेको एक नेताले जानकारी दिए ।

संस्थापनबाटै नेताहरु एनपी सावद र रमेश लेखक पनि महामन्त्रीका आकांक्षी हुन् । तर, उनीहरु देउवाले चाहे मात्र महामन्त्री बन्ने भन्दै उमेदवारी घोषणा गर्ने आँट गरिरहेका छैनन् । 

संस्थापन इतर समूहमा रहेका रक्षामन्त्री समेत रहेका डा. मीनेन्द्र रिजाल पनि महामन्त्रीका बलिया आकांक्षी हुन् । उनी संस्थापनइतर समूहबाट महामन्त्री उमेदवार लड्ने घोषणा एक वर्ष अघि नै गरेका छन् ।

उनले औपचारिकरुपमा महामन्त्रीमा उमेदवारी घोषणा भने गरेका छैनन् ।

यस्तै केन्द्रीय सदस्य धनराज गुरुङ पनि महामन्त्रीका लड्ने तयारीमा छन् । बाह्रखरीसँगको कुराकानीमा उनले महामन्त्री लड्ने स्पष्ट पारेका हुन् । तर, कुन नेतासँगको निकटता भने उनले खुलाउन चाहेनन् । गुरुङ १२ युवा नेताको टिममा पनि छन् भने उनको निकटता नेता शेखर कोइरालासँगै देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro