site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडेल समूहमा ‘भुइँचालो’, टर्दैछ साझा उमेदवारको सम्भावना ! 

काठमाडौं । कांग्रेसमा संस्थापनइतर समूहमा जति महाधिवेशनको मिति नजिकिँदैछ त्यति दुरी बढ्दो छ ।

यसअघि सभापति शेरबहादुर देउवाविरुद्ध एकजनाले मात्रै उमेदवारी दिने सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका नेताहरु एकआपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

संवादहीनताको अवस्थामा उनीहरु पुगिसकेका थिए ।  केही समयको संवादहीनतालाई तोड्दै बिहीबार बिहान नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच भेट–संवाद भयो ।

त्यसलगत्तै कांग्रेसका अर्का नेता अर्थात् सभापतिका उमेदवार डा. शेखर कोइराला सिंह निवास चाक्सीबारीमा पुगे । कारण थियो– केही दिनअघि सभापतिकै अर्का उमेदवार कांग्रेस महामन्त्री शशांक कोइरालाले नेता सिंहप्रति गरेको टिप्पणी र त्यसबाट उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्न ।

उनले त्यहाँ पुगेर आफूहरु दुईजना मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरे । 

आ आफ्नै नेतृत्वको लागि दौडधुपमा रहेका तीन नेता शनिबार बेलुका भने महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा केहीबेर बसे ।

तर सहमति आफ्नै नेतृत्वमा हुनुपर्ने अडान सबैको थियो । त्यो छलफलले कुनै निचोड निकाल्न नसकेको एक नेता बताउँछन् ।

त्यसअघि कांग्रेस नेता पौडेल पनि आफ्नै नाममा सहमतिका लागि आग्रह गर्दै सिंह निवास चाक्सिबारी पुगेका थिए । भेटको अन्तर्य खुलाउन नचाहे पनि स्रोतले दिएको जानकारीअनुसार पौडेल सिंह बैठकमा गम्भीर संवाद भएको छ । 

उनै सिंहलाई भेट्न शुक्रबार डा. शेखर कोइराला पुगेका हुन् । उनी पनि सभापतिका आकांक्षी हुन् । 

नेता पौडेलले सिंहलाई नयाँ टिम बनाएर चुनाव लडे फेरि पार्टी शेरबहादुर देउवाको कब्जामा जाने स्पष्ट पारेका थिए । जुन कुरा शनिबार बेलुकाको छलफलमा पनि भएको थियो । 

जवाफमा सिंहले जस्तोसुकै परिस्थितिमा आफू १४ औं महाधिवेशनमा सभापति लड्ने बताएका थिए । 

“समूहका नेताहरुसँग संवादबाट निकास खोज्ने मुडमा प्रकाश दाइ हुनुहुन्न, सभापति जुुनसुकै मूल्य चुकाएर पनि टिम बनाएर लड्ने हो, रामचन्द्र दाइ आफैँ आएर भेट्नुभएको हो,” स्रोतको दाबी छ । 

स्रोतले दिएको जानकारीअनुसार सभापतिको उमेदवारीका लागि शेखर जति प्रतिवद्ध छन् त्यति नै अहिले प्रकाशमान पनि छन् ।
तर उनीहरुजत्तिको दौडधुपमा पौडेल र महामन्त्री शशांक छैनन् ।

पौडेलले जति आकांक्षा राखेका छन् त्यति शशांकले राखेका छैनन् । उनले सर्लाही पुगेर केहीदिन अघि शेखर कोइराला नै सभापतिको उपयुक्त उमेदवार भएको प्रतिक्रिया दिएका थिए ।

त्यसपछि नै पार्टीमा तरंग सिर्जना भएको थियो । शनिबार चाक्सीपुगेर प्रकाशमान सिंहसँग सरी भनेका कोइरालाले ‘पावर सेयरिङ’ गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले चिन्दैन भन्ने कुरा सार्वजनिक भएपछि कोइराला चाक्सीबारी पुगेर सरी भनेका थिए ।

यिनै घटनाक्रम नियालेका एक नेता भन्छन्– अहिले कांग्रेसको संस्थापनइतर समूहमा भुइँचालो गएको छ । 

महाधिवेशन आउन तीन साता बाँकी रहँदा समूहबाट सभापतिका आकांक्षीहरु एकठाउँमा उभिन सकेका छैनन् । तर यसअघि सबै नेताले एउटै मञ्चबाट एउटामात्रै उमेदवारी दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

रामचन्द्र पौडेलले टिमको नेतृत्व गर्न नसक्ने, पौडेल र देउवा एउटै प्रकृतिका नेता भएको भन्दै सिंहले अलग्गै टिम बनाएर अघि बढ्ने मनसाय बनाएका छन् ।

यता, पौडेल समूहमा रहेका महामन्त्री शशांक कोइराला पनि टिमबाट बाहिर गएको चर्चा अहिले छ । कोइरालाले सभापति पद त्यागेर दाइ शेखरलाई सहयोग गरेको चर्चा सेलाउन नपाउँदै पुनः सभापति हुँ भनेपछि शशांकमाथि प्रश्न उठेको छ । तर, उनका सहयोगी भरत तिवारी भने यो कुरालाई इन्कार गर्छन् । उनले कोइरालाले पौडेल समूह त्यागेको कुरामा सत्यता नभएको बताए ।

साथै सभापति उमेदवादी पनि नत्यागेको उनको भनाइ छ । अरुले त्याग गर्ने स्थितिमा आफूले सक्दो योगदान गर्न कोइराला तयार रहेको बुझाइ तिवारीको छ । 

“डाक्टर सा’व सभापतिको प्रतिष्पर्धी हो, उहाँ रेसमै हुनुहुन्छ । तर, उहाँ निकासको बाधक भने होइन,” बाह्रखरीसँग उनले भने । 

साझा उमेदवारको सम्भावना न्यून !

कात्तिक २६ गते अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा नेता रामचन्द्र पौडेल समूहको बैठक बस्यो । बैठकमा समूहका नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला पनि सहभागी थिए । उक्त बैठकमा नेता प्रकाशमान सिंह भने उपस्थित भएनन् । उनी व्यक्तिगत काम देखाउँदै राजनीतिक भेटघाटका लागि भारत पुगेका थिए । 

बैठकमा नेता पौडेलले आफ्नो समूहबाट पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि सभापति पदमा साझा उमेदवार बनाउनुपर्नेमा जोड दिए । 

बैठकलाई ध्यानपूर्वक सुनिरहेका आफूनिकट नेताहरु र विशेष गरेर सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालालाई साझा उमेदवार बनाउन नसके आफ्ना नाममा सहमति जुटाउन आग्रह गरे । 

बैठकबाट बाहिरिँदै महामन्त्री शशांकले आफूहरुले साझा उमेदवार  दिन नसके पुनः पार्टी वर्तमान सभापति शेरबहादुर देउवालाई बुझाए हुने टिप्पणी गरेका थिए । सञ्चारकर्मीहरु माझ उनले सभापतिका आकांक्षीहरु एक ठाउँ बसेर साझा उमेदवारको खोजी गर्ने पनि बताएका थिए ।

बैठकको केही दिन पश्चात् बुधबार एकाएक एउटा भिडियो भाइरल भयो । उक्त भिडियोमा सर्लाही पुगेर महामन्त्री कोइराला बोलेका छन् । कोइरालाले भिडियोमा पार्टीको तेस्रो धारसमेत रहेका कृष्ण सिटौलालाई लिएर टिम बनाउनुपर्ने उल्लेख गरेका छन् । 

उनले टिमबाट रामचन्द्र पौडेल पहिले सभापतिमा लडिसकेको उल्लेख गरेका छन् । यस्तै प्रकाशमान सिंहलाई काठमाडौं बाहिरका नेता तथा कार्यकर्ताहरुले नचिन्ने भन्दै उनले अबको सभापतिमा शेखर कोइरालाको सम्भावना धेरै भएको उल्लेख गरेका थिए । 

यता, कोइराला परिवार एक ढिक्का छ भनेर सन्देश दिन सके कार्यकर्तामा माहोल बनाउन सकिने बुझाइ शेखर कोइरालामा छ । 

किनभने मन्त्री बन्न नपाएको भन्दै गिरिजा पुत्री सुजाता कोइरालाले पनि पौडेल समूह त्यागेको घोषणा गरेकी थिइन् । 

त्यसैले पनि विगत केही महिनादेखि तीन कोइराला एक भएर मिडियामार्फत कार्यकर्तालाई एक ढिक्का देखाउने प्रयासमा शेखर कोइराला रहेको स्रोतको दाबी छ । तर, बुधबारको प्रकरणले साझा उमेदवारी खोजीमा धक्का लागेको निकट नेताहरुको बुझाइ छ । 

समूहका एक नेता प्रकाशमान सिँहप्रति गरिएको एक टिप्पणीले माहोल झन् बिगारेको बताउँछन् । 

“हामीले प्रकाशमान दाइलाई मनाउन प्रयास गरेका थियौं, उहाँ केही सकारात्मक पनि हुनुभएको थियो । तर महामन्त्रीज्यूको त्यो तल्लो तहको टिप्पणीले माहोल झन् बिगारिदियो,” उनले भने । 

भदौ १७ गते केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले आफूहरुमध्येबाट एकमात्र उमेदवार बनाउने घोषणा गरेको थियो । 

त्यसयता साझा उमेदवार बनाउन भन्दै कयौं औपचारिक र अनौपचारिक छलफल र वार्ता भएको छ । सभापतिका चारैजना आकांक्षीहरु एकमात्र उमेदवार बनाउनुपर्ने तर्क गर्छन् तर सबैजना आफ्नै नाममा मात्रै सहमति कायम गराउन प्रयास गरेका छन् ।

आफ्नो समूहबाट एकमात्र उमेदवार बनाउनुपर्ने प्रयासमा रहेका नेता अर्जुननरसिंह केसी अझै पनि एकमात्रै उमेदवार बन्ने दाबी गर्छन् ।

उनी दाजुभाइको कुराले समूहलाई असर नगर्ने पनि बताउँछन् ।

यस्ता आरोप प्रत्यारोपले साझा उमेदवार चयनको प्रयासमा धक्का लाग्ला नि भन्ने बाह्रखरीको प्रश्नमा उनले पारिवारिक विषय बाहिर नआएको भए उपयुक्त हुने बताए । 

“निरन्तर उठेको प्रश्नमा थप प्रश्न गर्ने ठाउँ बन्यो यो स्वाभाविक पनि हो, तर अन्तिमसम्म हामी साझा उमेदवार बनाउन लागि पर्नेछौं प्रयास गर्नेछौं,” उनले भने । 

आफू निरन्तर एकमात्र उमेदवार भन्दै हिँडेकाले मंसिर १० भित्र फेरि सबैलाई राखेर निर्णायक संवाद गर्ने तहमा रहेको उनले बताए ।

दबाब बढाउँदै दोस्रो तहका नेताहरु 

सभापतिबाहेक अन्य पदमा लड्ने आकांक्षीहरु भने एउटा टिम बनाउन नसके पार्टी पुनः शेरबहादुर देउवाको हातमा जानेमा ढुक्क छन् । उनीहरुले चारजना नेताहरुलाई मिल्न र एकमात्र उमेदवार बनाउन दबाब दिइरहेका छन् । 

काठमाडौंमा उपलव्ध दोस्रो तहका नेताहरुले पटक पटक व्यक्तिगत र सामूहिक रुपमा चारजनालाई भेटेर साझा उमेदवार खोज्न अनुरोध गरिरहेका छन् । 

उनीहरुले साझा उमेदवार दिन नसके १० जना युवा नेतृत्वले साझा उमेदवार घोषणा गर्ने धम्की पनि नेतृत्वलाई दिइरहेका छन् । 
गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, कमला पन्त, सरिता प्रसाईंलगायतका नेताहरुले सभापतिका आकांक्षीहरुलाई मिलेर अघि बढ्न दबाब दिइरहेका छन् । 

“हामी भनिरहेका छौं, तर दुईजनासम्म उमेदवार हुने अवस्था बनेको देख्दैछौं, साझा उमेदवार त खै होला जस्तो लाग्दैन,” एक नेताले बाह्रखरीसँग भने । 

समूहबाट महामन्त्री लड्ने घोषणा गरेका केन्द्रीय सदस्य धनराज गुरुङ नेता बन्नेले त्याग गर्न सक्नुपर्ने टिप्पणी गर्छन् । 

तपाईंहरुको समूहबाट एकमात्र सभापतिको उमेदवार बन्न अब असम्भव भएको हो भन्ने बाह्रखरीको प्रश्नमा यो नेतृत्वले जवाफ दिनुपर्ने बताए । 

“हामीले त मिल्नुहोस् भनिरहेका छौं, बीपी गणेशमानको इतिहासलाई हेरेर मिलेर अघि बढ्नुपर्ने आजको आवश्यकता हो,” उनले भने, “अब मैले एकजना वा चारजना उमेदवार हुन्छन् होला भनेर भनिरहन पर्दैन होला ।” 

आफूहरुले मिल्नका लागि दबाब दिइरहेको पनि उनी बताउँछन् । 

सभापति बढी भए कुन समूहमा लाग्ने भने समस्या अन्य पदका आकांक्षीहरुलाई पनि छ । उनीहरु सकेसम्म मिलाउने नभए एउटा नेताको एकसाथ पछि लाग्ने विषयमा पनि गृहकार्य गरिरहेका छन् । 

यस्तै समूहबाटै सहमहामन्त्रीको उमेदवार बन्ने तयारीमा रहेका केन्द्रीय सदस्य जीवन परियार नेताहरु मिल्नुको विकल्प नरहेको बताउँछन् ।

“अहिलेको राजनीतिक परिस्थिति र कांग्रेस रुपान्तरणका लागि एक हुन जरुरी छ भन्ने हाम्रो मात्रै होइन आम कार्यकर्ताको माग र चाहना हो,” उनले भने,“कार्यकर्ताको भावनालाई मनन् गरेर एक हुन हाम्रो नेताहरुलाई आग्रह र दबाब हो, हामीले आग्रह र दबाब बाहेक के दिन सक्छौं र ?” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro