site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवाद बेवास्ता गर्दै डडेलधुरामा धमाधम अधिवेशन, निर्वाचन समिति भन्छ–वैद्यता दिएको छैन

काठमाडौं । देशको प्रधानमन्त्रीको आसनमा यति बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् । उनीबाट शान्ति–सुरक्षा, अमनचयन देशवासीको अपेक्षा हो । तर, कांग्रेसका डडेलधुरा जिल्ला सभापतिसहितका नेता–कार्यकर्ता सभापति देउवाबाटै अन्याय भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् ।

सभापति देउवाकै संरक्षणमा जिल्ला सभापति कर्णबहादुर मल्लसहितलाई बहिष्कार गराएर डडेलधुरामा एकपछि अर्को चरणको अधिवेशन भइरहेको छ । स्वाभाविक हिसाबले अधिवेशन भएको भए पार्टीको केन्द्रीय सभापति दोहोर्‍याउने तयारीमा रहेका देउवालाई सिंगो जिल्ला कार्यसमितिले पुनः जिताउने अभियान चलाइरहेको हुन्थ्यो ।

तर, अघिल्लो महाधिवेशनमा सभापति उमेदवार बन्दा प्रस्तावक बसेका जिल्ला सभापति मल्ललाई सभापति देउवाले टिमबाटै निष्कासन गरेपछि जिल्ला सभापति मल्ल फरक अभियानमा थिए । उनको अभियान असफल बनाउन विभिन्न पार्टीबाट आएका नाममा क्रियाशील सदस्य थपेर जिल्ला सभापतिको सहभागिताबिनै देउवाले अधिवेशनको प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि अहिले परिस्थिति उल्टो छ ।

एकढिक्का भएर महाधिवेशन र देउवाको पक्षमा उभिनुपर्ने डडेलधुराका कांग्रेसीहरू दुई ध्रुवमा विभक्त छन् । कांग्रेस संस्थापनले वडा, पालिका हुँदै धमाधम प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिरहँदा डडेलधुरा कांग्रेसका संस्थापन नेता भने न्यायको भिख माग्दै सानेपाको बीपी स्मृति भवनको चिसो छिँडीमा धर्नामा छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बनाएको तालिकाअनुसार अहिले डडेलधुरामा पार्टीको प्रदेशसभा क्षेत्रीय अधिवेशन जारी छ । जिल्ला सभापति पदका उमेदवार भीमबहादुर साउदका अनुसार अहिले धेरै पदमा सहमतिमा नेतृत्व चयन भएको छ । मुख्य पदहरू सभापति, उपसभापति, सचिवलगायतमा निर्वाचनको तयारी भइरहेको छ ।

‘उजुरीहरू आएका छन्, अध्ययन गर्ने काम भइरहेको छ’
डडेलधुरामा वडा तहदेखि पालिका तहसम्म भएको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले मान्यता दिइसकेको छैन । निर्वाचन समितिका एक पदाधिकारीका अनुसार सभापति देउवानिकट समितिका सदस्यहरूले मान्यता दिएको भन्ने गलत प्रचार भइरहेको छ ।

समिति संयोजक महादेव यादव डडेलधुराको अधिवेशनलाई मान्यता दिने विषयमा निर्वाचन समितिले कुनै निर्णय नगरेको बताउँछन् । संयोजक यादवका अनुसार डडेलधुराको अधिवेशनका विषयमा उजुरीहरू आएकाले अध्ययन गर्ने काम भइरहेको छ । तर, त्यसलाई वैद्यता दिने कुनै निर्णय भएको छैन ।

“हामीले अधिवेशनलाई मान्यता दिइसकेको छैन । उजुरीहरू आएका छन्, अध्ययन गर्ने काम भइरहेको छ,” यादवले बाह्रखरीसँग भने ।

‘उहाँहरू सीमित व्यक्तिको स्वार्थले अनशन बस्न जानुभएको हो’
जिल्ला सभापति, उपसभापति, प्रदेशसभा ‘क’ र ‘ख’का दुवै क्षेत्रीय सभापतिसहितका नेता–कार्यकर्ता जिल्ला कार्यसमितिको निर्णयानुसार अधिवेशन स्थगित गरेर क्रियाशील सदस्यता छानबिनको माग गरिरहेका छन् । जिल्ला कार्यसमितिको बहुमतले क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन स्थगित गर्ने निर्णय गरेर अहिलेसम्मका अधिवेशनमा सबै चरणमा सहभागी छैन । तर, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरूलाई अधिवेशनको प्रक्रियामा नसमेटिकन तीन चरणका अधिवेशन सम्पन्न भएका छन् ।

पर्शुराम नगरपालिकाका मेयर तथा जिल्ला सभापतिका उमेदवार भीमबहादुर साउद अनावश्यक बखेडा र सीमित राजनीतिक स्वार्थका कारण विद्रोह गरेकाहरूलाई देखाएर अधिवेशन रोक्नुपर्ने कुनै कारण नभएको तर्क गर्छन् । जिल्लामा बहुमत नेता तथा कार्यकर्ताहरू अधिवेशनको पक्षमा रहेको र सक्रियतापूर्वक भाग लिइरहेको भन्दै उनी एउटा स्वार्थ समूहका कारण अधिवेशन नरोकिने दाबी गर्छन् ।

“हामीले सहमति गरेर मिलेर जाऊँ भनेकै हो, उहाँहरू सीमित व्यक्तिको स्वार्थले अनशन बस्न जानुभएको हो,” साउदले भने, “जो जो अनशन बस्न जानुभएको छ, सबै साथीहरूको वडाबाट लगभग सय प्रतिशत प्रतिनिधिहरूको उपस्थितिमा अधिवेशन भइरहेको छ ।”

सानेपामा धर्ना जारी 
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन जारी रहँदा जिल्ला सभापति कर्ण मल्लसहित नेता–कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् । प्रदेश ‘क’ सभापति मानबहादुर बुढा, प्रदेश ‘ख’ सभापति करुणाकर भट्ट पनि सानेपाको अनशनमै छन् ।

यस्तै, सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ का  सभापति पदमबहादुर महतालगायत २१ जना नेताहरू रिले अनशनमा छन् ।

प्रदेश ‘क’ सभापति मानबहादुर बुढामगरले एकलौटी ढंगबाट भइरहेको अधिवेशन वैद्य नहुने बताए । वर्तमान कांग्रेसको अधिवेशनमा तानाशाही प्रवृत्ति हावी भएको भन्दै लोकतान्त्रिक पार्टीका लागि यस्तो प्रवृत्ति स्वीकार्य नहुने उनी बताउँछन् ।

“उहाँहरूले अपराध गरेर आजीवन पार्टीमा लागेका नेता तथा कर्याकर्ताहरूको नाम काटेर कार्यकर्ताहरूको हत्या गर्नुभएको छ,” बुढाले भने, “त्यसैले अहिले भइरहेको अधिवेशन हामीलाई मान्य छैन ।”

प्रदेशसभा क्षेत्र ‘ख’का सभापति करुणाकर भट्टले भने आफ्नो समितिमा सभापतिबाहेक अन्य पदाधिकारी नै नभएको भन्दै अधिवेशनको वैधानिकतामा प्रश्न उठाएका छन् । गएको भदौ २२ गते जिल्ला कार्यसमितिको दुईतिहाइले अधिवेशन स्थगित गरेको र २३ गते त्यो निर्णय तल्ला तहका वडाहरूले पनि अनुमोदन गरिसकेको भन्दै अधिवेशन अवैधनिक भएको उनको तर्क छ ।

“मेरो प्रदेश कमिटीमा मबाहेक अर्का पदाधिकारी छैनन्, फेरि पार्टीको विधानले पनि सभापतिविना अधिवेशन गर्ने व्यवस्था गरेको छैन,” भट्टले भने, “अनि कसरी भइरहेको छ अधिवेशन ? लोकतन्त्रिक पार्टीमा कांग्रेस सभापतिको संरक्षण भयो भने जस्तोसुकै अधिवेशनले मान्यता पाउनेछ भन्ने व्यवस्था कांग्रेस विधानले गर्न सक्ला र ?”

आफ्नै जिल्लाका कार्यकर्ताले वैधानिकतामा प्रश्न उठाइरहँदा सभापति देउवा भने अरू नेताहरूसँगको लेनदेनमा जिल्ला अधिवेशनलाई वैधानिकता दिने कसरत गरिरहेका छन् । उनकै प्रभावमा महामन्त्री डा. शशांक कोइरालाले डडेलधुरामा पुनः अधिवेशन हुन नसक्ने बताएका छन् ।

पछ्रिल्लो समय देउवासँग निकट हुन पुगेका नेता कृष्णप्रसाद सिटौलाले त वडा अधिवेशन भइसकेका (डडेलधुरासहितका विवादित) जिल्लामा क्रियाशील सदस्यताको विषय उठाए महाधिवेशन नहुने र कांग्रेस पार्टी र्नै अवैधानिक भएर चुनावमा भाग लिन नपाउने चेतावनी दिइरहेका छन् । कांग्रेसका नेताहरूबीच लोकतान्त्रिक पद्धति र विधानको व्यवस्थाभन्दा स्वार्थ हावी हुँदा वैधानिकता र प्रक्रियाका विषय ओझेलमा परिरहेका छन् । डडेलधुरा एउटा उदाहरण मात्र हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro