
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन १३ औँ भन्दा केही फरक देखिएको छ ।
१३ औँ महाधिवेशनमा बनेका गुट भत्किएका छन्, नयाँ बनेका छन् यो क्रम वडादेखि माथिल्लो निकायसम्म छ । जहाँ विगतमा बनेका गुट भत्किएका छन्, केही नयाँ बनेका छन् ।
सभापति शेरबहादुर देउवाको समूहमा रहेका कैयौँ प्रभावशाली नेताहरुले उनलाई छाडेका छन्, उनीसँगै पदको बार्गेनिङ गरेर पुग्दै गरेका पनि त्यत्तिकै छन् ।
सभापति देउवाको टिम छाडेर उपसभापति विमलेन्द्र निधि नेतृत्वको दौडमा छन् । देउवासँग केही दिनअघि भएको संवादमा निधिले सभापतिबाट आफू पछि फर्किने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
देउवाले पनि १४ औँ महाधिवेशनमा आफू सभापति नै लड्ने भनेपछि निधिले देउवा टिम छाड्ने देखिएको छ । कतिपयले भने यसलाई ‘बार्गेनिङको राजनीति’ पनि भनेका छन् ।
सोमबार बसेको देउवा निकट केन्द्रीय सदस्यहरुको भेलाले पनि सभापतिमा देउवालाई दोहोर्याउने निर्णय गर्यो । बैठकको सुरुवातमै महामन्त्री पूर्णबहादुर खड्काले समूहबाट सभापतिको एकमात्र उमेदवार प्रधानमन्त्रीसमेत रहेका देउवा नै हुने भन्दै विषय प्रवेश गराए । भेलाले अब सोहीअनुरुप तल्ला तहकै अधिवेशनबाट तयारी गर्न नेताहरुलाई उर्दी जारी गर्यो । जसअनुसार प्रदेशबाट आफ्ना पक्षको महाधिवेशन प्रतिनिधि जिताउन सातै प्रदेशमा जिम्मेवारी तोकियो ।
देउवाले महाधिवेशनकै तयारीका लागि मंसिर पहिलो साता आफुनिकट केन्द्रीय सदस्यहरुलाई छलफलमा बोलाएका छन् ।
उक्त बैठकबाट देउवाले आफ्नो टिमलाई पूर्णता दिने र १४ औँ महाधिवेशनमा उठ्ने पदाधिकारी र केन्द्रीय सदस्यहरुको खाका बनाउने तयारी छ । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले छिटो टिम घोषणा गर्न देउवालाई दबाब दिएका थिए ।
तर मंसिरमा हुने छलफलमा निधिलाई नबोलाउन देउवालाई केही नेताले सुझाव दिएको र देउवा पनि सोही तयारीमा रहेको एक नेताले बताए ।
“सम्भवतः ४ गतेका लागि सभापतिले आफ्नो समूहबाट नेतृत्व गर्ने केन्द्रीय सदस्यहरु र शीर्ष नेतृत्वलाई बोलाउने तयारी छ, छलफलमा उपसभापतिलाई नबोलाउने मनसाय उहाँले राख्नुभएको छ, यसकारण बुझ्नुहोस् अब उहाँ (निधि) हामीसँग हुनुहुन्न,” देउवा निकट एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।
देउवा टिमबाट गोपालमान श्रेष्ठले पनि सभापति लड्ने भनिरहेका छन् । तर, उनी देउवा टिमबाट ‘आउट’ भने भइसकेका छैनन् । अन्तिम समयमा श्रेष्ठले देउवालाई सभापति छाड्ने विश्वास देउवालाई छ । “गोपाल दाइले अन्तिममा त्याग गर्नुहुन्छ भन्ने हाम्रो बुझाइ हो,” एक नेताले भने ।
देउवासँग अहिले प्रवक्ता विश्वप्रकाश शर्मा पनि नजिक छैनन् । देउवाले गुटको बैठक बोलाउँदा पनि शर्मालाई नबोलाउने ति नेताको दाबी छ ।
देउवाले १४ औँ महाधिवेशनमा शर्मालाई महामन्त्रीको उमेदवार बनाएर लैजाने कि नलैजाने भन्ने निर्णय गरिनसकेको ति नेताले बताए ।
देउवा र निधिलाई एक ठाउँमा उभ्याउँछु भन्ने शर्मा स्वयम् निधि क्याम्पमा लागेको बुझाइ देउवा समूहमा छ ।
“उक्त बैठकमा विश्वजीलाई बोलाउने कि नबोलाउने दोधार समूहमा छ, सभापति स्वयम् द्धिविधामा हुनुहुन्छ, अहिले यसै भन्न सकिँदैन,” उनले भने ।
भूमिका खोज्दै सहयोगीहरु
देउवा टिमको बुझाइमा तीनजना उमेदवार भए शक्ति गुम्ने पक्का छ । देउवालाइ लामो समयसम्म साथ दिइरहेका गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिले साथ छाडे त्यसको चुनाव जित्न सहज नभएको निष्कर्ष सो समूहले निकालेको छ ।
निधिले त बालुबाटारमा भएको एक बैठकमा नेपाली जनता र कांग्रेस कार्यकर्ताले देउवालाइ नरुचाएको भनिसकेका छन् ।
बाह्रखरीसँगको कुराकानीमा निधिले अब देउवा टिममा नफर्कने संकेत गरेका छन् । उनले १४ औँ महाधिवेशनबाट सभापति बन्नका लागि जिल्ला जिल्लामा सम्पर्कलाई तिव्रता दिएको बताए । एउटै विचार समूहबाट एक उमेदवार बन्ने सम्भावना न्यून भएको निधिको बुझाइ छ । तीनजना बसेर साझा उमेदवार खोज्ने प्रयास पनि हुन गाह्रो रहेको बुझाइ निधि खेमामा छ ।
“पार्टी सभापतिले तपाईंहरुको अधिकार छ लड्नुहोस् शुभकामना छ भनेर मलाई भन्नुभो,” उनले भने,“तीनजना बसेर संवाद पनि भएको छैन, म मेरो तयारीलाई तिव्रता दिइरहेको छु ।”
यता, गोपालमान श्रेष्ठ आफूलाई पार्टीको जिम्मेवारी सुम्पिएर राज्य सञ्चालनमा केन्द्रित हुन देउवालाई आग्रह गर्छन् । उनले पार्टीमा मोदी अर्थात् भाजपा मोडल अपनाउन आग्रह गरेका छन् । उनले यो कुरा देउवालाई पनि भनेको बाह्रखरीसँग बताए ।
उनले पार्टी र सरकार फरक फरक व्यक्तिले सञ्चालन गर्नुपर्ने आफ्नो धारणा रहेको पनि सुनाए ।
पार्टी विभाजनदेखिनै आफूले देउवालाई काँध थापिरहेको भन्दै उनले अब आफूहरुलाई देउवाले सहयोग गर्नुपर्ने दिन आएको बताए । सधैँ साथ मात्र दिइरहन नसकिने श्रेष्ठको बुझाइ छ । सधैँ साथ र सहयोग गर्ने आफ्ना सहकर्मीहरुलाइ देउवाले अब भूमिका दिनुपर्ने माग उनको छ ।
“यति लामो समयदेखि उहाँलाई साथ दिएकाहरुले पनि त भूमिका पाउनुपर्यो नि, सधै साथ चाहिँ दिइरहने भूमिका नपाउने भन्ने पनि हुन्छ र,” उनले भने,“छिमेकी मुलुक हेरेर अघि बढौं, मोदीले पार्टी सभापति बन्न कहिल्यै चाहेनन् र त सफल भए, त्यस्तै फेरि तपाईं प्रधानमन्त्री बन्नुहोस्, त्यो म बनाउँछु । तपाईं पार्टीको चिन्ता नगर्नुहोस् त्यो मैले चलाउने हो, पार्टीको काम मैले गर्नेहो भनेर मैले पटक पटक उहाँलाई भनेको छु ।”
के तपाईं पनि देउवा टिम परित्याग गर्नुभएको हो भन्ने बाह्रखरीको प्रश्नमा नेता श्रेष्ठले विचारसमूह परित्याग नगरेको बताए । बरु आफूहरु तीनबाट एक हुने प्रयत्नमा रहेको उनको तर्क छ ।
जसका लागि तीनजना मात्र बसेर संवाद गर्ने तयारी अहिले समूहभित्र भइरहेको छ । “देउवाजी व्यस्त हुनुहुन्छ, समय मिल्नासाथ तीनजना बसेर हामी कुरा मिलाउछौं,” उनले भने ।
तर, देउवा निकट एक केन्द्रीय सदस्य यो समूहबाट श्रेष्ठ र निधिले सभापति उठ्ने आशा गर्नु मुर्खता शिवाय अरु केही नहुने बताए । लड्ने भए समूह छाड्नुपर्ने उनको तर्क छ । “२ जनाले सभापति लड्ने सपना नदेखे हुन्छ, हामीबाट शेरबहादुर दाइनै सभापति, लड्ने भए गुट छाडेर गए भइहाल्यो नि,” उनले भने, “हाम्रो समूहबाट एकमात्र सभापति हुन्छ त्यो हो शेरबहादुर देउवा र हामी जित्छौं पनि ।”
सिटौला खुल्दै देउवा समूहमा ?
निधिले छाडेर गए उक्त स्थानमा पार्टीभित्रको तेस्रो धारको नेता सिटौलालाई ल्याउने र टिम बलियो बनाउने देउवाको तयारी छ ।
सिटौलालाई देउवासँग मिलाउन उनी निकट नेता तथा विश्वासपात्र भिमसेनदास प्रधान र शिव हुमागाईंले भूमिका खेलिरहेका छन् ।
सिटौला निकट एक नेता समूहको अन्तिम गन्तव्य नै देउवासँग भएको स्वीकार गर्छन् । सिटौला स्वयम् रामचन्द्र पौडेललाई नेता मान्न तयार छैनन् । बाह्रौँ महाधिवशनसम्म एकै खेमामा रहेका पौडेल सिटौला कोइराला विरासत बिलाएसँगै लाखापाखा लागेका हुन् ।
सभापतिमा यो पटक पनि उमेदवारी दिने भने पनि सिटौला केही शक्ति बार्गेनिङ गरेर देउवालाई सहयोग गर्ने मनसायमा ती नेताको दाबी छ ।
उनले पछिल्लो समयमा क्रियाशील सदस्यतामा देखिएको विवादमा खुलेरै देउवाको सहयोग गर्दै आएका छन् । आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा पनि देउवालाई पौडेल समूहले बारम्बार क्रियाशील सदस्यताको लफडा टुंगोमा पुर्याउन, विवादकै बीचमा गरिएका अधिवेशन पुनः गर्न माग गर्दा सिटौला भने देउवा पक्षमा उभिए । उनले क्रियाशील विवाद निकालेर अधिवेशन रोक्न नमिल्ने भन्दै कडा टिप्पणी गरे । “साँच्चै कोही अन्यायमा परे पछि स्थान दिन सकिन्छ, तर अहिले क्रियाशील विवाद निकालेर कसैले पनि विवाद नगरौं अधिवेशन रोक्ने प्रयास नगरौं,” उनले भनेका थिए ।
तर, नेता प्रधान सिटौला समूह देउवासँग मिल्न लागेको कुरामा खण्डन गर्छन् । सिटौला स्वयम् सभापति लड्ने उनको भनाइ छ ।
क्रियाशीलको विवादमा जिल्ला जिल्लामा भएको चाहिँ उनी स्विकार गर्छन् । विवाद छ भने किन विपक्षमा उभिनुभएको भन्ने बाह्रखरीको प्रश्नमा उनले नेता सिटौला स्वयम् क्रियाशील विवाद समाधान समितिमा बसेर काम गरेको भएकाले विपक्षमा उभिन नमिल्ने तर्क गरे । “कृष्ण दाइले आफ्नो विवेक प्रयोग गरेर दुवै नेता मिलाउने र अधिवेशन गर्ने काममा लाग्नुभएको हो, यति नगरे अधिवेशन नहोला भन्ने भय बढ्छ, त्यसकारण यसलाई कुनै पक्षमा खुलेको भन्न मिल्दैन,” उनले भने ।
पछि तपाईंहरु सभापतिको खेमामा जाने हो त भन्ने प्रश्नमा उनले यसको जवाफ समय र परिस्थितिले दिने बताए । “तपाईंहरु ढुक्क हुनुहोस् कृष्ण दाइ सभापतिको उमेदवार हो,” उनले भने ।
तीन महिनापछि आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा रामचन्द्र पौडेल समूहले पार्टी क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाएका थिए ।
केन्द्रीय सदस्य डा. रामशरण महतले गुटको आधारमा पार्टी अघि बढेकाले क्रियाशील वितरणमा ‘फल्स’ भएको भन्दै आएको उजुरीलाई समाधान गर्न आग्रह गरेका थिए ।
सोही बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको गृह जिल्लाकै नेता कार्यकर्ताहरु अनसनमा बस्न लागेको, रौतहटका नेता कार्यकर्ताहरु चिसो छिँडिमा बसेर अनसन गरेको चार महिना पुग्न लाग्दासमेत पार्टीले समस्या सुल्झाउनुको सट्टा मुन्टो बटारेर केन्द्रीय कार्यसमिति बैठक पनि बूढानीलकण्ठको आगनमा राख्नुपरेको उल्लेख गरे । सो क्रममा उनले भनेका थिए, “साथीहरु रुँदै जिल्ला जिल्लाबाट फोन गर्छन्, जिल्लाका साथीहरुको नाम जथाभावी काटिएको छ । केन्द्रीय कार्यालयबाट जथाभावी नाम काटिएको छ, यी विषयहरु हामीले सम्बोधन गर्ने कि नगर्ने ? मुन्टो बटारेर कहिलेसम्म हिड्ने ?”
तर, बैठकमा सिटौलाले क्रियाशीलको विवाद निकाल्न उचित नहुने तर्क गरेका थिए ।
“अब विवाद भएको जिल्लामा पुनः अधिवेशन गराउन सम्भव छैन, वास्तवमा कोही साथीहरु पीडामा परेको भए पछि मिलाउने ठाउँ हुन्छ, अहिले अधिवेशन रोक्ने काम नगरौँ,” उनले भनेका थिए ।