
काठमाडौं । २९ असारमा पाँचौं कार्यकालका लागि प्रधानमन्त्री बनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साउन १ गते पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाए ।
पार्टीको १४ औं महाधिवेशनको मिति फेरवदल गर्न डाकिएको बैठकमा सरकार बनेपछि यसको प्राथमिकता, मन्त्रिपरिषदको विस्तारलगायतका विषयहरु पनि प्राथमिकतामा परेका थिए । उक्त बैठक सरकारी निवास बालुबाटारमा बस्यो ।
सरकारी सम्पत्तिको दुरुपयोग गरेर बालुबाटारमा बैठक गरेको भन्दै सभापति देउवा र पार्टीको चौतर्फी विरोध भयो । किनभने प्रतिपक्षमा बस्दा कांग्रेसका नेता तथा सांसदहरुले सार्वजनिक कार्यक्रममै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासलाई पार्टीको कार्यालय बनाएको भन्दै विरोध गरेका थिए ।
त्यसैकारण ८ साउनका लागि बोलाइएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक देउवाले आफ्नै निजी निवास बूढानीलकण्ठमा बोलाए । पार्टी महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जाल ट्विटरमार्फत सो कुराको जानकारी दिए ।
सभापति देउवा प्रधानमन्त्री बन्नुपूर्व पनि पार्टीका बैठकहरु केन्द्रीय कार्यालयमा कम निजी निवास बूढानीलकण्ठमा बढी हुन्थे ।
यतिसम्म कि क्रियाशील सदस्यताको विषय, विभाग निर्माणलगायतका विषयमा सहमति जुटाउन भन्दै पदाधिकारीहरुको बैठक बोलाइन्थ्यो । विधानले नचिन्ने बैठकहरु कयौं पटक बूढानीलकण्ठमा भएका छन् । केन्द्रीय कार्यसमिति बैठक भने सानेपामै हुन्थ्यो ।
तर, २९ असारमा सभापति देउवा प्रधानमन्त्री बनेर बालुबाटार पुगेसँगै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सानेपामा हुन छाडेको छ । साउन २८–३० गते भएको केन्द्रीय कार्यसमिति बैठक सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा भयो ।
त्यसयता बस्न नसकेको पार्टीे केन्द्रीय कार्यसमितिको बैठक ३ महिनापछि बस्ने तरखरमा छ ।
विधानले प्रत्येक २ महिनामा कम्तिमा एकपटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने व्यवस्था गरेको छ । पार्टीले कात्तिक २८ गतेलाई केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनि सूचनामा उल्लेख गरिएको छ ।
तर सानेपामा विरोधका कार्यक्रम जारी रहे स्थान परिवर्तन हुने एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री बन्नुपूर्व सभापति देउवा असारको पहिलो साता पार्टी कार्यालय सानेपा पुगेका थिए । त्यसयता उनले सानेपामा खुट्टा राखेका छनैनन् । ४ असारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागि भएपश्चात् उनको सानेपा यात्रा भएको छैन ।
कात्तिक २८ मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकस्थल अन्तिम समयमा सर्ने हो कि भनेर आशंका गर्दै ति नेताले सभापतिले पार्टीका सबै बैठक सानेपामै र भेटघाट पनि सोही स्थानमा गर्न सके राम्रो हुने बताउँछन् ।
केन्द्रीय कार्यालय सानेपाका एक अधिकारी पार्टी सभापतिलाई असार पहिलो सातातिर पार्टी अफिसमा देखेको बताउँछन् ।
“ठ्याक्कै यो दिन भन्ने त थाहा भएन, तर असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकपछि मैले पार्टी अफिस प्रवेश गरेको देखेको छैन,” बाह्रखरीसँग उनले भने ।
यो बीचमा सभापति देउवाले पार्टीभित्रका सामान्य भेटघाट र छलफलहरु सरकारी निवास बालुबाटारबाटै गरिरहेका छन् ।
प्रधानमन्त्री बनेको सुरुवाती दिनहरुमा आलोचना भएपश्चात् बूढानीलकण्ठमा बैठक बस्न पुगे पनि आज भोलि उनी जाँदैनन् ।
उनी निकट एक केन्द्रीय सदस्य दैनिक सिंहदरबारसमेत नपुग्ने आफ्नो प्रधानमन्त्री पार्टी सभापतिको रुपमा सानेपा पुगेनन् भन्ने विषय टिप्पणीलायकनै नभएको तर्क गर्छन् ।
ति केन्द्रीय सदस्य पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक घरमा राख्न नहुने भन्दै विरोध गर्ने केन्द्रीय सदस्यहरु पनि बैठकमा सहभागिता जनाउन पाएपश्चात् चुप लाग्न थालेपछि सभापतिको निजी निवास र सरकारी कार्यालय नै पार्टी कार्यालयमा परिणत भएको टिप्पणी गर्छन् ।
सभापति देउवा पार्टी कार्यालय नजानुमा पार्टीको १४ औं महाधिवेशनसँग जोडिएको विषय मुख्य हुन् । बारा र रौतहटलगायतका जिल्लाका नेता कार्यकर्ता लामो समयदेखि अनसनमा छन् ।
क्रियाशील सदस्यता विवाद मिलेपछि पनि उनीहरुले आफ्नो हातमा नपरेको भन्दै अनसन कायमै राखेका छन् ।
१३ औँ महाधिवेशनमा जस्तै आसन्न महाधिवशनमा पनि आफूहरुलाई महाधिवेशनमा भाग लिनबाट वञ्चित गर्न खोजिएको भन्दै धनुषा जिल्लाका नेता कार्यकर्ताहरु अनशनमा बसेका थिए ।
पार्टी कार्यालयका एक अधिकारी अन्यायमा परियो भन्दै दिनरात अनसनमा कार्यकर्ताहरु बसेपश्चात् जिम्मेवारीबाट पन्छिन सभापति देउवा पार्टी कार्यालय नआएको तर्क गर्छन् । “केन्द्रीय कार्यसमिति बैठक त बूढानीलकण्ठमा बस्छ अब झन् प्रम बनेपछि किन पार्टी अफिस आउनुपर्यो र !” उनी भन्छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य संस्थापन पक्षले महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यता वितरण र महाधिवेशन गराउने विषयमा धाँधली गरेकाले ‘फेस सेभ’ गर्न सभापति कार्यालय नगएको बताउँछन् ।
विधान मिचेर संस्थापन पक्ष अर्थात् सभापति देउवा अनुउत्तरदायी बन्दा पार्टी कार्यालय जान समस्या परेको ठम्याइ उनको छ ।
“धर्नामा बसेकाहरुले हाम्रो क्रियाशील किन काटेको भन्दा दिने उत्तर सभापति देउवासँग हुनुपर्यो नी, हो यही अनुत्तरदायी नेतृत्वले गर्दा समस्या आएको हो,” उनी भन्छन्,“मनपरि नाम काटिएको छ, जबर्जस्ती केन्द्रबाट क्रियाशील थप भएको छ, सबै कुराको दिने जवाफ सभापतिसँग छैन र पार्टी अफिस नगएर समस्या छल्दै हिँडिरहेका छन् ।”
सभापति अनुत्तरदायी भएको चर्चा भइरहँदा निर्वाचित महामन्त्री पनि मौन छन् । निर्वाचित महामन्त्री शशांक कोइराला पार्टी अफिस बेलाबखत पुगेर अनसनकारीहरुको पक्षमा देखिए पनि सभापति देउवालाई संवाद गर्न बाध्यता सिर्जना गर्न उनले सकेका छैनन् ।
विश्लेषक आचार्य महामन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर भूमिका निर्वाह गरेको भए पार्टी अफिस जानै नसक्नेगरि समस्या आइनपर्ने चर्चा गर्छन् ।
“पार्टी अफिस सञ्चालनदेखि बैठक आह्वान र नेता कार्यकर्ताहरुलाई निर्देशन दिने जिम्मा महामन्त्रीमा छ तर उनलाई मेरो जिम्मेवारी केहो भनेर थाहा छैन,”विश्लेषक आचार्य भन्छन् ।
देउवा निकट केन्द्रीय सदस्य अर्जुन जोशी सभापति समस्याबाट भाग्न पार्टी कार्यालय नगएको भन्ने कुरा अस्वीकार गर्छन् ।
क्रियाशील सदस्यता विवाद मिलाउन केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति रमेश लेखकको संयोजकत्वमा बनाइएको र उक्त समितिले नसकेको विवाद समाधान गर्न नेता कृष्ण सिटौलाको नेतृत्वमा समिति बनाइएको जोशीको तर्क छ ।
“सभापति किन पार्टी अफिस जानुभएन त्यो फरक कुरा हो यसको जवाफ उहाँसँगै होला,” उनले भने,“तर, क्रियाशील विवाद मिलाउने काम समितिको हो सभापतिको होइन । हामीले समिति बनाएका छौं, त्यसैले समाधान गर्छ ।”