site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन ‘चट्टान’

काठमाडौं । रमेश लामा (चट्टान)ले रेस्लिङ खेल्न थालेको धेरै समय भएको छैन । छोटो समयमा हुने रिङ रेस्लिङमा उनले लामो छलाङ मारिसकेका छन् । चार वर्ष पहिले रिङ रेस्लिङमा पाइला टेकेका चट्टान अहिले ‘राष्ट्रिय च्याम्पियन’ हुन् । दुई साताअघि दोलखाको चरिकोटमा सम्पन्न रेस्लिङमा उनले हेभी वेटतर्फ चार पटकका ‘राष्ट्रिय च्याम्पियन’ कमल लामा (नुवाकोटे टाइगर)लाई हराएपछि ‘च्याम्पियन’को उपमा पाएका हुन् ।

बाल्यकालमा टेलिभिजनमा रेस्लिङ हेर्दाहेर्दै चट्टानलाई त्यसमा मोह जागेको थियो । तर, नेपालमा रेस्लिङ खेलिने विषयमा उनलाई जानकारी थिएन । उनको समयमा रेस्लिङ खेल्ने वातावरण थिएन । त्यसैले उनले तेक्वान्दो खेले । पछि उनी मार्सल आर्टकै उसुमा आकर्षित भए । त्यसैमा करिअर बनाए । खेलाडी जीवनको उत्तरार्धमा रमेश रेस्लिङमा आए । शारीरिक व्यायमका लागि ‘जिम’ जाने क्रममा साथीहरूसँगको कुराकानीमा उनले नेपालमा पनि रिङ रेस्लिङ हुने कुरा थाहा पाए । त्यसपछि ३४ वर्षको उमेरमा उनले रेस्लिङमा व्यवसायिक रूपमा पाइला टेके ।

२०१८ मा उनले रेस्लिङकै तयारीमा ६ महिना बिताए । त्यसपछि मात्र उनलाई रिङमा उत्रने मौका मिल्यो । रेस्लिङमा भने चट्टानको करिअर हारबाट सुरुवात भयो । काठमाडौं, ललितपुर, पोखरा र नुवाकोटमा भएको रेस्लिङ च्याम्पियनसिपमा उनी पराजित भए ।

Dabur Nepal

हेवी वेट स्पर्धामा कमल लामा (नुवाकोटे टाइगर)सँग उनी पराजित भए । उनैै नुवाकोटे टाइगरलाई दोलखामा सम्पन्न ‘हाई अल्टिच्युट रेस्लिङ’ प्रतियोगितामा हराउँदै चट्टान च्याम्पियन बने ।

“पहिलोपटक च्याम्पियन बन्न पाउँदा धेरै खुसी छु । अब मेरो काँधमा यो च्याम्पियन बेल्ट जोगाइराख्ने चुनौती छ । अब रिङ रेस्लिङ खेलको विकासका लागि केही योगदान गर्ने समय आएको छ,” चट्टानले भने ।  

बाँकी खेल जीवन रेस्लिङमै बिताउने उनको योजना छ । खेल जीवनपछि प्रशिक्षकको भूमिकामा रहेर यही क्षेत्रमा निरन्तर लाग्ने उनी बताउँछन् । रेस्लिङले नै आफ्नो पहिचान बढाउन ठूलो योगदान गरेको चट्टानको बुझाइ छ । 

“मेरो पहिचान जोगाउन रेस्लिङले महत्वपूर्ण योगदान गरेको छ । यही खेलका कारण सबैले मलाई चिन्छन् । पहिचानकै लागि खेलेको हो । अब यसमै बिताउछु,” उनले भने । 

विद्यालय जीवनमा चट्टानले तेक्वान्दो खेल्थे । २०५५ सालमा चार महिना तेक्वान्दोको प्रशिक्षण पनि लिए । तर, उनका सबै साथीहरू उसु खेल्थे । भएका सबै साथीहरू उसु खेल्न थालेपछि चट्टान पनि उसुतिर लागे । पछि उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भए ।

“हामीले खेल्न थाल्दा स्वास्थ्यका लागि खेल्ने भन्ने थियो । जिल्ला स्तरीय उसु प्रतियोगितामा म प्रथम भएँ । त्यसपछि मलाई आर्मीले उसु खेलका लागि अनुबन्ध गर्यो । अनि उसुमै करिअर अघि बढ्यो,” उनले खेल जीवनको सुरुआती दिन सम्झिए । 

चट्टानले लगातार तीन राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबबाट पाँचौँ, छैटौँ र सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले स्वर्णपदक जितेका थिए ।

“पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण पदक जितेपछि खेल क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो । त्यसपछिको हौसलाले लगातार दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल भएँ,” चट्टानले थपे । 

उनी २००८ मा बंगलादेशको ढाँकामा सम्पन्न साफ च्याम्पियनसिप उसु प्रतियोगितामा काश्यपदक जित्न सफल भए । उनको त्यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।


“देशको प्रतिनिधित्व गर्दै पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जादाँ मैले स्वर्ण पदककै लागि तयारी गरेको थिएँ । तर, स्वर्ण जिताउन भने सकिनँ । तर, मेरा लागि त्यो ऐतिहासिक सफलता थियो,” उनले थपे ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि भने चट्टानको खेलकुद यात्राले केही विश्राम पायो । लामोसमय देशका लागि खेले पनि भविष्यको अन्योल बनेपछि उनलाई अब के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो ।

२०१० को दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उनी सहभागिताबाट बञ्चित भए । २०६५ सालको राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकाहरूलाई साग प्रतियोगिताका लागि छनोट गर्ने तयारी थियो । चट्टानले पनि तयारी गरे ।

तर, पदाधिकारीहरूको किचलोका कारण उनको तौल समूह नै हटाइयो । उनी बंगालदेशमा भएको साग खेल्न पाएनन् । 

“खेलाडी भएर बाँच्न सहज छैन । मैले खेलेर आफूलाई मात्र खुसी राख्न सकेँ । परिवारका लागि भने केही गर्न सकिनँ । खेलप्रतिको मोहका कारण अन्य क्षेत्रमा लाग्न पनि सकिनँ । मैले खेलमै सारा जीवन समर्पण गरेँ । तर, राजनीतिक पहुँच नहुँदा बंगलादेशमा सम्पन्न साग खेल्न पाइनँ । खेलेर मात्र भएर हुँदैन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन राजनीतिक पहुँच पनि चाहिन्छ भन्ने त्यतिबेला बुझेँ,” चट्टानले भने ।

त्यसपछिका सागमा चट्टानले उमेर हदका कारण खेल्न पाएनन् । सागमा उसुमा ३३ वर्ष नाघेकाले प्रतिस्पर्धा गर्न पाउँदैनन् । 

३८ वर्षीय चट्टानले त्यसपछि खेल जीवनबाट विश्राम लिए । काठमाडौंका विभिन्न विद्यालयहरूमा ‘स्पोटर््स टिचर’का रूपमा काम गर्न थाले । उनी अहिले रेस्लिङसँगै उपत्यकाका विभिन्न ९ विद्यालयमा ‘स्पोर्टस् टिचर’का रूपमा काम गरिरहेका छन् । उनको जीविको पार्जनको मुख्य स्रोत नै त्यही बनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro