site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्चाविहीन राप्रपा अधिवेशन, नेतृत्वमा पाँच आकांक्षी  

काठमाडौं । ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो । 

तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

पार्टीले सक्रिय सदस्य बनाउने अवधि भने बढाएर कात्तिक १५ गतेसम्मलाई पुर्‍याउने सोही बैठकले निर्णय गर्‍यो । 

बैठकमा बाँकी रहेका जिल्लामा अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्ने तथा कात्तिक २८ मा प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै मंसिर १ देखि ३ गतेभित्र सक्रिय सदस्यमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी छ । 

पार्टी निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेत तोकिएको केही दिन अघि संशोधन भएको कार्यतालिकाबमोजिम पार्टी अधिवेशन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउँछन् । 

“केही साँच्चै ठूलो प्राविधिक समस्या आएमात्र हो, नभए हामीले पाएको जिम्मेवारी पूरा गर्छौँ तोकिएको समयमा अधिवेशन गराउँछौं,” बाह्रखरीसँग उनले भने ।

संयोजक थापाका अनुसार हालसम्म पार्टीले ६१ जिल्लाको जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गरिसकेको छ । 

बाँकी दिनभित्र १६ जिल्लाको अधिवेशन सक्नुपर्ने वाध्यतामा समिति र पार्टी छ । “अब पनि अधिवेशन नगर्ने हो भने जिल्ला जिल्लामा पार्टी परित्याग गरेर अन्य दल प्रवेश गर्नेहरु झन् झन् बढ्ने छन्,” राप्रपाका एक नेताले बाह्रखरीसँग भने । 

ढिलाइ किन ? 

कमल थापाले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) २०७६ फागुन अन्तिम सातातिर एकीकृत भए । २ दल एकीकृत भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बन्यो र सोही अनुरुप निर्वाचन आयोगले पनि प्रमाणपत्र दियो । 

पार्टीले गएको फागुनमा जारी गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, २०७७ अनुसार पार्टीले २०७८ वैशाख २५ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसका लागि २०७७ फागुन १५ गतेदेखि सक्रिय सदस्यता वितरण गर्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ । वैशाखमा गर्ने तयारी गरेको महाधिवेशनका लागि पार्टीले २६ फागुनदेखि १० चैतसम्ममा पार्टीको वडादेखि पालिका तहसम्मको अधिवेशन सक्ने भनि उल्लेख गरिएको छ । 

तर,कोभिड संक्रमण देशव्यापी बनेको र देशभर लकडाउन भएकाले पार्टीले तोकिएको समयभित्र अधिवेशन गर्न नसकेको राप्रपाका नेताहरु बताउँछन् । नेता भुवन पाठक पार्टीको आन्तरिक तयारी र कोभिड संक्रमणका कारण अधिवेशन तोकिएको समयमा हुन नसकेको बताउँछन् ।

“कारण त कोभिड संक्रमण नै हो नि, त्यसमाथि दलहरु मिलेपछि दल समायोजनका कुराहरु पनि छन्, अन्य प्राविधिक कुराहरु पनि छन् जसले समयमै अधिवेशन गराउन सम्भव भएन,” उनले भने । 

त्यसो त निर्देशिका बमोजिम निर्वाचन समितिले पार्टीको वडा तहको अधिवेशन २६ फागुन २०७७ बाटै शुरुवात गरेको हो । तर, वडा अधिवेशन सुरु भएको एक वर्ष पुग्न लाग्दासमेत राप्रपाले ७७ जिल्लाको जिल्ला तहको अधिवेशननै गर्न सकेको छैन ।

आखिर किन त ? नेता किशोर कार्की पार्टी समायोजनमा देखिएको सकस पनि कारक भएको तर्क गर्छन् । एकभन्दा बढी दलहरुलाई मिलान गर्न आवश्यक केन्द्रीय महाधिवेशन गर्न सकस पर्ने बुझाइ राप्रपाभित्र छ । जिल्लाहरुमा देखिएको पार्टी समायोजन विवादले राप्रपाभित्र समस्या जटिल बन्दै गएको हो । 

“कतिपय जिल्लाहरुमा पार्टी समायोजनमा सकस देखा परे, त्यसले सदस्यता वितरणमा समस्या परेकै हो,” कार्कीले बाह्रखरीसँग भने,“स्वाभाविक हो महाधिवेशनमा यस्ता समस्या देखिन्छन्, यो त अझ एकभन्दा बढी पार्टीहरुलाई एक बनाउने अवसर हो ।”

आकांक्षी पुरानै 

अहिले राप्रपामा तीन जना अध्यक्ष छन् । पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा अध्यक्षत्रय छन् । 

महाधिवेशनले पार्टीभित्र एक अध्यक्ष मात्र बन्दै छन् । त्यसकारण पनि पार्टीमा अहिले देखिएका अध्यक्षत्रय नै महाधिवशेनमा पार्टी अध्यक्षको रुपमा चुनावी मैदानमा उत्रँदैछन् । 

अध्यक्ष पशुपति शमशेर जबरा पार्टी अध्यक्ष बन्न दौडधुप गरिरहेका उनी निकट नेताहरु बताउँछन् । यस्तै कमल थापा पनि अध्यक्ष बन्ने दौडमा छन् । यता, प्रकाशचन्द्र लोहनी भने नेतृत्व पुस्तानान्तरणको पक्षमा उभिएको एक नेताले बाह्रखरीसँग बताए । 
अर्को पुस्ताबाट राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन र नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणा अध्यक्षको आकांक्षी छन् । केही दिनअघि सम्पन्न भएको बैठकमा नेता लिङ्देनले नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आवाज नै उठाएका थिए । 

पशुपति शमशेर निकट मानिने एक नेता भने वर्तमान समयमा जबरा र कमल थापा चुनाव लड्ने मनस्थितिमा छन् । 

उनका अनुसार लोहनी भने धवल वा राजेन्द्रमा नेतृत्व जानुपर्ने पक्षमा उभिएका छन् । अहिलेसम्मको परिस्थितिमा पाँचजना अध्यक्षका आकांक्षी छन् ।

“दुई अध्यक्ष र दुई अर्को पुस्ताबाट चुनाव लड्छन् त्यो पक्का हो, अन्तिमसम्ममा डा. लोहनी पनि लड्ननै हो,” उनी भन्छन् । 

नेता, भुवन पाठक अहिले नेतृत्वमा को जाने भन्ने बहस हुनु सामान्य भएको तर्क गर्छन् । “सहमति गरेर नेतृत्व टुंगोमा पुर्‍याउनेमा म ढुक्क छुँ,” उनी भन्छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro