काठमाडौं । गोरखाकी सुनिता गुरुङ (नाम परिवर्तन)का भाइलाई दसैँको केहीदिन अगाडि कोभिड संक्रमण देखियो । काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरेर केहीदिन आईसीयूमा उपचार गराएपछि सामान्य परिवारका गुरुङ दिदीभाइलाई उपचार खर्चको विषयले पिरोल्न थाल्यो ।
भाइको स्वास्थ्य अवस्था ठिक हुँदै गएपछि सुनिताले वीर अस्पतालमा राख्ने निर्णय गरिन् । अहिले वीर अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार गराइरहेका गुरुङको अवस्था सामान्य हुँदैछ । सुनिताले पनि वीरमा निजी अस्पतालभन्दा कुनै कुरामा असुविधा महसुस गरेकी छैनन् ।
खोटाङका भगिरथ अधिकारीका भाइलाई १६ दिनअघि कोभिड संक्रमण देखियो । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका भगिरथका भाइलाई ट्रमा सेन्टरमा उपचारकै क्रममा संक्रमण भएको थियो । दोस्रो लहरको संक्रमण उच्च भएको समयमा वीर अस्पतालको अस्तव्यस्त अवस्थाबारे सुनेका भगिरथलाई कहाँ लैजाने भन्ने अन्योल भयो । तर, नजिकै भएको हिसाबले पनि भाइलाई ट्रमाबाट वीर अस्पतालको कोभिड आइसोलेसनमा नै सारे ।
“अहिले वीर अस्पताल हामीले सोचेजस्तो र सुनेजस्तो रहेनछ । १६ दिन यहाँ बस्दा कुनै समस्या झेल्नु परेन, कोभिड आइसोलेसन सफा र सुरक्षित पनि रहेछ,” अधिकारीले सुनाए ।
वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोभिड डेडिकेटेड अस्पतालको रूपमा प्रयोग गरिएको छ । अस्पतालको आईसीयू र जनरल गरी सोमबारसम्म ५६ जना कोभिड संक्रमित उपचाररत छन् । अस्पतालबाट दैनिक एकसयदेखि डेढसय जनासम्मको पीसीआर परीक्षण हुने गरेको छ । अस्पतालले पीसीआर परीक्षणबापत् सरकारले तोकेकोएक हजार रुपैयाँ लिने गरेको छ ।
कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकयि अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार वीरको प्रयोगशालामा क्यूआर कोड र फोटोसहित पीसीआर परीक्षण सेवा २४ सै घण्टा उपलब्ध भइरहेको छ । त्यस्तै अस्पतालले पीसीआर रिपोर्ट पनि मोबाइल र इमेल दुवैमार्फत पठाउने गरेको छ । आम सर्वसाधारलाई सस्तो र सहज रूपमा पीसीआर सुविधा लिन सकुन् भन्ने यद्देश्यले यी सेवाहरू सञ्चालनमा ल्याइएको डा. बस्नेतले बताए ।
कोभिड संक्रमणको पहिलो लहरमा क्षमताअनुसार उपचार सेवा दिन नसकेको आरोप खेपेको वीर अस्पताल कोभिड युनिफाइड अस्पतालको रुपमा तोकेर नयाँ सर्जिकल भवनबाट संक्रमितको उपचार सुरु गरेपछि भने गुणस्तरीय सेवा दिन सफल हुँदै गएको छ ।