site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टीमै अन्याय भएको भन्दै सानेपामा ९५ दिनदेखि अनसन, तर पनि मौन छ नेतृत्व 

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसको पार्टी मुख्य कार्यालय सानेपामा रिले अनसनमा छन् । उनीहरु अनसनमा बसेको सोमबार ९५ दिन भएको छ । तर, पार्टी नेतृत्वले उनीहरुको गुनासो पटक्कै सुनेको छैन । 

पार्टीको १४ औं महाधिवेशनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट ९८ जना प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरण नभएकाले उनीहरु अनसनमा बसेका हुन् । 

तेस्रो कार्यकाल पार्टीको जिल्ला कोषाध्यक्षको भूमिकामा रहेका रामश्रेष्ठ प्रसाद साह, पूर्वराज्यमन्त्री ब्रजकिशोर सिंह, महासमिति सदस्य डा. देवचन्द्र मिश्रलगायत नेता कार्यकर्ताहरुको क्रियाशील नवीकरण नभएपछि उनीहरु रिले अनशनमा बसेका हुन् । 

महासमिति सदस्य डा. मिश्रका अनुसार जिल्ला कार्यसमितिका २७ मध्ये १७ नेताहरू सानेपामा छन् । 

क्षेत्र नम्बर–१ का २७ कार्यसमितिमध्ये २२ जना अनसन बस्न काठमाडौंमा छन् । प्रदेशसभा क्षेत्रीय समितिबाट पनि बहुमत कार्यसमिति सदस्य आन्दोलित छन् । जसमध्ये एक दर्जन वडा सभापति अनसनको पक्षमा छन् । 

“मैले त क्रियाशीलको फारम कस्तो हुन्छ, नवीकरणको फारम कस्तो हुन्छ देखेको छैन,”  माधवनारायण नगरपालिका वडा नम्बर–१ का वडा सभापति रामप्रसाद राय यादवको गुनासो छ । 

अनसनमा बसेको ९५ दिन भइसक्दा पनि नेतृत्वले चासो नदिएको गुनासो अनसनकारीहरुको छ । डा. मिश्र मुख्य जिम्मेवार पार्टी सभापति भए पनि उनको अनुहार देख्न नपाएको पाँच महिना भइसकेको बताउँछन् । 

अनसनपूर्व रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिकहाँ गुनासोको पोको बोकेर उनीहरु धाए । एक महिनासम्म पशुपतिक्षेत्रमा रहेको धर्मशालामा धाउँदा पनि समितिले कहिल्यै चासो देखाएन । 

जिल्ला सभापति श्रीकृष्ण यादव र क्षेत्रीय सभापति शान्तिदेवी यादवको डिजाइनमा वडा सभापतिहरुले फारम नपाएको भन्दै गुनासो गर्दा पनि सुनुवाइ नभएपछि रिले अनसनमा बस्नुपरेको तर्क उनीहरुको छ । 

“कोही बिरामी परेका छन्, उहाँ डा. सा’व(देवचन्द्र मिश्र) बिरामी हुनुहुन्छ, म आफैँ स्वस्थ्य छैन, तर पनि खै समस्या समाधान गर्नुपर्ने संस्थापन पक्षका कोही नेताहरु देखिँदैनन्,” पूर्वराज्यमन्त्री समेत रहेका ब्रजकिशोर सिंह भन्छन् । 

गुनासो सुन्छौं भन्दै संस्थापनइतर समूहमा रहेका नेताहरु मात्र पुगेका छन् । उनीहरुको मागमा नेता रामचन्द्र पौडेल, निर्वाचित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरु पुगेका छन् । संस्थापन पक्षका नेताहरु अर्कोपट्टि मुन्टो फर्काएर हिँड्ने गरेको उनीहरु बताउँछन् । 

समस्या संस्थापन पक्षमा मात्र होइन महामन्त्री शशांक कोइरालाले भूमिका खेल्न नसकेको बुझाइ उनीहरुको छ । निर्वाचित महामन्त्री, पार्टीको वरिष्ठ नेता, प्रभावशाली नेताहरुले आफ्नो पक्षमा एउटा विज्ञप्तिसमेत निकाल्न नसकेको उनीहरुमा दुखेसो छ । 

“निर्वाचित महामन्त्रीले एउटा विज्ञप्ति त निकाल्न सक्नुहुन्न अनि कसरी दबाव बढ्छ र ?,” एक अनसनकारीले बाह्रखरीसँग भने ।

उनीहरुको बुझाइमा संस्थापन इतर समूहले गर्नसक्ने जति सहयोग गरेको छैन । 

आफ्नो समूहको महामन्त्री आशा मात्र देखाउने, अर्का महामन्त्री पूर्णबहादुर खड्का मुन्टो बटारेर हिँड्ने कारणले पनि आफूहरु पीडामा परेको दुखेसो उनीहरुको छ । “पूर्णबहादुर खड्कालाई चासै छैन हाम्रो मागबारे वास्तै छैन,” नाम नलेख्ने सर्तमा एक अनसनकारी भन्छन्,“निर्वाचित महामन्त्रीको भूमिकानै जुझारु हुन सकेन, आश्वासन बाँड्नेबाहेक केही भएन ।”

महासमिति सदस्य डा. मिश्र पार्टी सभापतिको अनुहार पार्टी कार्यालयमा नदेखेको पाँच महिना हुन लागेको भन्दै आक्रोश पोख्छन् । 

बीचमा पार्टी सभापतिले पार्टी अफिसमा अनसन बसेकाहरुलाई अनसन तोडाउन डा. रामशरण महत र प्रकाशरण महतलाई जिम्मेवारी दिएका थिए । उनीहरुले बारा, धनुषा र सर्लाहीको विवाद त मिलाए तर रौतहटले भने उनीहरुको कुरा मानेन ।

“अनसन तोड्नुहोस्, हामी समस्या समाधान गर्छौं भन्दै पासा फ्याक्न प्रकाशशरण महत त आउनुभएको थियो । तर हामीले उधारो सहमति गर्न मानेनौं,” अनशनमा रहेका नवलकिशोर साहले बाह्रखरीसँग भने ।

उधारो सहमति मानेका बारा, धनुषा र सर्लाही जिल्लामा विवाद समाधान नभएको उनीहरु बताउँछन् । 

क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको सहमति कार्यान्वयन गर्न बनेको कार्यददले विवाद भएको ७ वडामा पुरानै सदस्यहरुलाई मान्यता दिने निर्णय गरेको छ । ती वडाहरुमा नयाँको हकमा भने १४ औं महाधिवेशन पश्चात् निर्णय गर्ने सहमति कार्यदलमा भएको छ । तर, अनसनमा बसेकाहरुले भने थप ४ वडामा पनि सोहीबमोजिम निर्णय गर्न माग गरेका छन् ।

समितिका ती सदस्य राजनीतिक निर्णय गरेर विवादलाई समाधान गर्नुपर्नेमा जोड दिन्छन् । 

“उहाँहरुको माग जायज नै देखिन्छ, अब नेतृत्व बसेर भएका गल्तीहरुलाई सुधार गरेर निकास दिनुको विकल्प छैन,” उनले भने, “चाँडोभन्दा चाँडो यसलाई टुंगोमा पुर्‍याउनुको विकल्प छैन ।”
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro