काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छिन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित हुनेगरी काम गर्नुपर्ने बताइन् ।
“एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्तापित गरौँ,” उनले भनिन् ।
लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको भन्दै उनले बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्ने बताइन । “अब विद्युत्को चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ ।”
सामाजिक एवम् आर्थिक रूपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने भन्दै उनले सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको बताइन ।
आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने उनले बताइन् ।