site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
नयाँ परिवेशमा पुरानै रणनीति

भारतका युवा राजनीतिकर्मी कह्नैयाकुमार अखिल भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गर्ने चर्चाले अहिले नेपालको राजनीतिक वृत्त पनि तरंगित भएको छ । भारतको राजनीति वामपन्थीहरूको गढ रहिआएको जवाहरलाल नेहरू विश्वविद्यालयका छात्र नेताका रूपमा चर्चामा आएका कह्नैयाले गएको लोकसभा निर्वाचन कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)बाट लडेका थिए । यसैले उनको राष्ट्रिय कांग्रेसमा प्रवेशको चर्चाले राजनीति तरङ्गित भएको हुनुपर्छ ।


नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले सुनील थापाहरूलाई स्वागत गरेका छन् । नेपालको राजनीतिमा कथित ‘दक्षिणपन्थी’ खेमाका प्रतिनिधि पात्रका रूपमा थापालाई हेर्ने गरिन्छ । नेपाली कांग्रेसका पुराना कार्यकर्तालाई सूर्यबहादुर थापाका छोरा सुनीललाई नेता स्वीकार गर्न कठीन भएको देखिन्छ ।

नयाँ पुस्ताका कांग्रेसले सुनील थापाहरूलाई कसरी हेर्छ भन्ने त महाधिवेशन (भयो भने) पछि नै थाहा होला । अहिले त विजयकुमार गच्छेदारकै समेत स्वीकार्यता निकै घटेको सङ्केत देखिएका छन् । कांग्रेस छाडेर हिँडेकाहरूमा सजिलै मिसिएका त देउवा र उनका साथीहरूमात्र नै हुन् । उनीहरू उही माटामा हुर्केका बिरुवा हुनाले पनि ठाउँ बनाउन बेर नलागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय कांग्रेसबाट भने ज्योतिरादित्य सिन्धिया बाहिरिने अनि जिग्नेस मेवाणी र कह्नैया कुमारहरू भित्रिने भएको छ । यिनीहरू राहुल गान्धीको अग्रसरतामा कांग्रेससँग निकट भएका हुन् रे ! राहुलले आफ्नी हजुरआमाको सिको गरेका हुन् त ?

कह्नैयाहरू कांग्रेसमा आउने चर्चाले सन् १९६७ तिर इन्दिरा गान्धीले ‘युवा तुर्क’ भनिने समाजवादीहरूलाई पार्टीमा अगाडि बढाएको घटना सम्झाउँछ । हुनत, अहिले राहुललाई पार्टीभित्रबाट कसैले चुनौती दिएका छैनन् । उतिबेला इन्दिराका पालामा भने उपप्रधानमन्त्री मोरारजी देशाई, पार्टी सभापति कामराजलगायतको पार्टीमा दबदबा थियो ।

‘सिन्डिकेट’ भनिने वरिष्ठ नेताहरूको समूह इन्दिरालाई ‘कठपुतली’ बनाउन चाहन्थ्यो । उता निर्वाचनमा कांग्रेस विरोधीहरूले उत्साहजनक मत पाए भने कांग्रेसको मत घट्यो । यस्तोमा कांग्रेस कुन बाटो लाग्ने दुबिधामा थियो । इन्दिरा र उनका निकट सहयोगीहरू चाहन्थे कांग्रेसले ‘समाजवादी’ नीति अपनाओस् । मोरारजीका नीतिहरू अपेक्षाकृत राष्ट्रिय पुँजीपतिका पक्षमा थिए ।  

(विडम्बना, आपतकालपछि इन्दिरालाई हटाउन चन्द्रशेखर र मोरारजी जनता पार्टी बनाएर एक भएका थिए । देशाई प्रधानमन्त्री बने भने चन्द्रशेखर पार्टी सभापति ।)

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको वर्ग र चरित्र एउटै हो । निम्नमध्यम वर्गको समर्थनमा टिकेको र देशव्यापी उपस्थिति भएको । नेतृत्वको उत्तराधिकार भने भारतीय कांग्रेसमा जस्तो स्पष्ट देखिएन । कांग्रेसको नयाँ विधानले त झन् कुनै दिन नेपाली कांग्रेस गैरकांग्रेसीको नेतृत्वमा पुर्‍यायो भने आश्चर्य नमाने हुन्छ ।

(बीपीले भन्दा पहिले मजदुर आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालालाई ‘पारिवारिक बिरासत’मा सीमित गर्नु अन्याय हुन्छ । बीपीका छोराहरूले अहिलेका सन्दर्भमा डा। शशांक कोइरालाले नेतृत्व कौशल देखाउन सकेका भए सम्भवतः का‌ग्रेस नेताविहीन हुने पनि थिएन ।)

जेहोस्, दक्षिणपन्थी साम्प्रदायिक दल भारतीय जनता पार्टीको प्रभाव रोक्न भारतीय राष्ट्रिय कांग्रेसले फेरि वामपन्थीहरूको सहारा लिन खोजेको देखियो । इन्दिराले युवातुर्कहरूको सहयोगमा पार्टीभित्रका दक्षिणपन्थीलाई तह लगाएकी थिइन् । अन्ततः सिन्डिकेटका प्रभावशाली नेताहरू नै अलग्गिएर कांग्रेस (एस) बनाउन पुगेका थिए ।    

राहुलले कह्नैयाकुमार, जिग्नेस मेवाणीहरूको साथ सहयोगमा भारतीय जनता पार्टी र नरेन्द्र मोदीको लहर छेक्न खोजेका छन् । देउवाले सुनील थापाको सहयोगमा पहिले का‌ग्रेसभित्रकै असन्तुष्टलाई तहलगाउन खोजेजस्तै । (यद्यपि, यताको गणित नमिल्ने सम्भावना पनि धेरै छ । विराटनगरमा नवप्रवेशी डा. शेखर कोइरालाको पक्षमा लाग्लान् भन्ने डरले क्रियाशील सदस्यतै गायब गरिएको सुनिदै छ । सुनसरीको पालिकास्तरीय निर्वाचनले विजय गच्छदारलाई धक्का लागेजस्तो छ ।)  

यता कम्युनिस्टहरू प्रभावशाली भएकाले गैरकम्युनिस्टलाई संगठित गर्ने रणनीति अपनाइएको हुनसक्छ । भारतमा भाजपाविरूद्ध गैरदक्षिणपन्थीहरू ध्रुवीकृत भएका हुनसक्छन् । दुवैतिरको राजनीतिक प्रवृत्ति हेर्दा भने यस्तो साथ दिगो नहुने देखिएको छ । नेपाली कांग्रेसले केशर विष्टलाई पार्टीमा भित्र्याएर राष्ट्रिय सभा सदस्य बनायो तर उनी एक चुनावसम्म पनि टिकेनन् । भारतमा पनि यस्ता उदाहरण बग्रेल्ती छन् ।

आफ्नै वडामा पार्टीको चुनाव हार्नेबित्तिकै पार्टी छाड्ने र अर्को पार्टीमा पसिहाल्ने झापाका अमृतलाल राजवंशीको जस्तो उदाहरण भने बिरलै भेटिएला !

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०८:५०
प्रतिक्रिया दिनुहोस्