 final1632728752.jpg)
काठमाडौं । नेपाली कांग्रेसको आउँदो मंसिरमा गर्ने तय गरिएको केन्द्रीय महाधिवेशनमा एक सभापतिका लागि सातजना आकांक्षी देखिएका छन् । तर, सभापतिका आकांक्षीहरूले आफ्नो सिंगो टिम घोषणा गर्न सकेका छैनन् ।
स्वयम् पार्टी सभापति शेरबहादुर देउवा १४औँ महाधिवशनबाट कार्यकाल दोहोर्याउने पक्षमा छन् । उनको टिम कस्तो बन्छ भनेर देउवाकै निकटस्थहरूले समेत अनुमान गर्न सकिरहेका छैनन् ।
कांग्रेसको विधानानुसार १४औँ महाधिवेशनबाट सभापतिबाहेक दुई उपाध्यक्ष, दुई महामन्त्री, आठ सहमहामन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले मनोनय गर्ने व्यवस्था विधानले गरेको छ ।
१४औँ महाधिवेशनका लागि सभापति र महामन्त्री तथा केही केन्द्रीय सदस्य पदहरूमा उमेदवारी घोषणा हुन थालेको छ । उपसभापतिका उमेदवार अहिलेसम्म देखापरेका छैनन् ।
नवौँपटक विधान संशोधन गर्दै नेपाली कांग्रेसले आफूलाई समावेशी पार्टीको रूपमा स्थापित गर्न खोजेको छ । वि.सं. २०१७ सालमा लेखिएको विधान ०७५ फागुन १२ गते नवौँपटक संशोधन गरिएको हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई अंगीकार गरेपछि कांग्रेसले पनि आफूलाई समावेशी पार्टी बनाउन अभ्यास थालेको हो ।
यति बेला कांग्रेस त्यही नवौं संशोधित विधान कार्यान्वयन गराउन महाधिवेशनको महासंग्राममा छ । ६३ जिल्लाको वडा तह अधिवेशन सम्पन्न गरेको पार्टीको १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने टुंगो छैन । तर, केन्द्रीय महाधिवेशनमा उमेद्वारी घोषणा गर्नेको भने लर्को देखिएको छ ।
१३औँ महाधिवेशनसम्म कांग्रेसको विधानमा सहमहामन्त्री सभापतिबाट मनोनीत हुने पद थियो । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पार्टी सभापतिले आफूअनुकूल व्यक्तिलाई सहमहामन्त्री बनाउन पाउने व्यवस्थाबमोजिम केन्द्रीय सदस्य प्रकाशशरण महत मनोनीत भई सहमहामन्त्री पदमा बहाल छन् । तर, १३औँ महाधिवेशनपछि ०७५ सालमा भएको महासमिति बैठकबाट संशोधित विधानले १४औँ महाधिवेशनबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ ।
विधानले सहमहामन्त्री पदलाई ‘क्लष्टर’मा विभाजन गरेको छ । १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिहरूले सहमहामन्त्रीको उमेदवार बन्न पाउँछन् । विधानानुसार महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक/एकजना सहमहामन्त्री बन्नेछन् ।
देउवा टिमबाट सम्भावित सहमहामन्त्री
क्षेत्रीय अधिवेशन नसकिएका कारण सहमहामन्त्रीमा उठ्ने औपचारिक घोषणा कोही नेताले गरेका छैनन् । तर, भित्री तयारी र मिडियामा भने नेताहरूले प्रतिक्रिया दिइरहेका छन् । कसको नेतृत्वमा महाधिवेशनकेन्द्रित कति टिम बन्छ भन्ने स्पष्ट चित्र बनिनसकेकाले पनि सहमहामन्त्रीमा उमेदवारी घोषणा हुन नसकेको हो ।
हालसम्म सभापति देउवा टिम, अघिल्लो महाधिवेशनमा देउवाविरुद्ध लडेको पौडेल–कोइराला समूह र विमलेन्द्र निधि समूह १४औँ महाधिवेशनमा प्रतिस्पर्धामा आउने सम्भावना देखिएको छ । कृष्णप्रसाद सिटौला सिटौला समूह र गोपालमान श्रेष्ठ देउवाबाट अलग हुन्छन् वा एक ठाउँ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
पौडेल–कोइराला समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका दाबेदार देखिएका छन् । तर, उनीहरूले टिम भने बनाइसकेका छैनन् । उनीहरूनिकट नेताहरू पनि स्पष्ट रूपमा खुल्न चाहेका छैनन् ।
तर पनि केही नेताहरूले सहमहामन्त्रीमा उमेदवारी दिने तयारीमा रहेको बाह्रखरीलाई बताएका छन् । सभापति देउवा समूहबाट आफू उमेदवार बन्ने नेता फरमुल्लाहा मन्सुरको भनाइ छ । मन्सुर देउवाको टिमबाट मुस्लिम कोटामा सहमहामन्त्री बन्ने तयारीमा छन् । ५० वर्षदेखि कांग्रेस राजनीतिमा रहेकाले पनि आफ्नो उमेदवारी स्वाभाविक भएको मन्सुर बताउँछन् ।
“चर्चा चारैतिर छ, जुन स्वाभाविक पनि हो,” मन्सुरले बाह्रखरीसँग भने, “२२ वर्षदेखि कांग्रेस केन्द्रीय सदस्य छु । शेरबहादुरजीको टिमबाट सहमहामन्त्री लड्छु ।”
देउवाकै टिममा मुस्लिम समुदायका अर्का सशक्त उमेदवार छन्, अतर कमाल मुसलमान । ०७० सालको चुनावमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेका कमालले आफ्नो भोट भने सार्वजनिक रूपमा कांग्रेसलाई हालेका थिए । त्यसरी चुनाव जितेर चर्चामा आएका कमाललाई पछि कांग्रेसले पार्टीमा भित्र्याएको थियो । देउवा पक्ष तुलनात्मक रूपमा बलियो भए पनि पदाधिकारीमा उमेदवारहरू अधिकांश बढी उमेरका देखिने भएकाले उनको उमेदवारी युवा आकर्षणका लागि हुन सक्ने देउवा समूहका केहीको अनुमान छ ।
देउवा टिमबाटै दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये कसले सहमहामन्त्रीको टिकट पाउँछ भन्न सकिने अवस्था छैन ।
महिला सहमहामन्त्रीमा अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय ‘डिना’, पुष्पा भुसाल र डिला संग्रौलाको चर्चा छ । नेविसंघको राजनीतिबाट आएका अम्बिका र डिना देउवा टिमका बलिया प्रत्यासी हुन् ।
महिला संघको राजनीतिबाट आएकी डिला संग्रौला भने पछिल्लो समय संसद्भित्र र बाहिर आफ्नो भूमिका देखाउन लागिपरेकी छन् । “म सहमहामन्त्री लड्ने तयारीमा छु, सबैको साथ–सहयोगमा अघि बढ्छु,” संग्रौलाले भनिन् ।
देउवा टिमबाटै केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे जनजाति क्लष्टरबाट सहमहामन्त्रीमा उठ्ने तयारीमा छन् । उनको सचिवालयले भन्यो, “उहाँ अलिअघिदेखिबाटै सहमहामन्त्री बन्ने तयारीमा हुनुहुन्छ र ढुक्क भएर देउवा टिमबाट सहमहामन्त्री लड्नुहुन्छ ।”
जनजाति क्लष्टरबाटै सीता गुरुङ पनि सहमहामन्त्रीको प्रतिस्पर्धी छन् । केन्द्रीय सदस्य गुरुङ आदिवासी जनजाति विभागको प्रमुखसमेत छन् । केन्द्रीय समितिमा मात्र नभएर पदाधिकारीमा पनि महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै आएकी गुरुङले आफू सभापतिकै टिमबाट उमेदवारी दिने बताउँछिन् ।
“मैले महिलाबाट उमेद्वारी दिए एकजना महिलाको उपस्थिति घट्छ, त्यसैले म यो पदमा लड्छु,” गुरुङले भनिन्, “दुईपटक केन्द्रीय सदस्य बनिसकेँ, अब देउवा टिमबाटै सहमहामन्त्री बन्छु ।” उनले आफ्नो उमेदवारी युवा पुस्ताको प्रतिनिधित्वका लागि हुने पनि बताइन् ।
सभापति देउवाको समूहबाटै वीरबहादुर बलायर, डा. नारायण खड्का, अमृत अर्याल, राजीवविक्रम शाह खस आर्य तथा पिछडिएको क्षेत्रबाट उमेदवार बन्ने कसरतमा छन् ।
संस्थापनइतर समूहबाट सहमहामन्त्रीका आकांक्षी
संस्थापनइतर समूहबाट सहमहामन्त्रीका आकांक्षीहरू धेरै छन् । तर, समूहबाट सभापतिका उमेदवारको टुंगो नलाग्दा नेताहरू अलमलमा परेका छन् । आफूहरू उमेदवारी दिएर महाधिवेशनमा होमिन चाहे पनि समूहको व्यवहारका कारण समस्यामा परेको नेताहरू बताउँछन् । समूहबाट उमेदवारी घोषणा गर्न ढिलाइ हुँदा अरूलाई फाइदा हुने बुझाइ उनीहरूको छ ।
“उमेदवारी घोषणा गरेर कार्यकर्तामाझ जान मन छ, तर के गर्नु समूहले एउटा सभापति घोषणा गर्न सकेको छैन,” एक नेत्री भन्छिन् ।
यो समूहबाट केही नेताहरू भने उमेदवारी घोषणा गर्ने तयारीमा छन् । पौडेल–कोइराला–प्रकाशमानलगायत अधिकांश नेताहरूको विश्वास लिन सफल बद्री पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्री लड्ने गृहकार्यमा छन् । औपचारिक घोषणामा कुनै इच्छा नदेखाएका पाण्डे पिछडिएको क्षेत्रमा पौडेल–कोइराला समूहका सबैभन्दा बलिया दाबेदार हुन् ।
पौडेल–कोइराला समूहबाट कमला पन्त महिला सहमहामन्त्रीमा लड्ने तयारीमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलकी विश्वासपात्र पन्त लामो समयदेखि पौडेल समूहमै छन् ।
यस्तै, अर्की केन्द्रीय सदस्य सरिता प्रसाईं पनि सहमहामन्त्री लड्ने तयारीमा छन् । “अहिले उमेदवारी घोषणा गरिहाल्ने परिस्थिति बनेको छैन,” उनले भनिन् ।
पौडेल समूहबाटै रामकृष्ण यादव मधेसी कोटामा सहमहामन्त्री लड्ने तयारीमा छन् । वर्तमान केन्द्रीय सदस्य यादव अधिवेशनकेन्द्रित गतिविधिका लागि गृहजिल्ला पुगेका छन् । चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय यादव राजनीतिका क्रममा जेलनेल भोगको बताउँछन् ।
गृहजिल्ला धनुषाको जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा उदाएका नेता यादव ०७० सालको निर्वाचनबाट बनेको संसद्मा सार्वजनिक लेखा समितिका सभापतिसमेत भएका थिए । “म जिल्ला सभापति, सांसद र मन्त्री समेत बनिसकेँ, अब सहमहामन्त्री बन्छु भनेर तयारी गरिरहेको छु,” उनले बाह्रखरीसँग भने ।
यो समूहबाट दलित सहमहामन्त्रीमा जीवन परियार बलिया दाबेदार हुन् । समूहको विश्वासको जित्न सफल परियारले क्रियाशील सदस्यता छानबिन समितिमा पनि समूहको प्रतिनिधित्व गरिरहेका छन् । “चाँडै म आफ्नो उमेदवारी बारे सार्वजनिक गर्नेछु,” उनले भने ।
संस्थापन इतर समूहबाट भुपेन्द्रजंग शाही पनि सह–महामन्त्रीको तयारीमा छन् । पिछडिएको क्षेत्रबाट सह–महामन्त्रीमा प्रतिष्पर्धा गर्ने उनको तयारी छ । समूहले व्यवस्थापन गर्न सके कर्णाली प्रदेशको सभापति बन्न पनि तयार रहेको उनी बताउँछन् ।
“मलाई समूहले व्यवस्थापन गरोस्या अथवा कर्णाली प्रदेशको सभापति वा सह–महामन्त्री लड्ने मेरो तयारी हो,” बाह्रखरीसँग उनले भने ।
तेस्रो धारका रूपमा १३औँ महाधिवेशनबाट उदाएको कृष्ण सिटौलाको समूहबाट उमाकान्त चौधरी सहमहामन्त्रीमा थारु क्लष्टरबाट भिड्ने तयारीमा छन् ।
यसबाहेक देउवा समूहमा आबद्ध भएर सहमहामन्त्रीमा निरन्तरता दिने राप्रपाबाट आएका सुनीलबहादुर थापाको तयारी छ ।
विजयकुमार गच्छदारसँगै फोरमबाट आएका रामजनम चौधरी पनि सहमहामन्त्रीका आकांक्षी हुन् ।