काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद्लाई आजभोलिमै पूर्णता दिने तयारी गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का एक नेताका अनुसार मन्त्रिपरिषद् विस्तार धेरै ढिला भएको भन्दै अब प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । अध्यादेश संसद्बाट फिर्ता तथा राष्ट्रपतिलाई खारेजी सिफारिस गर्ने काम सरकारका तर्फबाट हुनेछ ।
त्यसअघि नै सत्ता गठबन्धनका दलहरूले आफ्नो पार्टीका तर्फबाट मन्त्रीको नामावलीलाई अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई दिनेछन् ।
“गठबन्धनका अधिकांश दलबाट मन्त्रीहरूको नाम तयार गरिसकेको अवस्था छ,” ती नेताले भने, “अध्यादेश खारेज भयो भने जसपाले पनि मन्त्रीको नाम दिने र मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ ।”
जसपा नेता इस्तियाक राईका अनुसार अध्यादेश फिर्ता भए जसपा मन्त्रीहरूको नामावली दिनका लागि तयारी अवस्थामा छ । उनका अनुसार अध्यादेश खारेज गरेको भए यसअघि नै जसपा सरकारमा गइसकेको हुने थियो ।
“अध्यादेश खारेज भइसकेको भए जसपा धेरै पहिले सरकारमा गइसकेको हुन्थ्यो,” राईले भने, “दल फुटाउने खुकुलो प्रस्ताव राख्दा सरकारमा जानासाथ पद नपाउनेहरूले दल फुटायउने जोखिम हुन्छ । त्यसैले अध्यादेश कायम राखेर जसपा सरकारमा सहभागी हुँदैन ।”