काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।
मंसिर २८ र २९ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन आगामी चैत्र मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । सातै प्रदेश समिति र राष्ट्रिय समितिहरूको आगामी २०८२ वैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानले व्यवस्थाबमोजिम गरेको हुनुपर्ने भनिएको छ ।
पार्टीसम्बद्ध भ्रातृसंगठनहरूलाई अधिवेशन सम्पन्न गर्न २०८२ वैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए ।